भर्खरै :

युवाजन कतातिर ?

राकस्था
भर्खर उपनिर्वाचन सकियो । निर्वाचन सकिएपछि करिब २० वर्षीया एक युवतीसँग मत खसाल्यौ भनी यो पङ्क्तिकारले सोध्यो । ‘‘अहँ भोट हाल्न पाइनँ’’ भन्ने जवाफ आयो । अर्को प्रश्न राखेँ ‘‘किन त ?’’ । जवाफ थियो, ‘‘मतदाता नामावलीमा नामै छैन । भाइको पनि छैन ।’’ प्रश्न उठ्छ, युवापुस्ता आफ्नो कर्तव्यप्रति सचेत नभएकै हो ? सोधिएको व्यक्तिका बुबा एक नगरपालिकाको कर्मचारी हुन् । कर्मचारीको सन्तानको हालत यस्तो ! के यो सांस्कृतिक स्तरको अभाव हो ? के यो राजनीतिक चेतनास्तरको अभाव हो ?
यसपटकको निर्वाचनमा मतदान गर्न उभिने युवाको प्रतिशत अत्यन्तै कम भएको भन्दै सामाजिक सञ्जालनमा टिप्पणीहरू देखिन्छ । भक्तपुरमा भएको निर्वाचनमा पनि पङ्क्तिकारले त्यही दृश्य देख्यो । बरु बुढाबुढी र बिरामी निर्वाचनमा सहभागी भए, युवाको उपस्थिति न्यून रह्यो । मतदान प्रतिशत घट्नुमा युवाको कम सहभागिता पनि एक कारण रहेको देखिन्छ ।
नेपालमा युवा जनशक्तिको हिसाबमा जनसाङ्ख्यिक मुनाफा (डेमोग्राफिक डिभिडेन्ट) छ । १६ वर्षदेखि २५ वर्षका करिब २१ प्रतिशत र १६ वर्षदेखि ४० वर्षका युवा करिब ४१ प्रतिशत छन् । उमेरले युवा कहलिएका यो दस्ताको राजनीतिक सुझबुझले देशको भविष्य कोर्ने हो । तर, युवा पुस्तामा राजनीतिप्रतिको उदासीनता सबभन्दा खतरनाक पक्ष हो ।
युवा को हो भन्नेमा उमेरभन्दा उसको चिन्तन र दृष्टिकोणसँग सम्बन्धित विषय हो । अङ्ग्रेजीमा एउटा भनाइ छ, “उमेर भनेको मात्र सङ्ख्या हो, परिपक्वता मुख्य हो ।” युवाले अग्रगामी सोच राख्छन् या राख्दैनन् ? न्याय र अन्याय छुट्याउने र सत्यको पक्षमा वकालत गर्ने क्षमता राख्छन् कि राख्दैनन् ? अन्यायविरुद्ध लड्ने हैसियत र क्षमता युवामा छ या छैन ? समाजको गतिशीलतामा मापनको आधार यी नै हुन् । प्रगतिशील विचार नबोकेको युवाले समाजमा ठोस योगदान गर्नसक्दैन । सक्रियता, नयाँ चिन्तन, सामूहिक भावना आदि नै युवापनको आधार मान्न सकिन्छ । उमेरले पाको भए पनि सक्रिय जीवन जिउने मानिस युवा नै ठहरिन्छ ।
युवालाई राजनीतिबाट अलग्याउने षड्यन्त्र निरन्तर भइरहेको छ । असल मान्छेले राजनीतिक पक्षधरता खुलेर नदेखाउँदा वा स्वार्थवस् कुनै राजनीतिक दलको समर्थन वा विरोध गर्दा खराब वा कमजोर मान्छेले स्थान पाएका दृश्टान्त प्रशस्त छन् । जसरी खोटो सिक्काले असली सिक्कालाई विस्थापित गर्छ भन्ने ग्राम्सन्सको नियमझैँ समाजका खराब चरित्रका वा वर्गीयरूपमा प्रतिक्रियावादीहरूलाई स्थान दिने काम कामदारवर्ग वा असल चरित्रको व्यक्तिले नै गरिरहेको पाइन्छ । भर्खर सम्पन्न भक्तपुरको निर्वाचनलाई नै उदाहरणको रूपमा लिने हो भने पनि प्रस्तुत कुरा पुष्टि हुन्छ । देशको सार्वभौमिकता रक्षाको सन्दर्भमा नेमकिपाले उठाउँदै आएका विषय, यसको सङ्घर्षको इतिहास, राजनीतिक इमानदारी, कामदारवर्गको हितको निम्ति यसले चालेका पाइला आदिको आधारमा यो पार्टी सही हो भन्ने तर भोट भने यसइतरका पार्टीलाई दिनेको सङ्ख्या अत्यधिक भयो । नेमकिपाका उम्मेदवार तुलनात्मकरूपमा बौद्धिक र व्यावहारिक छन् भन्ने तर भोट कमजोरलाई दिने कित्ता अझै कमजोर भइसकेको छैन । प्रतिक्रियावादी राजनीतिक चेतनाको प्रभावमा जनता अलमलिएको यो एउटा उदाहरण पनि हो ।
निर्वाचन प्रदेशसभाको थियो, जनता आफ्नो ठाउँमा पानी र बाटोको कुरा गर्दैछन् । सर्वसाधारण जनताको चासो र चिन्ता अस्वाभाविक नहोला तर सचेत भनिएका एकजना उम्मेदवारले कुनै एक ठाउँमा पानी र बाटो ल्याइदिने वचन बाँड्छन् र भोट बटुल्छन् भने त्यस्तो निर्वाचन स्वतन्त्र वा धाँधलीरहित हुनैसक्दैन । प्रदेशसभाको सदस्यले समग्र प्रदेशको विकास निर्माणको निम्ति कानुन बनाउने हो, आफूले जितेको स्थानविशेषको विकासको निम्तिमात्र कुरा गर्ने होइन । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुको अर्थ बैतडीको सबै विकासको ठेक्का उनलाई दिलाउनु होइन न त सूर्यबहादुर थापाको काम धनकुटाको विकासमात्र हेर्नु हो । तर, विडम्बना नेपालमा त्यही भयो र यो क्रम जारी छ ।
युवा हुन सञ्चारमा सक्रियता पनि आवश्यक छ । सञ्चारको क्षेत्रमा भने युवामा युगसापेक्ष सक्रियता भेटिन्छ, राजनीतिक छलफल वा बहसमा होइन । सामाजिक सञ्जालले युवालाई सक्रिय त बनाएको छ तर उपलब्ध वा प्राप्त सूचना साँचो वा झूटो के हो भनी पर्गेल्ने क्षमतामा भने शङ्का गर्ने धेरै आधार छन् । युवाले भ्रमपूर्ण प्रचारको पछाडि नलाग्नुपर्ने हो । युवाले आफू सचेत भई सर्वसाधारणलाई सचेत बनाउनुपर्ने हो । यसपालिको निर्वाचन परिणामले फेरि पनि युवाहरू प्रतिक्रियावादी पार्टीविरुद्ध लाग्नुको सट्टा सत्ता र शक्तिका पछि लागेको अनुभव हुन्छ । यसलाई अर्को पाटोमा विश्लेषण गर्दा देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी युवा एवम् विद्यार्थी, शिक्षक तथा प्राध्यापक सङ्घ सङ्गठनले युवामा राजनीतिक चेतनास्तर उकास्ने कामै गर्न सकेनन् भन्न पनि सकिन्छ ।
नेपाली काङ्ग्रेस र नेकपाले नै अधिकांश निर्वाचन जितेका छन् । यी दुवै पार्टी पुँजीवादी वा प्रतिक्रियावादी पार्टी हुन् । यी पार्टीहरू देशघातीसमेत हुन् । प्रस्ट छ, नेताहरू नेपाली काङ्ग्रेस धनी र पुँजीपतिहरूको वर्ग स्वार्थको निम्ति स्थापित पार्टी हो । नेकपा नामले कम्युनिस्ट तर काममा नेपाली काङ्ग्रेसकै साख्खै भाइ हो । उनीहरूको वर्गआधार एउटै छ । पुँजीवाद यी दुवै शासक दलहरूको सैद्धान्तिक आधार हो । पुँजीवादी राज्यसत्तामा बस्ने सबै पुँजीवादी पार्टी नै हुन्छन्, त्यसो होइन भन्नु छलमात्र हो । पुँजीवादी सरकारलाई पुँजीपतिवर्गको सञ्चालक समिति मानिन्छ । पुँजीपतिवर्गको निम्ति पुँजीपतिवर्गले सञ्चालन गर्ने राज्यसत्ता नै पुँजीवादी राज्यसत्ता हो । मजदुरवर्गको रगत–पसिनाको शोषण गरी पुँजीपतिले नाफाको विस्तार गरेको हुन्छ । नाफाको स्वतन्त्रता, उदारीकरण, स्वतन्त्र बजार, नवउदारवाद र निजीकरणका सिद्धान्त पुँजीवादी सिद्धान्त हुन् । यसर्थ पुँजीवाद मजदुरवर्गविरोधी सिद्धान्त हो । साँचो कम्युनिस्ट पार्टीले पुरानो राज्यसंरचना ध्वस्त पार्छ र नयाँ राज्यसंयन्त्र बनाउँछ । पुँजीवादी फोहरको आहालमा डुबेर नेकपाका नेताहरूले चोखो छु भन्नु नाङ्गा नाचे हजार दाउबाहेक अरू हुनसक्दैन । नेकपाका ‘सर्वाङ्ग नाङ्गो बादशाह’ हरू मख्ख छन्, ‘नयाँ लुगा’ पाएकोमा । अब ‘बादशाहको नयाँ लुगा’ को भ्रमजाल चिरिनै पर्छ, सत्य बोल्ने ‘बालक’ हरूको लस्कर अवश्य लाग्छ । यो यथार्थ जनसमक्ष प्रचार गर्ने जिम्मेवारी क्रान्तिकारी युवा दस्ताले पूरा गर्ने हो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएझैँ कम्युनिस्टहरूले निर्वाचन र हड्ताललाई एकैरूपमा लिन्छन् । निर्वाचन पनि आन्दोलनकै रूप हो । कम्युनिस्टहरूले पँुजीवादी चुनावलाई साधनको रूपमा मात्र लिन्छन्, साध्य ठान्दैनन् । निर्वाचनमा हुने जनसभाहरू राजनीतिक कक्षा हुन्छन् । पुँजीवादी पार्टीहरूलाई उदाङ्ग्याउन निर्वाचनलाई उपयोग गर्छन्, कम्युनिस्टहरू । निर्वाचनलाई आमूल परिवर्तनको माध्यमको रूपमा कम्युनिस्टहरू स्वीकार्दैनन् । निर्वाचन जित्नु नै क्रान्ति होइन । यसैबारे जनतालाई शिक्षित गर्नु आवश्यक छ ।
कम्युनिस्टहरू पुँजीवादी निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटको रूपमा उपयोग गर्छन् । उनीहरूले निर्वाचनमा मत परिणामको आधारमा हार खानुको अर्थ जनता अझै सचेत हुनसकेका छैनन् भन्ने अर्थ लाग्छ । कम्युनिस्टको सिद्धान्त र आर्दश कहिल्यै हार्दैन, आन्दोलनमा हार हुनसक्छ तर आन्दोलनमा भावना हार्दैन ।
वास्तवमा सबै जीत सही र सबै हार गलत भन्ने अर्थमा लिन सकिन्न । जीत र हार सापेक्षित हुन्छ । जनताको चेतनास्तरभन्दा भिन्न निर्वाचन परिणाम हुन सक्दैन । निर्वाचनमा प्रतिक्रियावादीवर्गले जित्न सक्छ किनभने राज्यसत्ता उसैको हातमा छ – जसको हातमा लाठी उसैको भैँसी । जनपक्षीय पार्टीले जनताको राजनीतिक चेतनास्तर अलिकति माथि उठाउनु पनि जीत हो । जनताको जीत एक दिन अवश्य हुन्छ । अब जित्ने पार्टीलाई खबरदारी गर्नुपर्नेछ । निर्वाचनमा मत किन्न गरिएको खर्च असुल्न गरिने कुनै पनि क्रियाकलापप्रति अब ‘वाच डग’को रूपमा भूमिका खेल्नुपर्नेछ ।
राजनीतिक परिवर्तन वा समाजमा आमूल परिवर्तनको निम्ति युगौँ वा पुस्तौँको सङ्घर्ष आवश्यकता पर्न सक्छ । यसको कुनै निश्चित समय सीमा हुँदैन । सही विचारको प्रचार ढिलो हुनसक्छ । ढिलो आएको परिवर्तन दिगो पनि हुन्छ । परिस्थिति परिपक्व नभई कुनै पनि देशमा आमूल परिवर्तन भएको छैन । मात्र धैर्य र निरन्तरको सङ्घर्ष आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *