भर्खरै :

संरा अमेरिकाको विरोधबीच क्युवा र युरोपेली सङ्घको वार्ता

हवाना, १७ अप्रिल । क्युवा र युरोपेली सङ्घले मङ्गलबार दिगो विकासका लागि पहिलो दुई पक्षीय संवाद गरेका छन् । सन् १९५९ मा क्युवामा राष्ट्रकरण गरिएका सबै सम्पत्तिमा सञ्चालन गरिएका विदेशी कम्पनीहरूविरुद्ध संरा अमेरिकी नागरिकले मुद्दा चलाउने अधिकार पाउने कानुन कार्यान्वयनको लागि वाशिङ्टनको दबाबबीच क्युवा र ईयुबीच यस्तो संवादको थालनी भएको हो ।
वार्तामा दुई पक्षबीच संयुक्त राष्ट्र सङ्घीय २०३० दिगो विकास एजेन्डामा हवाना र ब्रसेल्सले हासिल गरेका उपलब्धिबारे चर्चा गरेका थिए । दिगो विकास एजेन्डाले सबैप्रकारका गरिबी निर्मूलन गर्ने र स्वास्थ्य सेवा, शिक्षा र पिउने पानीको पहुँच विस्तार गर्ने लक्ष्य तय गरेको छ ।
“वार्ताको क्रममा हामीले उत्पादनको वास्तविक ढाँचामा परिमार्जन अनुमोदन गरेका छौं । सन् २०३० को एजेन्डाद्वारा प्रस्तावित लक्ष्य हासिल गर्न उपभोग आधार पक्ष भएकोमा हामी सहमत भएका छौँ ।” क्युवाली विदेशमन्त्रालयका बहुपक्षीय मामिला निर्देशक रोल्डफो रेयसले बताउनुभयो ।
वार्ताको अध्यक्षता रेयस र युरोपेली सङ्घ अन्तर्राष्ट्रिय सहकार्य र विकासका महानिर्देशक स्टेफानो मानसेर्भिसीले गरेका थिए ।
बैठकमा भविष्यको पुस्तालाई हित हुने गरी साझा सामाजिक परियोजना विकासको लागि संवाद बलियो बनाउने सहमति भएको छ ।
खाद्य सुरक्षा, समावेशी आर्थिक विकास र महिला अधिकार आदि विषयमा पनि बैठकमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *