भर्खरै :

जोसमनी परम्पराको नालीबेली

सुरेश
तराईमा भारतीय सन्त कवीरका दोहा नयाँ पुस्तामा समेत प्रचलित छन् । तराईका केही रैथाने साथीको मुखबाट कवीरका दोहाहरू सुनेपछि यस्तो लागेको थियो । तर नेपाली माटोमै जन्मेहुर्केको सन्त परम्परा पनि छ भन्ने थाहा थिएन । साझाको एउटा डिपोमा निकै नाजुक अवस्थामा भेटियो ‘जोसमनी सन्त–परम्परा र साहित्य’ । विद्वान लेखक जनकलाल शर्माले भन्दा पनि विषयले नै तानेर किनियो ।
वैदिककालको अन्त्यतिर अति धेरै यज्ञहरू हुन्थे । ती यज्ञमा धेरै पशुहरूको बलि दिइन्थ्यो । यसको विरोधमा जैन धर्म देखाप¥यो । जैन धर्मका कठोर बर्जनाहरू पालन गर्नै धौधौ भयो । त्यसपछि मध्यमार्ग लिएर आए बुद्ध । शिष्यहरूले आलोचनात्मक स्वाभावका बुद्धलाई कालान्तरमा देवता बनाइदिए । आफ्नो शुद्धता कायम गर्न बौद्धहरूमा महायान सम्प्रदाय देखाप¥यो । क्राइस्टेली सातौं शताब्दीमा महायान पनि कठोर लागेपछि सहजयान सम्प्रदायको सुरुआत भयो । कुनै कठोर बाटोबाट नभई आरामले जीवनयापन गर्नाले मुक्ति पाइन्छ भन्ने यस सम्प्रदायको चुरो हो । यी सँगै विविध सन्त परम्पराहरू निस्किएको लेखकले भूमिका बाँध्छन् ।
जोसमनी सन्त परम्पराका सुरुवाती सन्तहरू हरिश्चन्द्र, हरिभक्त र हरिश्चन्द्र (द्वितीय) को बारेमा कम जानकारी पाइन्छ । पुस्तक चौथा सन्त धिर्जेदिल दासदेखि गोविन्द दाससम्मका सन्तहरूको चर्चा गरिएको । यिनमा पनि सन्त शशिधर र ज्ञानदिल दासको जीवनी सविस्तार दिइएको छ । शशिधरले नेपालको पश्चिमी क्षेत्रमा जोसमनी ज्ञानको प्रचार गरेका थिए भने ज्ञानदिल दास पूर्वी नेपाल हुँदै भारतको सिक्किमसम्म पुगेका थिए ।
त्यसबखतको सामन्ती नेपालमा जोसमनी सम्प्रदायको वैचारिक आधार अत्यन्तै प्रगतिशील देखिन्छ । जातपात, छुवाछुत र मूर्तिपूजा नमान्ने, महिलालाई पनि दीक्षित गरिने, आदि यस सम्प्रदायका विशेषता हुन् । साथै रक्सीमासु खानेलाई निषेध नगर्ने । गुरुङ, मगर, राई, लिम्बु, बाहुन, क्षेत्रीमात्र नभएर कथित तल्लो जातका व्यक्तिसमेत यस सम्प्रदायमा दीक्षित भएका थिए । यसकारण तत्कालीन कर्मकाण्डी बाहुनहरू यस सम्प्रदायका सन्तहरूसँग कुँडिएका घटनाहरू पुस्तकमा यत्रतत्र पाइन्छन् । छुवाछुतबारे सन्त ज्ञानदिल भन्छन्,
यो रुम्जाटारको कोदाको पिठो निर्गुनको दाउन
धर्म र कर्म गुरुङले ग¥यो छक्प¥यो बाहुन
हिराको दर्बार सुन गरिपर्वर छक्प¥यो बाहुन ।।
पुस्तकको रोचक पाटो हा,े जोसमनी सन्तहरूसँगको राजदरबारको सम्बन्ध । रामशाहको पालादेखि नै सन्तहरूसँग गोर्खा दरबारको राम्रो सम्बन्ध थियो । पृथ्वीनारायण शाहले काठमाडौंमा सन्त शशिधरलाई गरेको मानमनितो, उनका केही भारदार शशिधरबाट दीक्षित भई चारै दिशामा छरिएको प्रसङ्ग, उनले सन्तलाई लेखेका दुई पत्र र ती पत्रमा गरिएका राजनीतिक वर्णन आदिले जोसमनी सम्प्रदायलाई त्यसबेला राजकीय छहारी मिलेको देखिन्छ । साथै तत्कालीन राजनीतिमा साधुसन्यासीको प्रयोग छर्लङ्ग हुन्छ ।
जोसमनी सम्प्रदायले हिन्दु धर्ममा प्रचलित जातिप्रथा र कर्मकाण्डको निन्दा गथ्र्यो । यस मानेमा यो समाज सुधारक प्रतीत हुन्छ । एकातिर यसले हिन्दू धर्मको उत्पीडनले गर्दा बाहिरी धर्ममा लाग्नेहरूलाई छेक्यो भने अर्कोतिर विभिन्न जातिबीच एकता ल्याउन मद्दत पनि ग¥यो । एकताको यो सन्देशलाई पृथ्वीनारायण शाहले उपयोग गरेको देखिन्छ ।
राजा रणबहादुर शाह त जोसमनी सम्प्रदायमा दीक्षित भएर निर्वाणानन्द अर्थात् स्वामी महाराज कहलिए । राजा नै दीक्षित भएपछि केही समयसम्म यस सम्प्रदायले राजधर्मकै हैसियत पाएको लेखकको कथन छ । यसको प्रभावका कारण रणबहादुरले जातिप्रथा अन्त गर्न सहभोज आयोजना गरेको, बिर्ता जग्गा राष्ट्रियकरण गरेको देखिन्छ । उनले अन्तर्जातीय विवाह गरी बाहुनीपट्टिका छोरालाई .राजगद्दीको उत्तराधिकारी बनाए । उनले देवीदेवताका मूर्तिको अनादर गरेकोले उनलाई सन्काहा भने आफ्नो स्वार्थसँग बाझिनेहरूले । तर लेखक भन्छन्, जोसमनी सम्प्रदायको प्रभावले उनी मूर्तिविरोधी बनेका थिए ।
गुल्मी जिल्लाको रेसुङ्गामा भातरदारका सन्तानलाई अध्ययनको निम्ति पठाइने परम्पराले पनि जोसमनी सम्प्रदायको प्रभावलाई प्रष्ट पार्छ । जनरल भीमसेन थापाका भाई रणवीरसिंह थापा स्वामी अभयानन्दका रूपमा दीक्षित भएका थिए । १२ वर्षसम्म यस मतको अध्ययन गरेपछि उनी दरबारी काममा लागेका थिए ।
पुस्तकको अर्को रोचक पाटो हो, जङ्गबहादुर राणाको विश्लेषण । त्यसो त अचेल जङ्गबहादुरलाई हिरो देखाउने, उनीबारे जोगिएर बोल्नेहरूका लेखनी बजारमा छ्यासछ्यास्ती पाइन्छन् । यस पुस्तकमा भने उनलाई केही हदसम्म न्यायको तराजुमा तौलिएको छ । लेखकले उनको परिचयमा लेख्छन्, “मानवले आफ्नो दुराकाङ्क्षा र दैनिक आरामको निमित्त कतिसम्म अपराध गर्न सक्तछ भन्ने ठूला उदाहरणमध्ये जङ्गबहादर पनि एक हुन् ।” उनको शासनकाल झल्काउँदै फेरि लेख्छन्, “राजनीतिज्ञहरू राजनीतिक मैदानमा द्वन्द्व मचाइरहेका थिए, पुरोहितहरू आफ्नो क्षेत्रमा । अपठित समाज शोषित, पीडित र निन्द्य अवस्थामा समाजमा आफ्नो कुनै हिस्सा नभएकाझैं जीवन गुजारिरहेका थिए ।” जङ्गबहादुरले नै मुलुकी ऐन जारी गरेर हिन्दू धर्मको जातीय प्रथालाई संस्थागत गरेका थिए । जोसमनी सम्प्रदायले जातीय भेदभावको विरोध गरिसकेको अवस्थामा उनको कदमलाई प्रतिगामी मान्नुपर्छ । जङ्गबहादुर राणाको निरङ्कुश शासनको विरोधमा सैन्य प्रतिरोधको तयारी गरेका लखन थापा आफैमा जोसमनी मतका साधु थिए । उनी पृथ्वीनारायणका पूर्वभारदार मोक्षमण्डलबाट दीक्षित भएका थिए । यसको सुइँको पाएर विप्लव सुरु हुनुभन्दा पहिले नै दबाइयो । तैपनि दरबारिया षड्यन्त्रका कारण जङ्गबहादुरको हत्या भयो ।
साधुहरू व्यक्तिगत मोक्ष पाउन ओढार पस्ने गर्छन् । ज्ञानदिल यसको उल्टो थिए । उनी समाजसुधारक सन्त थिए भन्ने लेखकको विश्लेषण छ । सरकारी कर्मचारीहरूलाई घुमाउरो पाराले व्यङ्ग्य गर्ने भानुभक्तभन्दा एकपाइला अघि बढेर उनी लेख्छन्,
“अइन् बजर्यो धनीको फिर्यो जगमाहाँ ।
घुस्याहा विचारी निसाप् हेर्छ काहाँ ।।”
उनी समाजमा रहेको आर्थिक शोषणलाई देखाउँदै लेख्छन्,
“काम र किसान धन्दा धेरै गर्छ ।
लाउन खान नपाई अकालैमा मर्छ ।”
धार्मिक कर्मलाई किनबेचको वस्तु बनाइँदा र पुरेत्याइँ गर्नेहरूले पैसा सोहोर्न हलो जोतेको देख्दा उनी लेख्छन्,
“कन्ठी धारं गर्दा पचास रुपियाँ गन्छन् ।”
ज्ञानदिल लखन थापा काण्डमा समातिएका थिए । उनी निर्दोष भएको थाहा पाएपछि जङ्गबहादुरका भाइ रणोद्दिप सिंहलगायत केही दरबारियाहरू उनीबाट दीक्षित भएका थिए । जङ्गबहादुरले उनलाई बिर्ता दिने प्रस्ताव गरे । उनी “मजस्तो फकीरका लागि बिर्ता आवश्यक छैन, साधुका निमित्त सबै संसार नै बिर्ता हो” भन्दै पूर्वी नेपालतिर लागे ।
ज्ञानदिल आफू बाहुन भए तापनि बाहुनवाद र बलिप्रथाको विरोध गर्थे । त्यसैले पूर्वका कर्मकाण्डी बाहुनहरूले ज्ञानदिललाई देखी सहँदैनथे । तिनले उनलाई जातिच्यूत गर्ने धम्की दिए । जङ्गबहादुर र रणोद्दिप दाहिने परेपनि जङ्गबहादुरका ज्वाइँ उनीविरुद्ध लागे । त्यसैले केही समय उनी काराबास पनि परे । अन्ततः उनी मुग्लान भासिए । त्यहाँ उनले इसाई धर्मका अनुयायीसँग शास्त्रार्थ गरी बाइबल जलाएर जोसमनी सम्प्रदायलाई स्थापित गरे । कुनै कथित तल्लो जातका सन्यासीलाई उनले सम्मान गर्दा रिसाएका कर्मकाण्डीदेखि आजित भएपछि उनले उधुमै गरे । अर्को दिन दिउँसै हातमा राँको लिएर उनी बजार डुल्न गए । कसैले सोध्दा “मेरो जात हरायो अरे, त्यसैले खोज्दै छु” भन्दै जाति व्यवस्थालाई झटारो हाने ।
पुस्तकमा यस्ता धेरै रोचक प्रसङ्ग र जानकारी पाइन्छन् । नेपालका लुकेका पाटामध्ये जोसमनी सम्प्रदाय पनि एक लाग्यो ।
‘जोसमनी सन्त–परम्परा र साहित्य’ मूलतः अनुसन्धानपरक पुस्तक हो । पुस्तकको विषय हो, जोसमनी सम्प्रदायको इतिहास र त्यसका अनेक सन्तहरू । पुस्तकमा ती सन्तले लेखेका प्राप्त रचनाहरू पनि सङ्ग्रहित छन् । जोसमनी साहित्य नेपाली, नेवारीमा सधुक्कडी घुसाएर लेखिएकाले सामान्य पाठकलाई अर्थ छिचोल्न अलि गा¥हो हुनु स्वाभाविक हो । तैपनि पुस्तक निकै ओजिलो छ र नेपाली इतिहासमा रूचि राख्ने सबैका लागि पठनयोग्य छ ।
आज साझाका किताब अन्य महँगा प्रकाशनले किनेर चर्को मूल्यमा छापिरहेका छन् । यो पुस्तक भने पहिले प्रज्ञा प्रतिष्ठानले छापेको रहेछ । आकारको हिसाबले मूल्य मामुली छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *