भर्खरै :

जनता बाँचे, भाषा बाँच्छ

 एस.डी.राजचल
‘जनता म्वासा, भाषा म्वाइ’ अर्थात् ‘जनता बाँचे, भाषा बाँच्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै विगत ३७ वर्षदेखि निरन्तर नेपालभाषा साहित्य तःमुंज्या वर्गीय तथा भाषिक आन्दोलनको रूपमा निरन्तरता पाउँदै आएको छ । तःमुंज्याले भाषिक आन्दोलन सँगसँगै राजनीतिक आन्दोलनलाई टेवा पु¥याउँदै आइरहेको छ । समाजमा आमूल परिवर्तनका लागि जनता नै राजनैतिक रूपले सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता बोध गर्दै भाषा र साहित्य क्षेत्रमा तःमुज्याले प्रत्येक वर्ष कौलाथ्व द्वादशी र त्रयोदशी गरी दुई दिन नेपालभाषाको बृहत साहित्य सम्मेलनको आयोजना गर्दै आइरहेको छ । यस वर्ष ३८ औं बृहत सम्मेलन हुन गइरहेको छ । नेपाल सम्बत् ११०० अर्थात् विक्रम संम्वत २०३७ सालदेखि सञ्चालन हुँदै आएको सम्मेलन यस वर्ष भक्तपुर नगरपालिका वडा नं– १०, स्थित कमलविनायक क्षेत्रमा कार्तिक ४ र ५ गते सम्पन्न हुँदैछ ।
तःमुंज्याको दबु प्रगतिशील साहित्यप्रेमी कामदार जनता आफैले तयार गर्छन्, आफैले साहित्य प्रस्तुत गर्छन् र वाचित साहित्य श्रवण गर्छन् । यस हिसाबले तःमुंज्या प्रगतिशील जनताको साहित्यिक दबुका साथै वैचारिक दबु हो । तःमुंज्यामा केवल साहित्यका अनेक विधाहरूमात्र प्रस्तुत हुँदैनन् बरू यो दबुमा देशका बुद्धिजीवीहरू आफ्नो ज्ञान बाँड्ने पनि गर्दछन्
‘मुलुकमा जतिखेर पञ्चायती व्यवस्था थियो अर्थात जतिखेर पार्टीहरूमाथि प्रतिबन्ध लागेको थियो, जतिबेला खुला राजनीतिक कार्यक्रमहरू गर्न असम्भवजस्तै थियो प्रतिबन्धका कारण त्यही बेला तःमुंज्याको माध्यमबाट साहित्यिक र राजनीतिक कार्यक्रम गर्नु कम चुनौतीपूर्ण कार्य थिएन । साहित्य राजनीतिको हतियार हो भने मान्यता बोकेका तःमुंज्याका अभियन्ताहरूले भाषिक कार्यक्रमको माध्यमबाट राजनीतिक आन्दोलनलाई टेवा दिएका थिए ।
भक्तपुरका विभिन्न वडा र टोलहरूमा पञ्चायती व्यवस्थाको प्रतिबन्धबाट सिर्जित कठिनाइसँग सामना गर्दै तःमुंज्या सफलतापूर्वक हुने गरेका थिए । स्थापनाकालदेखि नै तःमुंज्याले निरन्तर आफ्नो वैचारिक स्पष्टतालाई प्रस्तुत गर्दै आइरहेको छ भने समसामयिक राजनीतिक विषयमा जनतालाई आफ्नो विचार स्पष्ट बताउने महत्वपूर्ण दबु बन्दै आइरहेको छ । विगतका वर्षहरूमाझैं यसवर्ष पनि यो दबुमा देशका प्रसिद्ध लेखक, कलाकार, राजनीतिज्ञ, अर्थशास्त्री, चिकित्सक, वैज्ञानिक, वकिल, साहित्यकार, पत्रकार, इन्जिनियर, प्राध्यापक, शिक्षाविद्, भूगोलविद्, इतिहासविद्, संस्कृतिविद्, जलस्रोतविद् आदि अतिथिहरूले आ–आफ्नो विषयका गहन विचारहरू प्रस्तुत गर्नु हुनेछ । तःमुंज्याको दबुमा कवि तथा कवयित्रीहरूले आफ्ना मौलिक रचना मातृभाषामा प्रस्तुत गर्नेछन् भने गीत संगीतको माध्यमबाट जनतालाई समाज र देशका विभिन्न विषयहरूका जनतालाई सचेत बनाउने काम हुनेछ । यो तःमुंज्याको अर्को विशेषता हो ।
पञ्चायती शासन व्यवस्थामा भाषिक र राजनीतिक घटनाहरू धेरै घटे । प्रतिक्रियावादी वर्गले कामदार वर्गको साहित्यलाई स्थान दिन मानेका थिएनन् । तैपनि सङ्घर्ष गरेरै जनताका साहित्यहरू वाचन भए । तःमुंज्या जनताको अपार मायाले झाङ्गिदै विभिन्न आरोह– अवरोह पार गर्दै आजसम्म आइपुग्न सक्नु आफैमा सफलता हो । जनताको आस्था र मायाले अझै लामो समय यसले निरन्तरता पाउने छ । अब तःमुंज्याको दबु नेपालभाषा आफ्नो मातृभाषा भएकाहरू र नेपालभाषालाई माया गर्नेहरूको मात्र दबु रहेन, बरू देशको सार्वभौमिकता र अस्तित्वसँग समेत यो जोडिएको छ र यसलाई माया गर्ने हातहरू निरन्तर बढ्दै आइरहेको छ ।
पञ्चायती व्यवस्थाले केवल एउटै भाषालाई मात्र उकास्ने नीति लिएको थियो । साथै शोषित पीडित जनताको पक्षमा साहित्य रचना गर्न रोक लगाएको थियो । त्यस्तो परिस्थितिलाई चिर्नु नै नेपालभाषा साहित्य तःमुंज्याको उद्देश्य हो । साथै नेपालभाषा संरक्षण र विकास गर्नु, देशको सबै भाषालाई समान अवसर दिनु, वर्गीय चेतना जगाउने, सामन्तवाद, पँुजीवाद, उपनिवेशवाद र साम्राज्यवादको विरोधमा जनतालाई उठाउनु र आफ्नो विचार प्रस्तुत गर्ने उद्देश्यका साथ तःमुंज्या स्थापना र विकास भएको हो । साथै भाषिक आन्दोलन राजनीतिक आन्दोलन सँगसँगै लैजाने नीति अनुरूप नै तःमुंज्याको स्थापना भएको र नयाँ पुस्ता तयार भएको हुँदा यो अभियान निरन्तर चालू रहने जनताको विश्वास छ ।
कुनै पनि देशको भाषा, संस्कृति, कला र साहित्य विकासका लागि लामो समय लाग्ने गर्दछ । नेपाल भाषिक, सांस्कृतिक, भौगोलिक र धार्मिक हिसाबले अति महत्वपूर्ण विशेषता बोकेको देश हो र यही नेपालीको परिचय बनेको छ । जसको माध्यमबाट नेपाल र नेपालीको शीर उँचो रहँदै आइरहेको छ । भाषा, संस्कृति, कला र साहित्यको संरक्षण र विकास गर्ने काम र महत्वपूर्ण जिम्मेवारी पहिलो त सरकारको हो भने दोस्रो ती भाषा र संस्कृतिका जनताहरूकै हो । नेपालीको पहिचान भनेको नै इतिहासमा पुर्खाले छाडेर गएका यी बहुमूल्य भाषा, संस्कृति र सम्पदाहरू हुन् ।
शिक्षालाई सभ्यताको जननीको रूपमा स्वीकार गरिएको भए तापनि आज यूरोप महादेशका कैयौं देशहरूले आफ्नो इतिहास खोज्न सुरू गरेका समाचारहरू बाहिर आएका छन् । आफ्नो इतिहास र सभ्यताको अभावमा तिनीहरूले आफ्नो परिचय गुमेको महसुस यतिखेर गर्न थालेका छन् । सोही कारण आर्थिक सम्पन्नताकाबीच पनि आफ्नो परिचय खोज्दै आएका युरोपेलीहरू अस्तित्वको लडाईं लड्दै छन् । यता एशिया महादेशका कैयौं देशहरूले आफ्नो भाषा र संस्कृतिलाई पहिचानको मान्यता दिंदै संरक्षण र विकासमा जोड दिंदै आइरहेका छन् । यसरी आफ्नो भाषा र संस्कृतिको संरक्षण र विकासमा एउटा महत्वपूर्ण पाइला हो – नेपालभाषा साहित्य तःमुंज्याको दबु ।
भाषाविद् डा. माधवप्रसाद पोखरेलको कथन छ, ‘भाषा संरक्षणका लागि भाषा जान्नेले सम्बन्धित समुदायका मान्छेलाई सिकाउनुपर्दछ, जुनसुकै भाषा जानेको मान्छेमा पनि ज्येष्ठ नागरिकलाई भाषाको ज्ञान हुन्छ । भाषा देशको सम्पत्ति हो र यसको संरक्षण गर्ने दायित्व सरकारको हो ।’ तर, देशको सम्पत्तिको रूपमा रहेको भाषा संरक्षणमा सरकारले कामै नगरेको पोखरेलको भनाइ छ । ‘हामी कहाँ भाषा लोपोन्मुख अवस्थामा पुगिसक्दा पनि त्यसलाई संरक्षण गर्ने दायित्व बोकेको सरकारलाई यसबारे चिन्ता नहुनु दुःखको कुरा हो । सम्बन्धित पक्षले समेत चासो नलिंदा भाषाको अस्तित्वमाथि समस्या आएको छ ।’
यही भाषाको महत्वको गहिराइलाई मनन् गर्दै हरेक वर्ष दुई दिन नेपालभाषाकै माध्यमबाट तःमुंज्यामा विभिन्न साहित्यकारहरूका प्रगतिशील साहित्यमात्र वाचन हुँदैनन् । यसका अतिरिक्त देश र विदेशका समसामयिक घटनाक्रमहरूका विषयमा गहन छलफल गरिन्छ र जनता प्रशिक्षित हुने मौका पाउँदछ । विशेषगरी नेपालमा बढ्दै गएको भारतीय विस्तारवादको खुलेर विरोध गर्दै आएको छ । दबुले भारतीय एकाधिकार पँुजीले नेपाली बजारमा पु¥याएको क्षतिको विषयमा पनि विचार विमर्श गर्दै आएको छ । विगतमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा दबुमा छलफलहरू भएका थिए । अमेरिकी साम्राज्यवादले सार्वभौमसत्ता सम्पन्न देशहरूमाथि थिचोमिचो र हस्तक्षेप गर्दा तःमुंज्याको दबुमा साम्राज्यवादविरोधी आवाज उठेको थियो । स्वदेशी भूमिमा विदेशी अतिक्रमण बढ्दा शासक दलका नेताहरूलाई आलोचना र विरोधको माध्यमबाट झक्झक्याउने काम बेलाबखत भइरहेको छ ।
‘क्रान्तिको निम्ति क्रान्तिकारी पार्टी चाहिन्छ र त्यो क्रान्तिकारी पार्टी वैचारिक रूपले स्पष्ट हुनुपर्दछ’ भनेझंै समाजमा आमूल परिवर्तनका लागि राजनैतिक नेता र कार्यकर्तासँग–सँगै जनताका साहित्यकारहरूले मात्र क्रान्तिमा ठोस योगदान दिन सक्छन् । जनताका पक्षमा लेखिएका प्रगतिशील साहित्य र प्रगतिशील लेखक तथा साहित्यकारहरू तयार गर्ने उद्देश्य बोकेको तःमुंज्याले श्रमिक जनताकै साहित्यलाई स्थान दिंदै आइरहेको छ । यो तःमुंज्याको अर्को विशेषता र गौरव हो । ‘भाषाविद् पोखरेल भन्नुहुन्छ’, ‘समुदायकै मान्छेहरू सचेत नहुने हो भने भाषा, कला र संस्कृति लोप हुनु स्वाभाविक छ । देशका थुप्रै भाषा अशिक्षा, गरिबी र चेतनाको अभावका कारण लोप भएको छ ।’ भाषालाई सभ्यताको जननीको रूपमा स्वीकार गर्ने हो भने सर्वप्रथम भाषा बोल्ने मानिस हुनु अपरिहार्य छ, भाषा बोल्ने मानिस नै भएन भने जुनसुकै भाषा पनि लोप भएर जान्छ, तसर्थ नेपालभाषा साहित्य तःमुंज्याले ‘भाषा म्वासा जनता म्वाइ’ को नारालाई अगाडि बढाई भाषिक आन्दोलनलाई निरन्तरता दिएका हुन् । यसै प्रसङ्गमा भाषाविद् पोखरेल थप्नुहुन्छ, ‘आफ्नो जातिको पहिचान जोगाउन भाषाको संरक्षण गर्नु आवश्यक छ, चेतको विकास त्यस समुदायकै हुनुपर्दछ ।’
३८ औं नेपालभाषा साहित्य तःमुज्याको अर्को विशेषता रहेको छ– विश्व सर्वहारा वर्गका महान गुरू कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा उहाँका योगदानको स्मरण गर्नु र उनको योगदानलाई आत्मसात गर्नु । मानव समाजको विकासका विभिन्न चरणहरू प्रतिपादन गर्ने र मानव मुक्तिको बाटो पत्ता लगाउने संसारका महान दार्शनिक माक्र्सको जन्मको द्विशतवार्षिकी मनाउने क्रममा माक्र्सवादी साहित्य प्रस्तुत गर्ने अर्को प्रयास तःमुंज्याले गरेको छ । विभिन्न नाटक र गीत तथा नृत्यको माध्यमबाट पनि माक्र्सका योगदानहरूको चर्चा गर्ने कार्यक्रमको रूपमा तःमुंज्याले आफूलाई यसपटक उभ्याउने छ । यसले समाज विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा पनि आयोजक समितिले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *