भर्खरै :

जनता र नेता ः एक छलफल

सुरेश
००७ यता नेपाली जनताले विभिन्न आन्दोलन गरिआएका हुन् । तर, ती सबै आन्दोलन वास्तवमै शोषितपीडित जनताको जीवनमा आमूल परिवर्तन ल्याउने क्रान्ति बन्न सकेनन् । यसको अर्थ जनताले वास्तवमै क्रान्तिको नेतृत्व गर्ने नेता हुर्काउन नसकिरहेको साँचो हो र सामाजिक परिवर्तनको अघिल्लो पङ्क्तिमा बस्ने पार्टीमा एकजुट हुन नसकेको पनि साँचो हो ।
वास्तवमा संसारमा कसैले जन्मजात जनताको ठेक्का लिएको हुँदैन । नेतृत्व गर्नु निकै कठीन काम हो । त्यसमा पनि बहुमत जनतालाई नेतृत्व गर्न सबै कुरा त्याग्न तयार हुनुपर्छ । यो पुँजीवादी नेतागिरीभन्दा धेरै उपल्लो तहको जिम्मेवारी हो । त्यसैले अगुवाइको लागि व्यक्ति आफैँ अघि सर्न निकै चुनौतीपूर्ण हुने गर्छ । सभ्यताको प्रारम्भमा जनताले आफूमध्ये एकजनालाई जबरजस्ती नेता बनाएको मानवशास्त्रीहरूले पत्ता लगाएका छन् । राम्रो नेतृत्व गर्न नसक्ने व्यक्तिलाई जनताले हत्या गर्ने पनि आदिम परम्परा रहेको समाजशास्त्रीको ठहर छ । यसरी नेताको आविष्कार जनताले गरेको गोर्कीको विचार छ । कालान्तरमा नेताहरू जनताले बनाउँदै आएको पनि त्यत्तिकै सही हो । विश्व इतिहासको यहीँ निष्कर्ष छ ।
समाजमा निजी सम्पत्तिको क्रमिक विकास भएपछि समाजको अगुवाइ गर्ने जिम्मेवारी अर्थात् नेताको जिम्मेवारी पुख्र्यौली बन्न पुगेको हो । हिजो जनसमूहप्रति जवाफदेही व्यक्ति विस्तारै जनसमूहबाट अलग्गिँदै गयो । व्यक्तिले खासगरी नेताले आफूलाई सर्वोपरि राख्यो । पुँजीवादसम्म आइपुग्दा व्यक्तिवाद निकै मौलाइसकेको छ । पुँजीवादी नेताहरू व्यक्तिवादी, नातावादी, क्रिपावादी बन्नु स्वाभाविक हो । हाम्रा पुँजीवादी नेताहरूको चिना यहीँ हो ।
विश्व इतिहासमा ती नेताहरू अमर रहे जसले वास्तवमा आफ्नो यस्तो लेखा बुझे । कम्युनिस्ट चिन्तन पद्धतिले नेताको व्याख्यामा क्रान्ति ल्याइदियो । वर्गविहीन समाजमा सबैजनाको अगुवाइ गर्ने नेता अब एक वर्ग विशेषको नेता बन्न पुगेको थियो । तैपनि कतिपय उदात्त पुँजीवादी नेता नभएका होइनन् । थोमस जेफर्सनजस्ता पुँजीवादी क्रान्तिका नेताहरूले सारा जनताको हितबारे चिन्तन गरेको प्रस्ट देखिन्छ । तर, पुँजीवादले कोरिदिएको लक्ष्मणरेखाले कहिल्यै तिनका विचारलाई मूर्त रूप दिन सकेको छैन । पुँजीवादको बनोट नै यस्तो छ कि ती विचार पुँजीवादी व्यवस्थाअन्तर्गत कहिल्यै पूरा हुने छाँट देखिन्न ।
समाजवादी आन्दोलन भने जनता र नेताबीचको अन्तर्विरोध हल गर्नमा धेरै अगाडि बढ्यो । कम्युनिस्ट पार्टीको अनुशासन ‘जनवादी वा प्रजातान्त्रिक केन्द्रीयता’ आफैँ यो अन्तर्विरोध हल गर्ने थालनी थियो । यसले व्यक्तिलाई जनसमूहका केही कठोर नियममा वास्तवमै बाँधेको छ । यसमा निजी विचारलाई वर्जित गरिएन तैपनि सो विचार बहुसङ्ख्यकको मातहत नै रहनुपर्छ । यसरी नेता समूहको मातहत चल्छ । ‘प्रजातान्त्रिक केन्द्रीयता’ को सिद्धान्तलाई मूर्त तुल्याउने बोल्शेविकहरूलाई यसका निम्ति जति धन्यवाद दिए पनि अपुग हुन्छ । यसले साँच्चै नै अगुवालाई म बहुसङ्ख्यक जनताको प्रतिबिम्ब हुँ भन्ने बोध गरायो । नेता जनताको सेवक भन्ने माओको भनाइ आफैँमा यसको सिलसिला हो । कम्युनिस्ट क्रान्तिकारीहरू सामूहिक नेतृत्वमा काम गर्छन् ।
नेता जनआकाशबाट टप्किन्छन् । त्यसैले कोही नेता आइदेला र हाम्रो मुक्ति होला, हाम्रा समस्याको थुप्रो कम होलान् भनी जनताले कुनै औतारीलाई पर्खिरहनु दुःखद हो । जनताले नेतालाई हिन्दूहरूको कृष्णझैँ झिल्के वा करिस्म्याटिक (चमत्कारिक) देख्न चाहनु आफैँमा हाँस्यास्पद छ । जनता तयार नहोउञ्जेल यो देशमा कार्ल माक्र्स र लेनिन खप्टिएरै आए पनि समाजवाद आउन्न, जनताका समस्या समाधान हुँदैनन् । एउटा प्रतिभाशाली व्यक्तिले झ्वाट्टै समाज परिवर्तन गर्नसक्छ भन्ने विचार काँचो विचार हो । एकजना शक्तिशालीमा भरपर्ने यस्तो ‘मसिहा सिद्धान्त’ वास्तवमा मगन्ते बानी हो । हाम्रा जनतामा यो भावना रहेसम्म हाम्रा नेताको विदेशीबाट मागिखाने बानी पनि हराउनेछैन । त्यसैले ब्रेख्तले भनेका होलान्, “अगुवा खोज्ने जनता दरिद्र हुन्छन् ।” जनता गरिब हुनसक्छन् आफ्नो मुक्ति माग्ने गरी दरिद्र हुनुहुँदैन । जनता आफँै नेताका स्रष्टा हुन् । त्यसैले कोही नेता एक्लैले जनतालाई फेर्न सक्दैन । जनताले आफैले आफूलाई फेर्नुपर्छ । तबमात्र नेता फेरिन्छ । जनताको हातबाट आकार लिएको, जनताको चरित्र, आकाङ्क्षा र उद्देश्य ग्रहण गरेको नेताले नै जनताका हित साकार गर्न समर्थ हुन्छ ।
प्रश्न छ, सबै काम जनताले गर्ने भए नेताले के गर्ने ? पक्कै पनि नेताले जनताका समस्या समाधानमा अगुवाइ गर्ने हुन् । हामीकहाँ नेताहरू भाषणबाजका रूपमा चर्चित छन् । नेताहरू विचारवान् र दूरदर्शी हुन आवश्यक हुन्छ नै । नेताको मुख्य काम जनतालाई शिक्षित गर्ने, विवेकवान बनाउने हो । तिनलाई सङ्गठित गरी उनीहरूका समस्या समाधान गर्न सङ्घर्षमा उतार्ने हो । पुँजीवादी राजनीतिले आम जनतालाई विवेकहीन बनाउन सारा प्रयत्न गर्छ र सङ्घर्षसँग उसको घृणा छ । तर, व्यक्तिगत सङ्घर्षका कहानी बेचेर जनता टुक्राउन भने पछि पर्दैन । हामीकहाँ विदेशी पैसामा चल्ने हरेक क्षेत्रका नाइकेहरूले शान्ति, शान्ति भनी डकारिरहन्छन् । शान्ति सापेक्ष हुन्छ वर्गीय समाजमा । आज धनीमानीहरूलाई शान्ति चाहिएको हो । तर, बहुसङ्ख्यक जनताको जीवन अशान्त छ । जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यको पीरले सताएको सतायै छ । उनीहरूलाई सुरक्षित जीवन चाहिएको हो । जनताले सुखी जीवनको समस्या समाधान गर्नु छ भने सङ्घर्षको विकल्प छैन । वर्गीय अन्तरविरोधले निम्त्याएका समस्या समाधान गर्न वर्गसङ्घर्षको विकल्प छैन ।
आज देशमा पुँजीवादी र कम्युनिस्ट गरी दुईथरी नेताहरू छन् । पुँजीपति वर्गले आफ्ना नेताहरू पोसेकै छ । तर, बहुसङ्ख्यक जनता अर्थात् कामदार जनताले आफ्नो नेता पोस्न जरुरी छ । यसका निम्ति आफँै पनि फेरिनु आवश्यक छ । कम्युनिस्टहरूले सक्दो छिटो जनतालाई वर्गीय विवेकले सबल तुल्याउन आवश्यक छ । अनिमात्र कामदार जनताले आफ्ना नेतालाई अझ त्यागी, चरित्रवान र जुझारु बनाउन सक्नेछन् र पोस्नेछन् । तर, कम्युनिस्ट ध्वजा भिरेर मन्तर फलाक्ने जाली साधुहरूले गर्दा भ्रमको तुँवालो छाएको पनि साँचो हो ।
देशमा कम्युनिस्ट नामधारी शासकहरूको सरकार छ । उनीहरूले जनताको हितमा केही गरेको देखिन्न । अघि हामीले चर्चा गरेको जनतालाई विवेकवान बनाउने नेताका विशेषतामा उनीहरू कति उल्टा छन् भने राजतन्त्रको अन्त्यपछि पुँजीवादी पार्टीहरूसँग मिलेरै उच्च तहको शिक्षण शुल्क पाँच गुना बढाए । सरकारी विद्यालयलाई निजीकरणको प्रक्रियामा मिलेरै लगे । माओवादीले गाउँगाउँमा जनयुद्ध लड्यो रे ! गाउँगाउँमा जनतालाई भाषण सुनाइयो, सताइयो तर विवेकवान तुल्याइएन । यसकै परिणाम हो, आज पनि चुनावमा गाउँ सहरका गरिब र निरक्षर जनता बिकिरहेका छन् रक्सीमासुमा । त्यसैले इतिहासमा देखा परेका महान् कम्युनिस्ट नेता कार्यकर्ताहरूले स्थापित गरेको आदर्शमा खरो नउत्रने नेतालाई हामी कम्युनिस्ट भन्न सक्दैनौँ । वास्तवमा अहिलेका हाम्रा शासकहरू कम्युनिस्ट नभएर संशोधनवादी हुन् अर्थात् पुँजीवादी नेता हुन् ।
कम्युनिस्टहरू बेग्लै हुन्छन् । हुन त श्रमजीवी जनताले सचेत भएर आफ्ना आकाङ्क्षा, उद्देश्य र आशाले सिँचेकोले नै लेनिन, स्टालिन, माओ, किम इल सङ, फिडेलजस्ता कम्युनिस्ट नेता जनआकाङ्क्षा परिपूर्तिमा दृढ रहे । यसभन्दा रोचक पक्ष अर्कै छ । कम्युनिस्ट नेताहरू अहिलेसम्म समाजले आविष्कार गरेका नेतामध्ये बढी फराकिलो दृष्टि र उदात्त भावनाका हुन्छन् । उनीहरू नै भविष्यमा वर्गभन्दा माथि गएर समग्र समाजलाई नेतृत्व गर्ने नौला मानिसका बीउ हुन् । त्यसैले होला, दोस्रो विश्वयुद्धताका बेलायतका परराष्ट्रमन्त्रीले स्टालिनलाई सम्पूर्ण मानव जातिलाई प्रतिनिधित्व गर्न योग्य व्यक्ति भनी मूल्याङ्कन गरेका थिए ।
अब बिट मारौँ । देश जनताले बनाउँछन् । जनतालाई असल नेता र अगुवा कार्यकर्ताले तयार गर्छन् । जनताकै आशा, आकाङ्क्षा र उद्देश्यलाई साकार तुल्याउन जनतालाई सङ्गठित गर्छन्, क्रान्तिकारी पार्टीमा आबद्ध गर्छन् । तब जनताले सङ्गठित शक्तिमार्फत आफ्नो सामाजिक, राजनीतिक र आर्थिक जीवनमा क्रान्ति ल्याउँछन् । यस्तो क्रान्तिको अगुवाइ गर्ने नेता आफैँमा जनताको प्रतिविम्ब हुन्छ । उसको आफ्नो व्यक्तित्व जनताको सामूहिक व्यक्तित्वमा मिसिएको हुन्छ । साथै ऊ जनतालाई परिवर्तनको निम्ति अग्रसर बनाउने प्रेरक व्यक्तित्व पनि हुन्छ । यसलाई गोर्कीले ‘डान्को’ शीर्षकको कथामा झल्काएका छन् । जनताले जति धेरै डान्को तयार गर्छन् क्रान्ति उति नजिकिनेछ । क्रान्तिको यहीँ पूर्व सर्त हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *