सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
अजीत
तिहारलाई नेपालभाषामा ‘स्वन्ति नखः’ भनिने कुरा पछि मात्र थाहा भयो । नेपालभाषामा स्वाँको अर्थ फूल हो । फूलै फूलको चाड भएकोले तिहारलाई ‘स्वन्ति’ भनिएको हुनुपर्छ । अचाक्ली जाडो पनि सुरु नभएको तर गर्मीयाम भने बिदा भइसकेको हुनाले मौसम त्यसै पनि मीठो लाग्ने । आँगनमा भर्खर काटिसकेको धानको थुप्रो । धान काटिसकेपछि नाङ्गिएका खेतले वरपर फराकिलो बनेजस्तो । खुला खेतका गरागरामा सयपत्री लहरै ढक्कमक्क फुलेको ।
कुरा हामी केटाकेटी छँदाको । आजभोलि जस्तै तिहारमा झिलिमिली विद्युत् बत्ती बाल्ने चलन थिएन । कसै कसैले सोखको रूपमा कहींबाट भाडामा लिएर घर झिलिमिली बत्ती बाल्थे । त्यो घरलाई अलि सम्पन्न घर मानिन्थ्यो । कतिले सम्पन्नता देखाउन पनि त्यस्ता बत्ती बाल्थे । आजभोलि घर पूरै छोपिने गरी बाल्न भने पुग्दैन्थ्यो बत्ती । घरको एउटा कुनामा तर सकेसम्म माथि त्यस्तो बत्ती बालिन्थ्यो । केटाकेटी त भयौँ, आफ्नो घरको कौसीमा झिलिमिली बत्ती बल्दा आफ्नो कद नै अलि अग्लो भएजस्तो भान गथ्र्यौं । विद्युत्को बत्ती नबाल्ने अधिकांश घरमा भने माटोको काँचो पाला बालिन्थ्यो । लक्ष्मी पूजाको साँझ नाङग्लोमा सयपत्रीका केही पत्र बिछ्याएर त्यसमाथि कालो माटाका पालामा तेल भरेर धागो वा सेतो कपडाको सलेदो बालेर घरअघिको पिखालाखु (घरको मूल दैलोअघि भुइँमा गाडिएको ढुङ्गा । घरमा कुनै उत्तम काम गर्दा सबभन्दा पहिले त्यसैमा पुजिने परम्परा छ) देखि प्रज्ज्वलित पाला घरैभरि बालिन्छ । झ्यालको दुवैतिर, भ¥याङको माथिल्ला दुई कुना र कौसीसम्म पाला राखिन्छ । पाला बिसाउनुअघि सयपत्रीको पत्र छरिन्छ । पाला सजाउनअघि पिखालाखुदेखि माथि कौसीसम्म रातो माटोले पोत्ने गरिन्छ । लक्ष्मीलाई घरभित्र पस्ने बाटो रे त्यो ।
हामी केटाकेटीको ध्यान भने कतिबेला पालाको बत्ती निभ्ला र त्यही पालालाई डोरीले दुईतिरबाट बाँधी तानेर गोलो पाला घुमाउने खेलौना बनाउने हुटहुटी चल्थ्यो । पालाको खाल्डो परेको भागमा कुचोको लठीको टुक्रा राखी त्यसलाई डोरीले दुवैतिरबाट बाँधेर घुमाउने त्यस्तो खेलौनालाई हामी ‘हिलिन्चा’ भन्छौँ । ‘हिलिन्चा’ शब्दको ‘घुम्ने’ भन्ने अर्थ लाग्छ ।
म्हः पूजा नेवार समुदायले मात्र मनाउने चाड हो भन्ने कुरा पनि धेरैपछि थाहा पाइयो । अझ नेवार समुदायमध्ये पनि ठिमीका नेवारहरूले यो चाड मनाउने गर्दैनन् भन्ने कुरा त निकैपछि थाहा भयो । जे होस्, म्हः पूजा निकै रमाइलो लाग्थ्यो । भोलि हुने किजापूजा (भाइटीका) मा फुपू र दिदीहरूको भव्य पूजाअघिको कास्टिङ जस्तो लाग्थ्यो म्हः पूजा । किजापूजामा फुपूहरूले दिने धेरै अण्डा, फलफूल र अनेकन परिकार खानुअघिको ‘एपिटाजर’ हुन्थ्यो – म्हः पूजा । किजापूजामा सबै फुपू र दिदीहरूले लगाइदिने काँचो धागोको कोका, मखमली र सयपत्रीका मालाको भारी भिर्नुअघि म्हः पूजाको दिन भने एउटै कोका र माला लगाइन्छ । म्हः पूजा भव्य किजापूजाको रिहर्सलजस्तो पनि लाग्थ्यो । म्हः पूजा गर्दा गर्दै किजापूजाको व्यग्र प्रतिक्षा हुन्थ्यो ।
म्हः पूजा परालको एकनाले लामो सुकुलमा लहरै बसेर गरिन्छ । घरकी नकींले नाङ्ग्लोमा थुपारिएको सयपत्रीको फूल, चामलको पीठोबाट दुईतिर चुच्चो र बीचमा चेप्टो वा गोलो विशेष रोटी–मुटुमरी, चामल, कटुस, अमलाको सम्मिश्रण पाथीमा राखेर लहरै पाथी टाउको वरपर तीन फन्का घुमाएर घोप्ट्याई दिन्छिन् । यसरी घोप्टाउँदा टुक्राटुक्रा पारिएको फूलको पत्रबीच खस्ने सेतो मुटुमरी खोज्नु केटाकेटीलाई खेलजस्तै हुन्थ्यो । प्रत्येक परिवारको सदस्यको नाममा अनिवार्य स–साना मण्डप बनाइन्छ । मण्डपमा बत्ती बालिन्छ । दुई वटा सलेदो दुवै छेउबाट बालेर प्रत्येक मण्डपमा चार वटा बत्ती बल्दा म्हः पूजाको भव्यता अझ बढेको अनुभव हुन्छ । त्यसरी बालेको बत्ती पूजा चलुञ्जेल निभाउन नहुने भएकोले सबै जना सकेसम्म आफ्नो मण्डपको बत्ती निभ्न नदिन तेलमा भिजाइएको सलेदो थप्दै गर्छन् । अनि आउँछ, पालो फलफूल लिने । अघि टाउकोमा पाथीको पूजा सामग्री घोप्टाएकी नकींले नै मण्डपमा सजाइएको फलफूल र कोका सबैलाई पालैसँग दिन्छिन् । फलफूल र कोका दिइसकेपछि नकींले घुँडा र कुमलाई दुई हातले छोएर ढोग्ने चलन हुन्छ । हरेक मानिस पनि पूज्य हुन्छ भन्ने मान्यतामा आधारित पूजा हो –म्हः पूजा ।
म्हः पूजाको भोलि किजापूजा । किजाको अर्थ भाइ हो । किजापूजा भनिए पनि माइत आएका छोरीचेलीले दाजुभाइसँगै भतिजाहरूलाई पनि पूजा गर्ने परम्परा छ । त्यसकारण किजापूजाको दिन फुपू र बिहे भएका दिदी बहिनीको व्यग्र प्रतिक्षा हुन्छ । आफ्नै घरबाट पनि आमा, भाउजू, बुहारी, श्रीमतीलाई माइतमा पूजाको लागि पठाउन पनि उस्तै व्यस्तता हुन्छ ।
म्हः पूजा र किजापूजाको शैलीमा धेरै समानता छ । मूल भिन्नता भनेको म्हः पूजामा नकींले गर्ने किजापूजामा फुपू र दिदीबहिनीले गर्छिन् । उस्तै एकनाले सुकुल । सुकुलअघि रातो माटोले पोतिन्छ । त्यसमा सेतो चामलको पिठो, तेलको घेरा, कालो भटमास, चामलका गेडा । अनि फलफूल । फलफूलमाथि मखमली र सयपत्रीका माला । काँचो धागोको कोका अनिवार्य । फुपू र दिदीबहिनीले क्रमशः म्हः पूजाकै शैलीमा सबै दाजुभाइ, भतिजाहरूको पूजा गर्छन् । पाथीमा सयपत्री, मुटुमरी, चामल, अमला, कटुस राखेर टाउको वरपर तीन फन्का घुमाएर टाउकोमाथि घोप्ट्याउने । घुँडा र कुम छोएर ढोग्ने । टाउकोबाट मुटुमरी, सयपत्री, चामल, कटुस र अमलाको वर्षा हुन्छ । मण्डपमा झिलिमिली उज्यालो बत्ती । सबैभन्दा जेठो र कान्छो बसेको ठाउँको छेउमा चामलको पिठोले बनाएका विभिन्न आकृतिलाई पनि पूजा गरिन्छ । सबभन्दा कान्छो आफ्नो छेउमा रहेका त्यस्ता अनेक आकृति देख्दा दङ्गै हुन्छन् ।
देउसी भैलोको प्रभाव रेडियो हुँदै टेलिभिजनबाट हामीसम्म आइपुगेको हो । केटाकेटीमा रहर नै धेरै । टेलिभिजनमा देखेको र रेडियोमा सुनेको भरमा देउसी खेल्थ्यौँ । तर, घर घरमा मादल पाइँदैनथ्यो । टिन ठटाएर देउसी खेल्थ्यौं । रातको अँध्यारोमा हिँड्न त्यसै पनि असजिलो । धान काटेर सुकाएको पराल बालेर बाटो उज्यालो पाथ्र्यौं । दक्षिणा दिनेले पनि के दिने, कसरी दिने जान्दैनथेँ । टीभीमा हेरेको भरमा हामीले नाङग्लोको बीचमा दियो बालेर, सेल, फलफूल, पैसा राखेर देलान् भन्ने अपेक्षा गथ्र्यौं । तर, कति घरले हातैमा पैसाका केही टुक्रा नोट राखिदिन्थे । कति घरबाट सम्हेबजी नै दिन्थे । कतिले कागजमा मुटुमरी पोको पारेर हातमा राखिदिन्थे । केटाकेटीको रमाइलोमात्र थियो । कोही पनि ठूलाले देउसी खेलेको भने देखेनौँ ।
स्वन्ति नखः को विशेष रोटी भनेको मुटुमरी । वफाएको तातो मुटुमरी खाने लोभ र धित कहिल्यै मर्दैन । मासुको झोलमा तातो मुटुमरीको मिलनले जिब्रोमा सधैँ रमरम रसाइरहने स्वाद बसाउँछ । काँचो धागोमा विभिन्न रङ्गका कपडाका स–साना टुक्रा बाँधेर बनाइएको कोका स्वन्तिको अर्को विशेषता हो, जो अरु कुनै पनि चाडमा प्रयोग हुने गर्दैन ।
Leave a Reply