भर्खरै :

जमाल खासोग्गीको हत्याले उठाएका केही प्रश्न

अन्ततः पत्रकार जमाल खासोग्गी टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासभित्रै हत्या भएको रियाद सरकारले स्वीका¥यो । अक्टोबर २ का दिन महावाणिज्य दूतावासभित्र पसेका खासोग्गी नफर्केपछि उनको दूतावासभित्रै हत्या भएको हुनसक्ने सुरूको अनुमानलाई रियाद सरकारले लगातार अस्वीकार गर्दै आएको थियो । दूतावास स्रोतले खासोग्गी आफ्नो काम सकेर दूतावासबाट बाहिरिसकेको र उनी कहाँ गएको थाहा नभएको बताउँदै आएको थियो । टर्कीका सुरक्षाकर्मीले पटक–पटक साउदी पत्रकारको निर्ममतापूर्वक हत्या गरिएको प्रमाणसहितको दाबी गर्दा पनि रियाद सरकारले आफ्नो अनभिज्ञता व्यक्त गर्दै आएको थियो । तर शनिबार रियाद सरकारले खासोग्गीको महावाणिज्य दूतावासभित्रै हत्या भएको स्वीकारेको छ । यसबाट प्रष्टतः झण्डै तीन सातासम्म संसारलाई रियाद सरकारले झूटो बोलेको प्रस्ट भएको छ । आफ्नै दूतावासभित्र भएको जघन्य हत्याको घटनाबारे साउदी सरकारले आफूलाई थाहा नभएको बक्दै आउनु संसारलाई झूट बोल्नु हो । एउटा देशको सरकारले संसारलाई झुट बोल्नु के सजायको भागीदार होइन ? संसारसमक्ष झूट बोल्ने साउदी सरकारलाई के सजाय हुनुपर्छ ?
शनिबार रियाद सरकारले दूतावासभित्र भएको कुटाकुटको क्रममा खासोग्गीको हत्या भएको भनिएको छ । कदाचित यो कुरालाई नै सत्य मान्ने हो भने एक जना निहत्था मानिससँग कुटाकुट गर्न के रियादबाट दुईवटा चार्टर विमानमा पन्ध्र जना साउदी उच्च सुरक्षा अधिकारी हतारमा आउन जरुरी छ ? खासोग्गी दूतावासभित्र पसेपछि इस्तानबुलमा दुईवटा विमान चार्टर गरेर साउदी अरबका उच्च अधिकारीहरू आएको यसअघि नै बाहिर आइसकेको तथ्य हो । ती अधिकारीमध्ये एक जना साउदीका राजकुमारका अङ्गरक्षक पनि थिए । खासोग्गीसँग कुटपिटकै घटना भएको अवस्थामा पनि साउदीको यत्रो तामझामको आवश्यकता किन प¥यो ?
अर्को महत्वपूर्ण प्रश्न, खासोग्गी ‘बेपत्ता’ भएपछि बढ्दो अन्तर्राष्ट्रिय दबाब ठेग्न नसकेर टर्की र साउदी सरकारको संयुक्त अनुसन्धान टोली गठन भयो र त्यो टोलीले अनुसन्धानको क्रममा दूतावासभित्र पस्नुअघि नै महावाणिज्यदूत किन रियाद गए ? के त्यो साउदी अरबले त्यत्ति नै बेला खासोग्गीको हत्या स्वीकार्नु थिएन ?
खासोग्गी हत्याले साउदी सरकारको निर्ममता फेरि एकपल्ट संसारसामू उजागर गरेको छ । आफ्नो दूतावासभित्र सेवाका लागि आएको नागरिकलाई दूतावासभित्रै निर्ममतापूर्वक हत्या गर्नु आजको समयको जङ्गलीराजको नमुना हो । नागरिक स्वतन्त्रता, अधिकार, आधुनिक सभ्यताका सबै आयामलाई साउदी अरबको यो हत्याले नराम्ररी धज्जी उडाएको छ ।
साउदी अरबको यो कदम कुनै न कुनै रुपमा संरा अमेरिकासँग पनि जोडिएको छ किनभने रियाद सरकार लामो समयदेखि वाशिङ्टनको क्षेत्रीय साझेदार बन्दै आएको छ । मध्यपूर्वमा जसरी इजरायल वाशिङ्टनको मोहडा हो, त्यसरी नै साउदी राजपरिवार उसको पुरानो साझेदार शक्ति हो । साउदी अरबको यो उच्छृङ्खलता र निर्ममताको लागि वाशिङ्टन पन्छिन सक्दैन । साउदीले खासोग्गीको हत्या स्वीकार गरिसकेपछि संसारको आँखा अब वाशिङ्टनतिर केन्द्रित छ । आणविक हातहतियार नै नभएको देश इराकमाथि वाशिङ्टनले झूटो आरोप लगाई जसरी विध्वंस मच्चाउने काम भयो, अब साउदी अरबका राजपरिवारबाट भएको यो जघन्य अपराधको लागि त्यहाँका शासक वर्गको लागि सजाय के हुनसक्छ ? वाशिङ्टनको ‘कानुन’ मा यसको लागि के सजाय हुनुपर्दछ ?
संसारले लामो समयदेखि झेल्दै आएको संरा अमेरिका र साउदी अरबको साम्राज्यवादको आज हिसाबकिताब मागिरहेको छ । मानव अधिकारको नाममा कुर्लने पश्चिमा शक्ति खासोग्गीको दूतावासभित्रै गरिएको हत्यालाई ‘भत्र्सना’ शब्दभित्रै मात्र कैद गर्छन् वा त्यसको लागि रियाद सरकारले केही सजाय पनि पाउनेछ ? संरा अमेरिका र पश्चिमा शक्तिको पाखण्ड फेरि निरन्तर रहन्छ वा यो उपेक्षा गर्नै नसकिने घटनाको लागि साउदीमाथि अन्तर्राष्ट्रिय समुदायको तर्फबाट कुनै सजाय हुनेछ ? अब जवाफ वाशिङ्टनबाट आउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *