भर्खरै :

जीवन सङ्घर्ष सिकाउने बाल उपन्यास

लीलाधर शिवाकोटी
अनन्त वाग्लेद्वारा लिखित ‘यार्चा’ बाल उपन्यास हो । पुस्तकले हिमाली परिवेशलाई दर्पणजस्तै छर्लङ्गरुपले प्रतिबिम्बित गरेको छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूको दैनिक क्रियाकलापलाई उपन्यासले उनीहरूले सामना गर्नुपरेका कठिनाइलाई मूलभूत रुपमा विशेष उजागर गरेको छ । हिमाली क्षेत्रका मानिसहरू आफ्नो जीविकोपार्जनका लागि लेकमा गई यार्सागुम्बा बटुलेर अनेक प्राकृतिक तथा शारीरिक सङ्घर्ष गर्दै जीवनलाई अगाडि बढाएको पाइन्छ । शिक्षालाई पनि गौण राखेर यार्सागुम्बा टिप्नुलाई प्रमुख प्राथमिकता दिएर स्कूले विद्यार्थी पनि चिसो हिमकाखमा यार्सा टिप्न बाध्य छन् । मानिसहरू वैशाखको दोस्रो सातादेखि असारसम्म यार्सा टिप्नको लागि जन्मस्थान केही समय छाड्ने गर्दछन् । जसमा मसिना भुराभुरी र वृद्धबाहेक अन्य व्यक्तिहरू यार्सा टिप्नको लागि उच्च हिमाली पाटनतिर जाने गर्छन् । यात्राको क्रममा कतिपय लेक लागी अचेत, अर्धचेतन तथा मृत्युको मुखमा समेत पुगेका छन् । यस उपन्यासले जीवन जिउन सरल छैन, जति हिमाली क्षेत्रका मानिसहरूले सङ्घर्ष गरे त्यति नै जीवनको यथार्थ बुझ्न सफल भएको उल्लेख गरेको पाइन्छ । जीवन बाध्यकारी जटिलयात्रा हो, साँघुरा मार्गहरू आउँछन् साथै अनेकौँ चुनौतीहरू पार गर्दै अगाडि बढ्नुपर्छ भन्ने व्यवहारिक पक्षलाई उपन्यासले जोड दिएको छ ।
हिमाली परिवेशबारे चित्रण गरेको यो उपन्यासमा हुँदा विद्यार्थी, शिक्षक र अभिभावकहरूले पनि जीवनको यात्रा सहज नभई सङ्घर्ष पीडामय भएको उल्लेख छ । साहित्यको प्रमुख बालपात्र मोतिशिलाले जीवनको महत्वपूर्ण हतियार शिक्षालाई तिलाञ्जली दिएर पारिवारिक सुख र खुसीलाई विशेष स्थान दिएकी छिन् । परिवारबाटै जीवनको पहिलो खुड्किलो चढ्ने कार्यको श्रीगणेश हुने हुँदा हिमाली क्षेत्रका विद्यार्थीहरूमा शिक्षाको चाहना हुँदाहुँदै आफ्नो दैनिक जीवनयापनको लागि यार्सा टिप्न बाध्य भएका कारण उनीहरूको चौतर्फी वृद्धि विकासमा पछि परेको छ ।
उपन्यासले शिक्षा र जीवनको महत्व, चुनौती र अवसरलाई त्रिकोणात्मक आयामहरूबाट गम्भीर विश्लेषण गरेको पाइन्छ । कतिपय बालबालिकाहरू नचाहेर पनि शिक्षाको न्यानो ज्योतिबाट वञ्चित हुनुपरेको र सुखसुविधा प्राप्त भए तापनि शिक्षाको रापलाई हल्काफुल्काको रुपमा लिइएको छ । पुस्तक विद्यार्थीमात्र नभई शिक्षक, अभिभावक, समीक्षक तथा शुभचिन्तकहरूलाई बौद्धिक पोषणको रुपमा रहेको छ । यसले नेपालको नाजुक ग्रामीण तथा दुर्गम क्षेत्रको शिक्षाको स्थिति, गरिबी, ग्रामीण ऋणको ग्रस्तता, चुनौती इत्यादिलाई अझ नजिकबाट नियाल्ने अवसर दिएको छ । साथै विद्यार्थी भाइबहिनीलाई मार्ग निर्देशन गर्न पुस्तकले नायकको भूमिका खेलेको पाइन्छ । छात्रछात्राले जीवनमा भोग्नुपरेका चुनौती ,दहकस, बुहार्तनजस्ता जटिल पक्षलाई सूक्ष्म अवलोकन गरेको पाइन्छ । शिक्षक, अभिभावक तथा सामाजिक अभियन्ताहरूले पनि वर्तमान परिवेश र उहाँहरूले आफ्ना छोराछोरीलाई प्रदान गरेको वातावरण, शैक्षिक उन्नति र प्रगतिका सकारात्मक वा नकारात्मक पक्षहरूको आत्म मूल्याङ्कन गर्नसक्छन् ।
साहित्यले जीवनमा आउने विभिन्न सङ्घर्ष, अवरोध र चुनौतीलाई साहसिक रुपमा चिर्दै अगाडि बढ्नुपर्छ भन्ने कुरालाई अग्रपङ्क्तिमा राखेको छ । साहित्यमा आराधना भन्ने बालिका सेतीनदीको खोँचमा खस्दा उनले सहेको पीडा, क्रन्दन तथा सहनशीलतालाई जीवनको धैर्यताको मार्गको रुपमा लिन सकिन्छ । कमल नेपालीले उनको ज्यान बचाउन जुन अकाट्य साहस देखाए त्यसलाई जीवनको महत्वपूर्ण युद्धको विजय दिवसको रुपमा लिन सकिन्छ । जसको अर्थ जीवनमा जोसँग साहस, धैर्यता र सहनशीलता हुन्छ त्योसँग जीवनको मार्मिक, यथार्थपरक र अर्थपूर्ण उपलब्धि हुन्छ । यसको अलावा यस साहित्यले प्राकृतिक पक्षलाई पनि जोड दिएको छ । मानिसले प्राकृतिक संरक्षणको लागि विशेष भूमिका खेली सामाजिक क्षेत्रमा रोडमोडल बन्न अपिलसमेत गरेको छ । प्रकृतिको प्रचुरमात्रामा दोहन गर्दा अन्त्यमा मानवकै सर्वनास हुनसक्छ । त्यसैले वातावरणमैत्री काम गरेमा मात्र सम्पूर्ण मानव जातिकै हित हुनसक्छ भन्ने ‘यार्चा’ उपन्यासको मूल मन्त्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *