भर्खरै :

कसैको पनि नहोस् अशुद्ध नाम

कसैको पनि नहोस् अशुद्ध नाम

xसंसारको जुनसुकै देशमा जन्मे पनि र जुनसुकै धर्म–सम्प्रदायको अनुयायी भए पनि, मानिसको पहिलो परिचय भनेकै उसको नाम हो । उसलाई नामबाटै बोलाइन्छ, नामबाटै चिनिन्छ । मानिस जीवनभरि मात्र होइन मृत्युपछि पनि नामबाटै परिचित हुन्छ । त्यसैले जोसुकैका लागि पनि आफ्नो नाम ज्यादै प्यारो र महत्वपूर्ण हुन्छ । “जीवनमा तिमीले आफ्नो नाम राख्नुपर्छ, समाजको नाम राख्नुपर्छ, देशकै नाम राख्नुपर्छ,” भन्ने आशीर्वादमा पनि नामकै महत्व झल्किएको देखिन्छ ।
यस्तो विशेष महत्वको नाम, विभिन्न जातधर्म र संस्कारमा आफ्नै तरिकाले राखिन्छ । कतै जन्मबारका आधारमा आइते, सोमे, मङ्गले नाम राखिन्छ । कतै आफूले मान्ने गरेको भगवान् र तीसँग सम्बन्धित अर्थका आधारमा पनि राखिन्छ । नामले वर्ग पनि छुट्याउने गर्छ । धनीको नामको धेरै चर्चा र महत्व हुन्छ तर गरिबको असली नाम थोरैलाई मात्र थाहा हुन्छ । मजदुर÷श्रमिक वर्गका मानिसलाई नामले भन्दा पनि कामका आधारमा चिन्ने गरिन्छ ।
हिन्दू सनातन धर्ममा, गर्भाधानदेखि अन्त्येष्टिसम्म गरी जम्मा सो¥ह संस्कार छन् । तीमध्ये नामकरण एउटा महत्वपूर्ण संस्कार हो । न्वारान नाम दिइएको यो संस्कार, ज्योतिषीय आधारमा शिशु जन्मेको ११ दिनमा सम्पन्न गरिन्छ । बालक जन्मँदा केकस्तो ग्रह–नक्षत्र भेटेर जन्मेको हो भन्ने आधारमा उसको जन्मकुण्डली तयार गरिन्छ । उसको स्वभाव, पेसा, विवाह, जागिरका विषयमा भविष्यवाणी पनि गरिन्छ । अहिले पनि उहिलेका कतिपय विशिष्ट व्यक्तिका जन्मकुण्डली जिज्ञासुहरूले अभिरुचिका साथ अध्ययन गर्छन् ।
नेपालमा अधिकांश हिन्दू धर्मावलम्बी भएकाले पनि होला, यहाँ राखिने पुरुष तथा स्त्रीका नाम हिन्दू देवी देवताका छन् । पुरुषका नाम राम, श्याम, कृष्ण, विष्णु, हरि, गोपाल, गोविन्द इत्यादि छन् भने स्त्रीका सीता, गीता, गौरी, पार्वती, भगवती, लक्ष्मी इत्यादि । यी नामहरू निश्चय नै हाम्रा हुन् । हाम्रा भएकैले यी राम्रा,पवित्र र स्मरणीय पनि छन् ।
नाम व्यक्तित्वको भावनात्मक पहिचान पनि हो । जसरी ज्यान सुहाउँदो आकर्षक पोसाकले व्यक्तिको व्यक्तित्वमा प्रभावशाली भूमिका निर्वाह गर्छ त्यसरी नै सार्थक नामले व्यक्तिको मानसिकतासित पनि गहिरो सम्बन्ध राख्छ । तर, यो कुरा मनन नगरी आजकल आधुनिक र सभ्य बन्ने नाममा जथाभावी नाम राख्ने गरिएको छ ।
कोही दम्पत्ति आफ्नो शिशु नजन्मँदै, छोरा भए के र छोरी भए के नाम राख्ने भनेर छलफल गर्न थाल्छन् । कसैले श्रीमान् र श्रीमतीको नामको सुरुसुरुको अक्षर जोडेर आफ्ना सन्तानको नाम राख्छन् । जसरी होस् आफ्नो सन्तानको नाम ‘युनिक’ होस् भन्ने कुरामा आजका दम्पत्ति सचेत देखिन्छन् । यस क्रममा उनीहरू स्वेदशी नेपाली नामभन्दा पनि विदेशी अङ्ग्रेजी नाम राख्न रुचाउँछन् । त्यसो त ‘आमा’, ‘बुआ’ ‘काका’, ‘काकी’ जस्ता जस्तो नेपालीपन र आत्मीयता झल्काउने नामका सट्टा आजकल ममि, डेडी, अङ्कल, आन्टीजस्ता विदेशी नामलाई हामीले अँगालो हाल्न थालेको पनि धेरै भइसक्यो । यस्तो भएपछि हाम्रा बालबालिकाका नाम अल्बर्ट, माइकल, न्युटन, निक्सन, ह्यारिस, टोम, थोमस, रोबर्ट, ज्याक्सन, जोलिया, क्याथरिन, मेरी, सोनिया, रोनिक, एरिका, सोफिया इत्यादि हुनु नौलो कुरो भएन । “बेलायती प्रधानमन्त्रीको नाम ऋषि सूनक छ, नेपालीहरूले के यस्तो नाम राखेका होलान् !” भनेर कसैले गुनासो गरे पनि कसैले सुन्नेवाला छैन ।
चलनचल्तीका र स्वाभाविक नाम लेखाइमा पनि यहाँ सर्वत्र अशुद्धि देखिन्छ ।
वागीश्वरीको अर्थ ‘वाणीकी देवी’, ‘सरस्वती’ हो भन्ने कुरा धेरैलाई थाहै छ । त्यही भएर धेरै विद्यालयको नाम ‘वागीश्वरी’ राखिएको पाइन्छ । तर, यति सामान्य कुरो पनि नबुझेरै त होला, धेरै विद्यालयले ‘बागेश्वरी’ लेख्ने गरेको पाइयो । विद्यालयकै नाम अशुद्ध भएपछि सर्वसाधारण नागरिक र विद्यार्थीको नाम के शुद्ध हुन सकोस् !
एकजना काकाको नाम ‘नारायणबहादुर’ हुनुपर्नेमा नागरिकतामा ‘नार्रानबहादुर’ रहेछ ! त्यसैले कुनै बैठक/भेला हुँदा उहाँलाई, आफ्नो नाम कसैले जान्ने भएर ‘नारायणबहादुर’ लेखिदेला भन्ने पिर हुन्थ्यो । कसैले त्यहाँ शुद्धरूपमा ‘नारायणबहादुर’ लेखेको रहेछ भने त्यसलाई बिगारीकन ‘नार्रानबहादुर’ बनाउन लगाएर मात्र उपस्थिति सही जनाउनुहुन्थ्यो उहाँ । सम्झन थाल्ने हो भने, ‘नार्रानबहादुर’ काकाजस्ताका नाम जत्ति पनि भेट्टाउँछौँ हामी ।
कुरो अलि पहिलेकै हो । एकजना छात्राको नाम सुशीला रहेछ । तर, उनको एसएलसीको परीक्षा आवेदन फाराम भर्दा विद्यालयले नेपालीमा ‘शुसीला’ र अङ्ग्रेजीमा पनि यसैअनुसार मिलाएर लेखिदिएको हुँदा उनको ‘मार्क शिट’ मा त्यही भएर आएछ । “सुशीला जस्तो राम्रो र सार्थक नाम भए पनि, विद्यालयले गल्ती गरिदिएका कारण, त्यसको सजाय मैले जीवनभरि नै ‘शुसीला’ जस्तो नराम्रो र निरर्थक बोकेर भोग्नुपर्ने भइरहेछ,” उनी गुनासो गर्दै थिइन् ।
कक्षा ८ मा पढ्ने एकजना छात्राको नाम ‘श्रद्धा’ रहेछ । तर, उनले आफ्नो गृहकार्य पुस्तिकामा ‘श्रद्र्धा’ लेखेको देखेपछि नेपाली शिक्षकको हैसियतले मैले, उनले आफ्नो नाम शुद्धसँग लेख्नै पो नजानेको हो कि भनेर, “तिम्रो नाम त्यस्तो ‘श्रद्र्धा’ होइन, यस्तो ‘श्रद्धा’ हुन्छ” भनेर उनको कापीमै लेखेर देखाइदिएँ । तर, उनले मैले लेखिदिएजस्तो लेख्न मानिनन् । वास्तविकता के रहेछ भने, उनको जन्मदर्तामै ‘श्रद्र्धा’ रहेछ । त्यसैले शुद्ध ‘श्रद्धा’ लेख्दा बिग्रिन्छ भन्ने डरले उनी जन्मदर्ताबमोजिम अशुद्ध ‘श्रद्र्धा’ नै लेख्दिरहिछिन् ! छोरीको त्यस्तो अशुद्ध नाम सच्याउने विषयमा मैले उनका बुबालाई पनि फोन गरेँ । तर, उहाँले चासो गर्नुभएन वा प्रयास गर्दा पनि केही चलेन–मैले थाहा पाइनँ । मैले हेर्दाहेर्दै उनले आफूले लेख्ने गरेकै नाममा कक्षा ८ को परीक्षा आवेदन फाराम भरिन्, रजिस्ट्रेसन आवेदन फाराम भरिन् र एसईईको परीक्षा आवेदन फाराम पनि भरेर भर्खरै परीक्षै दिइसकिन् ।
त्यस्तै, ‘मनिसा’ को नामलाई लिएर, ‘मनीषा’ को अर्थ ‘मन वा मस्तिष्कको विशिष्ट शक्तिका रूपमा विकसित बुद्धि’ हो भनी बताइदिएँ । एउटी प्रसिद्ध नेपाली नायिका पनि आफ्नो नाम ‘मनीषा’ लेख्छिन् भनेँ । तर उनको पनि जन्मदर्तामा ‘मनिसा’ नै रहेछ ¤ मेरो सुझावको कुनै अर्थ रहेन । ‘प्रस्ना’ लाई ‘प्रश्ना’ लेख्नुपर्छ भनेँ । ‘शैलेजा’ लाई ‘शैलजा’ लेख्दा मात्रै सार्थक हुन्छ भनेँ । ‘निष्था’ लाई ‘निष्ठा’ बनाउन आग्रह गरेँ । ‘दिप्सिका’ लाई ‘दीपशिखा’ भयो मात्र तिम्रो नाम जीवनभरि उज्यालो देखिन्छ भनेँ । ‘सीतल’ ले शीतल बुझाउँदैन भनेँ । ‘चाँन्दनी’ लाई बिचको /न्/ नचाहिँदो भयो भनेँ । ‘अविसेक’ लाई तिमी ‘अभिषेक’ हौ भनेँ । ‘सुवेच्छा’ लाई ‘शुभेच्छा’ लेख्नु उत्तम हो भनेँ । त्यस्तै ‘तपस्विया’ लाई पनि ‘तपस्या’ वा ‘तपस्विता’ लेख्नु राम्रो हुन्छ भनी सम्झाएँ । तर, उनीहरू सबैको नाम जन्मदर्तामै त्यसरी अशुद्ध भएर दर्ता भएको रहेछ । त्यसैले चाहेर पनि उनीहरूले मैले भनेबमोजिम आफ्नो नाम सच्याएर लेख्न सक्ने भएनन् ।
भोलिका दिनमा उनीहरूले नागरिकता बनाउँछन् । सरकारी नोकरीमा प्रवेश गर्छन् । तर, पनि उनीहरूको नाम जीवनभरि नै परिवर्तन नहुने भयो ! थोरै सच्याउँदा सार्थक र आकर्षक देखिने ती नाम, स्थानीय पञ्जिकाधिकारीको अज्ञानताका कारण असुहाउँदिला र सार्थकताविहीन रहिरहने भए । त्यसैले जन्मदर्ता गर्दादेखि नै हाम्रा बालबालिकाको नाम शुद्ध हुनुप¥यो । कतिपय आमाबाबु शुद्ध÷अशुद्ध थाहा नपाउने भएकोले हाम्रा स्थानीय तहका वडा सचिवहरू कमसेकम नेपाली/अङ्ग्रेजी हिज्जेमा शुद्ध नाम लेख्न सक्ने क्षमताका हुनुप¥यो । केही गरी स्थानीय पञ्जिकाधिकारीले बालबालिकाको नाम अशुद्ध लेखेका भए सो जन्मदर्ता प्रमाणपत्र लिएर विद्यालयमा भर्ना गराउन जाँदा विद्यालयको सिफारिसमा सुधार गरिदिनुर्ने व्यवस्था हुनुप¥यो ।
माध्यमिक तह उत्तीर्ण नगर्दासम्म सरकारी नोकरी प्रवेशका लागि उम्मेदवार बन्न योग्य ठानिँदैन । उच्च शिक्षाको स्तरमा पुग्न पनि बाँकी नै हुन्छ । त्यसैले, कुनै पनि विद्यार्थीले कक्षा ८ मा पुग्दासम्म उसको शुद्ध र सार्थक हिज्जेसहितको नामथर सुधार्न पाउने सजिलो व्यवस्था भएमा सबैको जीवन शुद्ध नाममा बित्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *