भर्खरै :

नेपाली भूमि मिचेको सर्वत्र चर्चा

 विगोल
यतिबेला प्रत्येक नेपालीको मनमनमा, बोली–बोलीमा भारतले नेपाली भूमि मिचेको चर्चा छ । नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ताहरूबीच मात्र होइन, सर्वसाधारण जनता पनि भारतदेखि आक्रोशित र असन्तुष्ट छन् । जिल्ला–जिल्लाबाट प्रकाशित दैनिकदेखि मासिक पत्रिकामा नेपाली भूमि अतिक्रमणसम्बन्धी समाचार, पाठकपत्र र लेखहरू भरिएका छन् । देशका सीमाविद्, विद्वान, बुद्धिजीवी र कूटनीतिज्ञहरू पनि भारतले नेपालमा अन्याय गरिरहेको विचार पोख्छन् । नेपाल सरकार कमजोर भएकोले या नेपाली भूमि सुरक्षाबारे ध्यान नपुगेको कारण भारतले नेपाली भूमि अतिक्रमण गरेको उनीहरूको बुझाइ हो । यस्तै चर्चा परिचर्चा नेपालको गाउँ–बस्ती, घर आँगन, सहर बजार, सरकारी गैरसरकारी कार्यालय, उद्योग कारखाना, विद्यालय कलेजमा मात्र होइन पसल–पसलमा भइरहेको छ ।
भारतले नेपाली भूमि मिचेको र नेपाली भूमि मिचेर पनि टुलुटुलु हेरेर बस्ने या ध्यान नदिने सरकारहरूको कमजोरीबारे जनतामा चर्चा हुनु, त्यसबारे टीकाटिप्पणी हुनु, बहसको विषय बनाउनु सकारात्मक पक्ष हो । यसले जनतालाई जागरुक र सचेत बनाउँछ र देशभक्तिको भावना जगाउँछ । यो राम्रो पक्ष हो । अन्यायविरुद्ध बोल्नुपर्छ, विरोध गर्नुपर्छ, अन्याय गर्ने पक्षलाई जनताबीच उदाङ्ग्याउनुपर्छ । हाल चर्चामा रहेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकले भारत उदाङ्गो भएको छ, नेपाली जनतामा देशप्रेमको भावना झल्केको छ । यतिबेला सरकार पनि बिउँझेको छ । बिउँझेर नेपाली भूमि नेपालको बनाउन सरकार अघि सर्नुपर्छ । नेपाली भूमि सुरक्षित नगर्ने सरकार देशभक्त हुनसक्दैन । नेपाली भूमि सुरक्षित गर्न पहन नगर्ने दलले सरकारको नेतृत्व गर्न सुहाउँदैन ।
नेपाली भूमि विवादित बनाइएपछि आफ्नो भूमि ठह¥याउन ऐतिहासिक प्रमाण जुटाउनुपर्ने हुन्छ, तथ्य तथ्याङ्क सङ्कलन गर्नुपर्ने हुन्छ । लिम्पयाधुरा, कालापानी र लिपुलेकसम्बन्धी ऐतिहासिक प्रमाण र तथ्य विदेश विदेशमा रहेका जो कुनै नेपालीसँग छ भने नेपाल सरकारलाई खबर गर्नुपर्छ या दिनुपर्छ । सरकारले पनि हालसम्म प्राप्त प्रमाणहरू सङ्कलन गर्नुपर्छ । प्रमाण सङ्कलन गर्ने काममा जुट्नुपर्छ । प्राप्त प्रमाणहरू सङ्कलन गर्दै सरकारले फेरि दलका नेता, सीमाविद्, विज्ञ र अनुभवी व्यक्तिहरूको बैठक बोलाएर प्राप्त प्रमाणबारे जानकारी दिनुपर्छ । नेपालको ऐतिहासिक प्रमाण र तथ्याङ्कलाई छोप्न या छायाँमा पार्न भारत सरकारले के–कस्तो कदम चालेको हो, के कस्ता बनावटी काम गरे त्यसबारे पनि अध्ययन, अनुसन्धान र खोजिनीति गरी सामग्री सङ्कलन गर्नुपर्छ । हाल भारतले दाबी गरिरहेको यथार्थ के हो, त्यो कतिको जायज हो ? नेपाली भूमि आफ्नो बनाउन गरिएका कुत्सित कार्यहरू के के हुन् ? त्यो पनि छलफलको विषय बनाइनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *