भर्खरै :

हमासभन्दा इजरायलसँग बढी बन्धक छन्

हमासभन्दा इजरायलसँग बढी बन्धक छन्

हमाससँग १३२ बन्धक छन् । १३० जना अक्टोबर ७ गते समातिएका थिए भने दुई जना त्यसअघि नै बन्धक बनाइएका थिए । तीमध्ये एकलाई सन् २०१४ मा र अर्कालाई सन् २०१५ मा बन्धक बनाइएको थियो । (इजरायलले १३० मध्ये ३४ बन्धक मरिसकेको बताएको छ तर कसरी मरे भन्ने खुलाएको छैन । हमासले इजरायली हवाई हमलाका कारण दर्जनौँ बन्धक मरिसकेको बताएको छ । उसको भनाइ सही देखिन्छ । केही बन्धकहरूले इजरायली बमबारीका कारण आफू झन्डैले बाँचेको बताएका छन् । केहीले इजरायली हवाई हमलाका कारण आफूलाई राखेको भवन भत्किँदै गर्दा भागेर ज्यान जोगाएको सुनाएका छन् ।)
व्यवहारतः इजरायलले हजारौँ प्यालेस्टिनीहरूलाई बन्धक बनाएको छ । इजरायली कारागार सेवाको आँकडाअनुसार ९,३१२ जना ‘सुरक्षा’ कैदीमध्ये ३,६६१ जनालाई बिनाआरोप वा कसुर कैदमा राखिएको छ । यसलाई इजरायलको सरकारी भाषामा ‘प्रशासनिक थुनुवा’ भनिन्छ । त्यो भनेको के हो ?
इजरायली मानवअधिकारवादी संस्था बेत्सलेम भन्छ, “प्रशासनिक थुनामा व्यक्तिमाथि मुद्दा दायर नगरी, कुनै कसुर नै नगरी भविष्यमा उसले कानुन मिच्ने अनुमानका आधारमा थुनिन्छ । यो एकखाले रोकथामको उपाय हुनाले व्यक्तिलाई कहिलेसम्म थुनामा राख्ने हो भन्ने समय सीमा हुन्न । व्यक्तिलाई कुनै कानुनी प्रक्रियामा नै नलगी कसैलाई नदेखाइने गोप्य प्रमाणका आधारमा क्षेत्रीय सैन्य कमान्डरको आदेशमा प्रशासनिक थुनामा राखिन्छ । यसले गर्दा थुनुवा निकै हतास हुन्छ । आरोप नै अज्ञात हुनाले त्यसलाई गलत पुष्टि गर्न ऊ असमर्थ हुन्छ । कुनै अभियोग, मुद्दा वा फैसलाबिना नै थुनामा राखिने हुनाले आफूलाई कति बेला रिहा गरिने हो भन्नेबारे प्रशासनिक थुनुवा बेखबर हुन्छ ।”
“इजरायलले प्रशासनिक थुनाको नियमित प्रयोग गर्दै आएको छ । वर्षौँ अघिदेखि उसले हजारौँ प्यालेस्टिनीहरूलाई थुनामा राख्दै आएको छ । थुनुवाहरूलाई केही महिनादेखि कैयन् वर्षसम्म थुनामा राखिएको छ । तिनलाई आफूमाथि लगाइएको आरोप बताइन्न । थुनुवा र तिनका वकिललाई समेत तिनीहरूविरुद्ध तथाकथित प्रमाण हेर्न दिइन्न ।”


प्रशासनिक थुनुवाहरूबारे माथि उल्लेख तथ्याङ्क इजरायली कारागार सेवाले मानवअधिकारवादी संस्था ‘हामोक्ड’ लाई उपलब्ध गराएको हो । ‘सुरक्षा’ कैदीलाई तिनको आधारभूत अधिकारबाट वञ्चित गरिन्छ । यी बन्दीहरूलाई गरिने व्यवहारले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको छ । यीमध्ये बहुसङ्ख्यक कैदीहरू अतिक्रमित भूभागका प्यालेस्टिनी हुन् । ३,६६१ व्यक्तिमध्ये २,०७१ जना सजाय काटिरहेका बन्दी हुन्, २७३१ जना हिरासतमा राखिएका हुन् र ८४९ जना अवैध लडाकु हुन् । अन्तर्राष्ट्रिय कानुनमा ‘अवैध लडाकु’ को प्रावधान छैन । तर, यही नाममा इजरायलले १९४९ अगस्ट १२ मा बनेको तेस्रो जेनिभा महासन्धिलाई बेवास्ता गर्दै आएको छ ।
अक्टोबर ७ पछि अहिले इजरायलले थप २,३९७ मानिसलाई प्रशासनिक थुनामा राखेको छ । ओमार अल–खातिब तिनैमध्ये एक हुन् । उनलाई गत मार्ग १ गते इजरायलले बन्धक (वा प्रशासनिक थुनुवा) बनाएको थियो । किन ? इजरायली सेनाले अक्टोबर ७ यता इजरायली सेनाले धेरै प्यालेस्टिनीहरूलाई मनपरी पक्राउ गर्दै आएको छ । अरूलाई जस्तै अल–खातिबलाई पनि इजरायलले सम्भवतः पछि हुने बन्दी आदानप्रदानमा मोहराको रूपमा प्रयोग गर्ने सोचेको हुनुपर्छ ।
जाचेरी फोस्टर लेख्छन्, “धेरै सम्भव हमाससँग हुने बन्धक सम्झौतामा उनलाई लेनदेनको वस्तुको रूपमा अघि सारिनेछ । अर्को शब्दमा उनलाई त्यही कारणले पक्राउ गरिएको हो जून कारणले अक्टोबर ७ मा हमासले इजरायली नागरिकहरूलाई बन्धक बनाएको थियो । अर्थात्, उनलाई बन्दी आदानप्रदानका लागि थुनामा राखिएको हो ।”
सेप्टेम्बरमा इजरायलले आफैले विगत ३० वर्षमा राखेको कीर्तिमान तोड्यो । यस अवधिमा उसले प्रशासनिक थुनाको नाममा १,२६४ प्यालेस्टिनीहरूलाई अवैधरूपमा जेल चलान गरेको थियो । प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न बन्धक समाउनु नै अक्टोबर ७ गते हमासको भित्री उद्देश्य थियो ।
आफ्नो हमलाबारे हमासको आधिकारिक दस्तावेजमा यही लेखिएको छ, “अक्टोबर ७ को ‘अल–अक्सा फ्लोड’ कारबाहीमा इजरायली सैन्य इलाकालाई तारो बनाइएको थियो । यसरी शत्रुका सिपाहीलाई पक्राउ गर्ने र इजरायली अधिकारीहरूलाई इजरायली जेलमा राखिएका हजारौँ प्यालेस्टिनीहरूलाई बन्दी आदानप्रदान सम्झौतामार्फत रिहा गर्न दबाब दिने उद्देश्य राखिएको थियो । तसर्थ, सो कारबाही गाजानजिकको इजरायली बसोबासी स्थलमा राखिएका इजरायली छाउनी तथा इजरायली सेनाको गाजा डिभिजनलाई नष्ट गर्नेमा केन्द्रित थियो ।”
ह्वाइट हाउसले इजरायलले प्यालेस्टिनीहरूलाई बन्धक बनाएको विषयमा एक शब्द बोलेको छैन । हमासका गतिविधिलाई माफी दिन उसले यो मौनता साँधेको होइन । (हमासलाई उसले माफी दिने कुरै आउन्न ।) बरु इजरायलले प्यालेस्टिनीहरूलाई बन्दी बनाएको कुरा स्वीकारे बाइडेनको ‘हमास इजइज (आतङ्कवादी) हो’ भन्ने बाइडेनको भाष्य गलत सिद्ध हुनेछ । बाइडेनको भाष्य गाजामा हाल इजरायलले मच्चाइरहेको मारकाटलाई वैध बनाउन लक्षित छ । हमाससँग कुनै पनि किसिमको सम्झौता वा तर्कवितर्क हुन सक्दैन, हमास शान्तिको बाधक हो र इजरायलले त आत्मरक्षा मात्र गरेको हो भन्नु नै उक्त भाष्यको सार हो । (बाइडेन सरकारले ऐतिहासिक सन्दर्भलाई जरैबाट मेट्ने नीति लिएको हुनाले पनि ह्वाइट हाउसका उच्च अधिकारीहरूले हमासलाई एकाएक आकाशबाट खसेको सङ्गठनका रूपमा प्रस्तुत गरिरहेका हुन् । इजरायलको कब्जाबारी गतिविधिकै कारण हमासको स्थापना भएको हो भन्ने तथ्यलाई उनीहरू मेटाउन चाहन्छन् ।)
आशा गरौँ, निकट भविष्यमै सबै बन्धकहरूले घर फर्किन पाऊन् ।
(एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *