भर्खरै :

नेपाली समाज किन फासीवादउन्मुख भयो ?

नेपाली समाज किन फासीवादउन्मुख भयो ?

विश्व राजनीतिजस्तै अहिले हाम्रो नेपाली समाज पनि एउटा ठूलो सङ्कटबाट गुज्रिरहेको छ । धेरै राजनीतिक विश्लेषकहरूले भनेजस्तै नेपाली समाज वा समग्र देश नै निरन्तर रूपमा एउटा विशिष्ट राजनीतिक दिशातर्फ अर्थात् फासीवादतर्फ उन्मुख भइरहेको छ ।
हाम्रो समाजलाई सबै क्षेत्रबाट नेतृत्व दिनुपर्ने राजनीतिक दल, विभिन्न संस्था र हामीले नायक मानेका पात्रहरू पूर्ण रूपमा असफल साबित भएका छन् । वर्तमान नेतृत्वले आम जनताका भावना र आवश्यकतालाई सम्बोधन गर्न नसक्दा यी संस्थाहरूको तीव्र क्षयीकरण भइरहेको छ । जब मानिसहरूमा राज्य र नेतृत्वप्रति कुनै भरोसा रहँदैन, तब उनीहरूले तार्किक वा विवेकपूर्ण ढङ्गले संसारलाई बुझ्न छाड्छन् । यसले समाजमा एक किसिमको अर्थहीनता र शून्यवाद (निहिलिजम) को अवस्था सिर्जना गर्छ र मानिसहरूलाई अन्ध–परम्परा वा अनुदारवादी सोचतर्फ धकेल्छ । वर्तमान सरकार वा रास्वपाजस्ता नयाँ राजनीतिक शक्तिहरूको उदय हुनुमा पनि ठ्याक्कै यही परिस्थितिको सूत्र र प्रवृत्ति प्रयोग भइरहेको स्पष्ट हुँदै छ ।
निर्वाचन सम्पन्न भई परिणाम आइसकेपछि परिदृश्य तात्विक रूपमा बदलिएको छैन । फासीवादले समाजमा जुन भ्रमपूर्ण संरचना खडा गर्छ, चाहे त्यो वर्तमान प्रधानमन्त्रीको सन्दर्भमा होस् वा बालेनजीको संरचनाको सन्दर्भमा, त्यसलाई विखण्डन (डिकन्स्ट्रक्ट) गर्नु अपरिहार्य भइसकेको छ । संसारभरि नै फासीवादका मुख्य दुईवटा तह हुन्छन्– एउटा शक्तिको तह र अर्को भाष्य वा चेतनाको तह  ।
अहिलेसम्मको विकासक्रमलाई हेर्ने हो भने प्रविधि सधैँ शक्ति, पुँजी र सत्तासँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ । प्रविधिको विकास र विस्तारका लागि ठुलो स्रोतसाधन र विशिष्ट ज्ञानको आवश्यकता पर्दछ । कुनै जमानामा कला (आर्ट) लाई जसरी पुँजी र सत्ताले आफ्नो स्वार्थका लागि एउटा औजारका रूपमा प्रयोग गर्यो, प्रविधिलाई पनि त्यसरी नै प्रयोग गर्दै आएको छ । त्यसैले यसमा प्रविधिको आफ्नै दोषभन्दा पनि यसलाई नियन्त्रण गर्ने सत्ताको भूमिका प्रमुख हुन्छ । विशेष गरी दोस्रो विश्वयुद्धपछि, जहाँ अमेरिकाले परमाणु बमको प्रयोग गरेर प्रविधिको चरम प्रदर्शन गर्दै जित हासिल गर्यो, त्यसपछि यो प्रवृत्ति झन् संस्थागत भएर गयो । त्यसयता कायम भएको अमेरिकी प्रभुत्व (हेजेमोनी), उसको पहिचान र प्रचारतन्त्र (प्रोपगान्डा) को एउटा अभिन्न र कसिलो अङ्गका रूपमा प्रविधि स्थापित हुन पुगेको छ ।
अहिले हामीले प्रयोग गर्ने डिजिटल प्रविधि, सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का ठूला प्लेटफर्महरू सबै अमेरिकी सिलिकन भ्यालीकै उत्पादन हुन् । सुरुका दिनहरूमा अमेरिकाले यस प्रविधिलाई आफ्नो बलियो ‘सफ्ट पावर’ (सचेत सांस्कृतिक प्रभाव) का रूपमा संसारभर फैलायो । जसरी कुनै समय कोकाकोला, माइकल ज्याक्सन, पेप्सी, एमटिभी र पप कल्चरमार्फत अमेरिकी प्रभाव विस्तार गरिएको थियो, त्यसरी नै बाराक ओबामाको पालासम्म आइपुग्दा प्रविधिलाई लोकतान्त्रिकरणको एउटा सुन्दर औजारका रूपमा व्याख्या गरियो । हामी सबैले पनि प्रविधिलाई जनताको हातमा शक्ति दिने माध्यमकै रूपमा बुझ्यौँ र यसले सुरुवाती चरणमा केही हदसम्म लोकतान्त्रिकरणको काम पनि गर्यो । अहिलेको प्रविधि लोकतान्त्रिकरणको माध्यम नभएर चरम वर्चस्व (सुप्रिमेसी) कायम गर्ने र मानिसलाई नै मेसिनमा रूपान्तरण गर्न खोज्ने ‘ट्रान्स–ह्युमनिजम’ को दिशातिर अघि बढिरहेको छ ।
अहिलेको डिजिटल युगमा मानिसभन्दा मेसिनलाई बढी रुचाउने र नियन्त्रणमुखी सोच भएका यस्ता पात्रहरूको चरम उदय भएको छ । इलन मस्क, श्याम अल्टम्यान र मार्क जुकरबर्ग जस्ता प्रविधि क्षेत्रका नायकहरू यसका प्रतिनिधि उदाहरण हुन् । प्रविधि उद्योगभित्र एक प्रकारको चरम बौद्धिक व्यक्तित्व विकार (एक्स्ट्रिम कग्निटिभ पर्सनालिटी डिसअर्डर) भएका यस्ता सीमित व्यक्तिहरूको हातमा आज अभूतपूर्व शक्ति र पुँजी केन्द्रित हुन पुगेको छ । सबैभन्दा डरलाग्दो कुरा त, प्रविधिलाई डो¥याइरहेका यी पात्रहरूलाई अब ‘मानिस’ मात्र भएर बस्नु छैन । उनीहरू मानव सीमाभन्दा माथि उठेर एउटा प्राविधिक ईश्वरत्व प्राप्त गर्ने ‘ट्रान्स–ह्युमन’ महत्वाकाङ्क्षा बोकिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *