भर्खरै :

के ग्रेटा थुनवर्ग देवदूत हुन् ?

 
 इलेन वाउचर
(ग्रिटा थुनवर्ग स्वीडेनकी एक किशोरी जलवायु परिवर्तनसम्बन्धी अभियानकर्ता हुन् । उनले जलवायु परिवर्तनप्रति विश्वका शासक राजनीतिक दल, उद्योगी र पुँजीपति वर्गले बेवास्ता गरेको भन्दै संसारको पर्यावरणमा आएको नकारात्मक परिवर्तनले संसारका प्राणीजगतसँगै मानिस पनि सड्ढटमा परेको भन्दै अभियान सञ्चालन गर्दै आएकी छिन् ।–सं.)
संसारले उनलाई चिनेको थिएन । उनी आइन् र संसारभर आन्दोलनको उभार उठाइन् । स्वीडेनको संसद् भवनअघि सानो आकारको तर दिगो खालको विरोध प्रदर्शनबाट उनले थालेको आन्दोलनले लाखौँ मानिसलाई उनको पछाडि हिँड्न अभिप्रेरित ग¥यो । सन् २०१९ को सेप्टेम्बरमा संयुक्त राष्ट्र सङ्घमा उनले आक्रामक भाषणमार्फत संसारको अन्त्य हुनसक्ने चेतावनी दिइन् । उनको सम्झौताहीन कटिबद्धता र अथक उत्कण्ठाले उनलाई असामान्य बनाएको छ । कति बेला त उनी विलक्षण पनि देखिन्छन् । ऐस्परगर्स सिन्ड्रोल नामको मानसिक रोगका कारणले पनि उनमा त्यस्तो अस्वाभाविक प्रभाव परेको हुनसक्छ ।
त्यसकारण आइस टाइम्स, द टेलिग्राफ र वासिङ्टन टाइम्सलगायतका सञ्चारमाध्यम एवम् धेरै मानिसले ग्रेटा थुनवर्गलाई देवदूतको रूपमा प्रचार गर्नुमा कुनै अस्वाभाविकता छैन । द टाइम्स पत्रिकाले उनलाई वर्ष व्यक्ति घोषणा गरेपछि थुनवर्गको चटानी समुद्री किनारामा उभिएर आकाशतिर हेर्दै गरेको अतिरञ्जनापूर्ण आवरण तस्वीर छोपेर यस्तो प्रचारबाजीले अझ निरन्तरता पाएको छ ।
बाल्यकालको इतिहासका एक अध्येताको नाताले थुनवर्गलाई जसरी देवदूतको रूपमा व्याख्या र प्रचार गरिएको छ, त्यसबाट म आश्चर्यचकित परेको छु । मेरो विचारमा यसले थुनवर्गको मूल सन्देशलाई बङ्ग्याउन सक्छ । अनि, त्यसको फाइदा जलवायु परिवर्तन अस्वीकार गर्ने मानिसले उठाउन सक्छन् । उनको अभियानको अपिलको प्रतिरोध गर्न उनीहरूले खोज्नेछन् ।
के यो आवश्यक छ ?
केही मानिसको लागि थुनवर्ग जोन अफ आर्कजस्ता छन् । जोन अफ आर्क भनेका दुरदर्शी किशोरी लडाकु थिइन् जसले पन्ध्रौँ शताब्दीको लडाइँमा फ्रान्सेली सेनाको नेतृत्व गरेकी थिइन् । उनलाई महामानवको रूपमा पछि व्याख्या गरियो ।
केही अरू मानिसले थुनवर्गलाई जुडो–इसाई परम्पराको देवदूत भनेका छन् । त्यस्ता देवदूतले शक्तिका सामू सत्य बोल्छन् । एक जना इसाई ब्लोगरका अनुसार ‘थुनवर्ग हाम्रो आत्मसन्तोषबाट बाहिर निकाल्ने ईश्वरीय आवाज’ हुन् ।
तर, थुनवर्गलाई देवदूतजस्तो गरी प्रस्तुत गर्नुले गम्भीररूपमा विषयान्तर हुनेछ । देवदूत ‘देवता’को सन्देश सञ्चार गर्ने सन्देशवाहक मानिन्छन् । उनीहरूले अघि नजानिएको वा नबुझिएको ईश्वरीय उद्बोधन सञ्चार गर्ने गर्छन् । इजेकेल नामको देवदूतले जेरुस्लामको विनाश र पुनःस्थापनाको भविष्यवाणी गरेका थिए । मोसेस नामका देवदूतले दस ईश्वरका आदेश प्राप्त गरेका थिए । मोहम्मद नामका देवदूतले कुरान मानवलोकमा सञ्चार गरेका थिए । अर्को शब्दमा देवदूतले अरूले गर्न नसकेको सत्य देखाउन सक्छन् । उनीहरूले मानवीय समझदारी बुझाउने सन्देश मानिससम्म ल्याइपु¥याउँछन् ।
अर्कोतिर थुनवर्गले हामीलाई पहिले नै थाहा पाएको कुरा बताएकी छिन् । वैज्ञानिकहरूको समुदायबीच त विगत केही दशकयता विश्वव्यापी तापमान वृद्धिको कारक मानिस भएकोमा व्यापक सर्वसहमति छ । थुनवर्गलाई देवदूतको रूपमा प्रस्तुत गर्नु भनेको सबै प्रकारका मुक्तिदातासम्बन्धी सिद्धान्तको बाढी भित्र्याउनु हो । एउटा १२० वर्ष पुरानो तस्बीरमा थुनवर्गको अनुहार झल्किने केटीको तस्वीर सार्वजनिक भएपछि विषयवस्तुले पछिल्लो समय अर्को मोड लिएको छ । षड्यन्त्रकारी सिद्धान्तकारहरूले थुनवर्गलाई ‘हामीलाई जोगाउन पठाइएकी समय यात्री’ भनी व्याख्या गरे ।
यस्ता खालका टिप्पणी वा क्रियाकलापले थुनवर्गका विपक्षीहरूलाई अझ बल पु¥याएको छ । उनीहरू थुनवर्गको अभियान ‘प्रलयकारी समयको अभियान’ मान्न तयार छैनन् । उनीहरू उनलाई झूटा देवदूत भन्छन् । थुनवर्गबाट प्रभावित मानिसलाई उनीहरू दिमागी सफाया गरिएका व्यक्तिपुजक अनुयायीको रूपमा चित्रण गर्छन् ।
सन् १९९३ मा आफ्ना अनुयायीहरूको बीचमा टेक्सासको वाकोमा निधन भएका ब्रान्च डेभिडियन्सका नेता डेभिड कोरेसले आफूलाई देवदूत बताएका थिए । पिपुल्स टेम्पलका संस्थापक र सन् १९७८ को जोन्सटाउन हत्याकाण्डका योजनाकार जिम जोन्स पनि त्यस्तै भन्थे ।
थुनवर्गको सकारात्मक पक्ष के भने, उनले त्यस्ता केही विचार अघि सारेकी छिन् जसलाई हामी केही अर्थमा हाम्रो रक्षक मान्न सक्छौँ । “म तपाइँहरूले मेरो कुरा सुन्नहोस् भन्ने चाहन्नँ”, गएको सेप्टेम्बरमा संरा अमेरिकी कङ्ग्रेसमा भनिन्, “म तपाइँहरूले वैज्ञानिकको कुरा सुनुहोस् भन्ने चाहन्छु ।”
बालक हुनुको फाइदा
थुनवर्गबारे सोच्ने सबभन्दा उपयुक्त तरिका भनेको उनलाई एक जना बालिकाको रूपमा हेर्नु हो । यो उनको न्यूनाङ्कन गर्नु होइन बरु त्योभन्दा परको कुरा हो ।
पछिल्लो समय युवाहरूले स्वतन्त्र चिन्तन, दुरदर्शी विचार र नेतृत्व अभ्यास गर्ने क्षमता देखाएका धेरै उदाहरण छन् । १० वर्षका मिलाती र १२ वर्षका इसाबेल विजसेनले आफ्नो आदिथलो बाली टापुमा एकपल्ट प्रयोग भएका प्लास्टिक प्रतिबन्ध लगाउने सफल अभियान चलाए । एघार वर्षकी मलाला युसुफाइज छोरीलाई शिक्षाको अधिकारका लागि तालिवानसँग लडिन् । त्यस्तै ज्याज जेनिन्स, स्युतेजकात्ल मार्टिनेज र द पार्कल्यान्ड अभियन्ता यही नामावलीमा आउने नाम हुन् । थुनवर्गले जस्तै उनीहरूले पनि केटाकेटीहरू शक्तिहीन र पराधीन हुन्छन् भन्ने हाम्रो सांस्कृतिक दृष्टिकोणलाई चुनौती दिएका छन् ।
थुनवर्गले सन् २०१९ सेप्टेम्बरमा संरा सङ्घमा दिएको भाषणको सुरुआत यसरी गरेकी थिइन्, “यो सबै गलत भइरहेको छ । म यो ठाउँमा हुनु हुन्नथ्यो । म महासागर पारि अर्कोतिरको मेरो विद्यालयमा हुुनुपथ्र्यो ।” थुनवर्गले बुझेकी छिन्, समस्त मानव जातिलाई खतरामा पु¥याउने विषयमा काम थाल्न हुर्केका ठूला बडालाई एक जना बालिकाले गाली गर्नु भनेको राजनीतिक प्रणालीमा ठूलो समस्या आइपरेको सबभन्दा शक्तिशाली उदाहरण हो ।
अझ आलोचनात्मकरूपमा भन्नुपर्दा थुनवर्गको युवावस्थालाई जोड दिनु भनेको उनको सन्देशको सबभन्दा मुख्य विषय– निष्पक्षतालाई जोड दिनु हो । जो कोही पनि अभिभावकले भन्न सक्छन्, केटाकेटीले संसारलाई नैतिक मूल्यको आधारमा हेर्ने गर्छन्ः ठीक र बेठीक, सही र गलत, न्यायोचित वा अन्यायपूर्ण । यथार्थमा अध्येताहरूले पछिल्लो समय केटाकेटीमा निष्पक्षता गहिरो गरी अन्तरनिहीत हुने कुरा देखाएका छन् । बाह« महिनाको बच्चाले पनि त्यस्तो निष्पक्षताको व्यवहार गर्न सक्छ ।
निष्पक्षताको विचार थुनवर्गको सन्देशको मुख्य पक्ष हो । जलवायु परिवर्तनले कसरी गरिब र सीमान्तकृतलाई प्रभावित बनाउँछ भन्नेमा उनको जोड, राजनीतिक शक्तिको पुस्तौँ पुस्ताको कारण निम्तिएको महामारी समाधान गर्ने जिम्मेवारी युवाहरूलाई दिनु कति अन्यायपूर्ण छ भन्नेबारे उनको टिप्पणी यसका केही दृश्टान्त हुन् । ‘तिम्रो कस्तो हिम्मत ¤’ थुनवर्गको शक्तिशाली आह्वान जना हठी बालिकाको आक्रोशपूर्ण चिच्याहट हो । यो एक जना त्यस्तो बालिकाको प्रतिबद्ध वाक्य हो जसले वयस्कको निस्क्रियताको प्रायशः शरण पर्ने गरेको नैतिक लचकता विकास गरेको छैन ।
थुनवर्गले हाम्रो युगको रहस्योद्घाटन गरेकी छैनन् । न त उनी जलवायु परिवर्तन रोक्ने समयकी यात्रु नै हुन् । बरु उनी एक जना निःस्वार्थी प्रतिबद्ध बालिका हुन् जसले न्यायको लागि आवाज उठाइरहेकी छिन् ।
उनी देवदूत होइनन् । उनी आम मानिस हुन् ।
(लेखक एनहस्र्ट कलेजमा इतिहासका सहायक प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः द कन्भर्सेसन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *