भर्खरै :

विदेशमा बस्ने नाति–नातिनाहरूलाई पत्र

प्रिय नाति अमर र नातिना अमृता
धेरै धेरै सम्झना र माया !
सम्भवतः उमेरले होला आफ्ना नाति–पनातिहरूको माया र सम्झनाले आँखा रसाउँछन् । मानवीय गुण नै होला स्नेह, माया–ममता, विवेक र वात्सल्य ! मेरा सहयोगी बहिनीले केही दिनको बिदा लिएको कारण टाइप नहुँदा तिमीहरूको पत्रको उत्तर दिन केही ढिलो भयो । त्यसको अर्थ तिमीहरू सम्झनाको मानसपटलबाट मेटिएको पटक्कै होइन । बरू तिमीहरूको तस्वीर मनमा झन् झलझली देखिरहन्छु ।
केही दिनअगाडि पश्चिमकी एक जना लेखिका बहिनीले ७९ वर्षमा प्रवेशको खुसीयालीमा बधाई दिइन् । टेलिफोन उठाएँ, आवाज आयो – ‘‘दाजु, आज ७९ वर्ष टेक्दै हुनुहुन्छ ।’’ बहिनीलाई धन्यवाद दिएर मैले आफूलाई विगततिर डो¥याएँ । म अहिले पनि कलेजमा साथी–भाइ, प्राध्यापकहरू र अमेरिकी छात्रछात्राहरूसँग भियतनाममा अमेरिकी आक्रमणको विरोधमा गरेको गन्थन सम्झिरहन्छ । नेपाली जनताले भियतनामी जनताको समर्थनमा आक्रमणविरोधी प्रदर्शन, राष्ट्रपति जोन्सनको भाषणको प्रहसन, फोटो प्रदर्शनी आदि गतिविधिहरूको घटना सिनेमाका तस्वीरहरूजस्तै याद आइरह्यो । कलेजका वाद–विवाद प्रतियोगिता, स्वतन्त्र भाषण र साहित्य सम्मेलन, खेलकुद प्रतियोगिता, नाच–गान आदिको सम्झनाको अटुट शृङ्खला चालू रह्यो । आफू शिक्षक हुँदा विद्यार्थी–भाइबहिनीहरूलाई हरेक महादेशका महत्वपूर्ण पहाड, नदी–नाला, घाँसे मैदान, झरना, खाडी र आँधीबेहरी अनि पुँजीवादी क्रान्ति, स्वतन्त्रता आन्दोलन, राज्य क्रान्ति, पेरिस कम्युन, रूसी क्रान्ति र चिनियाँ क्रान्तिबारे कक्षामा गरेका गन्थनका तस्वीरहरूको क्रम चालू रह्यो ।
फ्रान्समा पेरिस कम्युनको सङ्घर्षमा अन्तिम क्रान्तिकारी व्यक्ति आफूसँग बन्दुक र अन्तिम गोली भएसम्म फरफरिरहेको झण्डा र चिहानको कुना एक्कासि सम्झेँ । सिंहमर्मरले बनाइएको चिहानको पश्चिम पाटीमा कुँदिएको सिक्रीले बाँधिएका हातहरु लेखिएको थियो । ‘‘हामीले फेरि चिहानबाट उठेर लड्ने छौं, तिमीहरूको स्वर्गलाई ध्वस्त पारेर हाम्रो स्वर्ग फर्काउने छौं । क्रान्ति जिन्दावाद !’’
म झस्केर बिउँझेजस्तै आफूलाई पाएँ । साँच्चै समय बितेको थाहा नै भएन, म अहिले ७९ वर्ष भएँ र ! मनले भनिरहेको थियो, ‘‘तिमी थाक्नु हुन्न, अगाडि बढ्दै जानुपर्छ । पछाडि हेरेर समीक्षा गर्दैै जानुपर्छ – आफू कहिले टाढा र कहिले नजिकजस्तै हुन्छ पहाडको घुम्तीजस्तै, तर तिमी झरनाजस्तै बगिरहनुपर्छ, राम्रो विचार पुरानो हँुदैन, सदा नयाँ र ताजा अनि सुन्दर देखिन्छ ।’’
अहो ! कसरी म विगतमा हराएँ – मेरा अमर र अमृता ! राम्रो विगतले आज पनि मनमा ऊर्जा प्रदान गर्नेरहेछ । कस्ता सुखद दिन थिए ती ! तर मैले तिमीहरूले मेरो स्वास्थ्यको विषयमा सोधेका थियौ, बिर्सेँ । अब तिमीहरू मेरो औंला समातेर नेपालमा लाय्कू (दरवार स्क्वायर) देखाउँदाका साना नातिहरू होइनौ न त भर्खर मावि पढेका विद्यार्थीहरू हौ, अब तिमीहरू स्नातक हौ । अब तिमीहरूको हातमा मेरो औंला होइन, विश्वको नक्सा हुनुपर्छ र त्यसका पछिल्तिर अफ्रिका महादेशका पेट्रिस लुम्बुबा, ओमर मुख्तर, एनक्रुमा, सेकु तुरे र नेरेरे तथा ल्याटिन अमेरिकाका जोसे मार्टी, सिमोन बोलिभार, क्याष्ट्रो, चे ग्वेभारा र ह्युगो चाभेजजस्ता देशभक्त र अन्तर्राष्ट्रवादीहरूको तस्वीर एवं जीवनी हुनुपर्छ, जसबाट तिमीहरूलाई व्यक्तिगत दुःखको अनुभव हुनेछैन ।
मेरो उपचार चलिरहेको छ, बरोबर अस्पताल र स्वास्थ्य केन्द्रहरू धाइरहन्छु र साथी–भाइ र युवा–युवतीहरूसँग भेटघाट भइरहन्छ । ६–७ बजेतिर थाइराइडको औषधि थाइरोनर्म – ५० को चक्की खान्छु, अनि बिहान, दिउँसो र साँझमा पनि खाना खाएपछि २–४ किसिमका औषधि सेवन गर्दैछु । बिहान र बेलुका थेरापिष्टले सिकाएबमोजिमको थेरापी गर्छु । स्वास्थ्य राम्रै छ ।
आजभोलि नेपालमा दसैंको चहलपहल छ, राता टीका र पहेंलो जमरा सबैको निधार र टोपीमा देखिन्छ भने महिलाहरूको चुल्ठोमा जमरा र रातो पोशाकमा सारा दृश्य रातै देखिन्छ । एउटा सानो टोलमा दायाँ–बायाँको लाममा १०–१२ वटा मोटर, मोटरसाइकललाई फूल, अक्षता र अबिरले रातै हुने गरी पूजा गरिएको थियो । अर्को लाममा केही परिवारले ट्रिपर, ट्रक र मोटरकारमा बोकाको आन्द्रासमेत फूलको मालाजस्तै लगाई पूजा गर्दै थिए । पश्चिमेली पर्यटकहरूले आफ्नो क्यामराले फोटो खिचेपछि सोधे – ‘‘यसरी मोटर, मोटरसाइकललाई पूजा र भोज खुवाएपछि के चलाउन पेट्रोल नचाहिने हो ?’’ पूजा गर्नेहरूमध्ये कलेज र विश्वविद्यालयका विद्यार्थीहरू थिए, अलि बुझ्ने युवाहरू लाजले विस्तारै पन्छिए, पर्यटकहरू अगाडि बढे । तिनीहरूले एक जना नयाँ युवासँग सोध्दा उनले बताए ‘‘यो पाषाण युगको सिलसिला हो ।’’ पर्यटकहरू आश्चर्य र हाँसो मिश्रित मुद्रामा अघि बढे ।
नातिनी अमृता र नाति अमर ! मेसिन युग पार गरेर संसार २१ औं शताब्दीमा प्रवेश गरिसक्दा पनि विचार भन्ने पाषाण युगमै छ – जहाँ मानिस विज्ञान र प्रविधिबाट कोसौं टाढा थियो । यसको अर्थ हो – उत्पादनका साधन र उत्पादनको सम्बन्ध फेरिए पनि तत्काल संस्कृति र मानिसको सांस्कृतिक जीवनमा हेरफेर गर्न समय लाग्नेछ ।
छिमेकी भारत यसको उदाहरण हो । भारतको दक्षिण केराला प्रान्तमा एउटा मन्दिर छ, जहाँ ८ वर्षकी छोरीदेखि ५० वर्षकी महिलालाई समेत त्यस मन्दिरमा प्रवेश गर्न दिइँदैन । यसको कारण त्यहाँका मठाधीशहरूले रजश्वलालाई अपवित्र मान्छन् । सम्भवतः भारतीय स्वतन्त्रताको ७० वर्षपछि पनि भारतीय संविधानअनुसार पुरूष र महिलाको भेदलाई हटाउने उद्देश्यले दिल्लीको सर्वोच्च अदालतले त्यस मन्दिरमा महिलाको प्रवेशलाई वैध भएको घोषणा ग¥यो ।
तर त्यहाँका मठाधीशहरू र छिमेकी प्रान्तका विभिन्न मन्दिरका मठाधीशहरूले सर्वोच्च अदालतको निर्णयलाई अस्वीकार गर्दै मन्दिर प्रवेश गर्न खोज्ने महिलाहरूलाई जबरजस्ती रोक्ने काम गरे । त्यस आगोमा घीउ थप्ने काम आजको सत्तासीन भारतीय जनता पार्टीले केरालाको त्यस मन्दिरअगाडि मात्रै होइन, दक्षिण भारतको विभिन्न प्रान्तमा भाजपाका महिलाहरूमार्फत सर्वोच्च अदालतको निर्णयको विरोधमा ठूलठूला विरोध प्रदर्शनको आयोजना ग¥यो । दक्षिण भारतमा त्यस धार्मिक कट्टरताले ठूलो रूप लिने सम्भावना देखिएको त्यहाँका पर्यवेक्षकहरू बताउँछन् ।
यसबारे भारतीय प्रधानमन्त्री मोदीले भने – ‘‘संविधान नै मुख्य आधार हो ।’’ यसको अर्थ हो – धर्मभीरू परम्परालाई कायम गर्ने र सर्वोच्च अदालतको पुरूष र महिलाको समानताको निर्णयलाई अस्वीकार र विरोध गर्नु हो ।
यसबारे भारतीय विश्लेषकहरू नै भन्छन् – ‘‘भारतमा अहिले मध्यावधि निर्वाचन हुँदैछ । महानिर्वाचन पनि एक–दुई वर्षमै हुँदैछ । यसकारण भाजपाले दक्षिण भारतको कट्टर हिन्दूहरूको मत पाउन सर्वोच्च अदालतको निर्णयलाई समेत सरकारले अवज्ञा गर्दैछ ।’’
केही बुद्धिजीवीहरू संसारका हरेक हिंसा, आगजनी र बलात्कारजस्ता सबै अप्रिय घटनाहरुमा कुनै न कुनै रूपमा राजनैतिक दलहरूको हात हुने बताउँछन् । यसकारण जनता अत्यन्त सचेत र राजनैतिक रूपले आलोचनात्मक दृष्टिकोणको विकासलाई गर्नुपर्ने स्थिति छ ।
मेरा नातिना अमृता र नाति अमर !
तिमीहरूले दक्षिण भारतको विषयमा एकैबाजी कुनै राय बनाउनुभन्दा पहिले त्यसबारे २–३ किसिमका परस्परविरोधी पुस्तक र लेखहरू अध्ययन गर्नू अनि वैज्ञानिक ढङ्गले त्यहाँ घट्ने घटनाहरूको अध्ययन गर्ने बानी बसाल्नू । आजलाई यति नै ।
माया गर्ने हजुरबुबा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *