भर्खरै :

पिताको जिम्मेवारी र पिताप्रतिको आदर

–सुविज्ञा थापा
भाद्र कृष्ण औंशी अर्थात् कुशे औंशीका दिन नेपाली हिन्दूहरू पिताको सम्मान गर्ने अर्थात् बुबाको मुख हेर्ने दिनको रूपमा मनाउँछन् । मातापिता निश्चय पनि आदर र सम्मानका हकदार हुन् यदि तिनीहरूले मातृत्व र पितृत्वको उत्तरदायित्व राम्ररी निभाएका छन् भने । बुबाआमाले पाउने आदर र सम्मान एकोहोरो र नैसर्गिक हुनसक्दैन । सञ्चारमाध्यम र सामाजिक सञ्जालको पोष्टलाई मात्र हेरेर धारणा बनाउने हो भने हरेक पुरुष एक आदर्श पिता रहेको र पिताहरूका कारण समाजमा कुनै खाले समस्या नरहेको भन्ने हुन्छ । के हाम्रो समाजमा हरेक पिताले पिताको उत्तरदायित्व निर्वाह गरेका छन् त ? यो पंक्तिकारको अध्ययनले त्यस्तो पाइएको छैन । आज बाल मन्दिर वा बालगृहमा रहेका तथा विभिन्न तवरले विदेशमा बेचबिखन भएका बालबालिकाको नियतिका लागि पहिलो जिम्मेवार व्यक्ति ती बालबालिकाका जैविक पिताहरू हुन् । तिनीहरूले ती बालबालिकाका आमाहरूलाई धोखा दिएकोले वा साथ नदिएकोले ती आमाहरूले पनि ती बालबालिका त्याग्न बाध्यजस्तै भए । त्यसैले बालगृहमा हुर्केका अनाथ बालबालिका बुबाको मुख हेर्ने र आमाको मुख हेर्ने दिन कहिल्यै खुसी हुँदैनन् । कतिपयमा त आमा र बुबा शब्दप्रति नै घृणा भएको समेत पाएकी छु ।
कतिपयले पिताको उत्तरदायित्व निर्वाह गर्न नसक्नुको कारण आर्थिक अवस्था देखाएर उम्किने कोसिस पनि गर्छन् । आर्थिक अवस्था निकै कमजोर भएका अधिकांश बुबाहरूले आफ्ना सन्तानलाई हुर्काएका, माया दिएका र छोराछोरीलाई सक्षम र जिम्मेवार नागरिक बनाएका पनि छन् । त्यस्ता जिम्मेवार पिताहरू सम्मानका हकदार छन् र छोराछोरीबाट माया र आदर पाइरहेका छन् । कतिपय पिताहरू अप्राकृतिकरूपमा छोरा र छोरीहरूलाई विभेद् गर्ने, छोरा–छोरामा पनि विभेद गर्ने, मन परेको सन्तानलाई मात्र लगानी वा सम्पति दिने र लेखेर जाने पनि छन् । त्यस्ता पिताप्रति चाहेर पनि विभेदमा पर्ने सन्तानले माया र सम्मान देखाउन सक्दैनन् । छोराछोरीबीच विभेद गर्ने र आफ्नो स्वार्थपूर्ण आदेश निर्देशमा छोराछोरी चलेनन् भनेर छोराछोरीलाई घृणा गर्ने आमाबुबाले छोराछोरीबाट माया, आदर र सम्मानको अपेक्षा गर्न मिल्दैन । माया दिनेले मात्र माया पाउन सक्छन् । आफू बलियो हुञ्जेल छोराछोरी बुहारी सबैलाई निरङ्कुश ढङ्गले नियन्त्रणमा राख्ने, अन्याय र अत्याचारसमेत गर्ने आमाबुबाहरू कमजोर भएपछि जीवनको उत्तरार्धमा दुःख पाउने गरेको पनि समाजमा देख्ने गरेका छौँ । कुनै आमाबुबाले माया पाउने वा नपाउने र आदर पाउने वा नपाउने कुरा उनीहरूले निर्वाह गरेको उत्तरदायित्व, व्यवहार र छोराछोरीलाई दिएको शिक्षादीक्षामा पनि भरपर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *