भर्खरै :

तर्कभन्दा पनि कुतर्क हाबी भएको भारतीय राजनीति

तर्कभन्दा पनि कुतर्क हाबी भएको भारतीय राजनीति

भारतमा भइरहेको आम निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको एउटा वाक्यले सम्पूर्ण भारतवासीलाई ‘हाँस्नु कि रुनु’ भनेजस्तै बनाएको छ । सासु बुहारीबिच घर झगडामा बोलिने शैलीको शब्द प्रधानमन्त्रीजस्तो गरिमामय पदलाई नसुहाउने गरी मोदीले बोलेका थिए । “काङ्ग्रेस सरकारमा आयो भने महिलाको मङ्गलसूत्र छिनिने छ” भन्दै उनले जनताको महत्वपूर्ण मुद्दाबाट ध्यान भड्काउन महिलाको भावनासँग खेल्न खोजे । वास्तवमा मोदी आफैँ आफ्नो श्रीमती छोडेर बसेका मान्छे हुन् ।
खासमा काङ्ग्रेसको घोषणापत्रमा राष्ट्रिय सम्पत्तिको मूल्याङ्कन गरेर त्यसलाई जनतामाझ पुनर्वितरण गर्ने भनिएको थियो । यो वाक्यको लुकेको कुरा राष्ट्रको प्राकृतिक सम्पत्ति त्यहाँका अम्बानी र अडानीजस्ता केही पुँजीपतिलाई मात्र दोहन गर्न दिने मोदीको कार्यको विरोध थियो । भारतीय समाजमा भएको विषम आर्थिक असमानतालाई न्यूनीकरणको बहसलाई ‘आग्राको कुरा गाग्रा’ भनेजस्तै मोदीले विषयान्तरण गर्न खोजे । पुनर्वितरण शब्दलाई मोदीले गरिब जनतासँग रहेको सम्पत्ति नै खोसिने जस्तो कुतर्क गरेर जनतालाई भड्काउन खोजे । यदि सरकारी नीति ती पुँजीपतिले चाहेकै जस्तो हुन्छ भने जनता र पुँजीपतिबिच एजेन्टको रूपमा नेतालाई छानिने चुनाव किन गर्नुप¥यो ? चुनिएका यस्ता एजेन्टमािथ जनताले करको रूपमा तिरेको पैसा किन खर्च गर्नुप¥यो ? सिधै जनताले पुँजीपतिलाई छान्ने चुनाव गरे भइहाल्यो नि !
तर्क भनेको एक ठाउँबाट अर्को ठाउँमा पुग्न नक्सालाई पछ्याएजस्तै कुनै पनि विषयमाथि भएको बहसलाई तार्किक निष्कर्षमा पु¥याउनु हो । समझदारले निष्कर्षमा पुग्न तर्क र प्रमाण प्रयोग गर्छ । अर्कोतर्फ, तर्कको नाममा हुने कुतर्क कुनै कारणबिना बाटो भड्किनुजस्तै हो । यसले कुनै अर्थ राख्दैन र अक्सर गलत निष्कर्ष वा भ्रम निम्त्याउँछ । तर्कले हामीलाई कुनै पनि सन्दर्भको अर्थ लगाउन मद्दत गर्दछ, जबकि कुतर्कले हामीलाई कुहिरोमा हराएको कागजस्तै बनाउँछ ।
जब कसैले जानाजानी सत्यबाट ध्यान हटाउन कुतर्क प्रस्तुत गर्दछ भने हामी प्रायः तिनीहरू ‘भ्रममा फसेको’ भन्दछौँ । ‘भ्रम’ को अर्थ, छल वा चलाखी देखाएर भ्रामक तर्कहरू प्रयोग गरेर जानाजानी अरूलाई धोका दिनु हो । तर, तर्क वा कुतर्क छुट्याउने समस्या के हो भने, आफूलाई अनुकूल भए एउटै कुरा तर्कको रूपमा लिइन्छ तर प्रतिकूलको अवस्थामा त्यही कुरालाई कुतर्कको रूपमा लिइन्छ ।
यस्ता अभ्यास भारतीय राजनीतिमा थुप्रै भेटिन्छन् । जानाजानी सत्य तथ्यबाट ध्यान हटाउने तथा आलोचनालाई हटाउनेजस्ता विभिन्न उद्देश्यका लागि कुतर्कहरू प्रयोग गर्ने धेरै उदाहरणहरू छन् । भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र भएको तर्क गर्दै गर्दा ८० करोड जनता सरकारले दिएको ५ किलो चामलमा बाँच्नुपरेको कुरा लुकाउँछ । ८० करोड जनतालाई महिनाको ५ किलो चामल बाँड्ने राष्ट्र कसरी आर्थिक शक्ति भएको मान्ने ? कति हाँसो उठ्दो कुतर्क ८० करोड जनता भोकभोकै भएको अवस्थामा मोदी सरकारले आफ्नो शासनकाललाई ‘अमृतकाल’ को उपमा दिएको छ । यो त ‘जसको सिङ्ग छैन उसकै नाम तिखे’ भनेजस्तै भएन र ? बहुसङ्ख्यक भारतीयहरूको हालत पहिलाभन्दा खराब हुँदै गइरहेको छ । संयोगको कुरा, चीनले ८० करोड गरिबहरूलाई गरिबीको रेखाभन्दा माथि ल्याएको समयमा भारतमा ८० करोड जनतालाई मासिक ५ केजी चामल बाँडेको छ । भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बन्यो भनेर तर्क त गरिन्छ तर सरदर आयमा १३६ औँ स्थानमा रहेको तथ्य लुकाउँछ । २० करोडले त अझै बारीका पाटामै दिसा पिसाब गर्छन् । तर, भारत ‘विश्वगुरु’ भएको भनेर मोदी झूट बोल्छन् ।
शिक्षाको सवालमा पनि भारत निकै पछाडि छ । शैक्षिक पूर्वाधारको अभावमा पाँचौँ ठुलो अर्थतन्त्रको देशका विद्यार्थीहरू डाक्टर पढ्न भारतभन्दा धेरै सानो देश युक्रेन जानुपर्छ । धनी असाध्यै धनी भएका छन् । गरिबको अवस्था झनै नाजुक छ । धनी र गरिबबिचको खाडल भारतमा अत्यधिक बढ्दै गएको छ । हल्ला गर्नमा संसारमै पहिलो नम्बरमात्र होइन, संसारको अति प्रदूषित सहरमा भारतको राजधानी दिल्लीलगायत ४ वटा सहर पहिलो स्थानमा पर्छन् । एउटा तथ्याङ्कले २६ करोड शिक्षित युवाहरू बेरोजगार रहेको देखाएको छ । विकाससम्बन्धी यी तथ्यले मोदीको हल्ला वास्तवमा फर्जी भएको देखिन्छ ।
भारतमा लोकतन्त्र मरणासन्न अवस्थामा पुगेको र चाँडै फासीवाद स्थापना हुने हल्लालाई पुष्टि हुने गरी धमाधम विपक्ष उम्मेदवारलाई नै खरिद गरेर तथा धम्काएर नाम फिर्ता लिन लगाएको घटना देखिन थालेको छ । १७ वर्ष पुरानो मुद्दा बिउँताएर तर्साएपछि बाध्य भएर विपक्ष उम्मेदवारले नाम फिर्ता लिएका थिए । मोदी विपक्षविहीन निर्वाचन गराउन खोजिरहेका छन् । विपक्षले यही वास्तविकताको आधारमा मोदीलाई तानाशाह भएको तर्क गर्दा, उम्मेदवार आफैँले नाम फिर्ता लिएर भाजपा प्रवेश गर्छ भने यसमा हाम्रो कुनै गल्ती नभएको मोदी कुतर्क गर्छ ।
अर्को कुतर्क हो, जनमतलाई प्रभाव पार्न व्यक्तिगत आक्रमण वा भावनासँग खेल्ने । मोदी सरकारले स्वास्थ्य सेवाको पहुँचमा सुधार गर्ने आफ्नो वाचा पूरा गर्न सकेनभन्दा कुतर्क पेस गर्दै भन्छ, “विपक्षीले भनेका कुरा किन पत्याउँछौ ? तिनीहरू हाम्रो देशको प्रगतिलाई बर्बाद गर्न खोजिरहेका हिन्दूविरोधी हुन् ।” यहाँ, आरोपको सारलाई सम्बोधन गर्नुको सट्टा आरोप लगाउने व्यक्तिको चरित्रलाई आक्रमण गरिन्छ । तर्कसङ्गत छलफल नगरी प्रतिपक्षलाई कुतर्कको माध्यमबाट बदनाम गर्ने गरिन्छ ।
मोदीको दल भाजपा घोषित हिन्दूवादी पार्टी हो । हिन्दू राष्ट्रवाद उसको मूलमन्त्र हो । तर, क्रिश्चियन र इस्लाम देशको नागरिक हुन बिदेसिने २५ लाख भारतीय हिन्दू भएको वास्तविकताले मोदीको हिन्दू राष्ट्रवादको पोल खोलेको छ । भारतलाई हिन्दू राष्ट्र बनाउने मात्रै होइन अखण्ड भारतको सपना देखाउनु पनि मोदीको एजेन्डामा पर्छ । तर, भारतीय दूतावासको तलब खाने केही नेपाली बुद्धिजीवीहरूले मोदीलाई विकासको आदर्श मान्छन् । कुतर्क गर्नमा भारतीय मिडिया र मोदी एउटै ड्याङका मुला हुन् ! मुखले जति मिठो बोले पनि नेपालको मामलामा मोदी सबैभन्दा अनुदार भारतीय प्रधानमन्त्री हुन् भन्ने वास्तविकता मोदीको पछाडि लाग्ने नेपालीले बुझ्नुपर्छ । भारतीय काङ्ग्रेसले समेत भारतको नक्सामा नराखेको कालापानी क्षेत्रलाई कट्टर राष्ट्रवादी देखाउन मोदीले जबरजस्ती राखेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *