भर्खरै :

नोटको वित्तोले संस्कृति भाँड्ने कुचाल

–कमल के.
हरेक वर्षझैँ आज पूर्णिमाको दिन राष्ट्र प्रमुखका नाताले राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर नगरपालिका वडा नं. ९ स्थित नवदुर्गा मन्दिरमा देवगणबाट दसैँको टीका प्रसाद ग्रहण गर्न आउँदै छिन् । धर्म निरपेक्ष देशका राष्ट्रप्रमुखले कुनै धर्म विशेषलाई मात्र काखी च्याप्नु उचित या अनुचित भन्ने बहस त छँदै छ । आज भने नवदुर्गा मन्दिरमा बेग्लै दृश्य देखिँदै छ, जुन यसअघि कहिल्यै भएको थिएन । जीवित दैवी शक्तिको रुपमा पूजा गरिने नवदुर्गा देवगणका नाइके वा अग्रजहरूले यसलाई आप्mनो विधि विधानअनुरुप मान्छन् या मान्दैनन् ? परम्परागत संस्कृतिलाई जस्ताको तस्तै अङ्गीकार गर्ने सामाजिक अगुवाले यसलाई कसरी हेर्छन् ? नवदुर्गा देवगणलाई ‘भगवान’ को रूपमा आस्था राख्ने मानिसहरूले यस कार्यलाई सही ठान्छन् या ठान्दैनन् ? इतिहासविद् र संस्कृतिविद्हरूले कसरी व्याख्या गर्छन् ? नवदुर्गा नाचसँग विभिन्नरूपमा सम्बन्ध राख्ने समुदायहरूले देवगणहरूप्रति कस्तो धारणा बनाउँछन् ? यी सामाजिक, धार्मिक र सांस्कृतिक प्रश्नहरूलाई ‘डस्टविन’ मा फालेर पैसा पाउने भएपछि नवदुर्गा देवगणले जे पनि गर्न लागे भन्दैनन् र ? के साँचै नवदुर्गा नाच पनि ‘निजी’ वा ‘व्यवसायिक’ बन्ने प्रयास गरेको हो ?
आज पूर्णिमाको दिन नवदुर्गा मन्दिर प्राङ्गणमा राष्ट्रपतिको सम्मानमा ‘द्यो ब्वोय्केगु’ कार्यक्रमको आयोजना गरिँदै छ । राष्ट्रपतिसामु नवदुर्गा नाच पनि देखाइँदै छ । यसका लागि आवश्यक बजेटको व्यवस्था गरिसकिएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत १ लाख १५ हजार रुपैयाँ र नपुग थप १०÷१५ हजार रुपैयाँको व्यवस्था गरिएको छ भने गुठी संस्थान भक्तपुर कार्यालयले २५ हजार रुपैयाँको व्यवस्था गरेको छ । यो रकम सरकारी ढुकुटीबाट वा अन्य कुनै स्रोतबाट जम्मा गरिएको भन्ने प्रस्ट छैन । देवगणका साथीहरूले यो लेख लेखुञ्जेलसम्म रु. १ लाख १० हजार हातमा पाएका छन् । तर अचम्मको कुरा के छ भने पैसाको स्रोत पारदर्शी गरिएको छैन । न त पैसा पाएको विषयमा स्वयम् देवगणका सदस्य तथा नाइकेहरूलाई नै जानकारी छ ? पैसा कसले दियो ? कसलाई दियो ? र कहाँ दियो ? कम्तीमा नवदुर्गा नाचसँग सम्बन्धित सबैले जानकारी लिने अधिकार राख्छ ।
सुन्नमा आएको छ, गुण्डागर्दीलाई नै राजनीति ठान्ने र अपराधीलाई संरक्षण दिई तिनैको बलमा चुनाव जितेका काजी सांसदको हवाला दिएर करोडौँ रुपैयाँ ठगी काण्डमा मुछिएका एकजना कुख्यात व्यापारीले सुटुक्क नगद बुझाउन आएका थिए रे केही दिन अगाडि । के यो साँचो हो ? यदि साँचो हो भने जिल्ला प्रशासनको निर्णयमा दिइएको रकम कसरी उसको हुन्छ ? सरकारी रकम सरकारी व्यक्तिले नदिई ठगी आरोपित व्यक्तिको हातमा कसरी प¥यो ? उसले एक दुई जनामात्र वनमाला साथीलाई सुटुक्क दिनुको पछाडि के षड्यन्त्र छ ? चर्चाको विषय बनेको छ ।
नवदुर्गा देवगणहरू अझै पनि पूर्ण देवता बनिनसकेको स्वयम् देवगणका अग्रज पाका व्यक्तिहरू भन्छन् । ‘पूर्ण देवता बन्न अझै पनि विधि प्रक्रिया बाँकी छ । मुकुन्डो लगाउँदैमा र रङ्गीन जामा पहिरिँदैमा पूर्ण देवता बनेको हुँदैन ।’ यस्तो समयमा ‘द्यो ब्वोय्केगु’ संस्कार धार्मिक परम्पराविपरीत हुन्छ भन्ने उनीहरूको कथन छ ।
पैसाको लोभमा मात्र यसो गरिएको भए नवदुर्गाप्रति जनआस्था घट्ने सम्भावना रहन्छ । सांस्कृतिक परम्परालाई पैसामा तौलने प्रयास गलत छ । संस्कृतिलाई परम्पराको रूपमा ग्रहण गर्नेभन्दा मागी खाने भाँडो बनाउन खोजिएको त छैन भन्ने आशङ्का पैदा हुन थालेको छ ।
आज जति रकम दिइएको छ, भोलिका दिनमा त्यति रकम पुग्छ भन्ने पनि होइन र आज चन्दा दिनेले सधैँभरि दिनसक्छ भन्ने पनि छैन । के त्यसबेला परम्परा अन्त्य गर्ने ? कसैले चन्दा दिनुको उद्देश्य पनि त पक्कै होला । यी नै संस्कृतिलाई दीर्घकालसम्म बचाउने हेतुले पितापुर्खाले दत्तको रूपमा छोडेर गएका जग्गा जमिन खोइ त ? व्यक्तिले आप्mनो बनाएर खरिदबिक्री त गरेन ?
वास्तवमा नवदुर्गाको द्यो ब्वोय्केगु संस्कृति व्यक्तिले भाकल गरेको इच्छा पूरा भएको खुसीयालीमा वा युद्धमा विजय प्राप्त गरेको अवसरमा वा जीवनभर गरेको पाप पखाल्ने उद्देश्यले मनाइन्छ भन्ने बुढापाकाको भनाइ छ । आपूmलाई मन लाग्यो भन्दैमा जुन कुनै समयमा नवदुर्गाको द्यो ब्वोय्के गरिँदैन । पूर्णिमाको दिन त यसअघि कहिल्यै पनि गरिएको थिएन । त्यसो भए यसपालिमात्र किन ? प्रश्न उठ्नु स्वाभाविक छ ।
पूर्णिमाको दिन राष्ट्र प्रमुखले नवदुर्गाको दर्शन गर्ने चलन पनि त अगाडिदेखि नभएको इतिहासविद्हरू बताउँछन् । विसं २०४५ मा तत्कालीन पञ्चायती राज्यस्तरबाट षड्यन्त्र गरी ह्योजू काण्ड गरेर त्यसको आरोपमा नेपाल मजदुर किसान पार्टीका नेता कार्यकर्ताहरूलाई जेल चलान गरी अमानवीय यातना दिएको पाप कटाउन सोही वर्षदेखि तत्कालीन राजाले दसैँको टीका ग्रहण गर्ने नाममा नवदुर्गाको दर्शन गरेको स्थानीय राजनैतिक विश्लेषकहरू बताउँछन् । त्यसपछि देशमा बहुदल, प्रतिगमन, लोकतन्त्र र गणतन्त्र आइसक्यो तर सामन्ती संस्कारले भने निरन्तरता पाई नै रह्यो । पात्र फेरिएको छ, संस्कार उही नै छ । व्यवस्था परिवर्तनका लागि सयौँ हजारौँले गरेको बलिदानीको अर्थ रहेन ।
यो वर्ष नवदुर्गाको द्यो ब्वोय्के गरिन लागेको छ । भक्तपुरका जनताले यसलाई कुन अर्थमा बुझ्ने ? नवदुर्गा नाचलाई बन्धकमा राखेर बिचौलियाले पैसा कमाउने नयाँ व्यवसाय सञ्चालन गर्ने तानाबाना त बुनिएको होइन ? पैसाको लोभ देखाएर धर्मको नाममा नवदुर्गा नाचसँग सम्बन्धित सबै समुदायबीच आपसी मनमुताव सिर्जना गर्न खोजिएको त छैन ? जनतामा रहेको धार्मिक आस्था र सांस्कृतिक भावनालाई व्यक्ति विशेषले नाफा नोक्सानको तराजुमा जोख्ने दुष्प्रयास भइरहेको त छैन ? बेलैमा सोचौँ, सचेत बनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *