भर्खरै :

नाकामा कडा चेकजाँच गर्नुपर्ने

–लक्ष्मी पोखरेल
चाडपर्वको अवसरमा नेपाली उपभोक्ताहरू भारतीय बजारबाट दैनिक उपभोग्य वस्तुका साथै चाडपर्वको लागि सामान जुटाउन सक्रिय छन् । नेपाली बजारमा दैनिक उपभोग्य वस्तु महँगिएकोले भारतीय सीमावर्ती बजारमा केही रुपैयाँ कम भन्दै सिमानाका उपभोक्ताहरू भारतीय बजारमा बढी जाने गरेको पाइन्छ ।
प्रदेश नं. ७ को सुदूरपश्चिम अस्थायी राजधानी धनगढीको गौरिफन्टा नाकामा यतिबेला बाक्लै चहलपहल देखिन थालेको छ । दसैं सकेर रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा जाने र तिहार मनाउन भन्दै भारतको विभिन्न ठाउँबाट रोजगारी गरी फर्केर नेपाली युवा, महिला र वृद्धसमेतलाई सिमानामा भेट्न पाइन्छ ।
प्रदेश नं ७ को सुदूरपश्चिम अस्थायी राजधानी धनगढी भारतको उत्तर प्रदेश (लखिमपुर खिरि) सँगै जोडिएको गौरिफन्टा नाकाबाट लागूऔषध भित्र्याउने र धनगढीलाई लागूऔषध ओसारपसारको केन्द्र बनाउँदै यहाँबाट सुदूरपश्चिमका अन्य जिल्लादेखि काठमाडौंसम्म लागूऔषध ओसारपसार भइरहेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित र प्रसारित हुँदै आएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
“खुला सिमानाकै कारण धनगढी क्षेत्रका युवा १५–२५ र ३०–४५ वर्षसम्मका युवाहरू गाँजा, चरेस, चुरोट पिउदै गरेको दिउँसै भेट्न सकिन्छ” गौरिफन्टा नजिकैको जङ्गलमा भन्नुहुन्छ, कटानकी रिटु राना । उहाँका अनुसार हामी महिलाहरू जङ्गलमा घाँस, दाउरा लिन जान्छौं, हामी पहिलेदेखि नै पारिकै जङ्गलबाट जीविकोपार्जन गर्दै आएका छौं । जङ्गलमा जम्मा भएका मुन्द्रे केटाहरू देख्दा डर लाग्छ । उहाँसँगै दाउरा बोकेर आउनुभएकी शान्ति राना भन्नुहुन्छ, “ग्याङ ग्याङ बनाएका केटाहरूले केटीहरूलाई जिस्काउने गरेका छन् ।’’ यसतर्फ प्रशासनको ध्यान जानुपर्छ । यसलाई समयमा नै नियन्त्रण गर्न नसके सामाजिक अपराधका घटना घट्ने बताउनुहुन्छ बाख्रा चराउँदै गरेका श्रीकान्त राना ।
यसरी खुला सिमानामा हुने लागूऔषध ओसारपसार र धूमपान गर्ने युवा पुस्तालाई सचेत पार्न नसके र सङ्गठित अपराध नियन्त्रण गर्न नसके समाजमा शान्ति, सुरक्षामा खलबलिन्छ ।
समाजमा अराजकता बढ्नसक्नेतर्फ सरोकारवालाको ध्यान जानु जरुरी छ । सिमानामा हुने अवैध ओसारपसार र तस्करी सेवन नाकामा कडा चेक गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *