भर्खरै :

नेपाल संवत्मा भक्तपुर जेँला टोलको अभिलेखको महत्व

ओम धौभडेल
संसारमा संवत्को आफ्नै इतिहासमा मेसोपोटामियाको बेबिलोनियाबाट सुरु भएको संवत्को इतिहासमा थुप्रै महान शासक, धर्मगुरुहरू विभिन संवत्हरू प्रचलनमा ल्याएको देखिन्छ । यसै सन्दर्भमा नेपाल र वरपर कलिगत संवत्, विक्रम संवत्, शाके संवत््, लक्ष्मण संवत्, मानदेव संवत्, नेपाल संवत्जस्ता थुप्रै संवत्हरू चलन–चल्तीमा आएको पाउँछौँ । तर, नेपालको आफ्नै भूमिमा जन्मेको लिच्छवी संवत् (मानदेव संवत्) र नेपाल संवत्मध्ये नेपाल संवत्मात्रै त्यस्तो संवत् हो जसलाई एकजना सर्वसाधारण नेपाली नागरिकले प्रतिपादन गरेको देखिन्छ । यसै सन्दर्भमा आजभन्दा ११३९ वर्ष अगाडि नेपालको आफ्नै भूमिमा जन्मेको नेपाल संवत््को श्रेय शङ्खधर साखवाललाई जान्छ । शङ्खधर साखवाललाई १८ मंसिर २०५६ मा तत्कालीन सरकारले राष्ट्रिय विभूति घोषणा गरिसकेको छ ।
आजभन्दा ११३९ वर्ष अगाडि नेपाल खाल्डोमा लिच्छवी वंशको शासन थियो भन्ने प्रमाण इतिहास साक्षी छ । विगतका ती दिनहरूमा प्रशस्त अभिलेखहरू राख्ने चलन नभए तापनि हाम्रो इतिहास जीवन्त वंशावलीहरूबाट थाहा हुन्छ । त्यतिवेला ललितपटन
(हालको पाटन) सहरमा राघवदेवले शासन गर्दथे । त्यसबेला काठमाडौँ छुट्टै राज्यको रूपमा विकास नभएर पाटनको अधीनमा थियो भने भक्तपुर सहर नवस्थापित अवस्थामा थियो । यसबारे वंशावलीहरूमा मतभिन्नता भए पनि भक्तपुर सहर ने.सं. २६७ (वि.सं. १२०३) मा आनन्ददेवले स्थापना गरेकोमा प्रायः वंशावलीहरूमा एकरूपता छ । यता लिच्छवी वंशहरूको वंशावलीहरूमा नामावली फरक दिने क्रममा गोपाल वंशावलीले वरदेव, शङ्करदेव, वालार्जुनदेव, विक्रमदेव, गुणकामदेव नाम दिएको छ भने राइटले वरदेव, शङ्करदेव, वर्धमान, वलिदेव, जयदेव वालार्जुनदेव, गुणकामदेव दिएको छ । नेपालमा प्रायः वंशावलीहरू नेपाल एकीकरणपछि लेखिएको सन्दर्भमा संस्कृत एवम् पुरानो नेवारी (भुजिमोल) लिपिमा लेखिएको वेण्डालले पाएको वंशावलीमा वलिदेव, राघवदेव, जयदेव, विक्रमदेव, नरेन्द्रदेव, गुणकामदेव आदिको नाम उल्लेख भएको पाइन्छ । यसैबीच विभिन्न प्रामाणिक अभिलेखहरूबाट ई.सं. ७३६—७३ तिर यहाँ शङ्कर देवले राज्य गरिरहेको मानिन्छ । त्यसपछि यिनका छोरा वर्धमानले पाटन राज्य काठमाडौँसम्म विस्तार गरेकोमा एकपटक रुद्रदेव नाम गरेका राजा यहाँका शासकहरूलाई हराई राजा भएका थिए । तर रुद्रदेव निःसन्तान भएकाले पूर्व लिच्छवी वंशकै एक राजकुमार जयदेवलाई राजा बनाएको उल्लेख छ । जयदेवले विक्रमको नवौँ शताब्दीतिर पाटन काठमाडौँमा राज्य गरिरहेको समयमा उनका भाइ आनन्ददेवले पूर्वतर्फका ६ वटा गाउँहरू मिलाएर खुपो देश बनाएको वंशावलीहरूमा पाइन्छ । तसर्थ आनन्ददेवलाई भक्तपुरको संस्थापक राजा मानिन्छ ।
वंशावलीहरूमा नेपाल संवत्् चलेको समयमा पाटनमा राघवदेव र भक्तपुरमा आनन्ददेवले राज्य गरिरहेको उल्लेख भएबाट अलिकति शङ्का लाग्न सक्छ । तर, कतिपय इतिहासकारहरूले जयदेवको अन्तिम समयतिर आनन्ददेव भक्तपुरमा राजा भएको, जयदेवको मृत्युपछि वालार्जुनदेव केही समयसम्म राजा भई उनकै छोरा मानदेव चौथोले राज्य गरेको मानिन्छ । जुन लिच्छवी सं. ३०४ तिरको घटना मानिन्छ । साढे तीन वर्षपछि अर्थात् मानदेवको मृत्युपछि राघवदेव पाटनको राजा भएको र त्यस समयसम्म भक्तपुरमा आनन्ददेवकै शासन रहेको थियो । यसै समयमा काठमाडौँ इलाछेँ भीमसेनस्थान बस्ने शङ्खधर साखवालले आफूले पाएको अपार धनले काठमाडौँ र पाटनका जनताको ऋणमोचन गरी नेपाल संवत्् चलाएको मानिन्छ । शङ्खधर साखवालको विषयमा हालसम्म ऐतिहासिक अभिलेखहरू नभेटिए पनि शङ्खधरलाई एक व्यापारी मानिन्छ । शुद्र जातिका फौबन्जार भनिएका शङ्खधर सर्वसाधारण नागरिक हो भन्नेमा दुईमत हुनसक्दैन । किंवदन्तीकै आधारमा भए पनि आपूmसँग भएको अपार धन सदुपयोग गरी यश कमाउन सफल शङ्खधरको सालिक पशुपतिनाथको परिसरमा स्थापना हुनु पनि कम महत्वको प्रमाण मान्न सकिँदैन । त्यहाँ पाइएको सालिकमा हातमा शङ्ख लिएको मूर्ति भएकै कारण शङ्खधर नामकरण हुन गएकोमा धेरै संयोग मिल्न आउँछ ।
साखवाल वा साख्वालबारे अध्ययन गर्नुपर्ने अवस्थामा नेवाः जातिमा अहिले पनि साख, सिख्वाल, सापाल, सापुजस्ता जातिहरू रहेको सन्दर्भमा शङ्खधरको थरबारे गहन अध्ययन हुनुपर्ने देखिन्छ । हुन त अपार धन भएका शङ्खधरले कान्तिपुर र पाटनका जनताको ऋणमोचन गरिदिएकै कारण साखवाल हुन गएको हुनुपर्छ । किनभने साखको अर्थ सापटी हुन जान्छ । प्राचीन कालमा यहाँ यस्तै सापटी दिने ठाउँहरूलाई साखकोठा भन्ने चलन थियो । ल्हासामा व्यापार गर्ने व्यापारी साहुमहाजनहरूको कारोवार गर्ने ठाउँलाई साखकोठा भन्ने चलन थियो । त्यसबाहेक भक्तपुर क्वाछेँस्थित साकोठालाई कसै कसैले साखकोठाबाट साकोठा भएको पनि बताउँछन् । यसै सन्दर्भमा जनताको ऋण तिरिदिने शङ्खधर साखवाल सोही स्थानका त होइनन् ? प्रश्न उठ्न सक्छ ।
त्यस्तै नेपाल संवत््को सुरुआतको तिथिमिति एवम् नेपाल संवत््को प्रवर्तकबारे पनि विवाद नदेखिएको होइन । कतिपय विद्वान लेखकहरूले राघवदेव एवं आनन्ददेव राजाहरूलाई मल्ल वंशका भनी वंशावलीमा पढी दिँदा नेपाल संवत््को सुरुवात मल्लकालमा भएको भनी लेखेको पाइन्छ । यस वंशावलीमा अभय मल्लको मृत्युपछि जयदेव राजा भएको र उनका भाइ आनन्ददेव मल्लले भक्तपुर स्थापना गरेको उल्लेख छ । जुन सरासर गलत छ । अभय मल्लको शासन काल ने.सं. ३४४ तिर देखिन आउँछ । जुन कुरा भरत नाट्यम शास्त्र भन्ने किताबमा ने.सं. ३४४+८८० . १२२४ सन् लेखेबाट अभय मल्लको शासनकाल स्पष्ट हुन्छ । फेरि यता गुणकामदेव (राघवदेवपछि ३ पुस्ताको) को पालामा पाटनमा भेटिएको एक अभिलेखमा ने.सं. १०७ स्पष्टसँग उल्लेख छ । यसबाट नेपाल संवत् लिच्छवीकालमै सुरु भएको हो भन्ने स्पष्ट हुन्छ । यता विद्वानहरूले नेपाल संवत् सन २० अक्टोबर ८७९ मा अर्थात् वि.सं. ९३६ कार्तिक शुक्ल प्रतिपदाको दिनबाट शुभारम्भ भएको मानिन्छ जुन काठमाडौँ उपत्यकालगायतका नेवारहरूको चाड स्वन्तीको म्हपूजाको दिन पर्दछ । तसर्थ यस दिन नयाँ वर्ष मनाउने चलन छ ।
अर्को एउटा गहन प्रश्न नेपाल संवत््का प्रवर्तक को हुन् भन्नेबारे पनि विवाद छ । कतिपय विद्वानहरूले नेपाल संवत्् प्रचलनमा आएताका यहाँका राजा राघवदेवलाई नै यसका प्रवर्तक मानेका छन् । कतै कतै त राघवदेवले आफ्नो बाबु मानदेव चौथोलाई हत्या गरी गद्दी हत्याएको र त्यसताका चलिरहेको मानदेव संवत््को ठाउँमा नयाँ संवत् चलाएको भन्ने गरिन्छ र पितृहत्याको कारण आफ्नो नाम नराखी पशुपतिमा शङ्ख बोकेको आफ्नो मूर्ति स्थापना गरी शङ्खधर नामबाट संवत् चलाएको भनी विवाद बढाउने काम पनि भइरहेको छ । त्यसबाहेक सङ्क्षिप्त गोपाल वंशावलीमा ‘राजा श्री राघवदेव वर्ष ६३ मास ६ श्री पशुपति भट्टारके संवत््सर प्रवृति कृता’ भनी उल्लेख छ । यसैको आधारमा नेपाल संवत्् राघवदेवले चलाएका भन्नेहरू पनि छन् । वास्तवमा माथि उल्लेखित दुवै तथ्यहरू आफैमा विरोधाभाषपूर्ण देखिन्छ । पितृहत्याको आरोप आफूमाथि लाग्ला भन्ने डरले संवत्को नाममा आफ्नो नाम नजोड्ने राघवदेवले पशुपतिनाथमा आफ्नो नामबाट संवत्् चढाएको अभिलेख सायद राख्दैन होला । तर यो कुरालाई कदापि बिर्सनुहुँदैन कि शङ्खधर साखवाल एकजना सर्वसाधारण व्यक्ति भएकाले संवत्जस्तो महत्वपूर्ण कदम (जुन प्रतापी महत्वाकाङ्क्षी राजाहरूले मात्र गर्नसक्छन्) चाल्न त्यसबेलाका राजाको आज्ञा अवश्य लिएको होला र अभिलेखमा त्यही भएर राजा राघवदेवको नाम उल्लेख भएको हुनुपर्छ । त्यस्तै नेपाल संवत् शङ्खधरले चलाएको भन्नेबारे प्रमाण डा. डिल्लीरमण रेग्मीको ‘मिडित्ल क्यालेन्डर अफ नेपाल’ मा नेपाल संवत् सर साखीवाल भनी स्पष्ट उल्लेख छ । त्यस्तै वंशावलीहरूमा पनि नेपाल संवत्् शङ्खधर साखवालले नै चलाएको भनी स्पष्ट छ । त्यसबाहेक नेपाली पात्रोहरूमा नेपाल संवत््लाई शङ्खधर नेपाली संवत् सर भनी उल्लेख छ । अझ कतिपय अभिलेखहरूमा नेपाल संवत््लाई शङ्खधरकृत नेपाल संवत्् भनी उल्लेख गरिएको छ । २०३० सालमा डा. मोहन खनालले प्रकाशित गर्नुभएको ‘मध्यकालीन अभिलेख’ भन्ने पुस्तकमा भक्तपुरको जेँला टोलको एउटा पाटीमा रहेको अभिलेखले नेपाल संवत््को सुरुआत शङ्खधर साखवालले नै गरेको हो भन्ने स्पष्ट हुन्छ । नेपाल संवत्  ८२७ मा स्थापना गरिएको भूपतीन्द्र मल्लको समयको उक्त अभिलेखमा स्पष्टसँग शख्वा संवत्् भनी उल्लेख छ । यसरी नेपाल संवत्् सुरु भएर ८२७ वर्षपछिसम्म पनि भक्तपुरका मल्ल शासकहरूले शङ्खधरको नाम उल्लेख गर्नुबाट यो संवत््को सुरुआत शङ्खधरले नै गरेको हो भन्ने स्पष्ट हुन्छ । जुन यसप्रकारको छ ः
स्वस्ति ।। ¤फ् अद्यबराह कल्पत्यादि ।। शङ्खाजोग वसु
श्चैव मासि राघव कृष्णया । ब्रम्हा तिथी तस्या जीव जी
र्ण उदारत दिने ।। अथ नेपाल भाखा शख्वा संव
त् ८२७ बैशाख कृष्ण दशमीउत्रभद्र नक्षत्र बृ
हस्पति वार थ्व कुन्हु श्रीश्रीश्री विष्णुप्रितिन श्री २
जय भूपतिन्द्र मल्ल देव महाराजा प्रमान हाकु
भारोया बेलस चुकुति प्रमुखन मनहोल सिै जि
व त्वार नायक रामचन्द्र त्वार नायक जेँलाटोल
या पन्च सकरस्यन थ्व फले जीर्णद्धार याङा
थ्व फल सुना नं कचंगल उपद्रव याङा व सेन क
रसा पन्चमहापातक, जेँला टोलया लोकनं वि
चार याङाव सल्हा आदिन याङाव यातसा श्री ३
शिवलीं थापना याङाया पुण्यलाक ।। शुभ ।।
भतmपुर नगरको जेँला टोल दत्तात्रय मन्दिरको पछाडि एउटा लामो गल्ली दक्षिणतिर सीधा परेको गल्ली छ । दत्तात्रय मन्दिर पछाडिको मक्व गल्लीबाट सोझै माहेश्वरी पीठ जाने बाटोको मध्य भागमा अलि खुला ठाउँमा नारायण मन्दिर, गणेश, भीमसेन र मंक द्यलगायतका देवदेवीहरूको साथ दक्षिण पूर्व मोहडा भएको एउटा पाटी छ । सोही पाटीमा दक्षिणाभिमुख यो शिलापत्र छ । जुन १३ हरफको छ । यो शिलापत्रअनुसार राजा भूपतीन्द्र मल्लले भतmपुरमा राज्य गरिरहेको समयमा भतmपुरका प्रमान हाकु भारोको पालामा जेँला टोलका टोल नाइके मनहोरसिंह र रामचन्द्रले जेँला टोलवासी सबै मिली यो पाटीको जीर्णेाद्धार गरेको व्यहोरा छ । यस शिलापत्रको सबैभन्दा महत्वपूर्ण बुँदा हरफ ३ मा उल्लेख शख्वा संवत् नै हो । नेपालमण्डलभित्र हालसम्म भेटिएको शिलापत्र, ताडपत्र, दानपत्र, स्वर्णपत्र, तमसुकलगायत हरेक लिखित प्रमाणमा लिच्छवी संवत्, अशुंवर्मा संवत्, शक संवत्हरू सुरुमा आएको र मध्यकालदेखि नेपाल संवत् प्रयोग भएकोमा दुईमत छैन । यहाँ देखिएको ८२७ वैशाख कृष्ण दशमी पनि नेपाल संवत् नै हो । जतिबेला भतmपुरमा भूपतीन्द्र मल्लले राज्य गरिरहेको इतिहास साक्षी छ । तर उतm शिलापत्रमा नेपाल संवत् भनिएको छैन । बरु पहिलोपटक शख्वा संवत् लेखियो । भतmपुरको राजा भूपतीन्द्र मल्ल हरेक क्षेत्रमा तत्कालीन समयमा कान्तिपुर र ललितपुरभन्दा अगाडि आउन सफल राजा हुन् । यस क्रममा उनी नेपाल संवत्को सुरुआत गर्ने शङ्खधर साख्वाको योगदानलाई राज्यस्तरबाट सम्मान गर्ने काम गर्न भूपतीन्द्र मल्ल अगाडि आए । यसको लागि ८२७ वर्ष लाग्यो । भूपतीन्द्र मल्लको यो कदमको उठान गर्न वि.स. २०३० सालसम्म कुर्नुपर्यो । आज नेपाल संवत् सुरु भएको ११३९ वर्ष नाघिसकेको यो दिनमा हामी त्यसबारे चर्चापरिचर्चा गर्न बाध्य छौँ । यो अत्यन्तै दुःख लाग्ने विषय हो । अर्कोतिर ११३९ वर्षको त्यो लामो समयपछि भए पनि नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको विषयमा दरिलो प्रमाण सबैको सामु आउनु अति नै सन्तोषको विषय हो । अन्त्न्दा पनि भतmपुरको त्यस्तो ठाउँमा यो शिलापत्र रहेको छ जुन ठाउँको इतिहास सदैव शानले ओतप्रोत रह्यो । जेँला टोलको इतिहासमा वाँचु हिटी जसरी सदैव पवित्र ढुङ्गेधारा मानिन्छ । जेँला टोलको रूपमा वाँचु त्वले चिनिएको यो टोल पवित्र निर्मल ठाउँ भएको कारण भतmपुर राज्यभित्र यो टोल स्वतन्त्र ठाउँ बन्न सफल थियो । तत्कालीन वाने लाय्कुको उत्तरमा क्वाठण्डौ सामरिक गढ रहेझँै दक्षिणमा जेँलाले त्यो भूमिका निभाएको देखिन्छ । भतmपुरको इतिहासमा सर्वप्रथम यहीँ जेँला टोलवासीले जनस्तरबाट नाटक मञ्चन गरेको प्रमाण छ । यता राजा रणजित मल्लको समयमा यहीँ जेँला टोलवासीहरूले रामायण नाटक देखाई भएको आम्दानीले माहेश्वरी मन्दिरको गजुर फेरेको उल्लेख छ । जेँला पाटी जीर्णोद्धार गरेको अवसरमा शख्वा संवत् उत्कीर्ण गर्न तत्कालीन राजा भूपतीन्द्र मल्ल, प्रधानमन्त्री हाकुभारो अन्य मन्त्री चुकुटि र मनोहरसिंहलगायत यो टोलका टोल नाइके जीव टोल नाइके, रामचन्द्र नाइके र जेँला टोलवासीको ठूलो भूमिका रह्यो । यसको प्रमाण आजसम्म टोलको मध्तगमा यो शिलापत्रसहितको पाटी मौजुद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *