भर्खरै :

नेतृत्वमा निरन्तरता – विचारमा परिपक्वता

गौरव प्रधान
देशको सार्वभौमिकता जोगाउन, अतिक्रमित जग्गा फिर्ता गर्न, तराई डुबानमा पर्ने गरी अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बनाइएका बाँध तथा तट्बन्ध भत्काउन सडक र सदनमा आवाज उठाइने दल नेपाल मजदुर किसान पार्टीलाई २०२१ को भूमिसुधार कार्यक्रमलाई भक्तपुर जिल्लाको मूलतः नेवार बस्तीमा मोही किसानको पक्षमा लागू गर्नुलाई नै राजनीतिक जीवनको मुख्य योगदान मान्नु दृष्टिदोषबाहेक अरु केही होइन । नेपालको राजनीति र परिवर्तनलाई गुणात्मक नयाँ दिशा दिन वैचारिक नेतृत्वकारी भूमिका कहिल्यै पनि नखेलेको भन्न रुचाउने लेखक आहुति भारतीय एकाधिकार पुँजीले पालेका ज्यामी हुन् या निरङ्कुश पञ्चायती व्यवस्थाका पृष्ठपोषक या राजाभन्दा राजावादी चरित्रका पात्र हुन् ? राजनीतिक वृत्तमा चर्चा हुनु अस्वाभाविक होइन । पार्टी स्थापनादेखि निर्दलीय पञ्चायती व्यवस्थाको खुला र गुप्त ढङ्गले सङ्घर्ष गर्दै आएको दल नेमकिपालाई पञ्चायतीविरोधी निर्णायक आन्दोलन र गणतन्त्र प्राप्तिको आन्दोलनमा मसिना सहायक जमात सम्झनु लेखक आहुतिको मनोदशा सन्तुलित नभएको आकलन गर्न कठिन छैन । पञ्चायती व्यवस्था फाल्न नै कानुनी र गैरकानुनी सङ्घर्ष गरेकै कारण नेमकिपा पञ्चायती व्यवस्थाको लागि आँखाको कसिङ्गर बनेको हो । त्यसैको परिणाम पञ्चायती शासकहरूले नेमकिपा अध्यक्ष बिजुक्छेँलगायतलाई फाँसीको माग गरेका थिए ।
आहुतिको असोज १९ गते प्रकाशित ‘नारायणमानहरू अध्यक्ष भइरहन्छन्’ शीर्षकको लेख पढेपछि उनी परिवर्तनविरोधी या फेरि निरङ्कुश व्यवस्था भित्याउने पात्र हुन् भन्ने थाहा हुन्छ । लेखक आहुतिले नेमकिपा अध्यक्ष बिजुक्छेँलाई नेकाका शेरबहादुर देउवा, नेकपाका केपी ओली र पुष्पकमल दाहालजस्तो आमूल परिवर्तन नचाहने सूचीमा राख्नु ठीक होइन । लेखक आहुतिको पेट दुखाइ नारायणमान बिजुक्छेँ (रोहित) फेरि पार्टीको अध्यक्ष हुनुमा हो । निरन्तर पार्टी प्रमुख भइरहने कामलाई पुरानो सामन्तवादी संस्कृतिको नयाँ संस्कार देख्नु लेखक आहुतिको दृष्टिदोष हो । देशको निम्ति मार्ग निर्देश गरिरहेको दलका अध्यक्ष बिजुक्छेँ फेरि पार्टी अध्यक्ष भएपछि ‘भविष्य अन्धकारमय’ र विकृतिमा फस्न सक्ने विचार व्यक्त गर्ने लेखक आहुतिले किन औँलाले सूर्यको प्रकाश छेक्ने दुस्प्रयास गरेका हुन् ?
नेमकिपाको सातौँ अधिवेशनले अन्तर्राष्ट्रिय स्तरका नेता बिजुक्छेँलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको थियो । पार्टी अध्यक्षको चयनमा नयाँ प्रतिभालाई निषेध, किनबेच र दमनले भरिपूर्ण भएको देख्नु अन्धाले हात्ती छाम्नुजस्तै हो । कुनै पनि राजनीतिक दल कुनै न कुनै सिद्धान्त, दर्शन र विचारको आधारमा चल्छ । सिद्धान्त, दर्शन र विचारको आधारमा नचलेको दलले हरेक महाधिवेशनमा नयाँ नेतृत्व चयन गरे पनि देश र जनताको हित गर्दैन । पार्टी नेतृत्व जो कसैले गर्नसक्दैन । समय आएपछि पार्टीको नेतृत्व नयाँ पुस्ताले गर्छ, यसमा शङ्का छैन ।
नेमकिपा देश र जनताप्रति समर्पित पार्टी हो । नेमकिपाले दलगत र व्यक्तिगत स्वार्थको निम्ति राजनीति गर्दैन । नेमकिपा भ्रष्टाचारविरोधी पार्टी हो । नेमकिपा आमूल परिवर्तनको पक्षमा छ । नेमकिपाले कहिले पनि जातीय राजनीति गरेन । सानो स्वार्थ र सङ्कीर्ण विचारमा फसेको छैन । नयाँ पुस्तामाथि अत्याचार भएको देख्नु अपरिपक्वताको परिचय हो । हचुवाको भरमा गरिएको टिप्पणी कसरी सही हुन्छ ? कुनै व्यक्तिले नेतृत्व गरिरहँदैमा सिद्धान्त, दर्शन र विचारमा परिवर्तन हुने होइन । माओवादी नेता पुष्पकमल दाहाल छिनछिनमा विचार फेर्ने नेता हुन् । उनी सिद्धान्त, दर्शन र विचारको मतलब राख्दैनन् । सिद्धान्त र विचार छोडेर अवसर खोज्ने संशोधनवादी नेता हुन् । नेता दाहाल र ओलीलाई द्वन्द्वात्मक भौतिकवादको कुनै मतलब छैन । त्यसकारण नेतृत्व हेरफेर भएपछिमात्र सिद्धान्त र विचारमा फरक नपर्ने र अन्यथा फरक पर्ने कुरा झूट हो । खास व्यक्तिले निरन्तर नेतृत्व गरिरहे त्यो दलको विचार वैज्ञानिक हुँदैन भन्नु सर्वथा गलत हो ।
दलको नेतृत्व गर्नुलाई लेखक आहुति दौडसँग तुलना गर्छन् । हजुरआमाले नातिनीलाई न्यानो स्नेह दिनसक्छिन् तर नातिनीसँग दौड्न नसक्ने उनको दाबी हो । तर लेखक आहुति नेतृत्व प्रणालीबारे बुझ्न चाहँदैनन् या बुझेर बुझ पचाउँछन् । प्रजग कोरियाका नेता किम इल सङ, चिनियाँ नेता माओ त्सेतुङ, क्युवाका नेता फिडेल क्यास्ट्रोले लामो समय नेतृत्व गरे । लामो समय नेतृत्व गरे पनि उनीहरूले सिद्धान्त र विचार फेरेनन् । बरु संसारका ठूला र शक्तिशाली देशलाई हाँक दिए, शत्रुसामु झुकेनन् र आफ्नो देशको स्वाधीनता र सार्वभौमसत्ताको लागि लडिरहे । कुनै दलको नेतृत्व लगातार गरेपछि त्यहाँ विचार र राजनीतिमा समस्या हुन्छ भन्ने होइन । हो, त्यो सबै दलमा लागू नहुनसक्छ । तर, नेमकिपामा त्यो समस्या छैन । नेमकिपाको सातौँ महाधिवेशनले चिन्तनमनन र सोच विचार गरेरै नारायणमान बिजुक्छेँ (रोहित) लाई दलको नेतृत्वमा सर्वसम्मतिले चयन गरेको हो ।
कुनै पनि दल र दलका नेताबारे आफ्नो विचार राख्न या टिप्पणी गर्न पाउँछ तर झूटको खेती गर्न पाउँदैन या अनर्गल प्रचार गर्नु ठीक होइन । अध्यक्ष रोहितलाई पार्टीको नेतृत्वको निरन्तरता दिनेबारे अधिवेशनमा सहभागी कुनै पनि प्रतिनिधि र पर्यवेक्षकको बिमति छैन या सबैको सहमतिमै रोहित दलको नेतृत्वमा चयन हुनुभएको हो । समयसँगै नयाँ पुस्ताका नारायणमानहरू जन्मने छन्, यसमा लेखक आहुतिले चिन्ता लिनुपर्दैन । लेखक आहुतिले भनेझैँ कपाल दुखेको औषधि नाइटोमा लगाउनुपर्दैन । ‘ठीक नीतिको निरन्तरताको निम्ति खास व्यक्तिकै नेतृत्वको निरन्तरताको अनिवार्य किमार्थ हुनसक्दैन’ भन्ने आहुतिको तर्क सबै दलको सबै व्यक्तिमा लागू हुँदैन ।
नेकाका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेको खासै धेरै समय बितेको छैन । उनको पक्षमा पार्टीभित्र बहुमत होला । तर, उनले पार्टीको नेतृत्व गर्नसकेनन् । नेकपाका अध्यक्षद्वय पुष्पकमल र केपी ओलीले पार्टीको नेतृत्व धेरै या थोरै गरे पनि कम्युनिस्टको सिद्धान्त र विचारअनुसार अघि बढाउन सकेनन्, नेतृत्व पक्षमा खोटो विचार देखियो । नेतृत्व पक्ष परिवर्तन गर्नुपर्ने स्थिति देखियो भने स्वाभाविकरूपमा दलको नेतृत्व हेरफेर हुन्छ । विरोधी पक्षले कुनै दल र दलका नेतृत्वको प्रशंसा ग¥यो भने त्यो दल र दलका नेताले विचार पु¥याउनुपर्ने हुन्छ । चिनियाँ जनताका महान् नेता माओ त्सेतुङ्गले भनेजस्तै विरोध गर्नु नराम्रो होइन, त्यसले हामी र शत्रुबीचको भिन्नता देखापर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *