भर्खरै :

भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

भक्तपुर, ९ असार । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको बीसौँ नगरसभाको बैठकबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित भयो ।
सभामा नगर प्रमुख प्रजापतिले नगरको समृद्धि, सुशासन र जनसेवालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तर्जुमा गरिएको र यसको प्रभावकारी कार्यान्वयनमा सबै जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा सम्बन्धित सरोकारवालाहरूसँग व्यापक छलफल तथा परामर्श गरिएको जानकारी दिँदै उहाँले नागरिक सहभागितालाई सुनिश्चित गर्न अनलाइन माध्यमबाट समेत राय–सुझाव सङ्कलन गरिएको बताउनुभयो ।
नगरवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाबाट प्राप्त सुझावहरूलाई सङ्कलन गरी आवश्यकता र प्राथमिकताका आधारमा विश्लेषण गरिएको तथा सोही आधारमा नीति तथा कार्यक्रम तयार गरी प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि सात जना सभासद्हरूले आ–आफ्ना धारणा, सुझाव तथा जिज्ञासा राखेका थिए ।
प्रस्तुत नीति तथा कार्यक्रममाथि सभासद्हरू हरिरत्न गोर्खाली, सिद्धिराम अवाल, कृष्णगोपाल चौगुठी, नारायणप्रसाद त्वानाबासु, तारादेवी शाक्य, मन्जुमैँया लाखा र गोविन्द दुवालले महेश्वरी खेलमैदानलाई राष्ट्रियस्तरको खेलमैदानको रूपमा विकास गर्नुपर्ने, बाराही पीठदेखि उत्तर बाराही पुलसम्म रहेका विभिन्न मन्दिरहरू जीर्ण अवस्थामा रहेकाले तिनको संरक्षण तथा पुनःनिर्माणमा विशेष जोड दिनुपर्ने, नगरपालिकाको व्यवस्थापनमा सञ्चालित भक्तपुर नगरपालिका वडा नं. ६ स्थित नागरिक आरोग्य केन्द्रको स्तरोन्नति गरी सेवा–सुविधा विस्तार गर्नुपर्ने, ख्वप अस्पतालका सेवा–सुविधाहरूलाई छिटो, छरितो र प्रभावकारी बनाउन डिजिटल प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने, स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षकहरूको व्यवस्थापन गर्नुका साथै तालिम र आवश्यक शिक्षण सामग्री उपलब्ध गराउनुपर्ने, शैक्षिक ऋणको ब्याजदर समयसापेक्ष रूपमा पुनरावलोकन गरी घटाउनुपर्ने तथा ऋणको अधिकतम सीमा रु. ७ लाखसम्म पु¥याउन पहल गर्नुपर्ने, कृषि विषयमा अध्ययन तथा अनुसन्धान प्रवद्र्धन गर्न नगरभित्र कृषि अनुसन्धान केन्द्र सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्ने, खेलकुद समितिबाट सञ्चालन हुने विभिन्न खेलकुद गतिविधिहरूको प्रभावकारी अनुगमन तथा निगरानीको व्यवस्था गर्नुपर्ने, भक्तपुर नगरपालिका वडा नं. १० स्थित कमलविनायक बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, भक्तपुर नगरपालिका वडा नं. १० स्थित मुलाँला सडक क्षेत्रमा हुने सवारी जाम न्यूनीकरण गर्न वैकल्पिक सडक निर्माण तथा विस्तार गर्नुपर्नेलगायतका धारणा राख्नुभयो ।
नगरसभाको अर्को बैठक २०८३ असार १० गते दिनको १ बजे बस्ने गरी स्थगित भयो । उक्त सभामा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *