भर्खरै :

नेतृत्व गलत भए देशै बर्बाद हुने

जसरी भए पनि गठबन्धन सरकार टिकाउने सत्तासीन दलका नेताहरूको अभ्यस्तले गर्दा देशको राजनीति थप जटिल र अस्थिर बन्दै गइरहेकोमा शङ्का छैन । आफ्नो दलका नेता, मन्त्री, सांसदहरूको पोल खोलेर सार्वजनिक गर्ला या कारबाही अघि बढाउला भनेर अरुले गरेको अनियमितता, ठगी प्रकरणका मुद्दाको चासो नराख्ने प्रवृत्तिले सजातगी हुनुपर्ने अपराधीहरू पनि खुलमखुला हिँडिरहेका छन् । सत्तासीन दलका नेताहरूले सत्ता समीकरण टिकाउने नाउँमा राम्रो नराम्रो पक्षलाई ढाकछोप गरेर विधि र सुशासनको उल्लङ्घन गरिरहेका छन् । देश र जनताको पक्षमा क्रियाशील हुनुपर्ने राजनीतिक दलका नेताहरू अपराधी, कालाबजारी, कमिसनखोर, भ्रष्टहरूको पछि लागेर, उनीहरूको पक्षपोषण गरेर पार्टीको सिद्धान्त, विचार, नीति तथा कार्यक्रम कसरी व्यवहारमा लागु हुन्छ ? पार्टीले कसरी योग्य, अनुशासित, इमानदार, कर्तव्यनिष्ठ, देशभक्त, चरित्रवान र दूरदर्शी कार्यकर्ता तयार गर्नसक्छ ? के सरकार भनेको सत्तामा रहेर हैकममात्र चलाउने हो ?
हरेक राजनीतिक दलले आ–आफ्नो दलको विधान लागु गर्ने प्रयास गर्नुपर्छ । दलको विधान व्यवहारमा लागु गर्न अघि बढेन भने त्यो दलले उद्देश्य पूरा गर्नसक्दैन । दल या सरकारको नेतृत्व गर्ने पक्ष असफल भयो भने न दलले गति लिन सक्छ न त सरकारले नै दिशा निर्देश गर्न सक्छ । हरेक राजनीतिक दलको उद्देश्य देश र जनताको चाहना, भावना र आवश्यकता परिपूर्ति गर्न हो । दलका नेताहरू दलगत र व्यक्तिगत स्वार्थमा भुलेपछि न दलको उद्देश्य पूरा गर्न सकिन्छ न त देशको आवश्यकता नै परिपूर्ति गर्न सकिन्छ । पद र पैसाको चिन्ता गर्ने, भागबन्डाको निम्ति तँछाडमछाड गर्ने, भागबन्डा मिले सत्तारुढ दल ठीक र नमिले बेठीक सम्झने दलका नेताहरूको स्पष्ट अडान र विचार खोइ ? यसले स्पष्ट हुन्छ, सत्तामा पुगेका दलका नेता, मन्त्री र सांसदहरू सिद्धान्त र विचारको राजनीति गर्र्दैनन् । दलको सैद्धान्तिक र वैचारिक धरातल छोडेर गरिने राजनीति कसरी शुद्ध हुन्छ ? सच्चाइबिनाको राजनीति फलदायी हुनेछैन ।
राजनीतिक दलका नेता, मन्त्री र सांसदहरूले गलत काम, गलत निर्णय र नीतिलाई बढावा दिनुहुँदैन । कुनै नेता, मन्त्री, सांसद, जनप्रतिनिधि या कार्यकर्ताले सिद्धान्त र विचारविपरीत काम गरे, सिद्धान्त उल्लङ्घन गरे, दल र व्यक्तिको आस्था, इज्जत र प्रतिष्ठामा आँच पुग्ने, दूरगामी असर पर्ने काम गरे स्पष्टीकरण लिनुपर्छ, सुधार्न आलोचना या खबरदारी गर्नुपर्छ । बारम्बार खबरदारी गरे पनि सुध्रिँदैन भने कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ । त्यस्ता व्यक्तिहरूलाई प्रोत्साहन होइन, दुरुत्साहित गर्नुपर्छ । तर, ठुला या शासक दलका नेताहरू आफ्नो दलका नेता तथा कार्यकर्ताहरूले गलत काम गरे पनि या आपराधिक काम गरे पनि छोप्ने प्रयास गर्छन्† कसैले विरोध गर्न खोजे मुख टाल्ने काम गरिएको हुन्छ । नेतृत्व पक्ष गलत बाटोमा लाग्यो र त्यसले गलत निर्णय र नीति बनायो भने देशै बर्बाद हुन्छ† देश सङ्कटमा पर्छ† देश असफल हुन्छ र देश जहिल्यै विदेशी शक्ति राष्ट्रहरूको उठबसमा चलिरहनुपर्ने हुन्छ । विदेशी दबाब, प्रभाव र सहयोगमा चलेको देशले कहिले पनि मुहार फेर्न सक्दैन ।
राजनीति देश र जनताको सेवा गर्न हो† देश र जनतालाई भर्याङ बनाएर सत्तामा बसी दाइँ गर्ने होइन । राजनीति व्यापार व्यवसायजस्तो व्यवसाय होइन, देश र जनताको सेवा गर्ने माध्यम हो । दल ठुलो हुनु नै दलको सच्चाइ होइन । ठुला या शासक दलका नेताहरूको एउटा कमजोरी जसरी भए पनि दल ठुलो बनाउने र सरकारमा बसेर सेवा सुविधा लिनु रहेको छ । देश र जनताको लागि के कस्तो सेवा दिनेभन्दा देश र जनताबाट फाइदा लिने दल र दलका नेताहरू देश र जनताप्रति जिम्मेवार बन्दैनन्; पार्टीको सिद्धान्त र विचारप्रति प्रतिबद्ध भएको मानिँदैन । उनीहरूले देशलाई सही बाटोमा लैजान्दैनन् । अतः दल देश र जनताप्रति समर्पित हुनुपर्छ । दलको सिद्धान्त र विचार स्पष्ट हुनुपर्छ । दलको सिद्धान्त र विचारअनुसार राजनीति गर्नुपर्छ । सिद्धान्त र विचारअनुसार राजनीति गरे अपराधीले ठाउँ पाउँदैन; निर्दाेषले सजाय भोग्नुपर्दैन; देशमा विधिको शासन हुन्छ; सुशासन हुन्छ । हत्या हिंसा हुनेछैन । विकास अघि बढ्छ । जनताले काम पाउँछन् । जनताको जीवन सुनिश्चित हुन्छ । दल र सरकारप्रति जनताको विश्वास बढ्छ । स्थिर सरकार हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *