भर्खरै :

संस्कृति र अन्धविश्वास भिन्न हुन्

हिजो–आज संस्कृति, संस्कार र परम्पराप्रति नयाँ पुस्तामा पनि जागरण आएको प्रचार गरिँदै छ । आजको सन्दर्भमा तिनको औचित्य र अनौचित्यबारे तार्किक बहसविना नै आएको जागरणले संस्कृति, संस्कार र परम्पराको नाममा अन्धविश्वास पनि बढाएको छ । त्यसो त हरेक पुस्तामा यस्तो जागरण आउने गरेकै थियो । त्यसैले नै संस्कृतिले निरन्तरता पाइरहेको हो । तर संस्कृति, संस्कार र परम्परा भन्दैमा सबै प्रचलनलाई आँखा चिम्लेर मान्न सकिँदैन । हाम्रा संस्कृति र संस्कारमा समयोचित सुधार ल्याउनु आवश्यक छ । हाम्रा संस्कृति र परम्परासित कैयौँ अन्धविश्वास पनि जोडिएर आएका छन् । तर, संस्कृति र अन्धविश्वास भिन्न हुन् । उदाहरणका लागि धामी–झाँक्री भनेका पुरानो पद्धतिको चिकित्साको ज्ञान हो तर, ज्ञानलाई एकातिर मिल्काएर अन्धविश्वासका आधारमा अन्धविश्वासीहरूलाई ठग्ने पेशा बनाइएको छ । ज्ञानको कमीले ती अन्धविश्वास कुनै समयमा व्याप्त थियो र संस्कृतिसित जोडिन पुग्यो । संस्कृति र संस्कारसित जोडिएको भन्दैमा त्यसलाई आज पनि मानेर अमानवीय व्यवहार देखाउनु सही होइन । देवी–देवता असल सोच, चरित्र र व्यवहारका प्रतीक हुन् भने राक्षस, भूत–प्रेत, पिशाच खराब सोच चरित्र र व्यवहारका प्रतीक हुन् । तिनीहरूको भौतिक अस्तित्व थिएन, छैन र हुँदैन पनि । हामीले हाम्रा जात्रा, पर्व आदिबाट खराब सोच, चरित्र र व्यवहारका विरुद्ध आफैंमा र समाजभित्र सङ्घर्ष गर्ने र असल सोच, चरित्र र व्यवहार गर्ने वा मानवीयताको पक्ष लिने शिक्षा लिनुपर्छ । यदि हामीले असल बन्ने र बनाउने शिक्षा लिन सकेनौँ भने हामीले जति नै धुमधामसँग चाड–पर्व मनाए पनि त्यसको खासै औचित्य रहन्न । हामीले हाम्रो सोचाइ वा धारणालाई नै वैज्ञानिक र मानवीय बनाउन आवश्यक छ ।
मानिसको सोचाइ वा धारणा नबदलिएसम्म आधुनिक र वैज्ञानिक साधनले समेत अन्धविश्वासलाइ नै मद्दत गर्ने स्पष्ट छ । विज्ञानले पत्ता लगाएका वा बनाएका रेडियो, टेलिभिजन र इन्टरनेटमार्फत चल्ने सामाजिक सञ्जालहरूसमेत अन्धविश्वास प्रचार गर्ने माध्यम बनिरहेका छन् । कुनै बोक्साबोक्सी वा डाइनले जोसुकै मानिसलाई नियन्त्रण गर्नसक्ने भए त्यो विद्या आधुनिक राष्ट्रहरूमा सत्ता कब्जाको वा बैङ्क तथा वित्तीय संस्था ह्याकिङ्गको अस्त्र बन्थ्यो होला । कुनै माता वा देवी चढेकोले सबै समस्याको समाधान वा रोगको उपचार गर्ने सीप वा सामथ्र्य हुन्थ्यो भने यति धेरै अस्पताल र नर्सिङ्ग होमहरू खुल्दैनथे र चल्दैनथे । ती पनि कमजोर मानसिकता व्यक्तिलाई तर्साउने र ठग्ने पेशा बनिरहेका छन् ।
हाम्रो संस्कार र परम्परामा गाँसिएर आएको अर्को विसङ्गति मानिस–मानिसबीचको जातीय भेदभाव र जातिवाद हो । मानिसले आफ्नो सीप र क्षमताअनुसार वा समाजले दिएको जिम्मेवारीअनुसारको काम गर्छ । भिन्नाभिन्नै पेशा गर्दैमा कोही ठूलो, कोही सानो भन्ने सोचाइ राख्नु र भेदभाव गर्नु आधुनिक युग सुहाउँदो सोच र व्यवहार होइन । त्यसैले आज संस्कार र संस्कृतिलाई निरन्तरता दिने नाममा जातीय विभेद गर्नु, कथित तल्लो जाति भनी अपमान गर्नु रसामेल हुन नदिनु हिजोकै सामन्ती सोचको निरन्तरतामात्र हो । यो संस्कार, संस्कृति र परम्पराको नाममा सामन्ती सोच र संस्कारलाई निरन्तरता दिनु हो, जुन युग सुहाउँदो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *