भर्खरै :

माक्र्स ः प्रेरणाका ओजस्वी स्रोत

सुरेन्द्रराज गोसाई
आजभन्दा २०१ वर्ष अगाडि कार्ल माक्र्सको जन्म भयो । ६५ वर्षको छोटो आयु बाँचेर सन् १८८३, १४ मार्चको दिन भौतिकरूपमा यो संसारबाट बिदा हुनुभयो ।
माक्र्सको विलक्षण प्रतिभा र उहाँको जीवनका केही अद्भूत पक्ष उहाँको व्यक्तित्वलाई दुई सय वर्षपछि पनि अध्ययनको अनिवार्य विषय र खोजीको क्षेत्र बनाउन अभिप्रेरित गर्दछ । माक्र्सको विचार र योगदानले मानव समाजको विकासमा अभूतपूर्व फेरबदल ल्यायो । विश्वको इतिहासले नयाँ परिभाषा पायो र नयाँ बाटो पहिल्यायो । त्यसकारण माक्र्सको जीवन कामदार जनताको निम्ति प्रेरणाको ओजस्वी स्रोत बनिरहेको छ ।
जग्गा–जमिन र कल–कारखाना अर्थात् उत्पादनका मुख्य साधनमाथि एकहट्टी कायम गरिरहेको वर्ग र सम्पत्तिको नाउँमा आफ्नो श्रमबाहेक केही नभएको वर्गबारे सारा जगतलाई अवगत गराउने र यी दुईबीचको सङ्घर्ष अनिवार्य हुने यथार्थबोध गराई नवीन क्रान्तिको विगुल फुक्ने अरु कोही नभई विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्स नै हुनुुहुन्छ । माक्र्स भन्नुहुन्छ–‘….वर्तमान व्यवस्थामा एकातिर पुँजीपतिहरूको हातमा पुँजी र भूमि छ अनि अर्कोतिर मजदुरहरूसँग बजारमा बेच्ने वस्तुको रुपमा श्रमशक्तिमात्रै छ । यो व्यवस्था पनि एउटा त्यस्तो ऐतिहासिक अवस्था हो, जुन समाप्त हुनैपर्छ र त्यसको ठाउँमा योभन्दा बेसी उन्नत सामाजिक व्यवस्था कायम हुनैपर्छ । हामीलाई थाहा छ, सबै ठाउँमा समाज वर्गहरूमा विभाजित छ । त्यसकारण माक्र्सले कम्युनिष्ट घोषणापत्रमा जोडका साथ आफ्नो युगान्तकारी विचार प्रस्तुत गर्नुभयो, “आजसम्मको विश्वको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” आधुनिक औद्योगिक देशहरूमा जतिसुकै आर्थिक उन्नति, प्राविधिक प्रगति र सामाजिक समृद्धिका झिलिमिली देखाइए तापनि त्यहाँ पुँजीपति वर्ग र मजदुर वर्गबीचको सम्बन्ध सुमधुर कहिल्यै नबन्ने बरु वैमनस्य बढ्ने र त्यस्तो समाजमा क्रान्तिको तत्व जीवित रहने साथै विद्रोहको सम्भावना प्रबल हुने माक्र्सले दृढतापूर्वक विश्वास व्यक्त गर्नुभएको स्मरण आजको दिनमा गर्नु अझ बढी सान्दर्भिक हुनेछ । माक्र्सले भन्नुभएको उन्नत सामाजिक व्यवस्था अरु कुनै नभई समाजवाद नै हो । उत्पादनका मुख्य–मुख्य साधन राज्यको मातहतमा ल्याई तिनलाई सामाजिक सम्पत्तिमा रुपान्तरण गर्नु र शोषणबाट मजदुर वर्गको मुक्ति समाजवादको प्रमुख उद्देश्य हुने तर त्यसको लागि समय लाग्ने, शिक्षाको व्यापक प्रचार आवश्यक हुने र उच्चस्तरका सामाजिक अवयवहरू आवश्यक हुने माक्र्स बताउनुहुन्छ । आफ्नो आन्दोलनको उद्देश्यबारे आशातीत स्पष्ट हुन नसक्दासमेत स्वयंस्फूर्त ढङ्गमा सङ्घर्षमा उत्रने मजदुर वर्ग आन्दोलनको चरित्र तथा उद्देश्यबारे प्रस्ट भएपछि समाजवादजस्तो मजदुर वर्गको भू–स्वर्ग स्थापना गर्न बलिदानीपूर्ण भावनाका साथ क्रान्तिमा होमिने माक्र्सको बलियो अभिमत छ । त्यसको निम्ति संसारभरका मजदुरहरू एक भएर उठ्नुपर्ने उहाँ बताउनुहुन्छ । कारण, समाजवाद स्थानीय समस्या या विषयवस्तुमा मात्र सीमित छैन । समाजवाद स्थापनाको बाटो सहज एवम् सरल नहुने प्रस्ट पार्दै माक्र्स आवश्यकताबमोजिम बल प्रयोग या रक्तपातपूर्ण हुनेतर्फ सङ्केत गर्नुहुन्छ । माक्र्स भन्नुहुन्छ, “आजसम्म कुनै पनि महान् आन्दोलन विनारक्तपात भएको छैन । अमेरिकाको स्वतन्त्रताका लागि रगत बग्यो । नेपोलियनले रक्तपातकै माध्यमबाट फ्रान्समाथि कब्जा गरे र त्यसरी नै उनको अन्त्य भयो ।” मजदुर वर्गमाथि दमन गर्न पुँजीपति वर्गले सम्पूर्ण उपाय अपनाउने र आन्दोलन, क्रान्तिको रूपरेखा पनि तिनीहरूमै भरपर्ने माक्र्सको आशय हो । स्वाभाविकरुपमा बच्चाको जन्म भएको खण्डमा कैंचीको प्रयोग आवश्यक नहुने व्यावहारिक उदाहरणसमेत माक्र्सले दिनुभएको उल्लेख छ ।
माक्र्सको भनाइमा “धर्म एक अफिम हो ।” अद्यापि अत्यन्तै चर्चित छ । माक्र्सले अझ स्पष्ट भाषामा धर्मबारे मननीय उक्ति दिनुभएको छ–“धर्मको विरुद्ध हिंसात्मक कारबाही गर्नु निरर्थक छ । समाजवादको विकास सँगसँगै धर्म गायव हुँदै जानेछ । धर्मको लोप सामाजिक विकासको कारणले हुनुपर्दछ । यसमा शिक्षाको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।” यसरी कार्ल माक्र्सले आजभन्दा १४० वर्ष अगाडि धर्मबारे दिनुभएको अभिव्यक्तिबारे छलफल र बहस आज पनि आवश्यक छ । धर्मको नाउँमा विश्वमा भइरहेका गतिविधिले विश्वलाई कतातिर लगिरहेको छ र मानव जीवनले कुन मोड लिँदैछ भन्ने चिन्तन–मननको आवश्यकता भएकोबारे विवाद उपयुक्त नहोला ।
जीवन र जगतलाई परिभाषित गरेरै समय व्यतित गरिरहेका र शब्द खर्च गरिरहेका चिन्तक, दार्शनिकहरूको भीडमा कार्ल माक्र्स आफ्नो अलग्ग उपस्थिति स्थापित गर्न सफल हुनुभयो । माक्र्सले फरक फरक तरिकाले विश्वबारे व्याख्यामात्र गर्नुभन्दा विश्वलाई बदल्नु नै प्रधान प्रश्न हुने विचार राख्नुभयो । १९ औं शताब्दीका महान् दार्शनिक, क्रान्तिकारी नेता, साहसी चिन्तक तथा सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको व्यक्तिगत तथा पारिवारिक जीवन आँधीबेहरीबीच अघि बढेको स्मरण नगर्नु या चर्चा नगर्नु न्यायसङ्गत नहुने प्रस्ट छ । बाल्यावस्था र किशोरावस्थामा अभाव, दुःख, वेदना के हो, उहाँलाई सामान्य अनुभवसम्म भएन । तर त्यसपछिको जीवन दुःख, अभाव र वेदनाविहीन कहिल्यै भएन । २९ वर्षे जवानीमा ‘कम्युनिष्ट घोषणापत्र’ तयार गरी विश्व क्रान्तिको नगरा बजाउने माक्र्स शोक र वेदनामा छट्पटाउन बाध्य हुनुभयो । उहाँ कति शोकाकुल हुनुभयो भन्ने अनुमान एँगेल्सलाई जून १९५४ मा लेख्नुभएको पत्रमा उल्लेख गरिएको वाक्य ‘जसको परिवार छैन, उसैको जीवन आनन्ददायक’ बाट गर्न सकिन्छ । माक्र्स ३६ वर्षको हुनुहुँदा उहाँका पिताको देहावसान भइसकेको थियो, आमासँगको सम्बन्ध चिसिसकेको थियो र नातागोतासँगको सम्बन्ध टुटिसकेको थियो । साथै फ्रेडरिक एँगेल्सको साथ र सहयोगमा परिवार चल्दै थियो । यस्तो अत्यन्त जर्जर परिस्थिति र सात बच्चाबच्चीमध्ये चार जनालाई गुमाउनुपर्दा पारिवारिक सुख कायम राख्न सक्नु र क्रान्तिको सेवामा समर्पित हुनु माक्र्सको मात्र नभई माक्र्स दम्पत्तिको महानता हो र यो समाजमा विरलै पाइने या सुनिने उदाहरण हो । अविचलित यात्रा र जीवन सङ्घर्षको उत्कृष्ट नमुना यदि कुनै छ भने त्यो माक्र्स दम्पत्तिको जीवन हो । माक्र्स दम्पत्तिको जीवन गाथा अझै गाउन आवश्यक छ । त्यो गीत एक्काइसौं शताब्दीको उत्कृष्ट जीवन्त गीत बनी गुञ्जिरहेको छ र अरु कैयौं शताब्दीसम्म गुञ्जिरहनेछ । माक्र्सवादको अवसान घोषणा गर्दै उत्सव मनाउन हतारिनेहरू र अझ पर्खिबस्नेहरूले यो एक्काइसौं शताब्दीमै साम्राज्यवादको दुःखद अन्त्यको शोक मनाउनुपर्नेछ । विश्वमा अपराजय माक्र्सवाद र समाजवादको रातो झण्डा गौरवका साथ फहरिनेछ ।
(नेपाल मजदुर किसान पार्टीको आयोजनामा २०१ औँ कार्ल माक्र्स जन्म दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *