भर्खरै :

भक्तपुर फाइनान्स र सेन्ट्रल फाइनान्स एकापसमा मर्ज हुने

भक्तपुर, ७ पुस।  भक्तपुर फाइनान्स कम्पनी लिमिटेड र ललितपुरको सेन्ट्रल फाइनान्स लिमिटेड एकापसमा गाभ्ने/गाभिने निर्णयसहित भक्तपुर फाइनान्स कम्पनी लिको छैटौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भयो।
सञ्चालक समितिका अध्यक्ष चैत्यराज शाक्यले नेपाल राष्ट्र बैङ्कको निर्देशानुसार रू. ८० करोड चुक्ता पूँजी २०७४ साल असार मसान्तसम्म पुर्‍याउनुपर्ने बाध्यकारी निर्देशनबमोजिम भक्तपुर फाइनान्स र सेन्ट्रल फाइनान्स मर्जरमा जाने रणनीतिक निर्णय गरेको बताउनुभयो।
अहिले विश्वमा नयाँ रूप र सारमा “सङ्कीर्ण राष्ट्रवाद” को उदय भइरहेको त छैन भन्ने शङ्का व्यक्त गर्दै उहाँले विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्रमा पर्नसक्ने नकारात्मक प्रभावका विषयमा गम्भीर भएर सोच्नु आवश्यक भइसकेको बताउनुभयो।
संस्थाका सञ्चालक एवं मर्जर समितिका सदस्य विश्वराम कवांले संस्थालाई वर्तमान अवस्थासम्म ल्याई पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक, सर्वसाधारण शेयरधनी र कर्मचारीहरूलाई कृतज्ञता ज्ञापन गर्नुभयो।
साधारणसभामा प्रमुख कार्यकारी अधिकृत गोविन्दमान श्रेष्ठले भक्तपुर फाइनान्स र सेन्ट्रल फाइनान्स गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ता एनबीएसएम एण्ड एसोसियटस चार्टड एकाउटेन्टस्बाट प्राप्त सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन र गाभिनेसम्बन्धी अन्तिम मर्जर सम्झौताका विषयमा जानकारी गराउनुभयो।
साधारणसभाले २०७३ असार मसान्तसम्मको सञ्चित मुनाफामध्येबाट प्रतिशेयर रू. ३.५० दरले हुने कूल बोनस शेयर रू. ७३ लाख ८५ हजार र सोको कर प्रयोजनको लागि नगद लाभांश रू. ३३ लाख ८८ हजार ६ सय ८४ र पैसा ८१ वितरण गर्ने प्रस्ताव पारित गरियो। साथै दुवै संस्थाको शेयर आदानप्रदान अनुपात १ः१ (एक बराबर एक) कायम हुने, मर्जरपश्चात् गाभिएर बन्ने संस्थाको नाम सेन्ट्रल फाइनान्स लिमिटेड रहने र लोगोको हकमा भक्तपुर फाइनान्सले प्रयोग गरिआएको लोगो नै कायम रहने गरी भएको अन्तिम सम्झौता पत्र पनि अनुमोदन गरियो।
मर्जरपश्चात् संस्थाको कूल चुक्ता पूँजी रू. ५२ करोड ६ लाख ६२ हजार ८१५ पुग्नेछ। साथै मर्जरपछिका कूल निक्षेप २ अर्ब ४३ करोड ६८ लाख ७० हजार २०५ र कूल कर्जा तथा लगानी १ अर्ब ८५ करोड ३५ लाख ५२ हजार १७२ हुनेछ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *