भर्खरै :

साहित्यमा समाजको प्रतिबिम्ब

एसडी राजचल
साहित्य समाजको ऐना हो । राजनीति र साहित्यसँगसँगै अगाडि बढ्छ र बढ्नुपर्दछ । साहित्य राजनीतिको हतियार भएकोले शासकहरूलाई त्यसले घोच्नुपर्दछ । राजनीति देश र जनताको हितको लागि जनताद्वारा स्थापित सामान्य मान्यता हो । राजनीति सही ढङ्गले अगाडि बढेन भने समाजमा अनेक जटिलता पैदा हुन्छ । राजनीतिको केन्द्रविन्दु समाज र समाजका बेथितिहरू हुने गर्दछन् । यसरी नै साहित्यको केन्द्रभाग समाज र सामाजिक अनि राजनीतिक बेथिति नै हुनुपर्दछ भन्ने मान्यता प्रगतिशील साहित्यकारहरूको रहँदै आइरहेको छ ।
जनताका दुःख, पीडा र समस्या प्रतिबिम्बित नभएको साहित्यले शोषक वर्गको हित गर्दै आइरहेको छ । तर, जनताको साहित्यमा गरिबको वेदना र कामदार वर्गको आशाको उज्यालो किरण लुकेको हुन्छ । विकाउ साहित्य र साहित्यकार जनताको आवाज बन्नसक्दैन बरु तिनीहरू शोषक वर्गका प्रचारका भरपर्दा माध्यम बन्छन् र समाजका यथार्थहरूलाई बाङ्गो टिङ्गो बनाई वास्तविक तस्वीरलाई गलत ढङ्गले प्रस्तुत गरी जनतालाई दिग्भ्रमित पार्ने असफल चेष्टा गर्छन् । तर समयले बिकाउ साहित्यकार र साहित्यलाई दण्ड दिन्छन्, सजाय दिन्छन् र उठ्नै नसकिने गरी फोहर फाल्ने कन्टेनरमा हुत्याइदिन्छन् ।
साहित्यले जनताको भावना बोक्नुपर्दछ । साहित्यको अर्को विधा सांस्कृतिक गतिविधि हो । आस्था सांस्कृतिक परिवार यस्तै श्रमजीवी जनताको सांस्कृतिक समूह हो, जसले जनताको आवाजको प्रतिनिधित्व गर्दै आइरहेको छ । गरिबको लागि साँच्चिकै आस्थाको प्रतिबिम्ब भएको छ र दुःखीहरूको लागि उज्यालो बोकेर आइरहेको छ । अन्धकार, अन्याय, अत्याचारविरुद्ध आगोको ज्वाला उठाई उज्यालो छर्न तम्तयार आस्था सांस्कृतिक परिवारका सदस्यहरू समाजलाई उज्यालो बनाई शोषकहरू भगाउने काममा कटिबद्ध भई लागिपरेको जनताको सांस्कृतिक परिवार हो । जनताको सुखमा साथ दिने र दुःखमा आँसु पुछ्नेहरूको परिवार हो । जनताको माया र ममता पाएर हुर्किदै गरेको यस परिवारले आगामी दिनहरूमा क्रमशः सफलता पाउँदै जाने विश्वास कामदार जनताको छ ।
आस्था सांस्कृतिक परिवारको थिएटर, भक्तपुर लिबालीमा केही दिनदेखि विजय मल्लद्वारा लेखिएको ‘बहुलाकाजीको सपना’ नाटक प्रस्तुत भइरहेको छ । चैत ३ गतेसम्म चल्ने नाटकका पात्रहरू श्रमजीवी जनताका छोराछोरीहरू हुनु नाटकको महत्वपूर्ण पक्ष हो । अनुराधा, अन्तिम भोज, कोही किन बर्बाद होस्, ज्यूँदो लाशजस्ता थुप्रै समसामयिक कृतिहरूका सृजनाकार विजय मल्लले तात्कालीन राणा शासनविरुद्ध आफ्नो धारिलो कलमको माध्यमबाट राणाहरूविरुद्ध प्रहार गरेका थिए । त्यतिबेलाको नेपाली समाजका बेथितिबारे तीखो प्रहार गरेका थिए ।
देशको पीडालाई मात्र होइन अन्तर्राष्ट्रियरूपमा पनि सार्वभौम देशहरूको समर्थनमा विभिन्न सृजनाहरू भएको पाइन्छ । पहिलो विश्वयुद्धपश्चात् गठन भएको लिग अफ नेसन्सको आँखै अगाडि युद्धजस्ता भयानक क्रियाकलापहरू साम्राज्यवादीहरूबाट हुँदा ती ठूला शक्ति राष्ट्रहरूको आणविक हतियारको प्रहारविरुद्ध असन्तुष्टि व्यक्त गर्दै आफ्ना तीखो कलमबाट निरन्तर विरोध गरिरहेका मल्ल नेपाली साहित्यिक फाँटमा एक प्रगतिशील, देशभक्त र क्रान्तिकारी साहित्यकारको छवि बनाउन सफल हुनुहुन्थ्यो ।
जहाँनिया निरङ्कुश राणा शासनविरुद्ध नेपालमा आन्दोलन निरन्तर चलिरहेकै थियो । अन्तर्राष्ट्रिय जगतमा राणाविरोधी आन्दोलन चलिरहेकै समयमा नाटककार मल्लले ‘बहुलाकाजीको सपना’ तयार पारेका थिए । राणाकालीन समयमा उज्यालो किरणको सपना देख्नु अपराध मानिन्थ्यो, समृद्धिको कुरा गर्नु असह्य थियो । उज्यालो कुरा गर्ने जनता तिनीहरूको नजरमा ‘बहुला’ हुने गर्दथे । क्रान्ति र परिवर्तनको कुरा गर्नेहरू ‘पागल’ हुने राणाकालीन समयमा एउटा ‘काजी’ ले देखेको सपनामा आधारित नाटक ‘बहुलाकाजीको सपना’ ले कालरात्रीको झल्को दिन्छ ।
नाटकमा गरिबीकै कारण भक्तेका छोरा वीरे पढाइलेखाइबाट बञ्चित हुने गर्दछ । भक्ते गाउँका शोषकहरूको भारी बोक्ने काममा दिनरात खट्दै आएको सामान्य भरिया थियो । उनका साथी र उनी मिली दिनहुँ भारी बोक्थे । दिनचर्या यसैगरी बित्दै थियो । वीरे पढ्न चाहन्थे तर कमजोर आर्थिक अवस्थाका कारण उनको चाहनामा कालो बादल मडारिरहेको हुन्थ्यो । तर तिनीहरूले नसोचेझैं नाटकमा ‘काजी’ बनेका पात्र वीरेको क्षमता, चाहना पहिचान गरी गाउँको, देशको उज्यालो भविष्यका लागि एउटा देशभक्त छोरा जन्माउनका लागि, अन्धकाररूपी समाजमा आशाको किरण छर्नाका लागि वीरेलाई पढाउने सपना नै काजीको सपना थियो । नभन्दै वीरे विद्यालयमा भर्ना हुन पुग्छ । गरिबीको कारण फोहोर लुगाफाटा लगाई कक्षाकोठामा पुग्ने वीरेमाथि उनका कक्षाका साथीहरूले गर्ने व्यवहार आज पनि धेरै विद्यालयका विद्यार्थीहरूको दैनिकी बनिरहेको छ । गरिब र असहाय विद्यार्थीहरूको विद्यालय जीवन त्यति सहज नभएको विषयले प्रजातन्त्र, लोकतन्त्र र गणतान्त्रिक सरकारलाई आज पनि प्रश्न सोधिरहेको छ । तर, पढाइमा तीक्ष्ण वीरे विद्यालयको उत्कृष्ट विद्यार्थी बन्न पुग्नु र शिक्षकहरूको माया र ममता अनि स्नेही भावनाले वीरेमा आएको परिवर्तन स्वयम् उनका साथीहरूको लागि इष्र्याको विषय थियो । नाटकका नायक बनेका वीरेलाई देशभक्त र क्रान्तिकारी बनाउने काजीको सपना थियो । उनका बुबा पनि ‘बहुलाकाजीको सपना’ पूरा हुनेमा निकै आशावादी देखिन्थे ।
तर अचानक वीरेलाई ज्वरोले नराम्ररी गाँज्न पुग्छ । तात्कालीन समाजअनुसार २१ दिने ज्वरो नामकरण गरिएको ज्वरोको उपचार हुन नसक्नु वर्तमान ग्रामीण जनताको यथार्थ हो । रोग, भोकले पीडित जनता चिकित्सकको शुल्क सुनेर बेहोस हुने तात्कालीन सामाजिक परिवेश आजसम्म पनि नेपाली समाजमा विद्यमान हुनु विडम्बना भएको छ । शासकीय असफलताको परिचय बनिरहेको छ । समयमा उपचार पाउन नसकी वीरेको मृत्युसँगै ‘बहुलाकाजीको सपना’ तुहिन पुग्छ । नाटकको मर्म कलाकार वीरेकै वरिपरि घुमिरहेको हुन्छ, गरिबीको सामाजिक जीवनचर्याभित्रै रुमल्लिरहेको हुन्छ । विद्यालयका केही साथीहरू वीरेको क्षमता र योग्यताका कारण वीरेप्रति नजिकिन पुग्छन् । उसलाई पे्ररणा र सान्त्वना दिन उनको घरसम्मै पुगेका हुन्छन् । केही घरायसी र ग्रामीण प्रयास असफल भई वीरेको उपचार नहुने भएपछि उनको अन्तिम श्वास बन्द हुनपुग्छ । यसरी ‘बहुलाकाजीको सपना’को पर्दा सधैंका लागि बन्द हुन्छ । एक घण्टाको नाटक वियोगान्त भई टुङ्गिन्छ ।
विसं २००४ सालमा तयार नाटकमा व्यक्त भावना र सामाजिक चित्रणले आज ७ दशकको अवधि पार गरिसकेको छ । यसबीचमा ००७ को प्रजातान्त्रिक आन्दोलन, ०३६ को विद्यार्थी आन्दोलन र जनमतसङ्ग्रह, ०४६ को प्रजातान्त्रिक आन्दोलन हुँदै ०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनहरू सम्पन्न भइसकेका छन् । जनताको मुक्तिको लागि भनेर १० वर्ष माओवादीले विद्रोह ग¥यो । तर, विडम्बना ती सबै आन्दोलनहरू सम्झौतामा टुङ्गिए । परिणामस्वरुप साना केही परिवर्तनबाहेक जनताको घर दैलोमा उज्यालो किरण पुग्न पाएन । जनताको मुक्ति र आर्थिक उपार्जनको कुरा गर्नेहरू सबैको आर्थिक र भौतिक उन्नतिले पहाड छिचोल्यो, छिचोल्ने क्रम जारी छ तर जनताको सपनामा बादल लाग्ने क्रम रोकिएको छैन । जनताका समस्याहरूको चाङ लागेको यथार्थलाई शासकहरूले आत्मसात गर्न सकेका छैनन् । सरकारमा जाने दलका नेताहरूको दैनिकीमा ठूलो परिवर्तन भयो । जनताको अवस्था ज्यूँका त्यूँ रह्यो । तसर्थ साहित्यिक हतियारको माध्यमबाट समाजमा उज्यालो छर्ने आस्था परिवारको प्रयास निरन्तर अगाडि बढिरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *