भर्खरै :

राष्ट्रपतिको काम राजाको विरासत थाम्ने होइन

राजनीतिक व्यवस्थामा परिवर्तनको अर्थ आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा समग्र परिवर्तन हुनु हो । यीमध्ये कुनै एक पक्षमा मात्र परिवर्तन वा कुनै एक पक्षमा बढी र कुनैमा कम परिवर्तन हुनुले नयाँ राजनीतिक व्यवस्थामा असन्तुलन आउन सक्छ । अन्ततः नवोदित राजनीतिक व्यवस्थालाई असफलताको भड्खालोमा जाक्न सक्छ । संसारको इतिहासमा अघि बढिसकेको राजनीतिक व्यवस्था पनि फेरि उल्टिएका धेरै उदाहरण छन् । पुरानो राजनीतिक व्यवस्थाप्रतिको मोहले नयाँ राजनीतिक व्यवस्थालाई अन्योलमा अल्झाइरहेको हुन्छ ।
नेपालमा राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापना राजनीतिक परिवर्तनको उदाहरण हो । राजा र राजपरिवारले हिजो भोग्दै आएका सुविधा आज खोसिएको छ । राजा बन्न राजाकै जेठो छोरो हुनुपर्ने सामन्ती परम्परा तोडिएको छ । आज जनताको जो कोही पनि छोरा वा छोरी राष्ट्रको प्रमुख बन्न सक्छ । तर, नेपाली जनताको आन्दोलनको बलमा भएको यो राजनीतिक परिवर्तनले अझै पनि पूर्णता पाउन भने सकेको छैन । राजाको ठाउँमा कोही अमुक व्यक्ति राष्ट्रपति बन्नु नै सम्पूर्णतामा राजनीतिक परिवर्तन होइन । हिजो राजाले उपभोग गर्दैै आएका सबै सुविधा राष्ट्रपति नामको व्यक्तिमा मात्र स्थानान्तरण हुनु राजनीतिक परिवर्तन हुनसक्दैन ।
राजतन्त्र धर्म र सामन्ती उत्पादन सम्बन्धमा आधारित राजनीतिक व्यवस्था थियो । धर्मकै जगमा राजतन्त्र टिकेको हुन्छ । त्यसकारण राजाहरूले धर्मको सहारा लिनु स्वाभाविक हो । धर्मले जनताको आलोचनात्मकतालाई कमजोर बनाउने गर्छ । कमजोर बनेको आलोचनात्मकताले राजालाई अझ शक्तिशाली बनाउने गर्छ । जनता विद्रोहमा नउत्रनु नै राजा शक्तिशाली हुनु थियो । त्यसकारण राजाले धर्म र देवतालाई शक्तिको केन्द्र मान्ने गर्थे । तर, गणतन्त्र नितान्त भिन्न राजनीतिक व्यवस्था हो । राजतन्त्र र गणतन्त्र एक अर्कामा विपरीतार्थक कोण हुन् । राजतन्त्रले जनतामा आलोचनात्मकता क्षीण बन्नुलाई नै शक्तिको रूपमा लिने गर्छ भने गणतान्त्रिक व्यवस्था आलोचनात्मक चेतनाकै जगमा विकास भएको राजनीतिक व्यवस्था हो ।
विडम्बना नेपालमा आज गणतन्त्रका राष्ट्रपतिले हिजो राजतन्त्रको समयमा राजाले जे गर्थे, त्यसैलाई निरन्तरता दिइरहेका छन् । राजाले जसरी आफ्ना भक्तलाई लाइन लगाएर दसैंको टीका लगाइदिने गर्थे, आज राष्ट्रपति, प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीहरूले त्यसरी नै टीका लगाइदिने गरेका छन् । राजा जसरी शक्तिपीठ धाउने गर्थे, आज राष्ट्रपति शक्ति पीठ धाउने गरेका छन् । व्यक्ति फरक भएको छ, भूमिका र काम भने उही पुरानै परम्पराको निरन्तरता बनेको छ ।
जनताबाट निर्वाचित राष्ट्रपतिले यसरी शक्तिपीठ धाउनुभन्दा जनतासँग प्रत्यक्ष सम्बन्ध हुने कुनै सामाजिक गतिविधिमा सरिक भए जनताले परिवर्तनको अनुभूति गर्ने थिए । जनताले आफ्नै बीचमा राष्ट्रपतिलाई आफूसरह पाए उनीप्रति जनताको सद्भावना अझ बलियो बन्ने थियो । राजाको विरासत थाम्ने संस्था राष्ट्रपति पक्कै होइन । राजा र राष्ट्रपति गुणात्मकरूपमा भिन्न संस्था हुन्, एउटाको विकल्प अर्को संस्थाको उदय भएको होइन । राजतन्त्रलाई पराजित गरेर राष्ट्रपति संस्था स्थापना भएको हो ।
राष्ट्रपतिले अझै पनि राजाकै अनुशरण गर्दै गर्नुले राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापना राजनीतिक व्यवस्था परिवर्तनको अपूर्णताको प्रतिबिम्ब हो । राजनीतिक व्यवस्था परिवर्तनले लामो समयसम्म पुरानो व्यवस्थासँग सम्बन्ध विच्छेद गर्न नसके समयको कुनै मोडमा नयाँ व्यवस्थाले उल्टो यात्रा गर्नसक्छ । त्यस परिस्थितिमा इतिहासले निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । तसर्थ आजका शासकहरूले नेपाली जनताले हासिल गरेको उपलब्धिलाई बलियो र पूर्ण बनाउन विचार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *