– मङ्गलबार धुलिखेल नगरपालिका देवीटारमा ६३ वर्षीय माइलीमाया तामाङको आफ्नै छोरा र बुहारीले ज्यान लिए । पारिवारिक झगडाको क्रममा बुहारीले कुटपिट गरेको र छोरा चुपचाप बस्दा बुढी आमाको निधन भएको प्रहरीले जनाएको छ ।
– पाँचथर जिल्लाको आरुबारीमा जेठ महिनाको बमबहादुर फियाकको परिवारका नौजना सदस्यलाई आफ्नै ज्वाइँले एक चिहान बनाई आफैंले आत्महत्या गरे । ज्यादै नृशंस प्रकारले गरिएको सो हत्याका कारण लामो समय आरुबारीको जनजीवन त्रसित रह्यो ।
– असार महिनामा भक्तपुरको खरिपाटीमा आफ्नै छोरीले प्रेमीसँग मिलेर आफ्नै वृद्धा आमाको हत्या गरे । छोरीकै निर्देशनमा उसकी प्रेमीले भारतबाट मान्छे बोलाएर निहत्था आमाको प्राणपखेरु हरण गरिदिए ।
– असार महिनामै काठमाडाँैको टोखामा सम्पत्ति नदिएको भन्दै छोरीले आफ्नो पतिसँगको मिलेमतोमा बाबुको हत्या गरिदिए । उनीहरूले परिवारकै हत्या गर्न खोजेका थिए । तर, बुबाको मात्र हत्या गर्न सफल भयो ।
मानिस सामाजिक प्राणी हो । कोही पनि मानिसको समाजमा बस्ने आधार भनेको परिवार हो । परिवारहरू मिलेर नै समाज बनेको हुन्छ । परिवार नै मानिसको सामाजिक आधार भएकोले पारिवारिक सम्बन्धलाई सबभन्दा नजिकको सम्बन्ध मानिन्छ । त्यसमा पनि आफूलाई जन्म दिने आमा बुबालाई सबै समाज र सभ्यताले उच्च सम्मान र आदर गर्ने गर्दछ । तर, पछिल्ला दुई महिनामा देशका विभिन्न जिल्लामा भएका केही अपराधका उदाहरण हेर्दा नेपाली समाजमा पारिवारिक मूल्य मान्यता क्रमशः क्षीण बन्दै गएको देखिन्छ । उमेरले नेटो काटिसकेका बुढा आमाबुबाकै हत्या गर्ने नृशंसताका कारण नेपाली समाजमा पारिवारिक सम्बन्ध क्रमशः कमजोर बन्दै गएको देखिएको छ ।
कार्ल माक्र्सले आफ्नो विख्यात कृति ‘कम्युनिस्ट घोषणापत्र’ मा ‘पुँजीवादी समाजको उत्पादन सम्बन्धले पारिवारिक सम्बन्धका सबै पर्दालाई च्यातचुत बनाइदिन्छ’ भनी लेख्नुभएको छ । पुँजी र नाफाको लागि पुँजीवादी समाजमा पारिवारिक सम्बन्ध क्रमशः कमजोर बनेको हुन्छ । नाफामुखी पुँजीवादी व्यवस्थाले मानिसको मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । पुँजीको लालसा राख्ने पुँजीवादी व्यवस्था आक्रामक हुन्छ । आफ्नो नाफामाथि ¥याल चुहाउने वा नाफामा हमला गर्ने कुनै पनि पक्षको बीउ सिध्याउनु नै पुँजीपतिको धर्म हुने गर्छ । यस्तो आक्रामक पुँजीवादी व्यवस्थाले मानिसको मनोविज्ञानमा पनि प्रत्यायोजन गरेको हुन्छ । त्यसकारण पुँजीवादी व्यवस्थामा सर्वसाधारण मानिसले पनि हिंसात्मक र आक्रामक बन्ने मलिलो माटो तयार गरिदिन्छ ।
पुँजीवादले खुट्टा टेक्दै गरेको नेपाली समाज त्यसैको परावर्तन भोगिरहेको छ । अपराध समाजको अर्थ व्यवस्थाको उत्पत्ति हो । पुँजीवादी समाजमा मानिसले जुनसुकै काम र सम्बन्ध पनि नाफा नोक्सानको नापतौल गरेर तय गर्ने गर्छ । जुन सम्बन्धमा नाफा छैन, त्यो सम्बन्धलाई लत्याउनु पुँजीवादी व्यवस्थाको रोग हो । विदेश जान श्रीमान्–श्रीमतीजस्तै सामाजिक सम्बन्ध समेतको मज्जाक बनाएको उदाहरण नेपाली समाजले भोगिरहेको छ । विदेशको भिसा पाउन नक्कली विवाहको विकृति सर्वविदित कुरा हो । यो पुँजीवादी नैतिकताको उदाहरण हो । पुँजीवादी व्यवस्थाले नै मानिसलाई यस्तो नक्कली सम्बन्ध र काम गर्न उत्प्रेरित गर्छ ।
असारकै अन्त्यतिर रुपन्देही जिल्लाबाट अस्पतालबाटै बच्चा चोरी भएको समाजले सबैको ध्यान आकर्षित ग¥यो । पैसाको लागि केही महिलाहरू यस्ता अनैतिक काम गर्न तयार भएका हुन् । पैसाको लागि जे पनि गर्न तयार हुने पुँजीवादी व्यवस्थाले मानिसलाई यस्तो अनैतिक बनाएको हो । कार्ल माक्र्स ‘कम्युनिस्ट घोषणापत्र’ मा अझ अघि लेख्नुहुन्छ–“पुँजीवादी व्यवस्थामा पुँजीपतिहरू नाफामात्र हुने भए आफ्ना छोराछोरी र श्रीमतीसमेत बेच्न तयार हुन्छन् । उनीहरू नाफा बढ्नेमात्र भए आफूलाई फासीमा झुण्ड्याउन पनि तयार हुन्छन् ।”
माक्र्सले १५० वर्षअघि युरोपेली समाजको अध्ययन गरी लेख्नुभएको विचार आज नेपाली समाजमा क्रमशः पुष्टि भइरहेको छ ।
केही मानिस अपराधलाई समाजको स्वाभाविक घटना मान्छन् । वास्तवमा त्यो सही विचार होइन ।
समाजमा अपराध मानिसले श्वास फेरेजस्तो स्वाभाविक होइन । जुन समाजमा पैसाको महत्व मानवीय भावनाभन्दा उँचो हुन्छ, त्यस्तो समाजमा मानिस पैसा र नाफाको लागि अपराध गर्न तयार हुन्छन् । त्यस्तो समाज व्यवस्थाले मानिसको मनोविज्ञानमा पनि प्रभाव पारेको हुन्छ । त्यही मनोविज्ञानले मानिसलाई अपराधी बनाउने हो । पुँजीवादी समाजले बनाएको अपराधीले पैसा र सम्पत्तिमात्र देख्छ । आफ्नै आमाबुबा र परिवार पनि देख्दैन । मानिसले पारिवारिक नैतिकता र जिम्मेवारीभन्दा माथि आफ्नो आर्थिक स्वार्थ र लाभलाई ध्यान दिएको हुन्छ । नेपाली समाजमा आज त्यही अवस्था पार गरिरहेको छ ।