भर्खरै :

भगवान भागेपछि

 चिन्मय
भगवान् सत्य साईबाबा रे । यी बाबाका फोटोहरू धेरै ठाउँ देखिन्छन् । त्यसमा पनि अलि हुनेखानेहरूका दराज, टेबुल र यस्तै सामानहरूमा अक्सर भेटिन्छ घुँगुरिएको डल्लो कपालमुनि मख्ख परेको यिनको तस्वीर । भएन भनेर वीर अस्पतालका भित्तामा समेत यी दक्षिण भारतीय ‘भगवान’ का दिव्यवाणी लेखिएका पोष्ट कार्डहरू झुण्डाइँदोरहेछ । बाबा मरेर ‘स्वर्ग’ पुगे पुगेनन् कसले देखेको छ र ! उनका चेलाचपेटाहरू बाँच्न त परिगयो ! त्यसैले उनको नाममा फैलिएको धन साम्राज्य र व्यापार अझै पनि चलिरहेको छ ।
१९७० को दशकबीचको प्रसङ्ग हो । ब्याङ्गलोर विश्वविद्यालयका उपकुलपति थिए एच. नरसमइया । प्रकृतिका नियमभन्दा उल्टा देखिने चमत्कारहरूको सत्यतथ्य पत्ता लगाउन चाहन्थे उनी सानैदेखि । त्यसैले उपकुलपति बनेपछि उनले विश्वविद्यालयका अन्य विषयका विशेषज्ञहरू समावेश गरेर एउटा समिति गठन गरे । समितिको नाम राखियो, चमत्कार र अन्धविश्वास जाँच समिति । समितिमा भौतिकशास्त्री, रसायनविद्, मनोवैज्ञानिक, डाक्टर, इन्जिनियर, कानुनविद्जस्ता विज्ञहरू थिए । विश्वविद्यालयबाट बजेटको प्रबन्ध गरेपछि समितिले पत्रकार सम्मेलन गरेर आफ्ना उद्देश्य प्रस्टायो । समितिको उद्देश्य थियो जादुटुना र चमत्कारहरूबारे खोजबिन गर्नेे । यो समिति कुनै ईश्वर वा धर्मविरोधी थिएन ।
जाँच समितिले काम सुरु गरेपछि केही योगी र स्वामीहरूले देखाउँदै आएका चमत्कारहरूबाट पर्दा हट्दै गयो । केही धर्मगुरुले समितिसमक्ष आफूले देखाउने चटकहरू चमत्कार नभएको कबुल गरे । उनीहरूले हावाबाट केही पनि ननिकाल्ने साफसाफ बताए । बाला शिवा योगीले सत्य साईबाबाको जाँचबुझ गरेपछि आफूले देखाउने सबै चमत्कारको रहस्य खोलिदिने बताए । सन् १९७६ को जुलाई महिनामा एक सात वर्षीय साई कृष्णा नामक बालकको दैवी शक्ति ढोङ भएको समितिले प्रमाणित ग¥यो । साई कृष्णाका भक्तहरू वास्तवमा सत्य साईबाबाका भक्त थिए । त्यसैले अब पालो थियो सत्य साईबाबाको ।
सत्य साई बाबाले हावाबाट घडी, मूर्ति, सुनका सिक्री, पानीलाई पेट्रोलमा फेर्ने, कति असाध्य रोगीलाई निको पार्नेजस्ता चमत्कार गरेको प्रचार थियो । उनको प्रतिष्ठा निकै उँचो थियो । साधारण जनतासँगै कतिपय चर्चित व्यक्तित्वहरू, वैज्ञानिकहरूसमेत उनका भक्त थिए । त्यसैले जाँच समितिका अध्यक्षले साई बाबालाई सविनय तीनओटा पत्र लेखे । पहिलो पत्र १९७६ को जुन २ तारीखमा लेखिएको थियो । पत्रमा साई बाबाको चमत्कारी शक्तिको वैज्ञानिक जाँचबुझ गर्नका निम्ति स्थान, मिति र समय बताइ पाउँ भन्ने नम्र निवेदन थियो । त्यस पत्रको जवाफ नआएपछि जून १६ मा फेरि अर्को पत्र लेखियो । यसमा पनि सोही अनुरोध दोहो¥याइयो । दोस्रो पत्रको पनि जवाफ नआएपछि जुलाई ५ मा साई बाबालाई आफूहरू सत्यको पक्षमा भएको, कुनै धर्म र ईश्वरको विपक्षमा नभएको स्पष्ट पार्दै अलि विस्तृत पत्र लेखियो । यसपालि भने जवाफ नआएको खण्डमा अखबारहरूमा सो पत्र छाप्ने चेतावनी पनि दिइयो ।
साई बाबाको जवाफ नआएपछि पत्र समाचारपत्रहरूमा छापिए । छिट्टै नै पत्रको चर्चा सर्वत्र हुनथाल्यो । साई बाबाको वैज्ञानिक जाँचबुझको विषय जनतामाझ छताछुल्ल भयो । ठूल्ठूला पत्रकारहरूले जाँच समितिका सदस्य र साईबाबालाई यस विषयमा भेट्न गए । साई बाबाले अत्यन्त तुच्छ शब्दमा जाँच समितिप्रति विषवमन गरे । यसबाट उनी अत्तालिएको छर्लङ्गै हुन्थ्यो । त्यसैले उनले आफूसँग सम्बन्धित शैक्षिक संस्थामा एक समारोह आयोजना गरी समितिका विज्ञहरूलाई किराफट्याङ्ग्रा र कुकुरसँग दाँजेर गालीगलौज गरे । उनले आफ्नो दैवी शक्ति बुझ्ने योग्यता र हैसियत समितिका सदस्यहरूसित नभएको बताए । उनले अनेक अमूर्त बकवास गरेर विषयलाई मोड्न खोजे । यसपछि सुरु भयो उनका चेलाचपेटाहरूको साईभजन । योजनाबद्ध रूपमा उनीहरूले हरेक दिन प्रेसमा साई बाबाको महानता र देवत्वबारे केही न केही लेख्न, छाप्न थाले । उनले मुर्दालाई पनि ब्युँताइदिएको जस्ता किस्सा पनि छापिन थाल्यो । उनी सच्चा भगवान् भएको दाबी आउन थाल्यो ।
“के तपाईँ भगवान् हो ?” भनी प्रश्न गर्दा साई बाबा भन्थे, “भगवान् सबैमा हुन्छन् ।” सबै धर्मगुरुहरूको यो एउटा चाल हो । सिधा प्रश्नलाई कुनै सुन्दर सुनिने अमूर्त र रहस्यमयी ‘वाणी’ले पन्छाइदिने । अर्थात् एउटा रहस्यलाई अर्को रहस्यले ढाकछोप गर्ने । तर जाँच समिति ठोस वैज्ञानिक परिक्षण चाहन्थ्यो । यस्तो गरेमा बाबाको धोती फुस्किन सक्थ्यो । त्यसैले समितिका सदस्यको सामुन्ने कुनै ‘चमत्कार’ देखाउन अनुरोध गर्दै समितिले फेरि अर्को पत्र लेख्यो । मे २९ को दिन समितिका सदस्य र पत्रकारहरूको एउटा टोली साई बाबालाई भेट्न उनको आश्रम गयो । उनका स्थानीय श्रद्धालुहरूले यसको नराम्रो नतिजा निस्कने धम्की पनि दिए । यसलाई बेवास्ता गर्दै टोली उनको विशाल र सुविधासम्पन्न भवनमा गयो । बाबाभित्र भएको तर उनीहरूलाई भित्र पस्न नदिने बताइयो । टोली खाली हात फर्किन बाध्य भयो ।
जाँच समितिका सदस्यले बारम्बार आफ्ना तर्कहरू पनि प्रस्तुत गरिरहे । साई बाबाले किन मुठ्ठीमा अटाउने सामानमात्र उत्पन्न गर्न सकेको ? के उनले ठूलो फर्सी वा मूर्ति उत्पन्न गरेर देखाउन सक्छन् ? उनले किन संसारमा पहिलेदेखि नै पाइने वस्तुमात्र उत्पन्न गरेको ? त्यो पनि विदेशी ब्राण्डका घडीहरू ! के उनले संसारमा नपाइने कुनै वस्तु उत्पन्न गर्न सक्छन् ? साई बाबालाई उनका कट्टर अनुयायी भगवान ठान्छन् । त्यसो हो भने आफ्नो तेलुगु भाषणलाई अनुवाद गर्ने अनुवाद किन राखेका साई बाबाले ? उनको अन्य विषयको ज्ञान साधारण विद्यार्थी जत्तिको किन छ ? उनी त सर्वज्ञ हुनुपर्ने होइन र ? उनले प्राकृतिक विपत्तिबाट जनतालाई किन नजोगाएको ? यस्ता प्रश्नमार्फत समितिले वैज्ञानिक र आलोचनात्मक दृष्टिकोणमार्फत जनतालाई सचेत र शिक्षित तुल्याइरह्यो ।
पत्रको प्रकाशनपछि साई बाबाका हर्कतले उनको स्वाभाव शिष्ट नभएको घामजत्तिकै छर्लङ्गै भयो । जाँच समितिले यसमा जोड दिइरह्यो । उनको आनीबानी, स्वाभव भगवान् भनिन लायक नभएको तर्क समितिको थियो । मान्छेले पक्षपात गर्नसक्छ । साई बाबा भगवान् भए किन उनी समितिमाथि खनिएर पक्षपाती बनेको ? उनी बुद्धजस्तै उदार हुनुपथ्र्यो, विरोधीहरूसँग पनि खुसीखुसी सामना गर्ने । साई बाबाले आफूसँग प्रेम, विश्वास र बिनापक्षपात भेट्न चाहनेहरूलाई भेट्ने कुरा दोहो¥याइरहे । समितिले उत्तरमा भन्यो, उनलाई एकपटक भेटेको चेलाले के बिनापक्षपात भेट्छ फेरि ? समितिले उनलाई झन् नङ्गयाउँदै लेख्यो, उनका कतिपय भक्तहरू कर छली गर्ने, भ्रष्ट र शङ्कास्पद आचरणका छन् । अर्थात् धर्मको सुनपानी छर्किँदै ठूलो लुटपाट मच्चिरहेको छ । यस्ता तर्कहरूले बाबाका भक्तहरूलाई आच्छुआच्छु तुल्याइरहे ।
यसरी वैज्ञानिकहरू र बाबाबीचको वादविवाद १८ महिनासम्म चल्यो । यो बहस पत्रपत्रिका, चोक र गल्लीका छलफल हुँदै अशिक्षित जनताको घरघर पुग्यो । यो छलफलले साई बाबाका अनुयायीहरूमा उनीप्रति शङ्का उत्पन्न गरिदियो । कतिपय अनुयायीले उनको भक्ति छोडिदिए । जेहोस् नरसमइयाहरूको प्रयास खेर गएन ।
यहाँ, यो सानो लेखोटमा यत्तिमात्र । साई बाबाका यौन चर्तिकलाबारे लेख्ने हो भने अर्को लेख बन्नसक्छ ।
हरदिन भारत र संसारका अन्य धर्मभीरु समाजमा जन्मिरहने यस्ता भगवान, योगी, बाबा, गुरुजस्ता ‘पवित्रहरू’ नेपालमा पनि फैलिरहेका छन् । तिनका पढेलेखेका चेलाचपेटाहरू पनि प्रशस्तै छन् । साथैं नेपाली जनताको अशिक्षा, अज्ञानता र गरिबीको फाइदा नेपाली शासकहरूले मात्र होइन यस्ता कथित धार्मिक गुरुहरूले समेत उठाइरहेछन् । हाम्रा विश्वविद्यालयले नरसमइयाहरू कहिले जन्माउने हुन्, जनतालाई रुढीवादी मानसिक बन्धनबाट कहिले निकाल्ने हुन्, समय पर्खिरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *