भर्खरै :

बालबालिकालाई मोबाइल दिने कि पुस्तक ?

सुविज्ञा थापा
हिजोआज सहरी क्षेत्रमा भर्खर ताती गर्न लागेका र बाबा मामु भन्न थालेका शिशुलाई देखि प्रायः सबै बालबालिकालाई खेलौना वा समय कटाउने साधनको रूपमा अभिभावकहरूले मोबाइल थमाएको देख्छौं । अझ कतिपय आमाहरू त गर्वसाथ भन्ने गर्छन् – हाम्रो बाबु÷नानी त मोबाइलमा कार्टुन फिल्म नदेखाई खानै खाँदैन । बच्चाको अगाडि प्लेटमा खाना । आँखा र ध्यान भने मोबाइलमा । मोबाइलमा देखाइन्छ, कार्टुन वा गीत । आजकाल बच्चालाई यसरी खाना खुवाइन्छ । बालबालिकाको क्षेत्रमा काम गरिरहेका विज्ञहरूको चिन्ता छ, ‘हाम्रा बाबुनानी मोबाइल वा टीभीबिना रहनै नसक्ने भए । बालबालिकालाई अभिभावकले एडिक्ट बनाइरहेका छन् ।’
बालबालिकालाई मोबाइलमा भुलाउनेहरूको एउटा तर्क हुने गरेको छ – नयाँ नयाँ उपकरणबारे ज्ञान त दिनैपर्छ । नयाँ उपकरणको उपयोगबारे ज्ञान दिनु आवश्यक छ तर कुन उमेरमा दिने ? फेरि हाम्रो चिन्ता उपकरणको उपयोगभन्दा दुरुपयोग भइरहेकोमा हो । सानो छँदा युटयुब वा एप्सहरूमा बालगीत र कार्टुन र भिडियोहरू हेर्ने बालबालिका उमेर बढेसँगै रेसि· र युद्धसम्बन्धी वारगेमहरू खेल्नमा बढी समय व्यतित गर्न थाल्छन् । कयौं अध्ययनहरूका अनुसार त्यस्ता खेल खेल्नमा बढी समय व्यतित गर्ने बालबालिका बढी आक्रोशित र आक्रामक हुने गर्छन् । संरा अमेरिकामा विद्यालय परिसरमा भएका अधिकांश बन्दुक हमलाका घटनामा सोही विद्यालयका विद्यार्थी वा बालबालिका संलग्न भएका पाइएका छन् । विज्ञहरूका अनुसार त्यसका लागि बालबालिकाले मोबाइलमा हेर्ने गरेका गुद्धगेमहरू र टेलिभिजन च्यानलहरूमा अत्यधिक रुपमा देखाइने हतियार प्रयोगसम्बन्धी चलचित्रहरूको प्रभाव र संरा अमेरिकामा सहजै हतियारको उपलब्धता जिम्मेवार छन् । त्यसैले ती विकसित देशहरूमा अहिले निश्चित उमेर नभइकन मोबाइललगायत साधन दिन नपाइने कानुन लागू गर्न थालिएका छन् । ती देशमा गरिएका कयौं अध्ययन र अनुसन्धानहरूले बालबालिकाको संवेगात्मक विकासमा मोबाइललगायत इलेक्ट्रोनिक्स साधनहरूभन्दा बालसाहित्यसम्बन्धी पुस्तक बढी उपयोगी सावित भएका छन् । हामीले के रोज्ने हाम्रा सन्तानको उज्ज्वल भविष्यको लागि हामीले बालबालिकालाई मोबाइल दिने कि पुस्तक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *