भर्खरै :

गुँला धर्म र युगाँदि पञ्चदान पर्व

सुरेश ज्योति शाक्य
साहित्य, कला, संस्कृति क्षेत्रमा नेवारी समाज निकै धनी छ भन्ने कुरा भनिराख्नु पर्दैन । हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित अनेकौँ जात्रा–पर्व धार्मिक तथा नैतिक सन्देश दिने देशकै मौलिक पहिचान बनेको छ । जात्रा–पर्वमार्फत इतिहास, संस्कृति, पौराणिक एवम् धार्मिक गाथाहरूलाई सम्झने गरिन्छ भने हिजोआजका केटाकेटी, युवा–युवतीहरूको लागि मनोरञ्जनको विषय बनेको छ ।
नेवारी संस्कृतिका अनेकौंँ पर्वमध्ये गुँला पनि एक हो । खासगरी साउन र भदौ महिनामा करिब एक महिनासम्म यो पर्व मनाइन्छ । पुराना अभिलेखहरू अध्ययन गर्ने बेला गुँला पर्व साउन एक महिना–साउन शुक्ल परेवाबाट सुरु भएर साउन कृष्ण औंसीमा समाप्त भएको थाहा हुन आउँदा जुन प्रचलन चैत शुक्ल परेवाबाट सुरु भएको – चन्द्रमासको गणनाबाट आइराखेको शक् संवत् (लिच्छविकालदेखि प्रचलनमा आइराखेको सवत्) मा आधारित हो । पछि श्री ३ जङ्गबहादुर राणाले वि.सं. मा आधारित सौर्यमासको गणनालाई पनि मिलाएकोले गुँला पर्व साउन र भदौ महिनाभित्र पर्न गएको हो ।
त्यसबेलाको नेपाल मण्डलको मुख्य पेशा कृषि कर्म हो । कृषि कर्म सकेर फुर्सदको समयमा मनाइने यस गुँला महिनामा शरीर र मन सफा गर्नको लागि धार्मिक संस्कारको अनुष्ठान गरिन्छ किनभने यो महिनामा निकै वर्षा हुने, बाढी–पहिरो तथा नदी–नालाको प्राकृतिक समस्या आउने हुनाले यो महिनालाई दान धर्म गर्ने मौसमको रूपमा लिने गरेको हो । विशेषगरी बुद्ध धर्म, सङ्घको गुणलाई स्मरण गर्ने दिनको रूपमा लिने गरिन्छ । यस महिनाभित्र अनेक जात्रा, पर्वहरू हुने भएकाले नेवारी समाजमा गुँला पर्वलाई विशेष महत्व मानिने चलन छ । जस्तो नाग पञ्चमीमा नाग पूजा गर्ने, अष्टमीको दिन ललितपुरमा पञ्चदान, द्वादशीको दिन नेपाल मण्डलको प्राचीन विहार, बहीहरूमा बहिद्य ब्वयेगु अर्थात् बुद्ध–बोधिसत्वहरूको मूर्ति, पौभा, हस्तलिखित ग्रन्थहरू प्रदर्शन गरिन्छ । गुँपुन्ही अर्थात् जनै पूर्णिमाको दिन भक्तजनहरू अनेक मौलिक बाजाहरू बजाएर विहार, बहीहरूमा बहिद्यः दर्शन गर्न जाने चलन छ । कृष्ण परेवाको दिन मृतकहरूको सदगतिको लागि गाईजात्रा नगर परिक्रमा गरिन्छ भने एक दिन भए पनि मानसिक चिन्ता भुलाइ रहर गर्ने चलन छ । द्वितियाको दिन ललितपुरमा मतिया जात्रा भनेर विहार, बही, चैत्यहरूमा बत्ती चढाउने गरिन्छ । यसरी नै कृष्णअष्टमी पर्व यही महिनामा पर्छ । कृष्ण त्रयोदशीको दिन नेपाल मण्डलमा युगाँदी पञ्चदान पर्व धुमधामले मनाइन्छ । औँसी गुँलाको अन्तिम पर्वको रूपमा बुबाको मुख हेर्ने दिन हो भने गुँला धर्म पनि त्यही दिन समाप्त हुन्छ ।
गुँला पर्वमा अनेक मौलिक बाजा–गाजाहरूको प्रदर्शन हुने भएकोले बिहानको समय बौद्ध बिहार, बहीहरू सङ्गीतमय हुन्छ । जस्तो धाँ बाजा, दमोखीं बाजा, पञ्चताल बाजा, न्यकू बाजा आदि । यस्ता अनेक मौलिक बाजाले नेवारी संस्कृतिको पहिचान देखाउँछ ।
यसरी नै विहार, बही, स्तुप अगाडि धूप, दीप आदि बाली नामसङ्गीतिलगायत बौद्ध ग्रन्थको धारणीहरू पाठ गर्ने चलन पनि छ ।
यसरी गुँलाधर्ममा जति पनि धर्म गरिन्छ मुख्य उद्देश्य संसारमा भएका प्राणीहरू जम्मै सुुखी होस्, कल्याण होस्, मुक्त होस् भनेर आशिका गरिन्छ । आफ्नो स्वार्थको लागि गर्ने धर्म बौद्ध संस्कृित परम्परा होइन ।
युँगादि पञ्चदान पर्व
भाद्र कृष्ण त्रयोदशी (साउन कृष्ण त्रयोदशी) को दिनमा मनाइने पञ्चदान पर्वलाई विभिन्न नामबाट सम्बोधन गर्ने चलन छ । जस्तोः पाँच प्रकार अन्न, रोटी, फल, द्रव्य, औषधि (नुन) दान गर्ने भएकोले पञ्चदान भनिएको हो । यसरी नै शाक्य भिक्षु र बज्राचार्यहरूलाई दान गर्ने भएकाले बँदे यात्रा भनिएको हो । साउन अर्थात् गुँलामा पर्ने भएकोले युँगादी (युग फेर्ने) पर्व भन्ने चलन छ । श्रद्धापूर्वक कुनै वस्तु, सीप अरूको लागि समर्पण गर्दछ भन्ने त्यस कामलाई दान भनिन्छ । बौद्ध ग्रन्थहरूमा दशपारमिता धर्मको विषयमा धेरै उल्लेख भएको देख्न सकिन्छ । बुद्ध र बोधिसत्व हुन १० पारमिता धर्म पूर्ण गर्नुपर्ने आवश्यकता हुन्छ । यीमध्ये सबभन्दा पहिलो खुट्किला दानपारमिता नै हो । दान अर्थात् आफूसित भएको केही वस्तु–श्रम निःस्वार्थरूपमा अरुको लागि समर्पित गर्न नसक्नेले धर्म अर्थात मानसिक शान्ति पाउन सक्दैन । त्यसैले दानपारमितामध्येमा सबभन्दा पहिलो खुट्किला दानपारमितालाई महत्वपूर्ण मानेको हो ।
नेवारी बौद्ध समाजमा हरेक वर्ष गुँला महिनामा मनाइने पञ्चदान पर्वको ठूलो महिमा रहेको छ । विशेषगरी ललितपुरमा श्रावण शुक्ल अष्टमी र काठमाडौँ, भक्तपुर, बनेपा, साँखु, ल्हासा आदि ठाउँमा कृष्ण त्रयोदशीको दिनमा मनाइन्छ । पञ्चदान पर्व मनाइने ठाउँअनुसार अलिअलि फरक देखिए तापनि भक्तपुमा मनाइने पञ्चदानलाई विशेष महत्वका साथ लिने गरिन्छ । किनभने पूर्व मध्यकाल ने.स. २६७ देखि ने.स ६१० सम्म नेपाल मण्डलको राजधानी भक्तपुर नै भएकोले सांस्कृतिक इतिहासमा पनि भक्तपुरलाई विशेष महत्व मान्ने चलन छ ।
भक्तपुरको पञ्चदान
पञ्चदान पर्वको एक दिनअगाडि शाक्य, बज्राचार्यहरूको आ–आफ्नो घरमा चोखो गरी दानशालाहरूमा बुद्ध–बोधिसत्वहरूको मूर्ति, पौभा सजाएर प्रदर्शन गरिने चलन छ । बेलुकी इन्द्र वर्त महाविहार–इनाचोका सङ्घहरूले गुँला बाजा बजाएर लावा लस्करका साथ पाँचजना दीपङ्कर बुद्धहरूलाई निमन्त्रणाको रूपमा पूर्जा गर्न जाने चलन छ । बिहान सबेरै तौलाछेँ टोलको सूर्यमढी डबलीमा सबभन्दा पहिले क्वाण्डौँ–पशुपति महाविरको मूल दीपङ्कर, साकोथा–बहालछेँको दीपङ्कर, पणिखेल– झौरवहिको दीपङ्कर, भुइखेल–थाथुवहिको दिपङ्कर, भार्वाचो–कुथुवहिको दिपङ्कर पाँचैजना दिपङ्कर बुद्धहरू जम्मा हुन्छन् । त्यसबेला अनेक मौलिक बाजाहरूको धुनले तौलाछेँ टोल नै उत्सवमयजस्तै हुन्छ । स्थानीय टोलवासीहरूको पूजासँगै सर्वप्रथम नजिकको आदिद्य महाविहारबाट पञ्चदान सुरु हुन्छ । त्यसपछि दीपङ्कर बुद्धहरू भक्तपुरको नगर परिक्रममा गराइन्छ । नगर परिक्रमाका क्रममा दीपङ्कर बुद्धहरू ९९ ठाउँमा विराजमान गराएर पूजा ग्रहण गर्नुपर्ने हुन्छ । यसै विषयलाई प्रतीकस्वरुरूप राजा रणजित मलले ९९ चोक बनाएको हो भन्ने कुरा लोक धारणा छ । दिपङ्कर बुद्धहरूको पछि–पछि शाक्य भिक्षु बज्राचार्यहरू पञ्चदान ग्रहण गर्दै आएका हुन्छन् । लोक धारणाअनुसार दीपङ्कर यात्राको जुन मार्ग त्यसबेला ल्हासा जाने मार्गको नक्सा भन्ने चलन छ । दीपङ्कर बुद्धहरू जुन–जुन टोलमा विराजमान गराइन्छ सोही टोलमा पञ्चदान दिने भक्तजनहरूको भिड हुन्छ । अन्तिममा आएर पाँचजना दिपङ्कर बुद्धहरूको टौमढीको पूर्वाभिमुख डबलीमा विराजमान गराइन्छ । सो ठाउँमा स्थानीय टोलवासीहरूको पूजा हुन्छ । टौमढी चोकमा ठाउँ–ठाउँको गुँला बाजा, न्यूक बाजा, दाफा भजनहरूको प्रदर्शनले निकै भिड हुन्छ । अन्त्यमा चतुब्रम्ह महाविहारका सर्वसङ्घहरू बत्ती बालेर दीपङ्कर बुद्धहरूलाई बिदा गर्न आउँछन् । त्यसपछि पाँचैजना दीपङ्कर बुघहरू लसकरै भैरवको मन्दिर अगाडि गएर पोङा बाजाको धुनमा नाचेर भैरवनाथलाई अभय वरदान दिन्छ । त्यहाँबाट दीपङ्कर बुद्धहरू साकोथा टोलमा लुगिन्छ । सो ठाउँमा पुगेपछि चतुब्रम्ह महाविहारका नाइकेहरूले प्रजा गर्दै आरती दिइसकेपछि यस वर्षको पञ्चदान पर्वसँगै दीपङ्करको जात्रा समाप्त भएको घोषणा हुन्छ । त्यसपछि पाँचैजना दिपङ्कर बुद्धहरू क्रमशः एक आपसमा परिक्रमा गरेर बाजागाजा, लावालस्कर साथ आ–आफ्नो विहार, वहीहरूमा फर्काइन्छ । यसरी भक्तपुरको पञ्चदान पर्व दीपङ्कर बुद्धको जात्रालाई भक्तपुरवासीहरूले निकै महत्व दिएका हुुन्छन् ।
भक्तपुरको पञ्चदान पर्वसित शाक्य बज्राचार्यहरूमात्र होइन मानन्धर, प्रजापति, सुवाल, दुवाल, चित्रकार आदि जातजातिको गुठीसित पनि सम्बन्ध छ । यतिमात्र होइन यस दिनलाई भक्तपुरका नेवार समुदायहरूले पर्वको रूपमा नै मान्ने चलन छ ।
ऐतिहासिक प्रमाण
गुँला पर्व र पञ्चदान पर्वको इतिहास खोतल्दा यो निकै प्राचीन हो भन्ने कुरा प्रमाणित गर्न सकिन्छ । बौद्ध ग्रन्थहरूमा वर्णित पौराणिक धारणाअनुसार दिपङ्कर बुद्धको समयदेखि सुरु भएको कुरा उल्लेख छ । साउन महिनामा कलि युग सुरु भएको कारणले भगवान बुद्धका अनुयायीहरूलाई दान धर्म गर्ने महिनाको रूपमा लिने गरिन्छ । यसरी नै कोशलका राजा विडूडभले कपिलवस्तु शाक्य गणराज्य ध्वस्त गरेर शाक्यहरूलाई हत्या गरिसकेपछि शाक्यहरूको एउटा समूह नेपाल मण्डलमा शरण लिन आएको र तत्कालीन किरात राजाहरूले उनीहरूलाई आश्रय दिनको लागि गुँ विहार निर्माण गरेर गुँला पर्व पनि सुरु भएको लोकधारणा छ । जुन घटना बुद्धको अन्तिम जीवनकालमा भएको थियो । गो.रा.वं.को ३० पत्रमा लिच्छवी राजा पुष्पदेवको शासनकालको एउटा घटना टिपोटमा गुँला शब्द उल्लेख गरिराखेको छ । यसरी नै राजा अंशुवर्माले राखेको हाँडी गाउँको अभिलेखमा श्रावणिका दान शब्द उल्लेख भएको पाइन्छ ।
यसरी नै इन्द्रवर्त महाविहार नाम सङ्गीति गुठीसित सम्बन्ध भएको लिच्छवी लिपि अङ्कित ताडपत्रको एउटा पुष्पिका वाक्यमा संवत् २४८ श्रावणी युगांदि दिने शाक्य भिक्षु मण्डपालुले नाम सङ्गीति ग्रन्थ सारेको कुरा उल्लेख छ । यसरी नै दीपङ्कर विहार (देवनी) को भण्डारमा प्राप्त एउटा तमसुक पत्रमा ने.स. ५१२ मा विसिनिदास बँदेले युगाँदी दानको लागि केही आयस्ता राखिदिएको कुरा उल्लेख भएको छ । यसरी नै काठमाडौँ लगं बहालको पाथीमा उल्लेख अभिलेखमा ने.सं. ५०८ मा शाक्य भिक्षु मानचन्द्र परिवारले साउन कृष्ण त्रयोदशीको दिन सर्वसङ्घलाई कपास एक–एक पाथी दान दिन दत्त राखेको उल्लेख छ । यसरी नै बनेपाका संस्कृतिविद् ज्ञानकाजी मानन्धरको सङ्ग्रहमा प्राप्त भएको एउटा तमसुक पत्रमा ने.सं ६५५ मा जुगाँदि पञ्चदानमा दान गर्नको लागि मानन्धर निकेशले दत्त राखेको कुरा उल्लेख छ । यसरी नेपाल मण्डलको सांस्कृतिक पर्वको रूपमा मनाइने गँुला पर्व र पञ्चदानको विषयमा उल्लेख भएको धेरै नै अभिलेखहरू प्रमाणको रूपमा देख्न सकिन्छ । यसकारण गुँला र पञ्चदान पर्व निकै प्राचीन हो भन्ने कुरा स्पष्ट हुन्छ ।
सन्दर्भ अभिलेख
१. श्री प्वस्ये देव राजा स प्रज्या स गुणिला थोव दुहिसि कोन्हू ….. ।
(३० ख पत्र ४ गो.रा.वं. – बज्राचार्य, मल्ल)
२. दितम्भवंतु भवताङ क्षेत्तादि श्रावणिका दान ….. ।
(७७ सङ्ख्या लिच्छवीकालका अभिलेख – धनवज्र बज्राचार्य)
३. भगवत तथागत शाक्यमुनि भाषिता भगवता मञ्जुश्री ज्ञान सतूस्य परमार्थ नामसंगीति परि समाप्त ।। ।। ये धमा हे तु प्रभा वा हेतु तेषा ।
तथागतो ह्यव द तेषांचयो निरोध एवंवादी महाश्रवण ।। ।।
संवत् २४८ श्रावणी युगांदि दिने ।। ।। लिखितमा शाक्य भिक्षु मण्डपालेण ।। ।।
(कथुवही म्हसिका पौ– रजत महोत्सव स्मारिका २०७१ मा सबभन्दा पहिले प्रकाशन भएको ।)
४. ख्वपदेया विहार वहीया जात – सुरेशज्योति शाक्य, अभिलेख सं. ४ ।
५. बुद्धधर्मको विकासमा शाक्यहरूको देन – हर्षमुनि शाक्य, पेज नं १८ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *