भर्खरै :

ख्वप कलेजको प्रयास र अनुसन्धानमुखी शिक्षा

– प्रकृति
स्थापनाको २० वर्षपछि ख्वप कलेज भक्तपुरले अनुसन्धानमूलक लेखहरूको दुईदिने राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न ग¥यो । ढिलै भए पनि कलेजमा कार्यरत प्राध्यापकहरूले देखाएको सक्रियता सराहनीय एवम् अनुकरणीय छ । पहिलो प्रयासमै ३५ वटा अनुसन्धान कृति दर्ता हुनु सम्मेलनको सफलता हो । देशभरका विभिन्न विश्वविद्यालयमा अध्ययन र अध्यापनमा संलग्न विद्यार्थी तथा प्राध्यापकलाई यसले हौसला मिलेको हुनुपर्छ । ‘हेल्मेट टिचर’ को अभियोगबाट अभिशप्त कति शिक्षकहरूको इज्जत ख्वप कलेजको प्रयासले केही जोगिएको छ । आगामी दिनमा ख्वप कलेजले देश र जनताको तत्कालीन र दीर्घकालीन आवश्यकताबारे अरू अनुसन्धान कृतिहरूको सम्मेलन निरन्तर गर्ने आशा स्वाभाविकै छ ।
तर, नेपालको शिक्षा अझ पनि अनुसन्धानमा केन्द्रित हुन सकेको छैन । विद्यार्थीका थेसिसहरूको किनबेच हुने गरेका समाचार आउँछन् । त्रिविका वर्तमान उपकुलपतिकै पीएचडी थेसिस चोरी गरिएको भन्ने अभियोग छ । यसले अनुसन्धान विश्वविद्यालयहरूको साख गुम्नेमात्र होइन शिक्षा पद्धतिलाई नै ध्वस्त बनाउँछ ।
नेपालको सबभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चारवटै अनुसन्धान केन्द्रहरू निष्क्रिय र कामविहीन छन् । शासक दलहरूले अनुसन्धान केन्द्रलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउँदा उद्देश्यअनुरूप काम हुन सकेको छैन । शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) पनि त्रिविअन्तर्गतका अनुसन्धान निकाय हुन् । फरक–फरक प्रकृतिका यी चारै अनुसन्धान केन्द्रमा ६२ जना अनुसन्धाता र १ सय ६४ कर्मचारी कार्यरत छन् । तिनीहरूले के के अनुसन्धान गरे, कति गरे या तलब भत्तामात्र पचाए ? कुनै स्पष्ट छैन । करोडौँ लगानी भएका यी संस्थाहरूले साँच्चिकै काम गरेको भए कम्तीमा देशको अवस्था आजको जतिको विकृत र विसङ्गतिपूर्ण हुँदैनथ्यो ।
विकसित मुलुकमा विश्वविद्यालय अनुसन्धानमुखी हुन्छन् र अनुसन्धानमुखी लेख प्रकाशित गरी देशको नीति निर्माणमा सहयोग पु¥याउनुका साथै गुणस्तरीय शिक्षामा योगदान गरिरहेका हुन्छन् तर नेपाली विश्वविद्यालयहरू यो काममा असफल छन् । नेपाल सरकारबाट हुने सबै प्रकारका अनुसन्धानकार्य विश्वविद्यालयबाट गराउने बन्दोबस्त गरी नेपाली विश्वविद्यालयहरूलाई अनुसन्धान केन्द्र बनाउन सकिन्छ । यसले हाम्रो शिक्षा देशोपयोगी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *