भर्खरै :

स्वर्ग र नर्क

स्वर्ग र नर्क खोज्न अर्को कुनै लोक (यदि छ भने) गइरहनुपर्दैन । पुँजीवादी सहरहरू नै वास्तवमा पृथ्वीलोकका नर्क हुन् । सबै प्रकारका विकृति, विसङ्गति र पापकर्मका केन्द्र हुन्छन्–पुँजीवादी सहरहरू । प्रसङु्ग अरु कहींको होइन, काठमाडौं सहरको । हालै काठमाडौं महानगरपालिका वडा नं ३२ कोटेश्वर क्षेत्रमा गरिएको एक अध्ययनले त्यहाँका विभिन्न होटल, गेस्टहाउस, डान्सबार र दोहोरी क्याबिन र खाजाघरमा काम गर्ने महिला श्रमिकहरूले नारकीय जीवन बिताइरहेको देखाएको छ । ती क्षेत्रमा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्बन्ध राख्ने गरेको पाइएको छ । (गोरखापत्र–पुस २३)
यसरी असुरक्षित रुपमा राखिएको शारीरिक सम्बन्धका कारण जन्मेको बच्चाको बाबुसमेत यकिन नहुने अध्ययनले देखाएको छ । यस प्रकारको नारकीय जीवन भोगेर पनि श्रमिक महिलाहरू मासिक दस हजारसम्ममात्र तलब पाउने गरेको देखाएको छ । कोटेश्वर क्षेत्रमा गरिएको अध्ययनको यो सार प्रतिनिधिमूलक मात्र हो । यसले समग्र काठमाडौंको चित्र प्रस्तुत गरेको छ । काठमाडौंमा यस्ता काममा लागेका महिला नै विदेशी बजारमा यौनव्यवसायीको रुपमा बेचिने गरेका छन् । हरेक पुँजीवादी सहरमा हुने यस्ता विकृतिले पुँजीवादी सहर नर्कभन्दा भिन्न नरहेको प्रस्ट देखाउँछ ।
नेपालका सीमावर्ती सहरहरूको अवस्था यो भन्दा गतिलो छैन । नेपाली चेलीहरू भारतलगायत समुद्रपारका देशमा यस्तै न्यून दर्जाका कामको लागि बेचिने गरेको कसैले छोप्न नसक्ने सत्य हो । भारतका विभिन्न सहरमा सञ्चालित वेश्यालयमा नेपाली छोरीहरू नारकीय जीवन बिताइरहेका छन् । केही समयअघि यस्ता अवैध शिविरबाट उद्धार गरिएको नेपाली चेली बीचमै बेपत्ता भएका थिए । उनीहरू भारतकै वा अर्को कुनै देशका त्यस्तै विकृतिका केन्द्रमा उस्तै नारकीय जीवन बिताइरहेका अनुमान गर्न सकिन्छ ।
मानिसले मानिसमाथि यस्तै अत्याचार गर्ने व्यवस्था भएकाले पुँजीवादी व्यवस्थाको विकल्पको खोजी भएको हो । नाफाको लागि अरुमाथि शोषण गर्नुपर्ने र आफ्नो भोक शान्त गर्न अरुको शोषण पनि सहनुपर्ने व्यवस्था नै पुँजीवादी व्यवस्था हो । हरेक पुँजीवादी सहर सभ्यताको केन्द्र होइन, शोषण र अमानवीयताको केन्द्र हुने गर्दछ । मानिसहरू पुँजीवादी सहरका अग्लाअग्ला भवन र झिलिमिली देखेर विकास र समृद्धिको कुरा गर्छन् । तर, त्यस्ता झिलिमिली र अतिरञ्जनाभित्र जर्जर बन्दै गएको अमानवीयतालाई नदेखेझैं गर्छन् ।
सरकार आज काठमाडौंलाई कुनै पुँजीवादी महानगर (मेट्रो) बनाउने कुरा गर्छ । स्मार्ट सिटी बनाउने मुद्दालाई जनता आकर्षित बनाउने नारा बनाउँछन् । तर, मेट्रो वा स्मार्ट सिटीको मूल आशय भौतिक विकास नै हो । भौतिक विकास हुँदैमा मानिस सुखी हुने होइन । भौतिक समृद्धिलाई मात्र सुखको रुपमा परिभाषा गर्न सकिन्न । काठमाडौं उपत्यका धेरैका निम्ति सपनाको सहर बनेको छ । तर अतिजनसङ्ख्या केन्द्रीकरण र भद्रगोल अवस्थाले काठमाडौं अर्को नर्क बनिरहेको छ–जहाँ मानिसले मानिसको किनबेच गर्छ । कुनै पनि देश र सहरलाई सभ्य र व्यवस्थित बनाउने वा समृद्ध शोषण दमनको नर्क बनाउने भन्ने कुरा सरकारले अँगालेको विचारधारामा निर्भर रहन्छ । सरकार झिलिमिलीलाई समृद्धि मान्छ भने त्यो सरकारले मानिसको किनबेच र मानवताको लिलामीलाई बेवास्ता गर्छ । आजको सरकारले यही विचारधारा अँगालेको छ । यो सरकारले ठूलाघर, चिल्ला गाडी र झिलिमिलीलाई नै समृद्धि मान्ने गर्छ । त्यसको मूल्य मानिसको अनैतिक किनबेच हुनुसँग उसको कुनै लिनुदिनु हुन्न ।
त्यसविपरीत अर्को सिद्धान्त हुन्छ जसले मानिसमाथि मानिसमा हुने शोषण नभएको समाजलाई नै समृद्ध र सभ्यता मान्ने गर्छ । त्यस्तो विचारधाराले समाजवादी सहरको निर्माण गर्दछ । तर, त्यहाँ छोरीचेलीले आफ्नो पेट भर्न हरेक दिन बेचिनुपर्दैन । आफ्नो मासु बेचेर भोक मेटाउनुपर्ने विकृति त्यस्तो समाजवादमा हुनेछैन । त्यस्तो समाज पृथ्वीको स्वर्ग हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *