भर्खरै :

मेरी साथी सुरक्षा मिजार

निर्जला कोजू
मेरो परिवार निम्न मध्यम वर्गको हो । घरमा म र मेरो दाइबाहेक अरु परिवारका सदस्य खासै शिक्षित छैनन् । धन्न मैले छोरी भएर पनि पढ्ने मौका पाएकी छु । म सामुदायिक विद्यालयमा पढें । विद्यालय भनेपछि एकजना व्यक्तिको नाम र मुहार मेरो आँखा अगाडि आइहाल्छ । तिनी हुन्–सुरक्षा मिजार । उनी अत्यन्त नम्र, सभ्य, राम्ररी पढ्नमा तेजिली मेरी असल मित्र थिइन् । उनी पढाइ र अरु क्रियाकलापमा उत्तिकै सक्रिय थिइन् । म उनीसँगै कक्षामा बस्थेँ र मलाई कठिन लागेका विषयवस्तु पनि उनी मलाई बुझाउँथिन् । उनलाई हेर्दा सरस्वती माता मेरो सामुने छिन् जस्तो महसुस हुन्थ्यो । कहिलेकाहीँ त इष्र्या पनि जाग्थ्यो र मनमनै सोच्थेँ “यदि म पनि उनीजस्तै हुन पाए त ।” तर, विडम्बना ! विद्यालयमा यति राम्रो मानिने उनलाई समाजमा धेरैले तल्लो जातको भनेर होच्याउँथ्यो ।
माथिल्लो जात भनाउँदाले त उनलाई र उनका परिवारलाई ‘समाजमा नचल्ने जात’ पनि भन्छन् अरे । उनले यस्ता कुरा मलाई सुनाउँदा म निकै जुर्मुरिन्थँे र उनलाई हौस्याउँदै “चिन्ता नगर, एक दिन मानिसहरू अवश्य परिवर्तन हुन्छन्” भन्थेँ ।
विद्यालयको प्रयोगात्मक कार्य गर्न, गृहकार्य गर्न र कक्षामा नबुझेका कुरा बुझाउन उनी सघाउँथिन् । एकपटक म्यामले हामीलाई एउटा प्रयोगात्मक कार्य सकेर शुक्रबारसम्ममा बुझाउन भन्नुभयो । तर, मलाई त्यो परियोजनाको केही पनि काम गर्न आएन । बुधबारको दिन मैले सुरक्षाको आधा सकिएको प्रोजेक्ट सीट लिएर बिहीबार फर्काउने वाचा गरँे । तर, भोलिपल्ट उनले सीट माग्दा पो याद आयो–ज्या ! मैले त उनको सीट ल्याएकै छैन ।
मैले उनलाई भनेँ, “घर फर्कदाँ लिएर जानु नि ल ।” उनले मुन्टो हल्लाएर हवस् भनिन् । घर फर्कदा हामी सँगै थियौँ । मेरो घर विद्यालयबाट दस मिनेट पर थियो । तर, मलाई उनको घर आजसम्म पनि थाहा छैन । घर पुगेपछि मैले उनलाई माथि आउन आग्रह गरेँ । उनी मेरो घर पहिलोपटक आएकी थिइन् । हामी दुवै कोठामा नपुग्दै मेरो नाकले कतैबाट आएको मीठो परिकार पाक्दै गरेको बासना चाल पायो । माथि भान्सामा आमा काउली र रोटी पकाउँदै हुनुहँुदो रहेछ । मैले सुरक्षालाई भनेँ, “आज यतै खाजा खाने ल ?” उनले अप्ठ्यारो मान्दै भनिन्, “होइन घरमै खान्छु” । मैले जिद्दी गरेँ र खाजा खान उनलाई भान्सामै लगेँ । निकै सकस भएजस्तो गरी उनी सुकुलमा बसिन् । मैले खाजा मागेँ । आमाले दुईवटा थालमा तरकारी राख्नुभयो र रोटी दिनुभयो । हामीले खान थाल्यौँ । त्यतिकैमा हुक्का तानेर खातमा बसिरहनुभएकी हजुरआमाले सोध्नुभयो,“नानीको नाम के हो ?”
उनले भनी, “सुरक्षा” ।
“सुरक्षा के ?”
हजुरआमाको प्रश्न सकिएन ।
उनलाई के गरुँ गरुँ भयो अनि बिस्तारै बोलिन् “ मि … जार” ।
यति सुनेपछि हजुरआमाका ठूलठूला आँखामा म कैद भइसकेकी थिएँ । हपार्दै नेवारीमा भन्नुभयो, “नचल्ने जातहरूलाई भान्छामा छिराउने ?” सुरक्षा डराएझँै र अलि रिसाएझँै देखिन्थी । खाइरहेको रोटी छोडेर त्यहाँबाट उनी कुदिहाली । म अक्क न बक्क भएँ । आमाको पनि स्वर निस्केन । म उनलाई रोक्न तल गएँ । तर, उनी कतै देखिइन । चाँडो कोठामा पुगी झ्यालबाट यता उता हेरेँ । उनी निकै टाढा पुगिसकेकी थिई । माथि हजुरआमा भुनभुन गरिरहनुभएको सुनेँ, “भान्छामै ल्याउने हँ ।” मलाई भने निराशाको छालले बगाएर दुःख र पीडाबोध भयो । सबै घटना सम्झँदा मभित्र रिसको ज्वाला बिस्फोट भइरहेको महसुस गरेँ । त्यहीबेला झट्ट याद आयो, नेपालको संविधानले छुवाछूत उन्मूलन गरिसक्यो । तब मलाई लाग्यो,‘यो प्रावधान विद्यालयमा मात्र लागू हुनेरहेछ । घर अनि समाजमा अझै पनि हुनसकेको रहेनछ । मेरो सबैभन्दा मिल्ने साथी त्यसरी आफ्नै परिवारबाट मन अपहेलित भएको सम्झेर निकै उदास भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *