भर्खरै :

यस्तो हो नेपालको खास नक्सा

सुरेन्द्र काफ्ले
काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ । कस्तो हुन्छ त त्यो नक्सा ?
नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यो सार्वजनिक नगरी थन्क्याइएको छ ।
नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्ग किलोमिटर छ । लिम्पियाधुरामा तीनवटा गाउँ छन् । कुटी, नावी र गुञ्जी, जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन् ।
काली नदीको मुहान लिम्पियाधुरा हो । त्यहाँ नेपाल र भारतको सिमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ । काली नदीको मार्गमा पार्वती कुण्ड पर्छ । पार्वती कुण्डको माथिदेखि छोटा कैलाश छ । पार्वती कुण्डमा कालीको पानी मिसिन्छ । त्यहीं काली मन्दिर पनि छ । काली नदीलाई स्थानीयमा कुटीयाङ्दी भनिन्छ । त्यहाँ सौका समुदायको बसोबास छ ।
सुगौली सन्धिअघि नेपालको सिमानापूर्वमा टिस्टा र पश्चिम काँगडासम्म थियो । सन्धिपछि नेपालको दुईतिहाइ भूमि गुमेको छ । सुगौली सन्धिमा कालीपारि नेपालले दाबी गर्ने छैन भन्ने उल्लेख छ । सुगौली सन्धिको बुँदा ५ मा ‘नेपालका श्री ५ महाराजाधिराज मौसुफ स्वयम्का लागि, मौसुफका उत्तराधिकारी वा वारिसका लागि काली नदीको पश्चिममा पर्ने देशसित सम्बन्ध र सम्पूर्ण दाबी परित्याग गरिबक्सन्छ र ती देश वा तिनका बासिन्दासित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन,’ उल्लेख छ ।
तर भारत लामो समयदेखि कालीवारि आएको छ । उसले लिम्पियाधुराबाट करिब ३० किलोमिटरपूर्व भारतीय सीमा सुरक्षा फौज राखेको छ । कालापानीभन्दा ३० किलोमिटर पश्चिमसम्म लिम्पियाधुरा छ । लिम्पियाधुरामात्र होइन, कालापानी र लिपुलेक पनि भारतीय कब्जामा छ । कालापानीदेखि लिम्पियाधुरासम्मका तीन गाउँ कुटी, नावी र गुञ्जीको जनगणना, मालपोत अभिलेख तथा अन्य ऐतिहासिक प्रमाण र दस्तावेजले नेपाल भएको पुष्टि गर्छ ।
नेपाल सरकारले २००९ मा पूर्वाञ्चल र २०११ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो । त्यतिबेला हालको दार्चुला
(तत्कालीन बैतडी) जिल्लाअन्तर्गत थियो । तत्कालीन ब्यास गर्खा (दरा) मा ६ गाउँ थिए । २०११ को जनगणनाले ब्यास गर्खाका ६ गाउँको घरधुरी सङ्ख्या चार सय ३४ तथा कुल जनसङ्ख्या एक हजार आठ सय १६ देखाएको छ ।
अग्रज पत्रकार भैरव रिसालको नेतृत्वमा त्यस क्षेत्रमा २०१८ सालमा भएको जनगणनामा व्यास क्षेत्रका गुञ्जी, नाबी, कुटी, तिंकर र छाङ्रु गाउँको गणना गरिएको थियो । २०१८ साल यता लिम्पियाधुरामा नेपालको उपस्थिति शून्य छ । यो भूभागसहित त्यहाँका बासिन्दालाई भारतीय बनाइसकिएको छ । सुगौली सन्धिपछि नेपालको पश्चिम सीमा लिम्पियाधुरा भएको सीमाविद् पुण्यप्रसाद ओलीले बताउनुभयो ।
सरकारले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेजसमेत राखेर भारतसँग छलफलको ठोस प्रस्ताव बनाउने भएको छ । लेखक रतन भण्डारीको ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा’ पुस्तकअनुसार सन् १८१७ फेब्रुअरीका दिन इस्ट–इन्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे. आदमले काठमाडौँस्थित आवासीय प्रतिनिधि एडवर्ड गार्डनरलाई पठाएको पत्रमा ‘काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्ना चौतरिया बम शाहको दाबीअनुसार नेपालको ठहरिन्छ । तसर्थ त्यो ठाउँ नेपाल सरकारका अधिकारीलाई बुझाउनू भनी निर्देशन दिएका छन् ।
ऐतिहासिक तिरोभरोका आधारमा महाकालीको मुहान लिम्पियाधुरा उल्लेख छ । जलविज्ञानका आधारमा लिम्पियाधुराबाट आउने काली नदी लिपुलेकबाट आउने लिपुखोलाभन्दा दुईतीन गुणा ठूलो छ । सन् १८५६ पछि भने ब्रिटिस इन्डियाले नेपालको पश्चिमी सीमामाथि नक्सामार्फत अतिक्रमण गर्न थालेको थियो । कम्पनी सरकारले सन् १८५६ पछि प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने काली नदीलाई कुटी याङ्दी र लिपुलेक पश्चिम गिरफुबाट आउने खाँ यङ्क्ति (लिपुखोला) लाई काली लेख्न सुरु गरेको हो ।
त्यसभन्दा पनि पूर्व कालापानीमा भारतले कृत्रिम नदी बनाएर काली नदी भन्दै नक्सा जारी गरेको हो ।
अन्नपूर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *