भर्खरै :

के मोहियानी हक दिंदा संस्कृति मासिन्छ ?

केही मानिसहरू मोही किसानलाई मोहियानी हक दिँदा सम्पदा र संस्कृतिको विनाश हुने तर्क गरिरहेका छन् । कुनै बेला बाली तिरेको भर्पाई माग्दा दिन नमान्ने वर्ग नै आज गुठी जग्गामा पुस्तौँ पुस्ता जोतभोग गर्दै आएका मोहीलाई मोहियानी हकबाट वञ्चित गर्न यस्तो तर्क गरिरहेको छ । के उनीहरूले भनेजस्तै मोहीलाई मोहियानी हक दिए संस्कृति मासिन्छ ? व्यवहारलाई गहिराइमा अनुशीलन गर्दा यो तर्कमा कुनै तुक छैन ।
वास्तवमा आजसम्म काठमाडाँै उपत्यकामा जति पनि संस्कृति, जात्रा र पर्व छन्, तिनको संरक्षण मूलतः मोही किसानहरूबाटै हुँदै आएको हो । सानादेखि ठूला जात्रासम्म सबै जात्रामा आवश्यक पर्ने सामानको जोहो मोहीको घर र खेतबाटै हुने गरेको छ । गुठी जमिनमाथि खनजोत गर्न मोही किसानले गुठी सञ्चालनको लागि आवश्यक सबै आर्थोपार्जन र सामानको बन्दोबस्तमात्र गर्दैनन् बरु गुठीयारको घरका चाकर जत्तिकै भएर काम गर्नुपर्ने अवस्था थियो । आज पनि त्यो कुनै न कुनै रूपमा बाँकी छ । गुठीयार किसानको मालिकसरह हुन्छन् । तिनै किसानले कमाएको बालीबाट कुत बुझी गुठीयारका भान्छामा भात पाक्ने गर्छ ।
जात्रा सञ्चालनको नाममा राज्यले प्रदान गर्ने सबै सुविधा र मोहीले कमाउने बाली केही टाठाबाठा गुठीयार र मठाधीशले बुझ्छन् भने जात्रा पर्वको सबै काम भने मोही किसानबाट नै गराउँछन् । यसर्थ संस्कृति जोगाउन मोही किसानहरूको ठूलो भूमिका रहँदै आएको छ । गुठी जग्गा कतिपय मठाधीश र धनीमानीको लागि किसानमाथि शोषण गर्ने औजार बन्दै आएको छ । कतिपय गुठी जग्गाको इतिहास हेर्ने हो भने किसानले गर्दै आएको जमिन नै गुठीले शासकको चाकडी गरी गुठी जग्गामा परिणत गरी किसानलाई मोही बनाएका उदाहरण पनि छन् । शोषित किसानको अज्ञानता र टाढाबाठाको राज्यमा पहुँचको आधारमा जग्गा जोत्दै आएका किसानलाई गुठीयारहरूले मोहीमा परिणत गरिदिएका थिए ।
संस्कृतिको बिंडो सम्हालेका मोही किसानलाई अधिकारसम्पन्न बनाउँदा संस्कृति मासिने छैन । बरु किसानले पुस्तौँ पुस्तादेखि गर्दै आएको जमिनमाथि आफ्नो स्वामित्व कायम हुँदा कृषि उत्पादन र संस्कृति संवद्र्धनमा अझ उत्साह थपिनेछ ।
केही मानिसहरू मोहीको हातमा जग्गा दिँदा बेच्छन् र जग्गा सकिन्छ भन्ने तर्क गर्छन् । जग्गाको आधा हिस्सा मोहियानी हकअन्तर्गत स्वामित्व कायम गरी बाँकी आधा पनि न्यूनतम मूल्यमा मोहीले नै किन्न पाउने हाल संसदमा प्रस्तुत विधेयकमा उल्लेखित प्रावधानअन्तर्गत जम्मा हुने रकमले जात्रा र पर्व चलाउँदा आजका गुठीयारहरूले गर्ने खर्चभन्दा बढी खर्च गर्न पुग्नेछ । तर्क नै गर्ने भए गुठीयारहरूले आजसम्म बेचबिखन गरेको जग्गा जमिनको हिसाब कहाँबाट निकाल्ने त ? गुठीयारको हातमा हुँदा पनि कानुनी छिद्रबाट जग्गामा भूमाफियाको आँखा परेकै छ । मोहीलाई आफ्नो तखतको अर्ध मानिस ठान्ने पुरानो चिन्तन अझै मेटिनसकेको हुनाले नै यस्ता तर्क अघि सारिएका हुन् ।
गुठीको वर्गीकरण आवश्यक छ । कतिपय गुठीमा गुठीयार स्वयम्ले जमिनको खनजोत गरी गुठी चलाएका छन् । तिनलाई पनि एकै घानमा पिस्नु उपयुक्त होइन । प्रमुख कुरा गुठी जग्गा शोषणको माध्यम हुनु भएन । गुठी जग्गामार्फत मोहीमाथि शोषण गर्ने प्रथाको अन्त्य हुनुपर्छ । वास्तवमै संस्कृति र जात्रा पर्व जोगाउने भए मोही किसानलाई अधिकारसम्पन्न बनाउनुपर्छ । जात्राको लागि विशेष जिम्मेवारी परिवार वा समुदायलाई राज्यकोषबाटै रकममा तलबको व्यवस्था गर्न सके जात्रा र पर्व पनि जोगिने अनि मोहीमाथि पुरानो शोषणको सिक्री पनि चुँडालिनेछ । गुठीलाई शोषणको हतियार बनाएका गुठीयारलाई यस्तो विचार मन नपर्नु वर्गसङ्घर्षकै स्वाभाविक परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *