भर्खरै :

मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

मेक्सिको सिटी, २६ कार्तिक (सिन्ह्वा) । मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका ते मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ ।
विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “मेक्सिकोको विदेश मन्त्रालयले बोलिभियाली नेतालाई शरणार्थीका रूपमा स्वीकार गर्न तयार छ । आवश्यकतामा मानवीयता र इमानदारिता प्रदर्शन गर्दै बोलिभियाली नेतालाई शरण दिने निर्णय सोमबार सरकारले गरेको हो ।”
मोरालेसलाई शरण दिने कुरा बोलिभियाली विदेश मन्त्रालय, अमेरिकी राज्यका साथै मेक्सिकोको सिनेट र संयुक्त राष्ट्रसङ्घलाई औपचारिक जानकारी गराइने विदेशमन्त्री एब्राडले बताउनुभयो ।
मोरालेसको सन् २०२० को जनवरीमा कार्यकाल सकिने भए पनि बोलिभियाली सेनाले राजिनामा दिन लगाएपछि उहाँले राजिनामा दिनुभएको मेक्सिकोले जनाएको छ । यसलाई मेक्सिकोले ‘कु’ (सैनिक विद्रोह)को संज्ञा दिएको छ ।
मोरालेस मेक्सिकोतर्फ
यसैबीच दक्षिणपन्थी सत्ता विप्लवपछि जीवन सुरक्षाको निम्ति राष्ट्रपति मोरालेसले मेक्सिकोका लागि बोलिभिया छोड्नुभएको छ ।
मोरालेसले सोमबार राति स्थानीय समयअनुसार ९.३० बजे आफू मेक्सिकोतर्फ लागेको ट्विट गर्नुभएको छ ।
“राजनीतिक कारणले आफ्नो देश छोड्नु पर्दा मन दुखेको छ तर म निरन्तर सम्पर्कमा रहनेछु । चाँडै नै म बढी शक्ति र ऊर्जाका साथ फर्कने छु ।”, उहाँले लेख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *