भर्खरै :

चाँगुनारायणको कहर

विश्व सम्पदामा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा महिना दिनभित्रै दोस्रोपटक चोरी भयो । मंसिर २ गते प्राचीन विष्णुको मूर्ति चोरी भएको थियो । महिना दिन पनि नबित्दै गत शनिबार मन्दिरका केही ऐतिहासिक पूजा सामग्री चोरी भएको छ । मन्दिरको सुरक्षा गर्न मन्दिर परिसरमै सशस्त्र प्रहरीको अस्थायी शिविर छ । तर, सशस्त्र प्रहरीको नाकैमुनि सत्तलभित्र राखिएका सामग्री चोरी भएको हो । चोरले सत्तल फोडेर ती सामग्री चोरेको भेटिएको छ ।
नेपालकै जेठो मन्दिरमध्ये पर्ने चाँगुनारायण मन्दिर नेपालको इतिहासकै महत्वपूर्ण सन्दर्भ स्रोत हो । मन्दिर परिसरको उत्खनन र अध्ययन गर्दै जाँदा अझै पनि नेपालको इतिहासका धेरै नखुलेका पाटा भेटिने अपेक्षा गर्न सकिन्छ । लिच्छवीकालीन नेपालको हाल अस्तित्वमा रहेका अनुपम निधिमध्ये चाँगुनारायण मन्दिर पनि हो । मन्दिरको ऐतिहासिकताको आधारमा यो मन्दिर नेपाली जनताको मात्र होइन, संसारकै लागि अमूल्य सम्पत्ति हो । तर राज्यले यो मन्दिरलाई बेवास्ता गर्दै आएको छ । मन्दिरको अध्ययन–अनुसन्धान गरेर इतिहासको गर्तभित्र लुकेका धेरै पाटा खोतल्नमा सरकारको ध्यान जानु परको कुरा, मन्दिरका भौतिक सम्पत्तिको संरक्षण गर्न समेत राज्यले सकेको छैन । स्थानीय सरकारले चाँगुनारायण देखाएर आउने जति फाइदा भने आफ्नो पोल्टामा पार्दै आएको छ । तर, मन्दिर संरक्षणको लागि गर्नुपर्ने काममा भने कति पनि ध्यान दिन सकेको छैन ।
चाँगुनारायण मन्दिरको संरक्षणको समस्या आजको समस्या होइन । मन्दिर बनाइएको बलौटे ढिस्कोको फेदमा जथाभावी बालुवा निकालिँदा भासिने खतरा अद्यापि कायम छ । सो विषयमा संसद्मा पटक–पटक सरकारको ध्यानाकर्षण यस क्षेत्रका सांसदहरूले गर्दै आउनुभएको छ । तर शासक दलसम्बद्ध बालुवा ठेकेदारहरूबाट नै मनपरी बालुवा निकाल्ने काम हुँदा रोक्न सकिएको छैन । बरू ती ठेकेदारहरू शासक दलको कटेरोमा सुरक्षित बसेका छन् । चाँगुनारायण मन्दिरको संरक्षणको लागि वरपर पर्खाल निर्माणको लागि सरकारले विनियोजन गरेको बजेटबाट आफ्नो घर जोगिने गरी पर्खाल बनाउने शासक दलका कार्यकर्ताबारे जनतालाई अवगत छ ।
ऐतिहासिक र पुरातात्विक महत्वको चाँगुनारायण मन्दिरलाई केन्द्रीय सरकार र स्थानीय शासकहरूले दुहुनो भैंसीलाई जस्तै दुहुने काम मात्र गरे । तर, त्यसको संरक्षणको लागि भने उनीहरूले कुनै वास्ता गरेका छैनन् ।
निर्माणकालको आधारमा चाँगुनारायण मन्दिर पशुपति मन्दिरभन्दा पुरानो मन्दिर हो । तर, पशुपति क्षेत्रको लागि राज्यले जति ध्यान दिएको छ, चाँगुनारायण मन्दिरको संरक्षणमा त्यति ध्यान दिन सकेको छैन । त्यसैको फाइदा आज चोर र अपराधीहरूले उठाइरहेका छन् । मन्दिरमा चोरीको घटनाका दोषीलाई राज्यले पक्राउ गरी कडा कारबाही नगर्दा पनि अपराधीहरू उत्साहित भएका छन् । मंसिर २ गतेको चोरी गर्ने चोर प्रहरी प्रशासनले पत्ता लगाउन नसक्दा चोर अझै अर्को चोरी गर्न उत्साहित भएको हुनसक्छ । त्यसकारण प्रहरी प्रशासनले चोरीबारे गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सक्नुपर्छ । जनताको कर खर्च गरेर जागिर खाएका सशस्त्र प्रहरीलाई राति सुत्न जागिर दिएको पक्कै होइन । जिम्मेवारीअनुसार मन्दिरको संरक्षण गर्नु उनीहरूको जिम्मेवारी हो । अघिल्लोपटक पनि चोरी भइसकेको अवस्थामा प्रहरीले अझ सावधानी अपनाउन सक्नुपथ्र्यो । त्यसो भएको देखिएन । यो राज्यका निकायको कमजोरी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *