भर्खरै :

काठ र चुकुल पुरानो हुँदा भैलखः कमसल

भक्तपुर, ३० चैत । बिस्केट जात्राअन्तर्गत चैत २७ गते भैलखः (भैरवनाथको रथ) तानेर भक्तपुर वडा नं ९ को तलातुंछिसम्म पु¥याइयो । जात्रालुहरूले मध्यरातमा रथ इनाचोसम्म फर्काए । त्यतिञ्जेल रथका तीन तलामध्ये दुई तला लगभग खसिसकेको थियो । गजुर ढल्किसकेको थियो । जात्राको सुरुकै दिनमा रथको त्यो अवस्था देख्दा धेरैले अफसोच माने । केहीले भैलखः नै कच्चा बन्दा एकै दिनमा त्यसरी बिग्रेको बताए ।
झण्डै ४८ वर्षदेखि भैलखः बनाउने काममा प्रत्यक्ष संलग्न प्रेमलाल शिल्पकार भैलखः कच्चा बनेकोमा सहमति जनाउनुहुन्छ । भैलखः बनाउन प्रयोग गरिएका ६० प्रतिशत काठ निकै पुरानो भएकोले रथ कच्चा हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो ।
“पचासौँ वर्ष पुरानो चुकुल अहिले पनि प्रयोगमा छन् । अस्सी वर्षसम्म पुराना काठका टुक्रा अहिले पनि रथमा छन् । त्यस्ता काठ र चुकुलका कारण भैलखः कमजोर बनेको हो ।”, शिल्पकारले भन्नुभयो ।
रथमा प्रयोग गरिने काठ र टुँडालबारे बिस्केट जात्रा आउन केही समयअघि मात्र चासो राखिने र अरू बेला वास्ता पनि नहुने अवस्थाले रथ बलियो बनाउन आवश्यक तयारीका लागि सधैं समय अभाव हुने शिल्पकारको भनाइ छ ।
“यो वर्ष पनि फागुनको पहिलो सातादेखि मात्र रथको तयारी थालियो । सिकर्मीहरूको अभाव छ । रथको लागि नयाँ पाङ्ग्राको काम अपुरो नै रह्यो ।”, उहाँले भन्नुभयो ।
बिस्केट जात्रा सकेपछि रथका काठका पार्टपुर्जा ङातापोल मन्दिर पछाडि भण्डार गर्ने गरिएको छ । विगतमा भैलखःका ती पार्टपुर्जा ऐसाम्हारी कुना (हालको क्याफे) मा संरक्षण गरिन्थ्यो । गुठी संस्थानले भैलखःका पार्टपुर्जा भण्डारण गर्न बनाइएको भवन क्याफेको रुपमा भाडामा दिएपछि विभिन्न स्थान हुँदै हाल ङातापोल पछाडि भण्डारण गरिंदै आएको हो । बिस्केट जात्रा पछि भण्डारण गरिएका काठ अर्को वर्षमात्र निकाल्ने हुँदा कतिपय काठ त्यहीं कुहिने र मक्किने गर्छ । सन्तुलित रुपमा काठ र टुँडाल नराखिंदा काठ र चुकुल काम नलाग्ने हुँदै गएको हो । उचित चासो नपुग्दा भैलखः हरेक वर्ष कमजोर बन्दै गएको हो ।
२०५८ सालदेखि आफ्नै नेतृत्वमा भैलखः बनाउँदै आउनुभएका शिल्पकारले कम्तीमा हरेक वर्षको माघ महिनादेखि नै भैलखः बनाउने कामको सुरुवात गर्नसके रथका कतिपय बिग्रेका पार्टपुर्जा बनाउन सकिने धारणा राख्नुहुन्छ ।
भैलखः बनाउने र संरक्षणको लागि जिम्मेवार सरकारी निकाय गुठी संस्थान कार्यालय हो । गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरि सुवेदी भने भैलखः कमजोर बनेकोमा विमति राख्नुहुन्छ । चैत २८ गते भैलखः लगिएका विभिन्न स्थानको अवलोकन गर्न जाँदा रथले आफ्नो घरमा क्षति पु¥याएका मानिसहरूले गुठी संस्थानबाट क्षतिपूर्तिको माग गरेको सुनाउनुभयो ।
“रथ कमजोर भएको भए घरहरू कसरी भत्कन्थे र ?”, उहाँले प्रतिप्रश्न गर्नुभयो ।
दुई करोडमा बन्छ भैलखः
लामो समयदेखि भैलखः बनाउने जिम्मा लिंदै आउनुभएका प्रेमलाल शिल्पकारले आजको बजार मूल्यमा भैलखः पूर्णरूपमा नयाँ बनाउन दुई करोड रुपैयाँ लाग्ने अनुमान गर्नुहुन्छ ।
सरकारी कार्यालयमार्फत काठमा अनुदान प्राप्त भए त्योभन्दा पनि सस्तो मूल्यमा भैलखः बनाउन सकिने उहाँको भनाइ छ । भैलखःमा चिलाउने, अग्राख, सल्ला, साललगायतका काठ प्रयोगमा छन् ।
जीर्णोद्धार
बिस्केट जात्राको पहिलो दिन नै रथ कुरुप बनेपछि भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुमार चवालको मन मानेन । ‘यसरी नै भैलखः योसिंख्य लान हुँदैन’ उहाँलाई लाग्यो । अनि बिस्केट जात्राका अन्य जिम्मेवारी एकातिर पन्छाएर लाग्नुभयो–भैलखः जीर्णोद्धार गर्न । शुक्रबार उहाँ त्यही काममा व्यस्त हुनुभयो । गःहिटीमै रथका पार्टपुर्जा बनाउँदा अनेक मानिसका थरीथरी कुरा आउँदा काममा बिलम्ब हुने भनी शिल्पकारलगायतको टोलीलाई ङातापोल पछाडि काम गर्ने बन्दोबस्त गरियो । शनिबार बिहानै उहाँ रथको भत्केका भाग जीर्णोद्धारमा सहयोग गर्न व्यस्त हुनुहुन्थ्यो । स्थानीय युवाहरूसमेतको सहयोगमा भैलखःका भत्केका छाना र अन्य केही भागहरू बनाइयो ।
“रथ ढल्केको छ । त्यसकारण सबै भाग त बनाउन गा¥हो हुन्छ । सकेको जति बनाउने हो ।”, शिल्पकारले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *