के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
उतिबेलाको कुरा हो–जति बेला छोरी मान्छे पढाउने चलन थिएन । घरको छोरा विद्यालय जाँदा छोरी घरमा भाइबहिना स्याहार्दै र खेतमा आमा–बुवालाई सघाउपघाउ गर्दै बस्नुपथ्र्यो । भाइबहिना बोकेर आमा–बुवासँग खेत गयो, केटाकेटीसँगै झ्याइँकुटी खेल्यो, साँझ खस्दा नखस्दै बच्चाहरू बोकेर घर फक्र्यो । त्यो समयका धेरै छोरीहरूको जस्तै थियो–न्हुछेमैंया सुवालको बाल्यकाल । न्हुछेमैंया अर्थात् आजभोलि कमलमैंया सुवाल भनेर धेरैले चिन्ने महिला अगुवा ।
मजदुर दैनिकको कार्यालयको सम्पादक कक्षमा अन्तर्वार्ताको लागि पस्दासम्म कमलमैंया सुवालले आफ्नो विगतबारे झण्डै साढे एक पाना भरिसक्नुभएको थियो । अन्तर्वार्ताको उत्तराद्र्धमा आएर थाहा भयो–उहाँले कम मिहिनेतले ती अक्षर लेख्न सिक्नुभएको रहेनछ ।
चोछेंको सुवाल परिवार । सगोल परिवार । ठूलो परिवार । कमलको परिवार शिक्षादिक्षामा सुरुदेखि नै अरु परिवारको तुलनामा अघि नै थियो । काका र दाइ पढ्नुहुन्थ्यो । ट्युसन पढ्ने भनेर उहाँहरूका साथीहरू पनि घरमा आइरहनुहुन्थ्यो । काका, दाइ र उहाँहरूका साथीहरू कोठामा पढ्न बस्नुभएको देख्दा कमललाई पनि पढ्न जाने जाँगर पलाउँथ्यो । विद्यालय पठाउन केही अनुरोध गर्ने काम पनि नभएको होइन । तर छोरी पढाउने तहमा उठिसकेको थिएन–त्यो समाज । मध्यम वर्गका केही छोरीहरूसम्म पढ्न जान्थे, किसान परिवारको छोरी पढ्न जानु तत्कालीन समाजमा समाचारको विषय बन्ने अवस्था थियो ।
वि सं २०२६ साल माघ १० गते कमलमैंयाको जन्म भयो । बुवा जगतलाल सुवाल र आमा रत्नमाया सुवाल । ४ दिदीबहिनी र ५ दाजुभाइ । भाईबहिना स्याहार्दै र आमाबुवालाई सघाउँदै उनको बाल्यकालको अधिकांश समयले नेटो काट्यो । तर पढ्ने रहर मनभित्र कतै रहिरह्यो । २०३९ मा भक्तपुर नगरपालिकाले वडा–वडामा प्रौढ कक्षा सञ्चालन गर्यो । कमलको पाइला पनि अक्षर सिक्न तम्सिए । ‘तर हामी प्रौढ होइन भनेर शुरुमा बस्न दिएनन् । केही दिनपछि आमा, भाउजूहरूको सङ्ख्या कम भयो । अनि हामी केटीहरूलाई पनि प्रौढ कक्षामा बस्न दिइयो । हामी पढ्न थाल्यौं ।’ उहाँले भन्नुभयो ।
१०–१२ वर्षको किशोरी । आजभोलि जस्तो दुई दशकको भइसकेपछि मात्र बिहे गर्ने चलन थिएन । अलि अघि नै विवाह हुने समाज थियो । किशोरी उमेरका केटीहरू प्रौढ कक्षा पढ्दा ‘बिग्रिन्छन्’ भनेर समाजका केही भँडुवाहरूले उधुम मचाए । तर कमलका आमा–बुवाले प्रौढ कक्षाको ढोका उहाँको लागि नै कहिल्यै बन्द गर्नुभएन । त्यही प्रौढ कक्षाले उत्तिबेलाकी न्हुछेमैंयालाई आजको देश र समाजको अहोरात्र सेवा गर्न अग्रसर कमलमैंया बनाएको छ । २०३९ सालबाट सुरु भएको प्रौढ कक्षाबाट सुरु भएको जीवनको सचेत यात्रा आजसम्म पनि चालु नै छ । प्रौढ कक्षा त्यत्ति नियमित चलेको थिएन । तर जति चल्यो, त्यहाँबाट कमल लगायत टोलका धेरै किशोरीहरूले पढ्न–लेख्न सिके । २०४१ सालबाट सेवा सदन नामको संगठनमार्फत प्रौढ कक्षाले निरन्तरता पायो । त्यो संस्थाले साताको दुई दिन पाटनमा प्रशिक्षक तालिम चलाउँथ्यो । त्यही तालिममा जाने क्रममा कमलमैंयाले भक्तपुर नगरका अरु वडाका महिलाहरूसँग परिचित हुने मौका पाउनुभयो । २०४४ सालबाट नगरपालिकाकै पहलमा सिलाई तालिम शुरु भयो । त्यहाँ पनि भक्तपुर नगरका सत्रै वडाका महिलाहरू आउँथे । कमलमैंयाको सम्पर्कको दायरा क्रमशः फराकिलो बन्दै गयो । आफ्नो टोल–छिमेक र वडाबासीभन्दा सम्पर्कको आयातन ठूलो भयो । सिलाईमा आउने सबै महिलाहरू साथी बने । घनिष्ठ सम्बन्ध बन्यो ।

सिलाई तालिमका प्रशिक्षार्थीहरूबीच बेलाबेला विभिन्न खाले प्रतियोगिताहरू पनि चल्थ्यो । २०४५ साल भाद्र ४ गते त्यस्तै एउटा प्रतियोगिता भएको थियो । प्रशिक्षार्थीहरूबीच हाजिरीजवाफ प्रतियोगिता । कमलमैंयाको टोली प्रथम भएको थियो । फुरुङ थिए सबै । उत्साहले मनमा उल्लास छाएको थियो । विश्वको नक्सा, पुस्तकहरूको पुरस्कार बोकेर अनेक थरी योजना बनाउँदै घर फर्केको थियो टोली । तर अर्को बिहानै बिर्सनै नसकिने भूकम्प आउँदैछ र त्यो भूकम्पले ल्याउने राजनीतिक तर·ले जीवनको गति नै बद्लिनेछ भन्ने कुरा अरुलाई जस्तै कमललाई पनि थाहा थिएन ।
२०४५ साल भाद्र ५ गते भूकम्प आयो । भूकम्प र त्यसपछिको भक्तपुर काण्डले सबै उत्साहलाई अर्कै मोडमा पुर्याइदियो । गाईजात्रा आउँदै थियो । टोलमा गाइचा प्याखँ सिकाइँदै थियो । भूकम्पले घर भत्केको जनतालाई राहत नदिई पक्षपात गर्ने ह्योजूलाई पञ्चायती सरकार नै लागेर हत्या गरेर दोष जति नेपाल मजदुर किसान स·ठनका निर्दोष नेता कार्यकर्तालाई थोपर्ने काम भयो । भाद्र ९ गते दिउँसो भएको घटनाका कारण त्यो साँझ गाइँचा प्याखँ सिकाउने काम अरुबेलाभन्दा चाँडो बिट मारेर सबै घर गएका थिए ।
राति प्रहरी र स्थानीय पञ्चहरू आएर माइलो काकालाई पक्राउ गरे । खासमा उनीहरू कान्छो काकालाई समात्न आएका थिए । तर झुक्किएर माइलो काका पक्राउमा पर्नुभयो । सिलाई तालिममा सबै वडाका दिदीबहिनीसँग भएको परिचय र घनिष्ठता त्यो सड्ढटको समयमा काम लाग्यो । पाटनमा तालिम जाने क्रममा एकातिर जेलमा पर्नुभएका दाइ र काकाहरूलाई आवश्यक सामान र सूचना पुर्याउने काम गर्नुहुन्थ्यो–कमलमैंया र अरु साथीहरू । सबै वडामा कोही न कोही महिलाहरू त्यो सड्ढटमा सहासका साथ विभिन्न काममा खटिनुभएको थियो ।
नेपाली भाषा त्यत्ति बोल्न आउँथेन । तथापि परिस्थितिले सबै प्रतिकूलतालाई अनुकूलतामा बदल्न सिकाउँदै गयो । विशेष अदालतमा जाने आउने काममा कमलमैंया निरन्तर लाग्नुभयो । विभिन्न कानुन व्यवसायीहरूका घरमा आउने जाने काममा सहयोगीका रुपमा अग्रसर हुनुभयो ।
‘कान्छो काका भनेर माइला काकालाई पक्राउ गरे । विरोधीहरूले कान्छा काका प्रहरी थाना गए माइला काकालाई छोड्छन् भनी हल्ला फैलाए । घरमा आफ्नै दाजुभाईबीच फाटो ल्याउने काम भयो । त्यस्ता धेरै षड्यन्त्र र जालझेलका काम विरोधीहरूले गरेका थिए ।’, भक्तपुर काण्डको परिवेश केलाउँदै भन्नुभयो ।
दशैंको नवरातको समयमा भक्तपुर काण्डको समयमा भएको राज्यसत्ताको दमनको विरोधमा मौन जुलुस र मसाल जुलुस निकाल्ने काममा कमलमैंया सुवाललगायतका महिला कार्यकर्ताहरू सक्रिय हुुनुभयो । भूमिगत बस्नुभएका पार्टी कार्यकर्ताहरूलाई सूचना र आवश्यक सामग्री पुर्याउने काममा महिला कार्यकर्ताहरूको भूमिका विशेष थियो ।
त्यही बीच २०४६ सालको जनआन्दोलन शुरु भयो । आन्दोलनको शुरुको दिनमै भक्तपुरमा आन्दोलनकारीमाथि प्रहरीले गोली चलायो । राजकुमार सुवाल, कृष्णराम दुवालजस्ता युवाहरूलाई गोली लाग्यो । शहिद राजकुमार सुवाल कमलमैंया सुवालकी सानीआमा (आमाकी बहिनी) की छोरा हुनुहुन्छ । ‘गोली लाग्यो भनेर हामी राजकुमारको परिवारसँगै भक्तपुर अस्पतालमा गयौं । तर त्यो दिन त्यहाँ प्रहरीले गरेको दमन सम्झेर आज पनि मुटु ढक्क फुल्छ । छोरालाई गोली लाग्यो भनी छोरा खोज्न आएका आमा–बुवामाथि निर्मम दमन भएको थियो । त्यत्तिबेलाको समय त जताततै अँध्यारोजस्तो महसुस हुने ।’ कमलमैंयाले तात्कालीन समयको स्मरण गर्नुभयो ।
२०४६ सालको आन्दोलनले पञ्चायती बन्दोबस्त पराजीत भयो । बहुदल आयो । तर ह्योजू काण्डको समयमा जेल पर्नुभएका पार्टीका दाइहरू कोही पनि छुट्नुभएको थिएन । एक मन त अब पनि छोडेनन्, सायद कहिल्यै छोड्दैनन् होला जस्तो पनि लाग्यो । चारैतिर निराशाले मात्र राज गरेजस्तो । अन्ततः सबै दाइहरू रिहा हुनुभयो । ‘हामीलाई दमन गर्ने सबैलाई बद्ला लिनुपर्छ भन्थें । नत्र उनीहरूले हामीमाथि गरेको अत्याचार जस्ताका तस्तै हुने भयो । तर पार्टीका नेताहरूले देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्छ भनी प्रशिक्षण दिनुभयो ।’
२०३८ सालमा हात चिन्ह हाम्रो पार्टीको हो भन्ने भावनाबाट अंकुराएको राजनीतिक चेतना अनेकन आरोहअवरोह छिचोल्दै २०४६ सालपछि मात्र संस्थागत हुने मौका पायो । २०४७ सालमा भैरहवामा नेपाल मजदुर किसान संगठनको प्रथम राष्ट्रिय महाधिवेशन भयो । कमलमैंया पनि सहभागी बन्नुभयो । बन्द बैठकमा दैलेखकी शारदा शाहीले गरेको भाषणबाट उहाँ प्रभावित हुनुभयो ।
‘हामीमात्र होइन, राजनीतिमा लाग्ने महिलाहरू अरु पनि रहेछन् भन्ने आत्मविश्वास जाग्यो ।’ उहाँले भन्नुभयो ।
त्यसयता उहाँ आजसम्म लगातार भक्तपुर जिल्लाको पार्टी समिति सदस्य हुनुहुन्छ । पार्टी कक्षाहरूमा नियमित सहभागी बन्न थालेपछि धेरै कुराको जानकारी हुँदै गयो । नेपाल क्रान्तिकारी महिला सङ्घ स्थापना पहिले नै भएको भए पनि कमलमैंया २०४६ सालको परिवर्तन पछि मात्र त्यसमा लाग्नुभयो ।
नेक्रामसङ्घमा लाग्नुभएसँगै पार्टी अग्रजहरूको सल्लाहमा ‘केटीहरू’ बुलेटिन प्रकाशन गर्नुभयो । समयको यति लामो उबडखाबड बाटो छिचोलेरपनि कमलमैंयाको मन रहेको पढ्ने थकथकी भने फेरि फेरि उजिलिएर आउँथ्यो । त्यही ज्ञानको भोकले उहाँलगायत केही महिला कार्यकर्ता र शिक्षकहरूका अग्रसरतामा २०४९ सालमा श्रमिक आदर्श माविको स्थापना भयो । रात्री कक्षामा पढेका विद्यार्थीहरूलाई नै त्यहाँ औपचारिक रुपमा कक्षा चलाउने काम भएको थियो । ‘शुरुमा पार्टी कार्यालयमै कक्षा सञ्चालन भएको थियो । तर पछि बासु माविमा कक्षाहरू सञ्चालन भए । मैले कक्षा ८ को जिल्लास्तरीयसम्म पास गरेँ । बेलुका कक्षा हुने गथ्र्यो–शुरुमा । तर त्यत्तिबेला केटीहरूलाई जिस्काउने छुल्याहाहरू धेरै थिए । त्यसकारण बिहानी कक्षा सञ्चालन भयो ।’
त्यसपछि पनि पढ्ने चाहना मेटिएन । जेन्युइन माविमा कक्षा ९ मा भर्ना हुनुभयो । अरु विद्यार्थीहरू विद्यालयको पोशाक लगाएर आउँथे । कमलमैंया जस्तै अरु दुई चार साथीहरू थिए । प्रौढ कक्षा हुँदै त्यहाँ पुगेका । तर कमलमैंयाले कक्षा ९ सम्ममै रोकिनुपर्यो । पार्टी गतिविधिको चाप र जिम्मेवारीसँगै कक्षा निरन्तर हुन सकेन । केही साथीहरूले एसएससी परीक्षा उत्तीर्ण गर्नुभयो पनि ।
२०६३ सालतिर अझै साहस गरेर खुला विद्यालयमा भर्ना हुनुभएको थियो । त्यहाँ कमलमैंयाले प्रिटेस्टसम्म पास गर्नुभयो ।
जुत्ता लगाउनेलाई जुत्ताले कहाँ पोल्छ भन्ने थाहा हुन्छ । भोग्नेलाई थाहा हुन्छ कुनै पनि समस्या कति पिरलो गर्ने हुन्छ भनेर । कमलमैंया सुवाललाई थाहा छ–महिला अशिक्षित हुनुको दुःख । त्यसकारण उहाँ आफूले मात्र शिक्षित हुने सपना पाल्नुभएन । बरु समाजका सबै महिलालाई साक्षर बनाउने अभियान चलाउनुभयो । भक्तपुरका सबै गाउँ–गाउँमा मात्र होइन, भक्तपुर नगरका सबै वडा, मध्यपुर थिमि, टोखा र अनेकोटसम्म पनि प्रौढकक्षाहरू सञ्चालनमा उहाँ अग्रसर हुनुभयो । ‘जिल्ला शिक्षा कार्यालयअन्तर्गत ५० वटासम्म प्रौढकक्षाको सञ्चालन अनुमति लिएर गाउँ–गाउँमा प्रौढ कक्षाहरू सञ्चालन गरेका थियौं । हामीले सञ्चालन गरेका कक्षाहरू जिल्लाकै उदाहरणीय भएको थियो । हामी गाउँ गाउँमा बास बसेर पनि कक्षाहरू सञ्चालनको लागि स्थानीय साथीहरूलाई उत्साहित बनाउँथ्यौं ।’
नेक्रामसङ्घले दिएको जिम्मेवारी क्रममा उहाँले महिला स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभयो । शुरुमा महिलाहरूको आङ खस्ने रोगसम्बन्धी ठाउँ–ठाउँमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुभयो । ‘दिदीबहिनीहरू लाजले आफूलाई लागेको रोगको बारेमा समेत कसैलाई भन्न हिच्किचाउँथे । तर आफ्नो टोल–छिमेकमा स्वास्थ्य शिविर सञ्चालन भएपछि धेरै महिला दिदी बहिनीहरूले उपचार पाए,’ उहाँले सुनाउनुभयो । आङ खस्ने रोगसम्बन्धी शिविरसँगै भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा भक्तपुरका गाउँ र नगरका वडा वडामा स्वास्थ्य शिविरहरू सञ्चालन गर्नमा अग्रसर हुनुभयो ।
महिलाहरू स्वास्थ्यमा सचेत भए समाज नै स्वस्थ हुने वास्तविकता कमलमैंयालाई थाहा छ । आजभोलि अझै धेरै रोगहरू बढिरहेका छन् । पसलमा किनेर खाने बानीले समाजमा अनेक रोगहरू थपिएका छन् । तरकारीमा प्रयोग हुने विषादी आदिले पनि समाजमा अनेक रोगहरू बढेका छन् । खानेतेलले पनि रोग बढेको उहाँको अनुभव छ । पुरुषलाई भन्दा महिलालाई चालीस थरी बढी रोग लाग्ने भएकाले पनि महिला स्वास्थ्यमा बढी सजग हुनुपर्ने भावनाका साथ नेक्रामसङ्घमार्फत विभिन्न गतिविधि गर्न उहाँ अग्रसर हुनुभयो ।
समयसँगै समाजमा धेरै परिवर्तन आएको साक्षी हुनुहुन्छ–कमलमैंया सुवाल । हिजो पढेलेखेका महिलाहरू थिएनन् । तर आज धेरै छात्राहरू पढेलेखेका छन् । कमलमैंयालाई आफूभन्दा बढी उमेरका किसान परिवारका पढेका महिलाहरूको नाम त्यत्ति थाहा नै छैन । तर आज किसानका छोरीहरू पनि शिक्षामा धेरै अगाडि बढिसकेका छन् । विगतको तुलनामा नयाँ पुस्तामा समाजप्रतिको उत्तरदायित्व कम भएकोमा भने उहाँ चिन्तित हुनुहुन्छ । मोबाइलजस्ता सञ्चार सुविधाले साथीहरूको घर–घर जाने बानी क्रमशः कम हुँदै गएको छ । फलतः साथीहरूको घरका समस्याहरू बुझ्ने काममा कमी आएको छ र घनिष्ठता पातलो हुँदै गएको छ । ‘सबैका घर–घरै पुग्थ्यौं । परिवारसँग पनि राम्रो चिनजान हुन्थ्यो । म सबै वडा र गाउँ गाउँमा पत्र बोकेर सर्कुलर गर्न जान्थें । आजभोलि फोन छ । त्यही भएर साथीहरूको घरमा आउन जान पनि कम छ ।’ कमलमैंयाको अनुभव बोल्छ ।
कमलमैंया सुवाल २०५४ सालबाट भक्तपुर नगरपालिकाको मनोनित बोर्ड सदस्य हुनुहुन्थ्यो । वडा नं ९ मा करुवा चिन्ह लिएर उहाँ महिला सदस्यमा विजयी हुनुभयो । पछि बोर्ड सदस्यमा मनोनित हुनुभयो । भक्तपुर नपामा बसेर पनि उहाँले महिलाहरूको लागि विभिन्न तालिम सञ्चालन गर्न र स्मारक क्षेत्र संरक्षणमा योगदान गर्ने अवसर पाउनुभयो ।
राजनीतिबाट कोही अलग हुन नसक्ने र वर्गीय समाजमा जसले राजनीतिबाट टाढा बस्छु भनी सोच्छ उसले शोषक वर्गकै सेवा गरिरहेको हुनेमा कमलमैंया स्पष्ट हुनुहुन्छ । तर राजनीतिक रुपमा सचेत बन्नेतिर भन्दा आजको पुस्ता बढी देखासिकी र अवसरवादी प्रवृत्तितिर ढल्कनु चिन्ताको विषय भएको उहाँको भनाइ छ । ‘आफूले आफैलाई चिन्नमा गल्ती गरिरहेजस्तो लाग्छ मलाई त । आत्मसमीक्षा गर्न जानेका छैनन् । पुरानो र नयाँ पुस्ताबीच दूरी बढिरहेको महसुस गर्छु । पुरानो पुस्तालाई समाजमा आएको परिवर्तनबारे जानकारी दिनुपर्यो । नयाँ पुस्तालाई विगतको योगदानबारे जानकारी दिनुपर्दछ ।’ कमलमैंया सुवालले भन्नुभयो ।
‘देश र समाजप्रतिको कर्तव्यबोध भएका नयाँ पुस्ताले मात्र समाज हाँक्न सक्नेछ ।’, उहाँको विचार छ ।
कमलमैंया आजभोलि एउटा सिलाई पसल थापेर बस्नुभएको छ । अरु कसैको भरमा होइन आफ्नै भरमा जीवन चलाउनुपर्छ भन्ने भावनामा आधारित भएर उहाँले इलम गरिरहनुभएको छ ।
महिला अधिकारको बहसबारेको प्रश्नमा उहाँ स्पष्ट हुनुहुन्छ । अधिकार दिने तर क्षमता विकास गर्न नदिने हो भए त्यस्तो अधिकारको कुनै अर्थ नहुने उहाँको विचार छ । ‘माल पाएर चाल पाए पो’ भन्ने जस्तो हुन बेर लाग्दैन । तर क्षमता विकासका लागि अधिकार पनि समान रुपमा आवश्यक छ ।
कमलमैंया सुवाल कामदार वर्गीय महिला आन्दोलनका एक जना कार्यकर्ता हुनुहुन्छ । जीवनका अनेकन तल–माथि छिचोलेर पनि उहाँ आफ्नो निष्ठा र सिद्धान्तमा अविचलित रुपमा हिंडिरहनुभएको छ । महिलावादी कतिपयलाई उहाँको जीवन आश्चर्यको विषय हुनसक्छ । तर व्यापक कामदार नेपाली महिलाको लागि कमलमैंया सुवालको समय आफ्नै कथाजस्तो लाग्ने निश्चित छ ।
प्रस्तुतिः नीरज
Leave a Reply