भर्खरै :

कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?

– नारायण ढुङ्गाना
काठमाडौं, ३ कार्तिक । सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ ।
ती प्रश्नको निराकरण गर्ने प्रयासस्वरुप अहिले नेपालमा सबैभन्दा धेरै थारूको बसोबास रहेको बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सिकलसेलको अध्ययन थालेको छ । सिकलसेल एनिमियाँ रातो रक्तकोषभित्र रहेको हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग हो ।
अनुसन्धान अधिकृत सृष्टी प्रियदर्शीनीले भन्नुभयो, “अध्ययनले खास अवस्था पत्ता लगाउनेछ र मृत्युदर कम गर्ने उपायको खोजी गर्न सहयोग गर्छ ।”
विसं २०६८ को जनगणनामा नेपालमा १७ लाख ३७ हजार थारू रहेकोमा त्यसमध्ये ५६ प्रतिशत बर्दियामा छन् । बर्दियाको पनि धेरै थारू समुदाय रहेको बारबर्दिया नगरपालिका हो । त्यसैले त्यहाँ अनुसन्धान केन्द्रित गरिएको परिषद्को भनाइ छ ।
परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाको संयोजकत्वमा समिति गठन गरी गएको चैतदेखि अनुसन्धान थालिएको हो । प्राविधिकले अहिलेसम्म १३ हजार नमुना सङ्कलन गरेका छन् । बीस हजार नमुना सङ्कलन गर्ने लक्ष्य छ । सङ्कलित नमुनाको वीर अस्पतालमा परीक्षण हुन्छ ।
अनुसन्धानमा एकदेखि २९ वर्ष उमेर समूहका व्यक्ति छनोट गरिएको छ । खासगरी १ देखि ५ वर्ष उमेर समूहका बालबालिकामा मृत्युदर बढी हुन्छ । “पेटको बच्चामा डीएनए परीक्षण गरेर रोग फेला परेमा बुबाआमाले चाहेमा बच्चा रोक्न सक्ने अवस्था हुनसक्छ, नभए बेलैमा सावधानी अपनाउन सकिन्छ, त्यसैले प्रतिवेदन आएपछि समुदायलाई सचेत गराउने कामसमेत हुन्छ”, प्रियदर्शीनीले भन्नुभयो । अनुसन्धानले रोगको पहिचान गर्ने र प्रभावितलाई परामर्श दिएर ज्यान जोखिम हुनबाट रोक्छ ।
अनुसन्धानमा सहभागी डा. श्यामकुमार विक अनुसन्धान सँगसँगै परामर्श सेवाका कार्यक्रमसमेत चलिरहेको बताउनुहुन्छ ।
थारूमा मात्रै छैन सिकलसेल
सिकलसेल थारूमा मात्रै लाग्ने रोग भन्ने गरिए पनि परिषद्ले भने त्यसलाई इन्कार गरेको छ । अन्य समुदायमा पनि रोग देखिएको तर बढी थारू समुदायमा सङ्क्रमण रहेको परिषद्को भनाइ छ ।
तथ्याङ्कअनुसार नेपालमा करीब १८ प्रतिशत थारू समुदायमा यो रोग देखिएको छ । आठदेखि १० प्रतिशत गैरथारू समुदायमा रोग देखिएको छ । “थारूमा मात्रै यो रोग देखिन्छ भनेर जसरी प्रचार भइरहेको छ, त्यो चाहिं हैन, अरु समुदायमा पनि रोग छ”, प्रियदर्शीनीले भन्नुभयो ।
यो वंशाणुगत रोग भएकाले आफ्ना पुर्खामा भए सरेर आउन सक्छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २००७ को प्रतिवेदनमा अफ्रिकामा ४५ प्रतिशत मानिस यो रोगबाट प्रभावित भएको तथ्याङ्क छ ।
भारतको गुजरात, राजस्थान र अमेरिकामा पनि रोग देखिएको विभिन्न अध्ययनले देखाएको छ । नेपालको दाङ, बाँके, बर्दियामा बढी देखिएको छ । रौतहटको झा समुदायमा समेत रोग देखिएको छ ।
पूर्वी नेपालका थारू समुदायमा भने न्यून रहेको छ । यसअघि विभिन्न अस्पताल र विश्वविद्यालयले सीमित क्षेत्रको अनुसन्धान गरे पनि एउटा नगरपालिकालाई नै केन्द्रित गरेर अनुसन्धान गरेको पहिलो भएको दाबी परिषद्को छ ।
यसको प्रतिवेदन आएपछि समग्र नेपालमै सिकलसेलको एनिमियाँ अवस्थाको बारेमा अध्ययन गर्ने योजना रहेको परिषद्का उपप्रमुख प्रशासकीय अधिकृत निर्भयकुमार शर्मा बताउनुहुन्छ ।
के हुन्छ सिकलसेलको असर
पहिलो पटक कपिलवस्तुमा सिकलसेल एनिमियाँ रोग पत्ता लागेको थियो । सुरुमा यो रोग लागेका बिरामीमा शरीर दुख्ने, हड्डी दुख्ने, रगत कम हुने, अल्छी लाग्ने हुन्छ ।
रगत कम भएर रक्त अल्पता हुन्छ । जाँगर नलाग्ने, सुस्तता आउने हुन्छ । वंशाणुगत रुपमा सर्ने भएकोले उपचारको विधि विश्वमा नरहेको सिकलसेल अनुसन्धानमा सक्रिय डा. विक बताउनुहुन्छ । “यसको उपचार भनेको लक्षणअनुसारको औषधि हो”, उहाँ भन्नुहुन्छ ।
रोगको न्यूनीकरणका लागि बर्दियामा नयाँ शैक्षिक तथा परामर्श सेवाको अभियान थालिएको छ । जेटेटिक परामर्श सेवा थालिएको र सिकलसेल हुनेले नहुनेसँग बिहे गर्ने अभियान चलाइएको छ जसले गर्दा ७५ प्रतिशत रोग सर्नबाट रोकिने डा. विक बताउनुहुन्छ । यसले अहिले समाजमा सकारात्मक प्रभाव पारेको छ ।
सिकलसेल भएकालाई रातो, महिलामा मात्रै हुने र अरुलाई नसर्ने खालको रोग भएका बिरामीलाई पहेंलो र रोग नभएकालाई हरियो कार्डको अवधारणा ल्याइएको छ । रोग घटाउनका लागि यो कार्यक्रम चलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *