भर्खरै :

आत्मसमीक्षा गर्ने समय

चीनको उहानबाट फर्काइने नेपाली भक्तपुरको खरिपाटीमा राखिने सरकारको निर्णयले सो क्षेत्रका जनता सम्भावित सङ्क्रमणको कारण त्रसित बनेका छन् । मानव बस्तीभन्दा टाढा क्वारेन्टाइन राख्न स्थानीय जनप्रतिनिधि र जनताले गरेको पटक–पटकको आग्रह लत्याएर सरकारले खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राख्ने तयारी गरेको छ । तालिम केन्द्र वरपर पुराना बस्तीसँगै धेरै नयाँ बस्ती पनि फैलिसकेको छ । त्यसकारण सो क्षेत्रमा क्वारेन्टाइन राख्न खोज्नुले मानिसमा भय सिर्जना गर्नु स्वाभाविक हो ।
कोरोना भाइरसको सङ्क्रमणबारे सरकारी निकायले अझै जनतालाई सचेत बनाउन नसक्दा पनि मानिसको मनमा चिसो पसेको हो । कोरोना भाइरसका लक्षण र सङ्क्रमणको तरिकाबारे सरकारका सम्बन्धित निकायले कुनै चेतनामूलक गतिविधि गरेको छैन । पत्रपत्रिकामा प्रकाशित विभिन्न समाचारकै आधारमा मानिसले यो भाइरसबारे मानिसले अनेक थरी बुझाई बनाएका छन् । धेरै अवस्थामा त्यस्ता समाचार र बुझाइ पनि भयको स्रोत बनिरहेका छन् । गलत प्रचारबाजीले कुनै पनि विपत्तिको बेलामा थप समस्या निम्त्याउने गर्छ । अतिरञ्जनापूर्ण प्रचारबाजीलाई निषेध गर्नुपर्छ ।
चीनबाट फर्केका नेपालीलाई उचित प्रबन्धमा राख्न नसक्दा नेपालमा यो सङ्क्रमण फैलिने हो कि भन्नेमा धेरै नेपालीको चिन्ता हो । कदाचित नेपाल फर्केका कोही नेपाली सङ्क्रमित फेला परे र नेपालमा पनि रोग सङ्क्रमण विस्तार भए यसले निम्त्याउने भयावह अवस्था नेपालको स्वास्थ्य प्रणालीले धान्न सक्नेछैन । त्यसकारण यो विषयलाई भावुकताको विषय बनाइन नहुने चिकित्सकहरूको धारणा छ । जनताको यो संशय मेटाउन सरकारले चित्तबुझ्दो जवाफ दिनसक्नुपर्छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट नेपालले पनि शिक्षा लिन जरुरी छ । नेपाल आफैं पनि रोग सङ्क्रमणको मलिलो क्षेत्र हो । महामारीजन्य रोग रोकथामको सबभन्दा भरपर्दो तरिका जनताको जीवनस्तरमा सुधार गर्नु र मानिसलाई सचेत बनाउनु नै हो । तर, कदाचित यस्ता महामारी फैलिए नेपालसँग न्यूनतम पूर्वाधार नहुनु सबभन्दा विडम्बनाको विषय हो । सरुवा रोग उपचार गरिने टेकु अस्पताल आफैँ पनि रोगी अवस्थामा छ । अस्पताल स्वयं रोगको केन्द्र बनिरहेको छ । धेरै रोगको उचित पहिचान र उपचारसमेत गर्ने उचित प्रविधिको अभाव छ । डेङ्गुको महामारी फैलिँदा सरकारले डेङ्गुको परीक्षण कीटसमेत मनग्य उपलब्ध गराउन सकेको थिएन । सरकारले जनतालाई आवश्यक मास्कसम्म पुग्दो वितरण गर्न सकेको छैन ।
सरकार हुनु भनेको यस्ता साना साना विषयमा गम्भीरतापूर्वक तयार गर्नु हो । सरकार सिंहदरबारमा मात्र देखिनुहुन्न । जनताको पाइलापाइलामा सरकार देखिन र महसुस गर्नसक्नुपर्छ । कोरोना भाइरस जनस्वास्थ्य क्षेत्रमा नेपालको अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसर पनि हो । सरकार जनताको स्वास्थ्यप्रति कति संवेदनशील छ भन्ने कुराको परीक्षण गर्ने समय यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *