भर्खरै :

ट्रम्पको पर्खाल नीति र नेपाल–भारत सीमा

– बुद्धिनारायण श्रेष्ठ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानकै क्रममा आफू राष्ट्रपतिमा विजय भएपछि मेक्सिको सीमामा पर्खाल लगाउने कुरा प्रकाशमा ल्याएका थिए । नभन्दै राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै उनले दक्षिणी सीमामा पर्खाल लगाउने आदेशमा २५ जनवरी २०१७ मा हस्ताक्षर गरेका छन् । त्यसको भोलिपल्ट उनले भने, ‘सिमाना नभएको देश एउटा राष्ट्र कहलिंदैन ।’
मेक्सिकोसँगको सीमारेखामा पर्खाल लगाउनुपर्ने कारणमध्ये मेक्सिकोबाट अमेरिका छिर्ने अवैधानिक आप्रवासीलाई रोक्न पर्खाल निर्माण गर्नु आवश्यक परेको कुरा ट्रम्पले बताएका छन् । उनले सीमा क्षेत्रको सर्वेक्षण ६ महिनाभित्र पूरा गर्ने आदेश दिएका छन् भने यसपछि पर्खाल निर्माण अविलम्ब सुरू हुने र कार्य सम्पन्न भएपछि यो पर्खाल लागूऔषध र अपराधविरूद्धको प्रभावकारी हतियार सावित हुनेछ भन्ने कुरा पनि बताएका छन् । यसै प्रसङ्गमा शरणार्थी कार्यक्रम स्थगित गर्दै उनले मुस्लिम बहुल भएका ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा निषेध गरेका छन् ।
ट्रम्पको यस्तो कार्यले नेपाल–भारत सीमालाई चस्कामा पारेको छ । 
दुई देश बीचको खुला सीमालाई दुरूपयोग गर्दै अन्तर्राष्ट्रिय आतङ्ककारी, अपराधी, लागूपदार्थ ओसारपसारकर्ता र तस्कर चलखेल गर्ने गरेकोले अमेरिका–मेक्सिको सीमामा जस्तो पर्खाल नठड्याए तापनि सीमालाई नियमन गर्नुपर्ने हो कि भन्ने झझल्को दिएको छ ।
अमेरिका–मेक्सिको सीमा पर्खालको इतिहास
दुई देशबीच ३ हजार २ सय किलोमिटर लामो सिमाना रहेको छ । अहिलेसम्म १ हजार १ सय २५ किलोमिटरमा सिमेन्ट पर्खाल, फलामे रेलिङ, काठको बारबन्देज, काँडे छेकबार लगाइएको छ । राष्ट्रपति ट्रम्पले अब बाँकी २ हजार ७५ किलोमिटरमा कङ्व्रिmट पर्खाल लगाउन आदेश दिएका छन् ।
सन् १९८५ मा मेक्सिको सीमाबाट अमेरिका छिर्नलागेको लागूपदार्थ ओसारपसारकर्ता मेक्सिकनलाई अमेरिकी नियन्त्रकले रोक्न खोज्दा तस्करले उनलाई गोली हानेर मारेपछि अमेरिकाले सीमामा अवरोध र रोकावट गर्न सुरू गरेको थियो । यसको परिणामस्वरूप राष्ट्रपति रोनाल्ड रेगनको कार्यकाल १९९० मा १ सय ६ किलोमिटरमा जस्तापाताद्वारा बारबन्देज गरिएको थियो । यस्तैगरी बिल क्लिन्टनको समय १९९६ मा २२ किलोमिटर, जर्ज बुसका पालामा २००६ देखि २००९ सम्म ७ सय २० किलोमिटर र बाराक ओबामा छँदा २०१०–२०११ मा २ सय ७७ किलोमिटर फलामे पर्खाल ठड्याइएको थियो । अब डोनाल्ड ट्रम्पको पदावधिमा बाँकी २ हजार ७५ किलोमिटर सीमारेखामा पर्खाल बनाइने भएको छ । स्मरणीय छ, जर्ज बुसले २००६ अक्टोबर २६ मा ६ सय १० किलोमिटर सीमामा तीन तहको छेका पर्खाल बनाउने हस्ताक्षर गरेका थिए । त्यस कामको अन्त्य ओबामा कालमा भएको थियो ।
पर्खाल निर्माण खर्च
अमेरिका–मेक्सिको कङ्क्रिट सीमा पर्खाल बनाउने ट्रम्पको योजनामा करिब २ अर्ब १६ करोड अमेरिकी डलर लाग्ने अन्दाज गरिएको छ । पर्खाल १५ फिट अग्लो ३ फिट चौडा हुनेछ । पर्खालको खर्च मेक्सिकोसँग असुल्ने घोषणा ट्रम्पले गरेका छन् । तर मेक्सिकोले खर्च ब्यहोर्न इन्कार गरेको छ । यसबाट मेक्सिको र अमेरिकाबीचको सम्बन्ध चिसिन पुगेको छ । यसैकारण मेक्सिकोका राष्ट्रपति एनरिक पेना नियटोले ३१ मार्चमा गर्ने अमेरिकाको भ्रमण रद्द गर्दै भनेका छन्, ‘पर्खाल लगाउने काममा मेक्सिको विश्वास गर्दैन । पर्खालले हामीलाई एक हुनुको बदला विभाजन गर्नेछ । सम्बन्धविच्छेद पनि हुनसक्छ । पर्खाल लगाए मेक्सिको–अमेरिकाबीच लागूपदार्थ ओसारपसारविरूद्धको सहकार्य गर्ने आपसी सम्बन्ध टुट्नेछ ।’
ट्रम्पले जवाफमा भनेका छन्, ‘अमेरिकामा वैधानिक र अवैधानिक तरिकाले काम गरिरहेका १ करोड १७ लाख मेक्सिकन आप्रवासीले प्रतिवर्ष मेक्सिको पठाउने २ अर्ब ५० करोड डलर रेमिटान्सबाट थुतेर पर्खाल लगाउने काममा प्रयोग गरिनेछ । यस बाहेक अमेरिकाले मेक्सिकोबाट आयात हुने सरसामानमा २० प्रतिशत अतिरिक्त कर लगाएर त्यो रकम पर्खाल निर्माणमा लगाइने छ । यी रकम नै मेक्सिकोले तिरेको ठहरिनेछ ।’ स्मरणीय छ, मेक्सिकोले आफ्नो कूल निर्यातको ८० प्रतिशत वस्तु अमेरिकामै गर्छ । स्वतन्त्र व्यापारमा अवरोध गर्न पाइँदैन भन्ने जिकिर मेक्सिकोले गरेको छ ।
अभिमत
सीमा क्षेत्रको दुवैतर्फ बसोबास गर्ने अधिकांश जनता पर्खाल निर्माणको विरूद्ध छन् । एक सर्वेक्षण अनुसार ४७ प्रतिशत अमेरिकी मतदाता पर्खाल बनाउने विचारको विपक्षमा छन् भने ४५ प्रतिशत समर्थनमा रहेका छन् । ८ प्रतिशत ‘थाहा छैन’ भन्ने वर्गमा रहेका छन् । मेक्सिकोका ८६ प्रतिशत वासिन्दा पर्खालविरोधी छन् । पर्खालले आप्रवासी घुस्ने क्रियाकलापमा कमी ल्याउँछ/ल्याउँदैन भन्ने कुरामा विज्ञहरू निश्चित छैनन् । हिजोआजको विकसित जमानामा सीसीटीभी, क्यामेरा र परिचयपत्रको व्यवस्थालाई ‘डिजिटल फेन्स’का रूपमा लिन सकिने धारणा उनीहरूको रहेको छ ।
अमेरिकाको आप्रवासीप्रतिको नीति
अमेरिकामा विनाकागज १ करोड २० लाख आप्रवासी अवैधानिक रूपमा रहेको अन्दाज गरिएको छ । विभिन्न देशबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्या रोक्नको लागि अमेरिकी सीमाविन्दुमा गस्ती गर्न ट्रम्प प्रशासनले १० हजार थप जनशक्ति नियुक्त गर्न लागेको छ । सिमानाबाट प्रवेश गर्ने पक्राउ परेपछि जताबाट प्रवेश गरेको हो, त्यतैतर्फ तुरून्त फिर्ता पठाउने नीति अख्तियार गरिएको छ । यस प्रसङ्गमा मेक्सिकोले आफ्नो नागरिकप्रति चिन्ता व्यक्त गर्दै अमेरिकामा रहेका मेक्सिकनको मानवअधिकार बिथोलिन हुँदैन भनेको छ । अर्काेतर्फ ट्रम्प निर्वाचित भएपछि मेक्सिकनहरू आफ्नो देश फर्कने रफ्तार बढिरहेको छ ।
अमेरिकामा रहेका नेपालीका सम्बन्धमा एनआरएनको तथ्याङ्कअनुसार नागरिक बनेका, ग्रिनकार्ड भएका, एचवान तथा विद्यार्थी भिसा भएका तथा स्टाटस नभएका २ लाख ३० हजार अमेरिकाको विभिन्न क्षेत्रमा रहेका छन् । नेपालीको बाहुल्य पूर्वी अमेरिकामा रहेको छ । अमेरिकाभर रहेका नेपालीमध्ये करिब ५० हजारजना विनाकागज तथा कागजातको अवधि सकिएर स्टाटस बाहिर रहेका छन् भन्ने अनुमान गरिएको छ । यसमध्ये १ हजार ५ सय २० जना डिपोर्ट हुने अवस्थामा रहेको बुझिन्छ । अवैधानिक तवरले मेक्सिको सीमापार गरेर अमेरिका छिर्ने नेपाली लगभग १ हजार रहेको कुरा अमेरिकामा कानुनसङ्गत तरिकाले काम गर्ने वर्गका नेपालीको बुझाइ रहेको छ । अहिले पनि ३ सयजना नेपाली मेक्सिको सीमामा अमेरिका पस्ने दाउ हेरेर बसेका छन् । तिनीहरूमध्ये २१ जना पानामा जङ्गलमा अलपत्र परेका छन् (कान्तिपुर, फागुन ६) ।
यस्ता प्रकारका अवैधानिक तवरले अमेरिका घुसपैठ गर्ने र सुरक्षामा खलबल पुर्‍याउने कार्य रोक्न ट्रम्पले कडा आप्रवासी नीति लिएको देखिन्छ । युरोपको जर्मनी, फ्रान्स, स्विट्जरल्याण्ड जस्ता देशमा गैरकानुनी तरिकाले पस्ने आप्रवासीको हुल रोक्न र इस्लामिक स्टेटको गतिविधि मत्थर पार्न यी देशहरूमा ‘बर्लिन पर्खाल’जस्तो छेकबार बनाउनुपर्ने हो कि भन्ने कुरा चल्न थालेको छ ।
बारबन्देजको किसिम
अमेरिकाले दक्षिणी छिमेकी देश मेक्सिकोसँगको आफ्नो सिमानामा विभिन्न प्रकारको बारबन्देज लगाएको छ । तीमध्ये तारबार, जञ्जिर जोड्ती, फलामे खम्बासहितको रेलिङ, काठको सत्तरीयुक्त छेकबार, जस्तापाता उपयोग गरिएका छन् । यसैगरी सवारी साधन रोक्न कङ्क्रिट पर्खाल, गाईवस्तुरपशु रोक्न क्रस आकारको स्टिल दलिन र मानव घुसपैठ छेक्न दोहोरो–तेहरो छेकबार लगाइएको छ । ट्रम्प प्रशासनले बनाउने पर्खाल १५ फिट अग्लो, ३ फिट चौडा र ६ फिट जमिनभित्र भसाउने प्रकारको हुने कुरा जानकारीमा आएको छ ।
अन्त्यमा,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासी रोक्न तथा लागुऔषध कारोबारी र अपराधीको चलखेल रोक्न अमेरिका–मेक्सिकोबीच पर्खाल ठड्याउने आदेशमा हस्ताक्षर गरिसकेको परिप्रेक्ष्यमा र इस्लामिक स्टेट (आईएस) को आतङ्ककारी क्रियाकलाप बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानजस्ता दक्षिण एसियाली मुलुकमा पसिसकेको अवस्थामा अब यिनीहरू भारत भएर नेपाल अथवा नेपाल भएर भारततर्फ नघुसुन् भन्नाखातिर नेपाल–भारत खुला सीमा दुरूपयोग गर्न नसक्ने प्रबन्ध बेलैमा संयुक्त रूपले गर्नु आवश्यक छ । यसका लागि खुला सीमालाई विस्तारै नजानिंदो तरिकाले नियमन गर्दै लैजानुपर्ने समयको माग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *