भर्खरै :

मे दिवसले समाजवादी आन्दोलन अगाडि बढाउन प्रेरणा देओस्

मे दिवसले समाजवादी आन्दोलन अगाडि बढाउन प्रेरणा देओस्

काठमाडौँ, २० वैशाख । ‘सर्वहारावर्गले बल प्रयोगद्वारा पुँजीपतिवर्गलाई हटाएर आफ्नो सत्ता कायम गर्दछ ।’ (कम्युनिस्ट घोषणापत्र)
माक्र्स र एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेखेर संसारलाई एउटा नयाँ विचार दिनुभयो । पुँजीपतिवर्ग आफैँ समाप्त हुँदैन; उनीहरूलाई सशस्त्र सङ्घर्षबाट मात्रै हटाउन वा फाल्न सकिन्छ र मजदुरवर्गको शासन सत्ता कायम गर्न सकिन्छ । त्यो विचारले संसारभरका पुँजीपतिवर्गमा हलचल ल्यायो ।
त्यसअघि भएका कैयौँ आन्दोलनहरूको नेतृत्व पुँजीपतिवर्गले गरेको थियो । पुँजीपतिवर्गको नेतृत्वमा भएको आन्दोलनले बहुमत जनताको हित नभई अल्पमत पुँजीपतिवर्गको मात्र हित गर्छ । पुँजीपतिवर्ग शिक्षित र समाजमा अगाडि बढेको हुँदा उनीहरू आफ्नो हितको निम्ति सङ्घर्ष गर्ने र आफ्नो सत्ता स्थापना गर्ने गर्थे । बेलायती र फ्रान्सेली राज्य क्रान्ति तथा अमेरिकी स्वतन्त्रता आन्दोलनलगायत संसारमा भएका पुँजीवादी क्रान्तिहरूले त्यही देखाइरहेका छन् ।
‘सर्वहारावर्गले आफ्नो हथकडीबाहेक अरू केही गुमाउनु पर्दैन । बरु संसार नै उनीहरूले प्राप्त गर्न सक्छन्’ भन्ने कम्युनिस्ट पार्टीको घोषणापत्रमा उल्लिखित वाक्यले मजदुरवर्गलाई आफ्नो वर्गीय हितको निम्ति एकजुट भएर लड्न उत्साहित गर्यो । पुँजीपतिवर्ग कामदारवर्गको शत्रु भएको र उनीहरूको अन्त्य नभएसम्म मजदुरवर्गले मुक्तिको स्वास फेर्न नसक्ने कुरा मजदुरहरूले बिस्तारै बुझ्न थाले । उनीहरूले आफ्नो शत्रु पुँजीपतिवर्गको चिहान खन्न थाले । सन् १८७१ मा भएको पेरिस कम्युन धेरै दिन टिक्न सकेन । अनुभवको अभाव, एउटा क्रान्तिकारी विचार बोकेको सङ्गठित पार्टी नहुनुलगायतका कारणले त्यो आन्दोलन असफल भएको थियो ।
पुँजीवादको विकाससँगै मजदुरवर्ग पनि सङ्गठित हुन थाल्यो । उनीहरूले आफ्नो अधिकारको लागि सङ्घर्षबाहेक अर्को विकल्प नभएको कुरा बुझ्न थाले । त्यसैको परिणाम सन् १८८६ मा आठ घण्टाको काम र ज्याला वृद्धिको माग राखेर अमेरिकी मजदुरहरूले कल कारखानाहरूमा बन्द हडताल गर्न थाले । त्यस आन्दोलनलाई पुँजीपतिवर्गले निर्ममतापूर्वक दबायो । तर, आन्दोलन भुसको आगोसरि निरन्तर अगाडि बढिरह्यो । अन्ततः दिनको आठ घण्टा कामको माग पूरा भयो । सन् १८८९ मा फ्रान्समा भएको मजदुरहरूको अन्तर्राष्ट्रिय भेलाले १ मेको दिनलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाउने निर्णय गर्यो र सोही निर्णयअनुसार १ मे का दिन अहिले संसारभर मजदुर दिवस मनाइयो ।
हो, नयाँ नयाँ विचारको उत्पत्ति केही सीमित व्यक्तिबाटै हुने गर्छ । त्यो समुदाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय हुँदै विश्वव्यापी बन्छ । माक्र्स र एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेख्नुभन्दा अगाडिसम्म मजदुरवर्गलाई हतियारको बलले पुँजीपतिवर्गको सत्ता उल्टाउनुपर्छ भन्ने थाहा थिएन । त्यो घोषणापत्र अध्ययन गरेर अहिले संसारका आधाभन्दा बढी मानिसहरू आआफ्नो देशमा समाजवाद स्थापना गर्न पुँजीपतिवर्गको विरुद्ध लडिरहेका छन् ।
कम्युनिस्ट घोषणापत्रको सफल कार्यान्वयन अर्थात् सशस्त्र सङ्घर्षबाट पुँजीपतिवर्गको सत्ता पल्टाएर मजदुरवर्गको सरकार स्थापना गर्ने पहिलो देश सोभियत सङ्घ हो । सर्वहारावर्गका नेता लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले त्यहाँका जार र पुँजीपतिवर्गको नेतृत्वको सरकारलाई ध्वस्त गरी संसारमा पहिलो मजदुरवर्गको शासन व्यवस्था समाजवाद स्थापना गर्यो । पुँजीवादले २–३ सय वर्षमा गरेको भौतिक विकास र प्रगति समाजवादी सोभियत सङ्घले ४०–५० वर्षमै योजनाबद्ध विकास गरेर देखाइदियो । त्यसले गर्दा साम्राज्यवादी देशहरूको निद्रा हराम भयो । उनीहरू कम्युनिस्टहरूदेखि तर्से । उनीहरूले कुनै पनि देशको कम्युनिस्ट पार्टीलाई निर्ममतापूर्वक दबाउने कोसिस गरे र गर्दै छन् ।
पुँजीवादको विकाससँगै बजारको आवश्यकतालाई ध्यानमा राखेर आफूभन्दा सानो र कमजोर देशहरूमाथि उनीहरूले थिचोमिचो गर्ने र उपनिवेश गर्न थाले । अहिले अमेरिकी साम्राज्यवादको नेतृत्वमा त्यो क्रमले निरन्तरता पाउँदै छ । जहाँ पुँजीवादको विकास भयो, त्यही मजदुरवर्गको पनि विकास र विस्तार हुन थाल्यो । मजदुरवर्गविना पुँजीवादको विकास सम्भव पनि छैन । सङ्ख्यात्मकरूपमा मजदुरवर्ग पुँजीपतिवर्गभन्दा धेरै हुने भएको हुँदा त्यो आफैँ एउटा ठुलो शक्ति हुने गर्छ । पुँजीवादको विकासको फाइदा मजदुरवर्गले पनि लिन थाल्यो र संसारका मजदुरहरू एक हुन थाले । सोभियत सङ्घमा समाजवादी क्रान्तिको सफलतासँगै पूर्वी युरोपका धेरै देशहरूमा पनि समाजवाद स्थापना भयो ।
सर्वहारावर्गले जन्मेदेखि नै पुँजीपतिवर्गको विरोधमा सङ्घर्ष गर्ने हुँदा सर्वहारावर्ग पुँजीवादको काल हो । पुँजीपतिवर्गलाई चिहानमा पुर्ने नै सर्वहारावर्गले हो । यसर्थ, आफ्नो सत्ता ‘स्वर्ग’ बचाउन पुँजीपतिवर्गले सर्वहारा वर्गीय आन्दोलनमाथि चर्को दमन गर्छ । तर, उनीहरू सधँै सफल भने हुँदैनन् ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई हेर्ने हो भने सर्वहारावर्गको आन्दोलन अहिले कमजोर अवस्थामा छ । सर्वहारावर्गको शासन सत्ता स्थापना गर्ने नारा दिएर पुँजीवादी सरकारमा पुगेका एमाले र माओवादी आफँै पुँजीपतिवर्गमा परिणत भइसकेका छन् । उनीहरूबाट सर्वहारावर्गको हितको आशा गर्नु जनताले थप धोका पाउनुबाहेक अरू केही हुनेछैन । को के हो भनेर चिन्नु उसको नामले होइन कामको परिणामले हो ।
नक्कली क्रान्तिकारीहरू चर्को चर्को कुरा गर्छन् र जनतालाई धोका दिन्छन् । एमाले र माओवादीहरूको चर्तिकला नेपाली जनताले देखिसके । अझ मे दिवसको अवसरमा पनि त्यस्ता थुप्रै दृश्यहरू देखिनेछन् । सम्पूर्ण मजदुरहरूले कामदारवर्गको हितमा आन्दोलनरत सही मजदुर सङ्गठनलाई चिनेर त्यसमा एकताबद्ध भएर लागौँ ! मजदुर आन्दोलनलाई थप उचाइमा पु¥याउँदै समाजवादी आन्दोलन अगाडि बढाउन मे दिवसले प्रेरणा देओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *