भर्खरै :

श्यानिटरी प्याड वितरण

भक्तपुर, मंसिर २१ गते । नेपाल सरकारको एकीकृत स्वास्थ्य कार्यक्रमबाट भक्तपुर नगरपालिकालाई प्राप्त श्यानिटरी प्याड किशोर–किशोरी कार्यक्रमअन्तर्गत महिनावारी स्वास्थ्य व्यवस्थापनका लागि स्कूलमा वितरण कार्यक्रम शुक्रबार जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंहमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिका क्षेत्रभित्रका चार विद्यालयहरू बासु माध्यमिक विद्यालय, आदर्श आजाद माध्यमिक विद्यालय, समाज सुधार माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालय भार्वाचोका प्रतिनिधि शिक्षक–विद्यार्थीहरूलाई स्यानिटरी प्याड हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा अतिथि एवं भनपा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले समाज सभ्य, सुरक्षित र बालमैत्री बनाउन सबैले आ–आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले निकट भविष्यमै नगरपालिकाका विभिन्न वडाका चालीस बालबालिकाहरूलाई आत्मरक्षाको तालिम दिन लागेको जानकारी दिनुभयो ।
जनस्वास्थ्य सेवा केन्द्रका इञ्चार्ज डा. रत्नसुन्दर लासिवाले महिनावारीको समयमा असुरक्षित सामग्रीहरूको प्रयोग गर्न नहुने र सकभर घरमा नै सुरक्षित तरिकाले प्याड बनाई प्रयोग गर्नसके आर्थिक बोझ कम हुने बताउनुभयो ।
भनपा कार्यपालिका सदस्य छोरीमैंया सुजखूले विद्यार्थीहरूलाई घरायसी स्यानिटरी प्याड बनाउने तरिका र प्रयोग सम्बन्धमा बोल्नुभएको थियो भने स्टाफ नर्स रचना सुवालले स्तन परीक्षण गर्ने तरिका सिकाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *