भर्खरै :

आणविक निरीक्षणमा इरानको अडान

आणविक निरीक्षणमा इरानको अडान

दुबई, २३ जून (एपी) । इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूले अमेरिकाले पहिले आक्रमण गरेका आणविक स्थलहरूको भ्रमण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । यसले स्विट्जरल्यान्ड वार्तापछि आएको अमेरिकी दाबीलाई प्रत्यक्ष चुनौती दिएको छ ।
तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले उक्त भ्रमणसम्बन्धी कुनै सहमति वा तयारी नभएको बताउनुभयो । उहाँको भनाइ अमेरिकी उपराष्ट्रपति जेडी भान्सको त्यसअघिको दाबीभन्दा फरक देखिएको छ र स्विट्जरल्यान्ड वार्ताले आईएईएलाई इरानी साइटहरूमा पहुँच दिने सहमति जुटाएको भनिएको थियो ।
सन् २०२५ मा इजरायलसँग भएको १२ दिने युद्धपछि आईएईएले इरानभित्र र बाहिर अनुगमन जारी राखेको भए पनि अमेरिकाले लक्षित गरेको बम आक्रमण भएका संवर्धन स्थलहरूमा भने हालसम्म पहुँच नदिइएको इरानले स्पष्ट गरेको छ ।
पत्रकार सम्मेलनमा अन्य विषयमा उठाइएको प्रश्नमा बाघाईले इरानको आयात नीति मूल्य र गुणस्तरका आधारमा निर्धारण हुने बताउनुभयो । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति भान्सका टिप्पणीहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन नगरी प्रतिक्रिया दिनुभएको थियो ।
उहाँले थप टिप्पणी गर्दै हालको परिस्थिति र द्वन्द्वको प्रभावबारे व्यङ्ग्यात्मक शैलीमा युद्धको परिणामले इरानी सभ्यताको विनाश गर्ने उद्देश्य राखिएको भए पनि व्यवहारमा यसले अमेरिकी किसानहरूलाई आर्थिक लाभ पुगेको देखिएको बताउनुभयो ।
हर्मुजमा इरानको दाबी
यसैबिच अमेरिका–इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरु आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ । इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले युद्धअघि जस्तो अवस्था अब कहिल्यै नफर्कने र अन्तर्राष्ट्रिय कानुनअनुसार हर्मुज इरानद्वारा नै प्रशासित हुने बताउनुभयो ।
स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा अमेरिका र इरानबिच भएको वार्तापछि तेहरान फर्कनुभएका घालीबाफले वार्ताबाट सकारात्मक उपलब्धि हासिल भएको दाबी गर्नुभयो । उहाँले हर्मुज जलडमरु, लेबनानको अवस्था, इरानी तेलमा दिइने छुट तथा रोक्का गरिएका सम्पत्ति फुकुवाका विषयमा महत्वपूर्ण प्रगति भएको बताउनुभयो ।
इरान र संयुक्त राज्य अमेरिका सोमबार हर्मुज जलडमरु खुला राख्ने, समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्ने तथा लेबनानमा जारी द्वन्द्व अन्त्यका लागि सञ्चार संयन्त्र स्थापना गर्न सहमत भएका थिए । मध्यस्थकर्ताहरूका अनुसार मध्यपूर्वमा फैलिएको तनाव कम गर्न दुवै पक्षबिच प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्ने समझदारी पनि भएको छ ।
घालीबाफले भिडियो सन्देशमार्फत आफूहरू अझै प्रक्रियाको प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै कूटनीतिक प्रयास निरन्तर जारी रहने बताउनुभयो । उहाँका अनुसार यो यात्रा विशेषगरी जलडमरुको व्यवस्थापन, लेबनानको अवस्था, तेल कारोबार र आर्थिक विषयमा उपयोगी साबित भएको छ ।
सम्झौताअनुसार तेहरानले प्रतिबन्धमा आंशिक राहत पाउने तथा विदेशमा रोक्का गरिएका सम्पत्तिहरू फुकुवा हुने अपेक्षा गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार घालीबाफले वार्तापछि ओमानमा पनि भ्रमण गर्नुभएको थियो । ओमान हर्मुज जलडमरुसँग जोडिएको मुलुक हो ।
युद्धको सुरुआती चरणमा इरानले बन्द गरेको हर्मुज जलमार्ग अमेरिका र इरानबिचको सहमतिपछि गत साता पुनः सञ्चालनमा आएको थियो । तर, लेबनानमा भएको इजरायली आक्रमणको प्रतिक्रियास्वरूप तेहरानले शनिबार फेरि जलडमरु बन्द गर्ने घोषणा गरेको थियो ।
कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूका अनुसार त्यसयता तेहरान र वासिङ्टनले व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न, सम्भावित घटना रोक्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव कम गर्न प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् ।
समुद्री यातायात निगरानी गर्ने संस्थाहरूका अनुसार अमेरिका र इरानबिच युद्ध अन्त्यसम्बन्धी सहमति नजिकिँदै जाँदा सोमबार हर्मुज जलडमरुमा जहाजहरूको आवागमन फेरि तीव्र गतिमा बढ्न थालेको छ ।
द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन
यसैबिच इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ हर्मुज’ हुँदै कम्तीमा ३६ वटा वस्तुवाहक जहाज आवतजावत गरेको फ्रान्सेली दैनिक ‘ले मोन्डे’ ले जनाएको छ ।
समुद्री विश्लेषण कम्पनी केप्लरको तथ्याङ्क उद्धृत गर्दै मङ्गबार प्रकाशित समाचारमा उक्त सङ्ख्या द्वन्द्व सुरु भएयताकै उच्च रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार शान्तिकालमा ‘स्टे«ट अफ हर्मुज’ हुँदै दैनिक औसत १२० जहाज आवतजावत गर्ने गरेका थिए । सोमबारको आवागमन सामान्य अवस्थाको करिब एक तिहाइ बराबर रहेको जनाइएको छ ।
‘स्टे«ट अफ हर्मुज’ विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिन्छ । द्वन्द्वअघि विश्वव्यापी तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को २० प्रतिशतभन्दा बढी हिस्सा यही जलमार्ग हुँदै ढुवानी हुने गरेको थियो । खाडी क्षेत्रतर्फ अन्न तथा उपभोग्य वस्तु आपूर्तिका लागि पनि यो मार्ग महत्वपूर्ण मानिन्छ ।
यसैबिच कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिकी तथा इरानी वार्ताकारबीच आइतबार मध्यस्विट्जरल्याण्डस्थित बुर्गेनस्टक पर्वतीय रिसोर्टमा वार्ता सुरु भएको छ । गत साता इस्लामाबाद समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएपछि दुवै पक्षबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो ।
समझदारीपत्रअनुसार अमेरिका र इरानले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेका छन् । साथै, अधिकतम ६० दिनभित्र वार्तामार्फत अन्तिम शान्ति सम्झौतामा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *