भर्खरै :

संशोधनवाद र समाजवादी आन्दोलन

– राजकुमार
समाज वर्गमा विभाजित छ – धनी र गरिब वा शोषक र शासित । माक्र्स भन्नुहुन्छ– “समाजमा वर्ग रहेसम्म वर्गसङ्घर्ष चलिरहन्छ ।” यी दुई विपरीत वर्गको द्वन्द्वबाट मानव समाज अघि बढेको छ । सम्पत्तिमा व्यक्तिको स्वामित्व रहन सुरु भएदेखि समाजमा वर्ग सङ्घर्ष सुरु भएको हो । सम्पत्तिमा व्यक्तिको स्वामित्व अन्तसँगै वर्ग सङ्घर्ष समाप्त हुने कार्ल माक्र्सको भनाइ हो । भू–दास र मालिकबीच द्वन्द्व, जमिनदार र किसानबीच द्वन्द्व र पुँजीपति र मजदुरबीचको द्वन्द्व मानव समाजले आफ्नो इतिहासमा भोगेका र भोगिरहेका वर्गसङ्घर्षका रुप हुन् ।
१६ औं–१७ औं शताब्दीतिर नै काल्पनिक समाजवादी विचारकहरू संसारमा देखिएका थिए । तात्कालीन समाजको विसङ्गतिपूर्ण परिस्थितिले काल्पनिक समाजवादी विचारकहरू जन्माएको थियो । चाल्र्स फ्यूरेर, सेन्ट साइमन र रोवर्ट ओवन त्यत्ति बेलाका काल्पनिक समाजवादी दार्शनिकहरू थिए । शोषक सामन्तहरूको मन परिवर्तन गरेर, दया प्रेम भाव जगाएर समाजमा शान्ति ल्याउने, वर्गविहीन समाज स्थापना हुन सक्ने उनीहरूको बुझाइ थियो ।
समाज विकासक्रम सँगै नयाँ–नयाँ दर्शन, विचारहरूको प्रादुर्भाव हुँदै गए । १८ औं शताब्दीमा लुडविक फायरवाख र हेगेलजस्ता दार्शनिकहरूका दर्शन नै माक्र्सवादी दर्शनका आधार हुन् । हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादको संयोजनबाट द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिपादन भएको हो । जसको प्रतिपादक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स हुनुहुन्थ्यो ।
संसार आज माक्र्सवादी विचार र गैरमाक्र्सवादी विचारको द्वन्द्वबीच अघि बढिरहेकोे छ । माक्र्सवादीहरू श्रमजीवी सर्वहारा वर्गको शासन सत्ता स्थापना गर्न सङ्घर्षरत छन्, हुन्छन् । पुँजीवादीहरू विद्यमान शोषणमा आधारित शासनसत्ता टिकाइरहन भगीरथ प्रयासमा लागिरहेका हुन्छन् ।
तत्कालीन समाजवादी सोभियत सङ्घ सन् १९९१ मा विघटन भयो । ख्रुश्चेभ, गोर्भाचोभजस्ता संशोधनवादीहरूको जालसाझीका कारण सोभियत सङ्घ विघटन भई १५÷१६ टुक्रामा विभाजन हुन पुग्यो । माक्र्सवाद–लेनिनवादलाई तोडमोड र फेरबदल गरी पुँजीवादी बाटोमा पतन हुनुको परिणामस्वरुप सोभियत समाजवादको अस्थायी हार भएको थियो । यसप्रकार पुँजीवादी शोषकहरू अनेक रुपमा विभिन्न जालझेल रचेर शोषणमूलक बन्दोबस्त कायम गरिरहन खोज्छन् । पुँजीपति शोषक वर्ग कामदार जनताको रगत पसिना चुसिरहन नयाँ–नयाँ तरिका अपनाइरहन्छन् ।
विश्वका पुँजीवादी सम्भ्रान्त देशहरू आफ्नो देशका कामदार जनताको रगत र पसिना चुसेरमात्र नपुगेर अरु कमजोर र साना देशहरूमाथि पनि गिद्धे नजर लाउन छोड्दैनन् । हाम्रो देश नेपाल आज भारतीय विस्तारवाद र एकाधिकार पँुजीको चेपुवामा परिरहनु यसैको उदाहरण हो । विश्वका पूँजीवादी देशहरूमध्ये भारत पनि एक हो । भारतले सिक्किमको सार्वभौमिकतामाथि हमला गरी आफ्नै एउटा प्रान्त बनायो । भुटान, नेपाल र बङ्गलादेश माथि भारतले नवउपनिवेशवादी नीति लाड्दै आएको छ ।
भारतमा पनि कम्युनिष्ट, क्रान्तिकारी, प्रगतिशील कामदार जनता आफ्नो पुँजीवादी सरकारविरुद्ध सङ्घर्षशील छ । तर भारतीय पुँजीवादी सरकारले त्यहाँका क्रान्तिकारी जनतामाथि दमन गरिरहेको छ ।
नेपालमा वि.सं. २००६ मा कम्युनिष्ट पार्टीको स्थापना भयो । यसबीच नेपालको कम्युनिष्ट आन्दोलनले अनेकन आरोह र अवरोह छिचोल्दै आजको अवस्थामा आइपुगेको छ । अहिले संसदमा आफूलाई कम्युनिष्ट भन्नेहरूको बहुमत छ । तिनीहरूमध्ये तात्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको भनिएको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त संशोधनवादी कार्यक्रम हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेें धेरैअघि नै यो निचोडमा पुग्नुभएको थियो ।
त्यस्तै तात्कालीन नेकपा माओवादी र उसले गरेको कथित ‘जनयुद्ध’ भारतीय विस्तारवादले नेपालमाथि आफ्नो प्रभाव बलियो बनाउने हतियार बनेको घटनाक्रमले पुष्टि गरेको छ । उसले आफूलाई माओवादी भने पनि उसको व्यवहार बिस्तारवादी शक्तिलाई पोस्ने खालका छन् ।
हाम्रो देशमा नेपाली काङ्ग्रेस, एमाले, माओवादी र राप्रपालगायतले पटक–पटक सरकार सञ्चालन गरे । अहिले पनि ती एमाले र माओवादी केन्द्र(हालको नेकपा)को बहुमतको सरकार छ । तर उनीहरूले व्यवहारमा कुनै कम्युनिष्ट र समाजवादी कार्यक्रम अघि सारेका छैनन् । बरु पुँजीवादलाई नै बलियो बनाउने खालका नीति अघि सारेका छन् । एमाले र माओवादीको एकताले कुनै समाजवादी वा कम्युनिष्ट पार्टी बनेको होइन, बरु अर्को एउटा बलियो पुँजीवादी पार्टी बनेको छ ।
नेपाली काङ्ग्रेस पुँजीवादी पार्टी हो । नाफाखोर, भ्रष्टाचार, अनियमितता र स्वार्थ केन्द्रित राजनीतिमा नेपाली काङ्ग्रेस लिप्त छ । नेपाली काङ्ग्रेसले सत्तामा हुँदा जे–जस्तो कार्य गर्दै आयो, एमाले–माओवादी सरकारले पनि आज उही काम गर्दै र दोहो¥याउँदै आएको हो ।
नेपाल–भारत सिमानामा ११ सत्न्दा बढी सीमा स्तम्भ हराएका छन्, सीमा स्तम्भ नेपाल भूमितर्फ सारिएका छन् । सिमानामा नेपाली जनतामाथि भारतीय सुरक्षा बलबाट गोली प्रहार, कुटपिट, पक्राउ दोहोरिरहेकै छ । भारतको हेपाहा व्यवहार र एकतर्फी बाँध निर्माणको कारण नेपालको तराई भूमि डुवानमा पर्दै आएको छ । जन–धनको विनास वर्सेनि नेपाली जनताले खेप्नु परेको छ । भारतको कारण नेपाल र नेपाली जनता अनेक प्रकारको कष्टकर जीवन जीउन बाध्य छन् । यी विषयमा ‘सत्ताका सरदारहरू’लाई कुनै चिन्ता र चासो भएजस्तो देखिंदैन । भारतीय शासक वर्गसँग असमान सन्धि–सम्झौता गर्न के काङ्गे्रस, के एमाले, के माओवादी, सबै अग्रस्थानमा रहे । नेपाली क्षमतावान युवाहरू दैनिक हजारौंको सङ्ख्यामा रोजगारको खोजीमा विदेशिनु परेको छ । त्रिभुवन विमानस्थलमा दैनिक ५ नेपाली युवाहरूका लास भित्रिने गरेको छ र यसले शासक दलको संवेदनामा पटकै छोएको छैन ।
नेपाली काङ्गे्रसले पुरानै शैलीमा शासन गरेको थियो भने एमाले–माओवादीले ‘कम्युनिष्ट’को नाम बेचेर शासन गरे । एमाले–माओवादी मिलेर बनेको पार्टी पूँजीपतिहरूले नै बनाएको नक्कली कम्युनिष्ट पार्टी हो । भारतीय विस्तारवादले नेपाली काङ्ग्रेस वा एमाले–माओवादी पार्टीलाई आफूअनुकुल वा भारतीय स्वार्थको लागि प्रयोग गर्दै आएको इतिहास साक्षी छ । थप फाइदा लुट्नको लागि बेला–बेलामा यी पार्टीहरूलाई फुटाउने र मिलाउने काम भारतले गर्दै आएको हो । यी पार्टीहरूब्रम्हलुट गर्नको लागि सत्तामा पुग्न तँछाड–मछाड गर्छन् । तर, देश भने भारतले लुटिरहेको अवस्था छ ।
विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा रहेको विश्लेषकहरूको भनाई छ । साम्राज्यवादी तथा विस्तारवादी देशहरूले शासन सत्ता टिकाउन र लम्ब्याउनको लागि नक्कली कम्युनिष्ट, संशोधनवादीहरूलाई प्रयोग गर्ने गरेका छन् । भारतले एमाले माओवादीलाई पनि त्यसरी नै प्रयोग गरिरहेको छ । युरोपेली–अमेरिकी साम्राज्यवादी देशहरूले माक्र्सवादलाई बद्नाम गर्नको लागि धेरै तौर–तरिका अपनाएका छन् । भारतका पुँजीपति वर्ग आफ्नो देशमा कम्युनिष्ट पार्टी र आन्दोलन अघि बढेको चाहँदैनन् । भारतका कम्युनिष्ट पार्टीलाई माथि उठ्न दिंदैनन् । भारतीय शासक वर्गले भारतीय कामदार जनतामाथिको शोषणलाई चालू राख्न कम्युनिष्ट आन्दोलन अघि ब ढेको चाहँदैनन् ।
नेपालमा स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेन्टी भएमा भारतका कामदार जनताको ठूलो विद्रोह हुने सम्भावनाका कारण पनि भारतीय शासक वर्ग नेपालमा कम्युनिष्ट आन्दोलन अघि बढेको चाहँदैनन् । भारतमा करोडौं जनता गरिबीको रेखामुनि छन् । भारतमा वर्षमा लाखौं किसानहरूले सरकारी ऋण तिर्न नसकी आत्महत्या गर्छन् । बलात्कार, हत्याजस्ता आपराधिक क्रियाकलापहरूले भारतीय जनता ग्रसित छन् । नेपालमा सही कम्युनिष्ट आन्दोलन अघि बढे त्यसको प्रभाव भारतमा पनि पर्ने डरले यहाँ नक्कली कम्युनिष्ट खडा गरी कम्युनिष्टको बदनाम गर्ने षड्यन्त्र गर्छन् ।
पानीबिनाको माछा भएझैं नेपाली काङ्ग्रेस सत्ताको बाहिर बस्नुपर्दा आज छटपटाइरहेको छ । नक्कली कम्युनिष्टहरूलाई औंल्याउँदै ‘नेपालमा कम्युनिष्ट तानाशाह आउने भया’े, ‘सबैले दुःख पाउनेभयो’ भन्नु नेपाली काङ्ग्रेसको सत्ता बाहिर बस्नु परेको चित्कार हो ।
नेपाली काङ्ग्रेसलाई थाहा छ, एमाले–माओवादी कम्युनिष्ट होइन । त्यसभित्र भएका गुट–उपगुटमा समेत सत्तामा पुग्नको लागि मरिहत्ते गर्ने धेरै स्वार्थी व्यक्तिहरू छन् ।
कथित कम्युनिष्ट पार्टीभित्रका स्वार्थी व्यक्तिहरूका कारण कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा पुगेको हो । कामदार जनताको आन्दोलन माथि उठ्न नसकेको हो । माक्र्सवाद विज्ञानसंगत र उत्कृष्ट विचार हो, त्यसकारण माक्र्सवादको विचार को विजय ढिलोचाँडो अवश्यम्भावी छ । केही समय नक्कली कम्युनिष्टहरूले जनताकै आँखामा पर्दा राखे पनि अन्ततः उनीहरूको पराजय निश्चित छ । माक्र्सवाद नै कामदार जनताको मुक्तिको पथप्रदर्शक हो । अन्ततः समाजवाद हुँदै साम्यवादी व्यवस्थामा समाज स्थापनामा कुनै सन्देह छैन । शोषणरहित समाजको स्थापना हुनेछ । मजदुरको एकता र राजनैतिक सङ्घर्षबाट समाजवाद स्थापना हुनेछ । विकृतिपूर्ण पुँजीवादी समाजको पराजय निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *