नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
पिटर्सबर्ग विद्रोहको अघिल्लो दिन गुप्त समाजको बैठक बसेको थियो । बैठकमा डिसेम्बर विद्रोहको नेतृत्व कुमार सेर्गेइ त्रुबेत्स्कोइ र कर्नेल बुलातोभले गर्ने निधो गरिएको थियो । त्रुबेत्स्कोइले गुप्त समाजमा नरम पक्षको नेतृत्व गर्थे । विद्रोहको दिन बिहानपख उनले विद्रोहमा सहभागी नहुने निर्णय गरे । कर्नेल बुलातोभ पनि सिनेट चोकमा देखापरेनन् । अलिबेरको अलमलपछि उपस्थित विद्रोहीहरूले कुमार येभगेनी ओब्लेन्स्कीलाई आफ्नो नेता चुने । तर, विद्रोहको वास्तविक नेतृत्व अर्का तीसवर्षे युवकको हातमा थियो । ती युवकको नाम थियो – कोन्द्राती रिलेयेभ । उनी ‘उत्तरी समाज’ का गणतन्त्रवादी नेता थिए ।
धेरै क्रान्तिकारी नेताहरूभन्दा फरक रिलेयेभ धनी परिवारबाट आएका थिएनन् । उनी सैनिक अधिकारी थिएनन् । कनिष्ठ सैनिक अधिकारीको रूपमा नेपोलियनविरोधी युद्धमा सहभागी भए पनि उनले केही वर्षमै सेनाबाट बिदा लिएका थिए ।
बालापन
कोन्द्राती रिलेयेभको जन्म १७९५ सेप्टेम्बर २९ (१८) का दिन राजधानी सेन्ट पिटर्सबर्गबाट ८० किलोमिटर दक्षिणमा रहेको बातोभो गाउँमा भएको थियो । खानदानी भए पनि उनको परिवार गरिब थियो । उनका बुबा ससाना जमिनदार थिए । पछि उनी एउटा धनी घरानाको विशाल मौजाको प्रबन्धक बने । परिवारमा धेरै अप्ठ्याराहरू भए पनि उनकी आमा उनलाई पिटर्सबर्गको प्रतिष्ठित अभिजात्य सैनिक विद्यालयमा भर्ना गराउन सफल भइन् । त्यहाँ उनले सन् १८०१ देखि १८१४ सम्म अध्ययन गरे । रूसीहरूलाई सिकाएरभन्दा पिटेर कडा अनुशासनमा हुर्काउनुपर्छ भन्ने भावना उक्त विद्यालयमा बलियो थियो । सैनिक विद्यालयको कडा अनुशासनमा उनी हुर्के ।
पश्चिम युरोपको युद्धभूमिमा
सन् १८१४ मा पढाइ सकिएलगत्तै रिलेयेभलाई नेपोलियनविरोधी युद्धमा खटाइयो । एक कनिष्ठ अफिसरको रूपमा २० वर्षीय रिलेयेभ रूसी तोप टुकडीसँगै पोल्यान्ड, जर्मनी र फ्रान्सका विभिन्न सहरहरूमा पुगे । उनको यो पहिलो विदेश भ्रमण अन्य रूसी अफिसरहरूको जस्तै झक्झक्याउने खालको थियो । फ्रान्सेली क्रान्तिको समानता र भ्रातृत्वको भावनाले सिञ्चित फ्रान्सेली समाज रूसी समाजभन्दा ठीक उल्टो थियो । पश्चिम युरोपका सहरहरू पिछडिएका रूसी सहरहरूभन्दा औद्योगीकरण र खुलापनमा धेरै अगाडि थिए । रूसमा जारको बोली नै कानुन भएको अवस्थामा पश्चिम युरोपका प्रायः देशहरूमा कुनै न कुनै रूपको संविधान लागु गरिएको थियो । मानिसहरूबिचको कानुनी भिन्नता कम देखिन्थ्यो । फ्रान्सेली उपनिवेशहरूलाई छोड्ने हो भने फ्रान्समा क्रान्तिपछि सन् १७९४ मै दासप्रथा अवैध भइसकेको थियो । रूसमा ८५ प्रतिशत जनता राजनीतिक र सामाजिकरूपमा बँधुवा भूदास थिए । फ्रान्समा अखबारहरूमा सेन्सर हुँदैनथ्यो । फ्रान्स र जर्मनीको केही वर्षको यात्राले रिलेयेभजस्ता शिक्षित रूसी युवाहरूमा स्वाभाविकरूपमा गहिरो प्रभाव प¥यो । रूसमा जारको तानाशाही र भूदास प्रथा हट्नुपर्ने विचार लिएर उनीहरू घर फर्के । रिलेयेभजस्ता धेरै क्रान्तिकारी युवाले विद्रोहमा समातिएपछिको आफ्नो बयानमा पेरिस यात्राको क्रममा पहिलोपल्ट ‘उदार विचारबाट प्रभावित भएको’ बताएका थिए ।
सैनिक विद्यालयमा हुर्केर पनि रिलेयेभमा सैनिक सेवाप्रति रूचि थिएन । ठुला अफिसरहरू साना अफिसर र सैनिक जवानहरूलाई क्रूर व्यवहार गर्थे । स–साना निहुँमै अमानवीय यातना दिइन्थ्यो । रूस फर्केपछि केही वर्षमै रिलेयेभमा सैनिक दैनिकीप्रति घृणा बढ्न थाल्यो । सन् १८१८ मा उनले सेनाबाट राजीनामा दिएर युक्रेनका ठुला जमिनदार चेभ्यासेभको घरमा बच्चाहरू पढाउने काममा गए । एक वर्षपछि तिनै जमिनदारकी छोरी नातालिया चेभ्यासेभासँग उनको विवाह भयो ।
पुनः पिटर्सबर्गमा
दुई वर्ष युक्रेनमा रहेर उनी सन् १८२० मा फेरि पिटर्सबर्ग फर्के । त्यहाँ उनले सन् १८२४ सम्म ३ वर्ष फौजदारी अदालतमा न्यायाधीशको अनुसन्धान सहयोगीको रूपमा काम गरे । तिनताका कुलीनवर्गका मानिसहरू तल्लोवर्गसँग सम्पर्कमा जान चाहन्नथे । त्यस्तो बेला रिलेयेभले आफ्नो पदीय क्षमताले भ्याएसम्म गरिब र दुःखीहरूलाई न्याय दिलाउन धेरै प्रयास गरे । यसले पिटर्सबर्गका सर्वसाधारणबिच ‘असल अधिकारी’ को छवि बन्दै गयो ।
एकपल्ट एक व्यापारीलाई अपराध गरेको आशङ्कामा समातिएको थियो । त्यसबेलाको रूसी कानुनअनुसार त्यस्ता मुद्दाहरू पहिला स्थानीय सरकारकहाँ जान्थ्यो । तर, अपराधी आफैँले अपराध स्वीकार नगरेसम्म नगरका मेयरले सजाय दिन सक्दैनथे । अदालत जानु त्यसबखत झन्झटिलो र खर्चिलो मानिन्थ्यो । त्यसकारण, अपराध स्वीकार नगरेका व्यापारीलाई मेयरले अदालत पठाइदिने धम्की दिए । मेयरको कुरा सुनेर व्यापारीले उल्टो खुसी हुँदै भनेका थिए रे, “लौ न, अदालत पठाइदिए म धन्य हुने थिएँ । मलाई थाहा छ कोन्द्राती रिलेयेभजस्ता अधिकारी भएको अदालतले कहिल्यै निर्दोषलाई दोषी देखाउनेछैन ।” पिटर्सबर्गमा रिलेयेभबारे यस्ता धेरै कथनहरू फैलिएका थिए ।
अन्य सरकारी सेवाजस्तै रूसको न्याय सेवालाई पनि भ्रष्टाचारले नराम्ररी गाँजेको थियो । अधिकारीहरू निवेदकहरूबाट घुसको अपेक्षा गर्थे । घुसको रकम जसको भारी भयो उसकै पक्षमा न्यायको तराजु ढल्किने गथ्र्याे । सरकारी अधिकारीहरूको तलब धेरै कम हुन्थ्यो । त्यसैले, कनिष्ठ अधिकारीहरू घुस लिन बाध्य हुन्थे । भ्रष्टाचार माथिल्लो ओहोदासम्म चल्तीमा थियो । न्याय क्षेत्रमा केही वर्षको अनुभवबाट रिलेयेभले सेनामा जस्तै रूसी प्रशासनमा पनि ठुलो सुधार गर्नुपर्ने देखे । एक किसिमको उकुसमुकुसले रिलेयेभलाई सताउँदै गयो ।
कवि रिलेयेभ
आफ्नो असन्तोष र दिक्दारी रिलेयेभ कवितामार्फत व्यक्त गर्थे । सन् १८२० तिर जारका एक अलोकप्रिय सल्लाहकार थिए अलेक्सेइ आर्चियेभ । उनैलाई इङ्गित गर्दै रिलेयेभले ‘प्रिय अधिकारी’ शीर्षकमा एउटा लामो कविता लेखेका थिए । उनी पिटर्सबर्गका साहित्यिक समाजहरूका सदस्य बने र साहित्यिक भेलाहरूमा नियमित सहभागी हुन थाले । ती भेलाहरूमा गुप्त समाजका सदस्य पनि सहभागी हुन्थे । उनीहरूले भित्रभित्रै गुप्त समाजको प्रभाव र सङ्गठन विस्तार गर्दै थिए ।
पुश्किनजतिकै प्रख्यात नभए पनि रिलेयेभ पक्का कवि थिए । उनी पिटर्सबर्गको साहित्यिक माहोलमा स्थापित हुन थाले । स्वच्छन्दता, प्रेम, नैतिकता, जारप्रति बफादारिता त्यस बखतको रूसी कविताको विषयवस्तु थियो । तर, रिलेयेभ रूसी इतिहासका सन्दर्भहरू कोट्याएर क्रान्तिकारी गतिविधिको आवश्यकता र आह्वानले भरिएका कविता लेख्थे । उनका कविता खस्रा तर स्वतन्त्रता, मानवता र देशभक्तिले ओतप्रोत हुन्थे । साथीहरूमाझ रिलेयेभ ‘म कवि होइन नागरिक हुँ’ भन्ने गर्थे । उनको एउटा प्रतिनिधि रचनामा यस्तो लेखिएको थियो :
प्रेम मेरो दिमागमा कहिल्यै आउँदैन,
हरे, मेरो जन्मभूमि तड्पिरहेको छ,
गम्भीर विचारले मेरो आत्मा रोमाञ्चित भइरहेको छ,
यसले अब केवल स्वतन्त्रताको चाहना राखेको छ ।
कविता लेखनसँगै रिलेयेभ ‘ध्रुवतारा’ नामक वार्षिक पत्रिकाको सहप्रकाशक र सम्पादक बने । सन् १८२३, १८२४ र १८२५ गरी त्यसका तीन अङ्कमात्र प्रकाशित भए । तत्कालीन रूसी बुद्धिजीवीहरूबिच त्यो पत्रिकाले नाम कमायो । उनीहरूले पत्रिका रूचाए । पुश्किनजस्ता नाम चलेका लेखकहरू पनि उक्त पत्रिकामा आफ्ना लेख–रचना छपाउँथे । सरकारको सेन्सरबोर्ड निकै कडा थियो । तर पनि रिलेयेभको पत्रिकामा चलाखीपूर्वक रूसमा सुधारको आवश्यकताबारे आवाज उठाइन्थ्यो । यो पत्रिकाको लोकप्रियताकै कारण २० वर्षपछि अर्को पुस्ताका क्रान्तिकारी अलेक्सान्दर हर्जनले लन्डनबाट ‘ध्रुवतारा’ नामबाटै रूसी र अङ्ग्रेजी भाषामा अर्को क्रान्तिकारी पत्रिका प्रकाशित गरेका थिए ।
क्रान्तिकारी रिलेयेभ
साहित्यिक सङ्गतकै क्रममा रिलेयेभ सन् १८२३ मा गुप्त समाजको सदस्य बने । त्यस बेलासम्म गुप्त समाज उत्तर र दक्षिण गरी दुई धारमा विभाजित भइसकेको थियो । ‘दक्षिणी समाज’ जारको तानाशाहीको ठाउँमा गणतान्त्रिक व्यवस्था ल्याउन चाहन्थ्यो । ‘उत्तरी समाज’ संवैधानिक राजतन्त्रको पक्षमा थियो ।
साहित्यिक गतिविधिले मात्र रिलेयेभलाई परिवार धान्न धौधौ भयो । त्यसैले सन् १८२४ मा उनले अलास्काको खनिज पदार्थको व्यापार गर्ने रूसी र अमेरिकीहरूले संयुक्त लगानी गरेको कम्पनीको पिटर्सबर्ग शाखामा व्यवस्थापकको जागिर खाए । त्यसबेला अलास्का रूसी साम्राज्यकै हिस्सा थियो । जागिरको क्रममा रिलेयेभले अमेरिकाको गणतान्त्रिक संविधानको गहिरो अध्ययन गरे । अमेरिकी संविधानको अध्ययन र गणतन्त्रवादी साथीहरूको सङ्गतले गर्दा उनमा वैचारिक उथलपुथल आयो । सुरुमा संवैधानिक राजतन्त्रका पक्षपाती रिलेयेभ बिस्तारै गणतन्त्रवादी बने । जारलाई अलास्काजस्तो विकट र निर्जन ठाउँमा निर्वासनमा पठाउनुपर्ने; त्यसो गर्न नमाने जारको हत्या गर्नुपर्ने प्रस्ताव उनैले राखेका थिए ।
रिलेयेभ राम्रा वक्ता र कुशल सङ्गठक थिए । स्रोताहरूलाई उत्साहित पार्नसक्ने खुबी र सक्रियताकै कारण सदस्य बनेको एक वर्षमै उनी ‘उत्तरी समाज’ को निर्देशक समितिको सदस्य बने । त्यो समितिमा रिलेयेभ, सेर्गेइ त्रुबेत्स्कोइ र निकिता मुराभ्योभ गरी तीन सदस्य थिए । रिलेयेभको सक्रियताकै कारण केही वर्षदेखि निष्क्रिय बनेको गुप्त समाजले फेरि जीवन पायो । उत्तरी समाजमा गणतन्त्रवादीहरूको मत बलियो हुन थाल्यो । संवैधानिक राजतन्त्रवादी र सशस्त्र विद्रोहको उपयोगितामा शङ्का गर्नेहरू छेउ लाग्न थाले । रिलेयेभ रूसको सुधारको पक्षमा रहेका व्यापारीहरूलाई पनि गुप्त समाजमा भित्याउन चाहन्थे । सैनिक पृष्ठभूमिका अन्य अगुवाहरू भने व्यापारीहरूलाई सदस्यता दिने कुराको विपक्षमा थिए ।
डिसेम्बर विद्रोह
जार अलेक्सान्दरको मृत्युपछि गुप्त समाजले विद्रोहको तयारी गर्न थाल्यो । तयारीको अगुवाइ रिलेयेभले गरेका थिए । उनको घरमा गुप्त समाजको बैठक हुने गथ्र्याे । उनी सामान्य नागरिक थिए । उनको हातमा सैनिक टुकडी थिएनन् । तर, विद्रोहको अघिल्लो रात छाउनीहरूमा गएर सैनिक अफिसरहरूलाई निडरतासाथ विद्रोहको पक्षमा लाग्न उनैले उत्साहित गरेका थिए ।
विद्रोह असफल हुनसक्छ र असफल विद्रोहको नतिजा क्रान्तिकारीहरूको सहादत हुनेछ भन्ने कुरामा रिलेयेभ स्पष्ट थिए । विद्रोहको दिन बिहान उनी घरबाट निस्किँदा उनका जहान र छोरीले बाहिर नजान कर गरेका थिए । तिनको पर्वाह नगरी उनी विद्रोहको नेतृत्व गर्न सिनेट चोक पुगे । त्यो दिन सिनेट चोकमा ३ हजार विद्रोही सैनिक जारको तानाशाहीविरुद्ध एकत्रित भएका थिए । तीमध्ये कमान्डर निकोलाई प्यानोभ आठ दस्ताका हजारभन्दा बढी सेनासाथ त्यहाँ उपस्थित थिए । उनी पहिलो घडीमै सिनेट चोक पुगेका थिए । तर, त्यहाँ अघिल्लो रात तोकिएका सैनिक नेताहरू देखापरेनन्, न त वाचा गरिएजति सबै सैनिक पल्टनहरू नै उपस्थित भए । अन्योलकै बिचमा नयाँ सैनिक नेतृत्व चुन्न र अझ बढी फौज सहभागी गराउन रिलेयेभ दिनभरि सक्रिय रहे । सैनिक नेताहरू नै उपस्थित नहुँदा र स्पष्ट निर्देशन नहुँदा केही हुन सकेन । प्रस्ट निर्देशन दिने कोही हुन्थ्यो भने निकोलाई प्यानोभसँग शीतल दरबार कब्जा गर्ने मौका थियो । उनी सम्राट निकोलसलाई सजिलै बन्दी बनाएर विद्रोहलाई अर्कै मोडमा पु¥याउन सक्थे । उनको समूहसँग तोपहरू कब्जा गर्नसक्ने समय थियो । तर, नेतृत्वको अन्योलका कारण क्रान्तिकारीहरू तिनै तोपको शिकार हुन पुगे र विद्रोह विफल भयो ।
१८२५ डिसेम्बर २६ (१४) को त्यो विद्रोहलाई नयाँ राजा निकोलसले निर्ममतापूर्वक दबाए । त्यही रात रिलेयेभ आफ्नै घरबाट समातिए । उनलाई प्रमुख षड्यन्त्रकारी मानियो । उनीसँगै अन्य विद्रोहीलाई पिटर्सबर्गको ‘पिटर–पाउल किल्ला’ मा लगियो । त्यहाँ पालैपालो उनीहरूको बयान लिन थालियो । रिलेयेभको बयान जार निकोलस आफैँले लिएका थिए । बयानको क्रममा रिलेयेभले विद्रोहको नेतृत्व गरेकोमा कत्ति पनि पश्चाताप गरेनन् । बरु, विद्रोहको जिम्मा आफू एक्लैले लिए । आफू एक जनालाई मात्र मृत्युदण्ड दिएर अरू सबैलाई छोड्न उनले जारसँग अनुरोध गरेका थिए ।
गिरफ्तारीको ६ महिनापछि रिलेयेभलगायत ५ जना विद्रोहीहरूलाई फाँसी दिइयो । रूसमा मृत्युदण्ड दिन बन्द गरिएको ५० वर्षभन्दा बढी भइसकेको थियो । फाँसी दिने डोरी बाँध्न जान्ने मान्छे नहुँदा रिलेयेभ, सेर्गेइ मुराभ्योभ र प्योतर काखोभ्स्की तीनजना क्रान्तिकारी डोरी चुँडेर खसेका थिए । भुइँमा बजारिएका सेर्गेइको चित्कार थियो, “हेर रसियाको दुर्गति, यहाँ हामी सुखसाथ फाँसीमा झुन्डिन पनि पाउँदैनौँ !”
पिटर–पाउल किल्लाको जेलमा क्रान्तिकारीहरूले एउटा धातुको भाँडा भेट्टाए । त्यसमा कविताको हरफ कुँदिएको थियो –
‘अपमान होइन सम्मान हो मेरो लागि जेल,
म यहाँ न्याय र सत्यको लागि छु
यी सिक्रीहरूसँग मलाई किन लाज लाग्नु ?
जब कि यो सिक्री म जन्मभूमिको निम्ति लगाउँदै छु ।’
यो नै कवि कोन्द्राती रिलेयेभको अन्तिम कविता थियो ।
Leave a Reply