आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
तेहरान, १६ सेप्टेम्बर । संरा अमेरिकाले इरानी आणविक सम्झौताबाट हात झिकिसकेपछि युरोपेली सङ्घले सम्झौताअनुसार तेहरान सरकारलाई युरेनियम उत्पादन नगरे वापत दिनुपर्ने क्षतिपूर्ति नदिए इरानले युरेनियम उत्पादनमा जोड दिने घोषणा गरेको छ ।
गत शनिबार इरानका विदेशमन्त्री जाबेद जारिफले प्रेस टीभीसँगको अन्तर्वार्तामा भने,‘युरोपेली देश र अरु हस्ताक्षरकर्ताले संरा अमेरिकाले लगाएको नाकाबन्दीको प्रभावको क्षतिपूर्ति दिनुपर्दछ ।’
इरानले पनि आणविक सम्झौताबाट हात झिक्ने सम्भावना अस्वीकार गर्दै उनले युरोपेली देशहरूले सम्झौताअनुसार वाचा पूरा नगरे तेहरानले कदम चाल्ने बताए ।
‘तेल र बैङ्कहरू परीक्षणका आधार हुनेछन् ।’, उनले भने । संरा अमेरिकाले इरानको तेल निर्यात र बैङ्क कारोबारमा नाकाबन्दी लगाएपछि त्यसको क्षतिपूर्ति युरोपेली सङ्घले दिने वचनबद्धताको स्मरण गराए ।
‘युरोपेली सङ्घले आफ्ना शब्दको कार्यान्वयन गर्न तयार भए नभएको निर्णय गर्न जरुरी छ ।’, जारिफले भने । ‘अथवा उनीहरूले संरा अमेरिकी दबाबकासामु आत्मसमर्पण गरेको घोषणा गर्नुपर्दछ ।’
सन् २०१५ मा इरानलगायत संसारका ठूला शक्तिहरू रुस, बेलायत, चीन, फ्रान्स, संरा अमेरिका र जर्मनीबीच इरानको आणविक कार्यक्रमसम्बन्धमा संयुक्त विस्तृत सम्झौता भएको थियो ।
तर गएको मे ८ मा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो इरानी सम्झौताबाट आफूले हात झिक्ने घोषणा गरेका थिए । सो घोषणासँगै वाशिङ्टनले इरानमाथि तेल कारोबार लगायतमा व्यापारिक नाकाबन्दी लगाएको थियो ।
Leave a Reply