भर्खरै :

अँध्यारोमा छामछाम र छुमछुम गर्दै ओली सरकार

काठमाडौँ, ३० चैत । शीतल निवास, बालुवाटार र सिंहदरबार ‘ठगहरूको घेरा’ मा भन्ने भनाइ बारम्बार दोहरिंदै आएको नेपालका संवदेनशील समुदायमा चर्चाको विषय बन्दै आएको छ । ललिता निवास हिनामिना प्रकरणको ‘छानबिनमा रहेका गुरुङ पनि सुशोभित हुँदै’ भन्ने शीर्षकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रवल जनसेवाश्री तृतीय’ पदकबाट सुशोभित हुनेबारे राजधानीमा व्यापक चर्चा परिचर्चा हुँदैछ ।
विभिन्न पदक पाउने ४३ जनामध्ये गुरुङसहित २ दर्जनभन्दा बढी व्यापारी, भूमाफिया (जग्गा अपराधी) तथा कर्मचारी छानबिनमा परेका व्यक्तिहरू छन् । विभूषण छनोट समितिका अध्यक्ष उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हुन् । (नागरिक, ३० चैत २०७५) ।
गणतन्त्रका राष्ट्रपति तथा कम्युनिष्ट नेतृ विद्यादेवी भण्डारीलाई पनि रुढीवादी सल्लाहकारकै सल्लाहमा सामन्तवादी पञ्चायती व्यवस्थाकै पद्चिह्नमा हिँडाउने काम जस्तैः मन्दिरहरू चहार्ने नवदुर्गा पूजा र बली चढाउने काममा लागेको चर्चा पनि कम विवादको विषय होइन । ‘धर्मनिरपेक्षता’ को अर्थ व्यक्तिको धार्मिक स्वतन्त्रतालाई ‘नियन्त्रण’ होइन बरु राज्य कुनै एउटा धर्म वा सम्प्रदायको पक्षमा नलाग्नु भन्ने हो ।
यसरी दुईतिहाइको ‘प्रगतिशील’, ‘कम्युनिष्ट’ र ‘समाजवादउन्मुख’ संविधान र सरकारको पाखण्डी व्यवहारबाट बुद्धिजीवी समुदाय चकित छन् । ५५ प्रतिशत पुँजीपति वर्गको हातमा देशको विकास सुम्पनुको अर्थ ‘प्रगतिशील’ र ‘कम्युनिष्ट’ को सरकार कालाबजारी, तस्करी, भूमाफिया, गुण्डा, ठग र देश डुबाउने पप्पुजस्ता ठेकेदारहरूको अगाडि आत्म–समर्पण गर्नु हो । यो सारा इमानदार चिन्तकहरूको चिन्ताको विषय बनेको छ ।
सरकार र बेरुजु
कमभन्दा कम बेरुजु सुशासनको एउटा राम्रो पक्ष हो । पञ्चायतकालमा पनि कम बेरुजु थिएन । काङ्ग्रेस कालमा त्यो बेरुजु बढ्यो । एमाले र एमाओवादी सरकारमा पनि बेरुजु कम भएन । नेकपा (एमालेंएमाओवादी) को सरकारमा बेरुजु झण्डै ७ खर्ब पुग्यो । (अन्नपूर्ण, ३० चैत २०७५) २०७३÷७४ पछि ३६.७१ प्रतिशत बेरुजु बढ्यो, प्रदेश २ को बेरुजु सबैभन्दा धेरै अर्थात् २३. ७१ प्रतिशत बताइएको छ ।
‘नागरिक’ ले भन्यो, “आयल निगमले बोनस बाँड्न नपाउने, चिनीमा साढे ५३ करोड राजस्व गुम्यो र परामर्शदाताका नाममा लुुट ।”
यही हो ओली सरकारको सुशासन र समृद्धि ! लुटको धन फुपूको श्राद्ध भनेजस्तै जनताको ढुकुटीमा अनावश्यक विदेश भ्रमण गर्नु र कार्यकर्ता र आफ्ना मानिसलाई अनेक निहुँमा पैसा बाँड्नु लुट हो । देशभरि जनताको गुनासो यही हो । के नेकपा सरकारले देशमा भ्रष्टाचार, पक्षपात र ठगीको खेती गर्न खोजेको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *